आइतबार, असोज ५, २०८२

सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा

 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

बैतडी- पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ। नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए। 

Kumaribank

नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बिमा गरिदएको हो। स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बिमा गरिदिएको हो। पन्ध्र परिवारको रु तीन हजार पाँच सयका दरले स्वास्थ्य बिमावापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताए। 

पाँच जनासम्म सदस्य सङ्ख्या रहेको परिवारको रु तीन हजार पाँच सयमा एक वर्षका लागि स्वास्थ्य बिमा गर्ने गरिन्छ। सोवापत बीमित परिवारले रु एक लाखसम्मको उपचार सुविधा पाउँछन्। बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गर्दछन्। नगरपालिकाले यसअघि रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको निःशुल्क बिमा पनि गरिदिएको छ। यसअघि सो नगरपालिकाले सहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो। प्राप्त नामावली आएका १५ सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई दोसल्ला प्रमाणपत्र र रु पाँच हजारसहित सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिए। यस्तै उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान कार्यक्रम चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत गरेको थियो। 

प्रकाशित: May 06, 2023| 22:17 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्