काठमाडौं- नयाँ भर्नाको समय सुरु भएसँगै देशभरिबाट नै बूढानीलकण्ठ स्कुलमा विद्यार्थी र अभिभावकको ओइरो लाग्छ। दूरदराजका अभिभावकको रोजाइमा वर्षौंदेखि बूढानीलकण्ठ स्कुल अग्रणि रहेको छ।
विद्यालयका प्रधानाध्यापक होमनाथ आचार्य भन्छन्, ‘दूरदराजका अभिभावकले पनि बूढानीलकण्ठमा आफ्ना बालबालिका पढाउन चाहन्छन्। हरेक कक्षामा १ सय ३२ जना विद्यार्थीलाई ४ वटा सेक्सनमा बाँडिन्छ। तीमध्ये प्रत्येक कक्षाका ४० जना विद्यार्थी छात्रवृत्तिमा पढ्छन् र त्यस्ता विद्यार्थी प्रायः दूरदराज, गाउँ–पहाड, तराई र हिमालबाट आएका हुन्छन्। मेरिट र समावेशिताका आधारमा विद्यार्थी छानिएर पढ्न आउँछन् यहाँ।’
प्रअ आचार्यका अनुसार विद्यालयमा हिमाल, पहाड र तराई गरी ७० जिल्लाका विद्यार्थी छन्। प्रत्येक वर्ष ४० जना विद्यार्थी फरक फरक जिल्लाबाट पढ्न आउने गरेका छन्।
जनकपुर उपमहानगरपालिका–९ का मुक्ति साहले आफ्नो छोरालाई बूढानीलकण्ठमा पढाउन पूरै परिवारको विरोध सहेका थिए। सानो छोरालाई आवासीय विद्यालयमा राख्न परिवार राजी नभए पनि उनले ल्याएर भर्ना गराएका थिए। उनी भन्छन्, ‘यहाँ राजा–महाराजाका सन्तानदेखि गन्यमान्यका छोराछोरी पढेको गरिमामय इतिहास छ। यहाँको पढाइ व्यवहारिक रहेको सुनेर आएको हुँ।’ हुन पनि ब्रिटिसहरुले नै सो विद्यालयमा सबैका छोराछोरीले समान हैसियतमा पढ्न पाउने थिति बसालेका थिए। प्रअ आचार्य भन्छन्, ‘आज पनि विद्यालयमा देशका गन्यमान्यदेखि दूरदराजका बालबलिका अध्ययनरत छन्।’
प्रायः निजी विद्यालय नै अभिभावकको पहिलो रोजाइमा पर्ने गरे पनि सामुदायिक विद्यालयअन्तर्गत पर्ने बूढानीलकण्ठमा प्रत्येक कक्षामा ४० वटा छात्रवृत्तिका लागि २ हजारभन्दा बढी आवेदन पर्ने गरेको छ। यद्यपि, पैसा तिरेर पढाउनेको संख्या पनि उल्लेख्य छ। प्रअ आचार्य भन्छन्, ‘हामीसँग सीमित विद्यार्थी राख्ने क्षमता छ। पूर्ण आवासीय विद्यालय भएको हुनाले छात्रावासको अभाव हुन जान्छ। हामीले ११ सय ५० भन्दा धेरै विद्यार्थीलाई राख्न नसक्ने अवस्था छैन।’
८ कक्षादेखि नै रोबोट डिजाइन गर्न, स्वयंसेवकको रुपमा सामाजिक काम गर्न सिकाइन्छ। नृत्य, कला, संगीतलाई पनि १ सय पूर्णांकको पाठ्यक्रममा राखिएको छ।
आफ्नै फरक खालको सिस्टमले नै हो विद्यालयको लोकप्रियता आजसम्म कायम रहेको, जसको थिति ब्रिटिसहरुले विद्यालय स्थापनाकालमा नै बसालेका थिए। प्रअ आचार्य भन्छन्, ‘अहिले सरकारले समावेशी, समानता र संघीयताका कुरामा जोड दिन थालेको छ। हामीले त सुरुदेखि नै बालबालिकाको हकमा सो अभ्यास थालिसकेका थियौं। यो पूर्ण आवासीय विद्यालय हो। शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा मात्रै नपढाएर बाहिर पनि पढाउँछन्, जसले गर्दा व्यवहारिक सिकाइसमेत हुन्छ। हाम्रो शिक्षा घोकन्ते नभएर व्यवहारिक सिकाइको आधारमा डिजाइन गरिएको छ।’
बूढानीलकण्ठले कक्षाकोठमा खेल्दै पढ्ने मोडलको विकास गरेको छ। बच्चाहरु त्यहीँ बस्ने भएकोले विद्यालय समयबाहेक खेलकुद गतिविधि लगायत अन्य अतिरिक्त क्रियाकलाप गराइन्छ। विद्यालयमा कक्षा पाँचदेखि नै पाक शिक्षा छ। जसमा सातामा १ दिन खना पकाउन सिकाइन्छ।
८ कक्षादेखि नै रोबोट डिजाइन गर्न, स्वयंसेवकको रुपमा सामाजिक काम गर्न सिकाइन्छ। नृत्य, कला, संगीतलाई पनि १ सय पूर्णांकको पाठ्यक्रममा राखिएको छ। बूढानीलकण्ठ स्कुल गुठीबाट सञ्चालित छ, यद्यपि उसलाई सरकारका सबै नियम पालना गर्नुपर्ने बाध्यता छैन। विद्यालयको आफ्नै नियम छ।
शिवपुरीको आँगनमा रहेको यो विद्यालयमा चराहरूको चिरबिरचिरबिर आवाज सुनिन्छ, बगैंचामा थरीथरीका फूल फुलेका हुन्छन्। दायाँबायाँ ठूला पटाङ्गिनी छन्। हरिया रुखबिरुवाले घेरेका भवनको नाम हिमालबाट राखिएको छ।
तत्कालीन राजपरिवारका छोराछोरी विदेश गएर पढ्ने चलन थियो। कोही दार्जिलिङ पुग्थे। विदेश गएर पढ्दा राजपरिवारका सदस्यहरू नेपाली जनतासँग जोडिन नपाउने भए। देशको माटो, देशको संस्कृति सिक्न पाएनन्। यस विषयमा चिन्तित भएर तत्कालीन राजा महेन्द्रले बूढानीलकण्ठ स्कुलको अवधारणा ल्याएका थिए।
आफू बेलायत भ्रमणमा गएको समयमा उनले अन्तर्राष्ट्रियस्तरको स्कुल नेपालमै खोल्ने अठोट गरे र बेलायतसँग प्राविधिक सहयोग मागे। उनको प्रस्तावमा बेलायतले सहमति जनायो र उनी नेपाल फर्किएपछि स्कुल खोल्ने प्रक्रिया अगाडि बढ्यो। यसरी राजा महेन्द्रले २०२५ सालमा ल्याएको अवधारणाले २०२८ सालमा मूर्त रुप पायो। सुरुमा स्कुल बनाउनदेखि पढाउने शिक्षक, पाठ्यपुस्तकसम्म बेलायतबाट नै ल्याइएको थियो। बेलायतले पूर्ण रूपमा विद्यालय नेपाललाई नै हस्तान्तरण गरेपछि भने नेपाली नेपाली पाठ्यक्रमअनुसार नै पठनपाठन भइरहेको छ। सन् १९९४ मा बेलायतले पूर्ण रूपमा नेपाललाई विद्यालय हस्तान्तरण गरेको हो।
२०२८ सालदेखि औपचारिक रूपमा पठनपाठन सुरु भएको स्कुलमा तत्कालीन युवराज दीपेन्द्र, निराजन र पारसले पढेका थिए। उनीहरुले स्कुलकै होस्टलमा बसेर विद्यालय तहको पढाइ पूरा गरेका हुन्। पछिमात्र जनताका छोराछोरीलाई पनि अवसर दिनुपर्छ भनेर छात्रवृत्तिको अवधारणा ल्याइएको थियो। दलित, जनजाति, मधेसी, महिला कोटा हुन्छ। छनोट गर्दा जिल्ला दोहोरिँदैन। यसरी जिल्ला–जिल्लाबाट छनोट गरेका विद्यार्थीलाई सरकारले १० कक्षासम्म पूर्ण छात्रवृत्तिमा पढाउँछ। बाँकी ९६ जना भने शुल्क तिरेर पढ्छन्।
बूढानीलकण्ठ स्कुलमा विद्यार्थीले आफ्नो थर गेटबाहिर नै छोडेर पस्नुपर्छ। कोही कसैलाई पनि कसैको थर थाहा हुँदैन। नाम र कोड नम्ब मात्र थाहा हुन्छ। छुवाछूत र विभेदलाई रोक्न थरको सट्टा रोल नम्बर राखिएको हो। त्यहाँ पूरा नेपाल अटाएको छ।
५ सय ७२ रोपनी जग्गामा फैलिएको स्कुलमा सुविधासम्पन्न संरचना छन्। ११ वटा एकेडेमिक डिपार्टमेन्ट, १४ वटा होस्टल छन्। एउटा होस्टलमा ८० जना विद्यार्थी हुन्छन्। विद्यालयले ए लेभल र प्लस टु पनि सञ्चालन गरेको छ। ए लेभल र प्लस टुमा भने सरकारले छात्रवृत्ति दिँदैन।