आइतबार, असोज ५, २०८२

सातै प्रदेशमा नमुना अस्पताल निर्माण गरिने

आगामी बजेटमा नमुना अस्पताल निर्माणका लागि थप रकम व्यवस्था गर्ने तयारीमा सरकार रहेको मन्त्री मोदीको खुलासा।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमुना अस्पताल निर्माण गरिने बताएका छन्।

Kumaribank

शुक्रबार आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल भवन हस्तान्तरण कार्यक्रममा उनले आगामी बजेटमा अस्पताल निर्माणका लागि थप रकम व्यवस्था गर्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन्। 

मन्त्री मोदीले भने, ‘निजामती कर्मचारी अस्पतालजस्तै सातै प्रदेशमा नमुना अस्पताल निर्माण गर्नेबारे सोचिरहेका छौं। यसका लागि आगामी आवमा बजेट व्यवस्था गर्न खोजिरहेका छौं। ती अस्पतालमध्ये पनि राष्ट्रिय कलाकार, राष्ट्रिय व्यक्तित्व, विभिन्न आन्दोलनका घाइते, सहिद वा बेपत्ताका परिवारका लागि पनि छुट्टै अस्पताल निर्माण गर्ने सोचेका छौं।’

मन्त्री मोदीले सबै जनतामा सुलभ उपचार सेवा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने र थप अस्पताल निर्माणका लागि चीन सरकारसँग सहयोगका लागि पहल गरिने धारणा व्यक्त गरे। चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवन पुनःनिर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा नेपालका लागि चीनियाँ राजदूत छन सोङ्ले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्न चीन सरकार प्रतिबद्ध रहेको बताए। ‘विगत केही दशकयता नेपालले आफ्ना नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धेरै हदसम्म सफल भएको छ। यसबीच चीन र नेपालले स्वास्थ्य क्षेत्रमा गरेको सहकार्यले दुवै देशको सम्बन्धलाई उचाइ दिलाएको छ’, उनले भने।

Metro Mart

अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले उक्त सर्जिकल भवनले थप उपचार सेवा उपलब्ध गराउन सहज हुने विश्वास व्यक्त गरे। उक्त भवनमा १०५ साधारण शय्या, १२ सघन कक्ष र चार शल्यचिकित्सा कक्ष छन्।

प्रकाशित: Apr 28, 2023| 16:10 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्