काठमाडौं- पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना रहेको छ। विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
भोलि शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।