काठमाडौं– ट्राफिक प्रहरीले उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ सवारी साधनलाई कारबाही गरेको छ।वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएभन्दा बढी धुवाँ फाल्ने सवारीसाधनका चालकलाई कारबाही गरेको हुन्।
काठमाडौंको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुई पिकअप भ्यान र ट्रक एक गरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार दुवै निकायबाट संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो।
कारबाहीमा परेका सवारीसाधनका चालकले मर्मतपछि तोकिएको जरिमाना तिरेसँगै नियन्त्रणमा लिइएका कागजपत्र फिर्ता गरिनेछ। पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको संख्या बढेकाले त्यस्ता सवारीसाधनको प्रदूषण जाँच हुँदै आएको छ।