जनकपुरधाम- महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ। महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको चैत २२ गते हत्या प्रयास भएको हो।
सोनामा गाउँपालिका-१ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएकोमा दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुरलगायतले टाउकोमा ठोस् बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ।
मरासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए। टाउकोको खप्पल फुटेर रक्ताम्य तथा घाँटी कसेर बेहोस् भएको अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गराएको थियो।
सन्तोषलाई प्रादेशिक अस्पताल र त्यसपछि जनकपुरकै न्यूरो हस्पिटलमा उपचार गरिएको थियो। १५ दिन उपचार पश्चात सन्तोष डिस्चार्ज भएका छन्। तर, उनको दुवै हातखुट्टा चल्दैनन्।
घटनापछि फरार रहेका ससुरा हिरण र सासु नगिनालाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको थियो। सासू ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।
घरायसी विवादमा ज्यान लिने प्रयास भएको बताइएको छ।