बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई चिनियाँ राष्ट्रपतिको टेलिफोन

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई चिनियाँ राष्ट्रपतिको टेलिफोन

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार उनीहरूबीच रुस र युक्रेनको जारी युद्ध अन्त्य गर्ने विषयमा फोन वार्ता भएको हो।

राष्ट्रपति सी युद्ध अन्त्य गर्ने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि निरन्तर संवादमा छन्। केही समयअघि चीनले रुस-युक्रेन युद्ध अन्त्यका लागि शान्ति प्रस्ताव गरेको थियो। पछिल्लो समय रुस-युक्रेन युद्ध अन्त्यका लागि सीले निरन्तर पहल गरिरहेका छन्।

गत महिनामात्र चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच मस्कोमा छलफल भएको थियो। चीनले रुस र युक्रेनबीच वार्तामार्फत समस्या समाधान हुनुपर्नेमा जोड दिँदा पुटिनले चिनियाँ योजनाले युक्रेन युद्ध अन्त्य गर्न सक्ने बताएका थिए। सी र पुटिनको वार्तापछि उनीहरूले युक्रेन युद्ध रोक्न जिम्मेवार वार्ताको आह्वान गरेका थिए।

हालसम्म पनि रुस र युक्रेनबीचको युद्ध भने रोकिएको छैन, न त कुनै वार्ता भएको छ। दुवै देशका सेनाहरू युक्रेनी भूमिमा यतिबेला लडिरहेका छन्। यहीबीचमा अमेरिकाले रुससँग लड्न भन्दै युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको हतियार सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकाले युक्रेनलाई चाँडै रकेट प्रणाली, तोप, एन्टी ट्यांक मिसाइलहरू, एन्टी–ट्या‌क माइनहरू पठाउने बताएको छ।  

अमेरिकाले युक्रेनलाई हतियार दिने बताएकै समयमा र आफ्नो देशका राष्ट्रपतिले भेटघाट गरेको केही समय नबित्दै चिनियाँ रक्षामन्त्री लि सांफु रुस भ्रमणमा गएका थिए। भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री लिले रुसी समकक्षी सर्गेई सोइगुसँग र राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेर समसामयिक विषयमा छलफल गरेको रोयटर्सले जनाएको छ।
 

प्रकाशित: Apr 26, 2023| 17:40 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्