काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हिप्पोपोटामस जस्तो भएको टिप्पणी गरेका छन्।
झापाको बुधबारेमा बुद्धशान्ति गाउँ कमिटीले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले एमालेको ज्यानचाहिँ खत्रा देखिने तर काम भने केही नगर्ने जस्तो भएको बताए।
उनले भने, ‘हिप्पोपोटामसको ज्यान चाहिँ ठूलो, तर न त्यसको मासु खान हुन्छ न दूध। के काम लाग्यो र? एमाले अहिले त्यस्तै भएको छ।’ उनले साथीको बात सहन तर शत्रुको लात नसहन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले पार्टीका कार्यकर्ताबीच कुनै मनमुटाव भए आपसमा छलफल गरेर समाधान गर्न सुझाव दिए। तर अर्काको आक्रमण सहने परिपाटीको विकास भएकाले पार्टीले क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो।
उनले भने, ‘कसैको सिमानामा झगडा परेको छ भने मिलाइदिनुस्। आफ्ना मान्छेका कुरा सुन्नुहोस् तर अर्काको लात सहने बानीको विकास नगर्नुहोस्।’
उनले हरेक टोलमा संगठन र हरेक घरमा सदस्य बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। ओली आज नै इलामतर्फ लागेका छन्। त्यसक्रममा उनलाई पहिचान पक्षधर आन्दोलनकारीले कालो झण्डा देखाएका थिए।