बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कपन घटनाको सन्दर्भ जोड्दै गगनले भने- काठमाडौंभरि सीसीटीभी जोड्नुपर्छ

कपन घटनाको सन्दर्भ जोड्दै गगनले भने- काठमाडौंभरि सीसीटीभी जोड्नुपर्छ

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं-४ का सांसद गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्तिसुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसीटीभी जडान गर्नुपर्ने बताएका हुन्। 

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले बूढानीलकण्ठ नगरपालिकाको कपनस्थित सरस्वतीनगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न नसकेकोमा आक्रोश व्यक्त गरे।

उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो। पीडित परिवार प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनुभएको छ। तर उहाँहरुले ठोस जवाफ पाउनुभएको छैन। आज संयोगले माननीय गृहमन्त्रीज्यू संसद्‌मा उपस्थित हुनुहुन्छ। म आग्रह गर्न चाहन्छु, सम्माननीय सभामुख महोदयमार्फत घटनाको सत्यतथ्य र सबैभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरुले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ। यसको बारेमा विश्वास गर्ने स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस्।’

उनले थपे, 'महानगरपालिका र संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई यसको सेक्युरिटीसँग जोडेर सीसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लागिसकेको हुन्थ्यो। घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि माग गर्दछु।' गगन सोही क्षेत्रका सांसद हुन्।

वैशाख ७ गते काठमाडौंको कपन सरस्वती नगरस्थित नीरु भाँडा पसल सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या भएको थियो। आचार्यको हत्यारालाई छिटो पत्ता लगाउन माग गर्दै उनका आफन्तजनले दैनिक प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: Apr 26, 2023| 16:56 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्