काठमाडौं- राष्ट्रियसभाका सदस्य वामदेव गौतमविरुद्धको मुद्दा अन्तिम फैसला गर्ने तयारी सर्वोच्च अदालतले गरेको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सुनुवाई गर्दै सरकारी वकिल र निवेदकसँग बहस नोट मगाएको छ। यसपछि अन्तिम फैसला हुनेछ।
गौतमविरुद्ध २०७७ असोज १२ गते सर्वोच्च अदालतका रिट निवेदन दर्ता भएको थियो। बर्दियाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनी राष्ट्रियसभा सदस्य भएपछि उनीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्री भट्टले रिट दायर गरेका थिए। राष्ट्रियसभा सदस्यका लागि उनी अयोग्य भएको दाबी रिटमा गरिएको छ।
सुरुमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले दुवै पक्षको छलफल नभएसम्म अन्य संवैधानिक जिम्मेवारी नदिनु भन्दै अन्तरिम आदेश जारी गरेको थियो। गौतम रााष्ट्रिय सभा सदस्य हुन अयोग्य भएको दाबी गरिए पनि रिटको सुनुवाइ नियुक्ति भएको र मन्त्री बन्न लागेका कारण अन्तरिम आदेशमा अन्य जिम्मेवारी दिनू भनेर रोक लगाएको थियो।
उक्त आदेश संवैधानिक इजलासले २०७७ कात्तिक २६ गते अन्तरिम खारेज गर्दै अन्तिम सुनुवाइमा व्याख्या गर्ने भनेको थियो। २०७७ असोज ७ गतेको एकल इजलासले यो विवादलाई संवैधानिक इजलासमा पठाएको थियो। असोज १२ गते संवैधानिक इजलासमा पुगेको मुद्दाको पहिलो सुनुवाइ १४ गतेबाट सुरु भएको थियो।