बिहीबार, भदौ ४, २०८३

झापामा ओली सहभागी कार्यक्रमस्थल बाहिर लफडा

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर लफडा भएको छ। प्रहरी र प्रदेशको नाम कोशी राखिएकोमा विरोध गरिरहेको समूहबीच झडप भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो। त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको छ।
प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन्।

घटनामा सत्ता पक्षको घुसपैठ भएको एमाले सांसदले संसद् बैठकमा आपत्ति जनाएका छन्। ‘हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमाले नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुंगामुढा गर्ने कोसिस गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति पैदा गर्न खोजिन्छ, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ,’ एमाले सचेतक पदम गिरीले भने। प्रतिपक्षीलाई नजिस्क्याउन उनले सत्ता पक्षलाई चेतावनी दिए।

प्रहरीले घटनास्थलबाट मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ। ओली झापाको कार्यक्रम सकेर इलामतर्फ गएका छन्।
 

प्रकाशित: Apr 26, 2023| 16:28 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्