बिहीबार, भदौ ४, २०८३

एक किलो गाँजा बोक्दा सिंगापुरमा मृत्युदण्ड

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

सिंगापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टंगाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ.

सुपियाहका परिवार, मानव अधिकारवादी कार्यकर्ता र राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई बेवास्ता गर्दै उनलाई झुन्ड्याइएको हो।

सिंगापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन्। सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो। मानव अधिकारवादीहरूले पर्याप्त प्रमाण बिना नै उनलाई दोषी ठहर्याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको दाबी गरेका छन्। सिंगापुरका अधिकारीहरूले भने उक्त दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाई भएको बताएका छन्। 

लागू पदार्थविरुद्ध विश्वको सबैभन्दा कठोर कानुन भएको देश सिंगापुरमा गत वर्ष ११ जनालाई मृत्युदण्ड दिइएको थियो। तीमध्ये तीन चम्चा हेरोइन तस्करी गरेको आरोपमा दोषी मानिएका बौद्धिक रूपमा अक्षम एक जनालाई पनि फाँसी दिइएको थियो। 

विश्वका विकसित देशमा गाँजामाथिको प्रतिबन्ध खुलिरहेका बेला सिंगापुर भने लचिलो भएको छैन। छिमेकी मलेसियाले मृत्युदण्डमा संशोधन गरेको छ भने थाइल्याण्डमा गाँजाको कारोबारलाई वैधानिक मानिन्छ। अमेरिकाका केही राज्यमा पनि गाँजालाई औषधीय प्रयोजनका निम्ति खुला गरिएको छ।

प्रकाशित: Apr 26, 2023| 14:09 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्