पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन्।
आइतबार पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको 'नेपालप्रति चिनियाँ अभ्यास र असर' विषयक विचार-गोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे।
उनले भने, 'कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाणपत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।' उनले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने दोहोर्याए।
गोष्ठीमा सहभागी पूर्वमन्त्री मेखलाल श्रेष्ठले नेपाललाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए। उनले भने, 'चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ। चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षड्यन्त्र गरिरहेको छ।'
त्यसैगरी समाजसेवी आनन्दराज मुल्मीले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिए। उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाए। उनले भने, 'चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।'
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले पछिल्लो समय नेपालको भूभाग पनि मिचेको समाचार पत्रपत्रिकामा पढिरहेको बताए। उनले चिनियाँ नागरिकले नेपालमा अवैध गतिविधि गरे देशको सुरक्षा नै खतरामा पर्ने बताए।