बिहीबार, भदौ ४, २०८३

'हिनौना' को व्यापारबाट दैनिक ४ हजार कमाउँछन् लमहीका कृषक

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

दाङ- लमही नगरपालिका-४ ठूलो घुम्नाका कृषक महिला यतिबेला ‘हिनौना’ (खरबुजा, थारु भषामा खरबुजालाई हिनौना भन्ने गरिन्छ) बेच्न व्यस्त छन्।

एक दिन अगाडि साँझापख बारीमा जाने र बारीमा लटरम्म फलेका हिनौनासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका कृषक महिलाको हिजो आजको दैनिकी हो।
यी कृषक महिला लमही-गढवा सडकखण्डको छेउमा हिनौना र तरकारी बिक्री गर्नका लागि लस्करै बसेका हुन्छन्। राप्ती नदीले छोडेको बगरलाई मलजल गरेर उनीहरूले विभिन्न जातका तरकारी उत्पादन गरेका छन्।

तरकारीका साथसाथै यतिबेला ती किसानका बारीमा हिनौना लटरम्म फलेका छन्। पुस महिनामा रोपेको हिनौना चैतमा तयार हुन्छ। मानव स्वास्थ्यका लागि अति उत्तम मानिने हिनौना देउखुरी क्षेत्रको लोकप्रिय फलफूलमा पर्दछ।

लमही-४ ठूलो घुम्नाका किसान देवकुमारी चौधरीले दुई कट्ठा जमिनमा बगर खेती गरेकी छन्। उनको बगर खेतीमा एउटै हिनौना आठ किल्लोसम्म तौल भएको फलेको छ। उनले ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरिरहेकी छिन्। ‘अघिल्लो वर्ष रु ३५ हजार जति आम्दानी गरेको थिएँ, यो पटक हेरौँ कति हुन्छ’, उनले भनिन्।

सडक छेउमा बसेर व्यापार गर्ने यहाँका सबै  किसानले तरकारीको एउटै मूल्य तोक्ने गरेका हुन्छन्। हिनौना ४० रुपैयाँ किलो, फर्सी ३० रुपैयाँ किलो, करेला ५० रुपैयाँ किलो, लौका ३० रुपैयाँ किलो, भिन्डी १०० रुपैयाँ किलो, काँक्रा ६० रुपैयाँ किलो, बोडी एक सय २० रुपैयाँ किलो, टमाटर २० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

सडकको छेउमा बसेर कम्तीमा पनि रु तीन हजारदेखि माथि आम्दानी गर्ने गरेको कृषक हरिलाल चौधरीले बताए। एक घर परिवारले आठदेखि १० कट्ठासम्ममा बगर खेती गर्ने किसान छन्।

उनीहरूले मङ्सिरदेखि चैत महिनासम्म बगर खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। त्यसपछि वर्षायाम सुरु भयो भने त्यो ठाउँमा राप्ती नदी बग्ने गर्दछ।

मलिलो माटोभन्दा बालुवाको मात्रा बढी भएको जमिनमा हिनौना फल्ने गर्छ। थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भएकाले देउखुरीका प्राय थारु समुदायका किसानले यो खेती गर्ने गर्दछन्। बालुवामा फल्ने भएकाले सिँचाइ भने अलि बढी गर्नुपर्ने किसानको अनुभव छ।

ठूलो घुम्नाकै पुतली चौधरीले हिनौना बिक्री गरेर अघिल्लो वर्ष रु १० हजार आम्दानी गरेको बताइन्। ‘पहिले पनि एक कट्ठामै लगाएकाले आम्दानी थोरै भएको र अहिले पनि एक कट्ठामा लगाइएको छु त्यही भएर आम्दानी पनि थोरै होला’, उनले भनिन्।

ठूलो घुम्नामा झण्डै दुई सय घरधुरी जति कृषकले बगरमा तरकारी र हिनौना खेती गरेका छन्। राति अन्य गाउँबाट मान्छे आएर चोरेर लगिदिने भएकाले हिनौनाको सिजन नसकिँदासम्म स-साना झुप्रो बनाएर घरका पुरुष बगरमै सुत्ने गर्दछन्।

प्रकाशित: Apr 25, 2023| 21:33 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्