धुलिखेल- तेमाल गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि रैथाने बाली मूल्य शृङ्खला प्रवर्द्धन कार्यक्रम लागू गरेको छ। कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत छुटमा कृषि औजारसमेत वितरण गरिएको पालिकाले जनाएको छ।
कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र लप्से भूमिस्थान किसान समूहको साझेदारीमा पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले किसानलाई कृषि उपकरण साथै बीउविजन वितरण गरे। उनले रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकाले मौलिक उत्पादनमा योगदान गरिरहेको बताएका छन्।
रैथाने बाली जीवन उपयोगी र स्वास्थ्यबर्द्धक रहेको भन्दै उनले यसको संरक्षणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा निरन्तरता दिएको बताए।
उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा गाउँपालिकाले कृषिमा आधुनिकिकरणसहित रैथाने बाली उत्पादनमा सक्रियता बढाउने पनि बताए। गाउँपालिकालाई रैथाने बाली उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने गरी योजना बनाइएको उनको भनाइ छ।