काठमाडौं- धरानमा खानेपानी आयोजनालाई रकम जुटाउन नगर प्रमुख हर्क साम्पाङले आयोजना गरेको च्यारिटी कन्सर्टमा २८ लाख रुपैयाँ संकलन भएको छ।
‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ नाम दिइएको कन्सर्टमा मंगलबार चर्चित राष्ट्रिय कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए।
दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, डिल्ली फोम्बो एण्ड द ब्याण्ड, द वाल्किङ क्लाउड ब्याण्ड, एकदेव लिम्बू, रोहित मास्के लगायतले सांगीतिक प्रस्तुति दिएका थिए। आयोजक सिल्भर इन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरेर कन्सर्टको आयव्यय विवरण सार्वजनिक गरेको छ।
कन्सर्टको सम्पूर्ण खर्च उठाएर २८ लाख ३६ हजार ३४५ रुपैयाँ बाँकी रहेको कार्यक्रम संयोजक मीना सिंगकले जानकारी दिइन्। मेयर साम्पाङले कन्सर्ट गरेकोमा आयोजक, सहयोगी दाता, कलाकार सबैलाई धन्यवाद दिए। उनले उक्त रकम कोकाहा खानेपानी आयोजनामा खर्च गरिने र श्रमदान कार्यमा सहभागी हुन समेत आग्रह गरेका छन्।