काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरेक ५ वर्षमा गर्नुपर्ने सवारी लाइसेन्स नवीकरण अब १० वर्षमा गर्न मिल्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्री ज्वालाले लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्।
'पाँच वर्षमा नवीकरण गर्न झन्झटिलो हुने भएकाले १० वर्षमा नवीकरण गर्ने कानुनी व्यवस्थाका लागि काम अगाडि बढाएका छौं। यसले नयाँ स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएका छौं,' उनले भने।
सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उनले बताए। मन्त्री ज्वालाले सवारीसाधनमा इम्बोस्ड नम्बर अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासो आएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए।
नेपालमा उत्पादित 'यात्री' मोटरसाइकलको दर्ताबारे कार्यविधि जारी गरेर अगाडि बढ्ने सरकारले निर्णय गरेको पनि मन्त्री ज्वालाले जानकारी दिए।