चितवन- चितवनका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ। इच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार इच्छाकामना–६ मा तीन बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको छ। अरू पाँचजनाको नमुना परीक्षणका लागि आज हेटौंडा पठाइएको छ। बुधबार संक्रमण पुष्टि भएसँगै सो क्षेत्रमा टोली परिचालन गरिएको उनले जानकारी दिए।
दुई वर्षअघि जिल्लाको पहाडी क्षेत्रमा दादुरा देखिएको थियो। यो सरुवा रोग हो। रोग नियन्त्रणका लागि जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक बालबालिकालाई खोप लगाउने गरिन्छ। सो क्षेत्रमा खोप लगाउन छुटेको हो कि भनेर अध्ययन समेत गरिएको उनले बताए।
कार्यालयले सरुवा रोग भएकाले संक्रमण भएकाहरूलाई छुट्टै राख्न (आइसोलेसनमा) र खोप लगाउन छुटेको भए खोप लगाउन अनुरोध गरेको छ।