सोमबार, वैशाख २८, २०८३

टर्च बालेर बच्चा जन्माइन्छ हुम्लाका स्वास्थ्य केन्द्रमा  

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

सिमकोट- हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ। 

National life

विशेषगरी स्वास्थ्य चौकीमा  प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ। ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ। विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत्  वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई ‘मोबाइल’ र अन्य ‘टर्च’ बालेर सुत्केरी गराउनु परेको हो। 
  
ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले भने, ‘मोबाइल र टर्च बालेर  सुत्केरी गराउनुपर्ने बाध्यता रहेको छ। हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् नियमित नहुँदा गर्भवतीलाई सुत्केरी गराउन समस्या हुने गरेको छ।’

यही बैशाख ४ मा प्रसूतिगृहमा आउनु भएकी ठेहेकी २० वर्षीया नन्द भण्डारीलाई तीन घण्टा लामो समय टर्च बालेर प्रसूति गराउनु परेको गुनासो प्रमुख बोहराले गरे। विद्युत् आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलारले काम नगरेपछि स्वास्थ्यकर्मी र बिरामीलाई समस्या खेप्दै आउनुपरेको छ। 

नवजात शिशुलाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नुपर्ने बाध्यता छ। हिल्दुम विद्युत् वितरण केन्द्रले हाल दैनिक १७–१८ घण्टा लोड सेडिङ गर्ने गरेको कारण सुत्केरी तथा बिरामीको उपचार गर्न कठिन हुने गरेको छ।

विद्युत् लोडसेडिङ बढेका कारण ठेहे स्वास्थ्य चौकी मात्र नभएर बरगाउँ, डाँडाफया र स्याडाँ स्वास्थ्य चौकीको अवस्था पनि उस्तै रहेको जनाइएको छ। 

प्रकाशित: Apr 19, 2023| 14:03 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्