आइतबार, असोज ५, २०८२

काभ्रेमा 'मातृ सुरक्षा' अभियान

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

धुलिखेल- काभ्रेपलाञ्चोकमा ‘मातृ सुरक्षा’ अभियान थालिएको छ। महिलाबाट शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोक्न मातृ सुरक्षा चक्की सेवनबारे अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

Kumaribank

यसका लागि कार्यालयले जिल्लास्थित प्रजनन स्वास्थ्य समन्वय समिति तथा सरोकारवालासँग अभिमुखीकरण गरेको छ। कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइँले शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोकी सुत्केरीको जीवन सुरक्षित गर्न जिल्लामा मातृ सुरक्षा चक्की सेवनबारे अभियान थालिएको बताए। 

‘गर्भवती भई नियमित स्वास्थ्य संस्थामा गर्भ परीक्षण गरिरहेका महिलालाई आठ महिनापछि संस्थाबाटै उक्त चक्की दिई सेवनबारे जानकारी गराइने छ’, उनले भने। सेढाइँका अनुसार गर्भवतीलाई चक्कीका साथमा जीवन सुरक्षा, आइरन चक्की, नाभी मल्हम, घरमै बच्चा जन्मिँदा हुनसक्ने सम्भावित जोखिम र नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापनका बारेमा समेत सचेत गराइन्छ। घरबाट अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा सुत्केरी भई अत्याधिक रक्तस्राव भएमा ‘मिजोप्रोस्टल’ नामक तीन चक्की ओठले च्यापेर खुवाउन सकिएको अवस्थामा महिलालाई अत्याधिक रक्तस्रावबाट बचाउन सकिने सेढाइँले बताउनुभयो। 
    
धुलिखेल अस्पतालमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा सुमन ताम्राकारका अनुसार उक्त चक्कीले खुलिरहेको पाठेघरलाई खुम्च्याउन सहयोग पुर्‍याउँछ। उक्त औषधिले रक्तस्राव नरोकिए पाठेघरबाहेक अन्यत्र स्थानबाट पनि निरन्तर रक्तस्राव हुनसक्ने भएकाले सकेसम्म छिटो गर्भवतीलाई नजिकैको स्वास्थ्य संस्थामै पुर्‍याउनुपर्ने उनको भनाइ छ। 

सरकारले नवजात शिशु तथा आमाको निधनको दरलाई सन् २०३० सम्ममा शून्यमा झार्ने रणनीति अपनाएको छ। यो अभियानले मातृ मृत्युलाई रोक्ने अपेक्षा गरिएको छ। काभ्रेपलाञ्चोकमा रहेका अस्पताल तथा १३ स्थानीय तहका स्वास्थ्य संस्था, सामाजिक संस्था, समुदाय र स्थानीय जनप्रतिनिधिमार्फत अभियान प्रभावकारी बनाइने योजना बनाइएको छ। 
 

प्रकाशित: Apr 17, 2023| 14:50 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्