कालीकोट- कालीकोटमा चालु शैक्षिक सत्रको सुरुआतमा नै सामुदायिक विद्यालयमा पाठ्पुस्तक पुगेका छन्। विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन्।
चालु शैक्षिक सत्रको पहिलो सुरुआतमै सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन्। अघिल्ला वर्षमा जनक शिक्षा सामग्री केन्द्रले समयमा किताब नदिएका कारणले जहिले पनि पुस्तकको अभाव हुने गरेको थियो। यस पटक समयमै पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए।
“पाठ्यपुस्तक खरिद गर्ने रकम गाउँपालिकाको खातामा जम्मा भइसकेको छ”, उनले भने , “पालिकाले विद्यालयको खातामा पैसा पठाइसकेको छ। विद्यालयहरूले पुस्तक खरिद गरिसकेका छन्।” समयमा नै जिल्लामा पाठ्यपुस्तक आएकाले वितरणको काम थालिएको खाँडा चक्र नगरपालिका मान्म बजारमा सञ्चालित विनोद बुक सेन्टरका वितरक नन्दबहादुर शाहीले बताए।
विगतका वर्षमा विद्यालयमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक विना नै पढाउनुपर्ने बाध्यता रहेको तर अहिले त्यो समस्या हल भएको नरहरिनाथ गाउँपालिका–९ लालु जनप्रभात माध्यमिक विद्यालयमा प्रधानध्यापक निर्मलकुमार विष्टले जानकारी दिए। “हामीले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक दिने गरेका छौँ”, उनले भने, “नयाँ वर्षको दुई दिन बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना खुला गरेका छौँ। भर्ना हुने विद्यार्थीलाई पाठ्यपुस्तक पनि सँगै दिने गरेका छौँ।”