काठमाडौं- सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा चार जनाले ३२ लाख ठगेका छन्। झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्क नजिक दुई कठ्ठा जग्गा सस्तोमा बिक्रीमा छ भनेर बोलाई उनीहरुले विष्णुमाया सापकोटा सुवेदीको पैसा लुटेका हुन्।
पक्राउ पर्नेहरूमा रामेछापको देउराली गाउँपालिका–२ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ, पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भई काठमाडौं गुर्जुधारा बस्ने ५२ वर्षीय जनक रेग्मी, मोरङको बेलबारी नगरपालिका–६ घर भई झापाको मेचीनगर नगरपालिका–६ बस्ने ५५ वर्षीय रणबहादुर पोखरेल र झापाको कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राई रहेका छन्।
ठगिनेचाहिँ मोरङ उर्लाबारी–४ की ५२ वर्षीया विष्णुमाया सापकोटा सुवेदी र अनिल विश्वकर्मा हुन्। प्रहरीले घटनाबारे जानकारी पाएपछि उनीहरूको खोजी सुरु गरेको थियो। नगदसहित दुई जना मानिसहरू इलामतर्फ गएको खुलेपछि तत्काल जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरिएको झापा प्रहरीले जनाएको छ।
सोही क्रममा शुक्रबार इलाम प्रहरीले इलाम नगरपालिका–७ पुरानो बसपार्कस्थित देउराली होटलमा लुकिछिपि बसेको अवस्थामा नगद १४ लाख ६५ हजारसहित राजेश श्रेष्ठ र जनक रेग्मीलाई पक्राउ गरेको थियो। सोही घटनामा संलग्न रहेका रणबहादुर पोख्रेल र विजय राईलाई इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार नै अर्जुनधारा–११ स्थित थापा होटल एण्ड लजको कोठा नम्बर १०१ मा लुकिछिपि बसेको अवस्थामा नगद १३ लाखसहित पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये विजय राई र रणबहादुर पोख्रेलले ठगी गर्ने योजना बनाई विजयले एकै गाउँका विष्णुमाया सापकोटालाई भेटी अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा दुई कठ्ठा जग्गा रहेको र उक्त जग्गा सस्तोमा मिलाइदिन्छु भनी विश्वास दिलाएका थिए। विजयले चिनजानकै मानिस राजेश श्रेष्ठ र जनक रेग्मीलाई सम्पर्क गरी जग्गा खरिद गर्ने मानिस आउँदैछ भनी चैत २८ गते झापा बोलाएका प्रहरी अनुसन्धानबाट खुलेको छ।