बुधबार, जेठ २४, २०८०

झापामा रासायनिक मलको विकल्पमा 'जैविक मल' उत्पादन 

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

झापा- हाइ हिमालयन अग्र्यानिक प्रालिले शिवसताक्षी नगरपालिका-८ मा मासिक एक हजार मेट्रिक टन जैविक मल उत्पादन गर्ने कारखाना सञ्चालन गरेको छ।

Everest Bank

रासायनिक मलको अभाव बर्सेनि हुँदै आएको अवस्थामा त्यसको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने जैविक मलको माग बढिरहेको हुँदा कम्पनीले ६० लाख लगानीमा कारखाना स्थापना गरेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताए।

छ महिनाअघिदेखि कारखानाबाट थ्रीस्टार ब्रान्डका चार प्रकारका जैविक मल उत्पादन भइरहेका छन। यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नुका साथै माटोको उर्वरा शक्तिलाई बढाउने घिमिरेको भनाइ छ।

कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ। यी पातमल, जरामल र धुलोमलको प्रयोगले बोटबिरूवालाई छिटो बढ्न, राम्रो उत्पादन दिन र बाली संरक्षक प्रांगारिक जीवाणुको रक्षा गर्ने उनले जानकारी दिए।

माछामलले पोखरीमा माछाका लागि प्राकृतिक खाद्य पदार्थ बढाउन मद्दत गर्दछ। जैविक प्रविधिमा आधारित यी मलको माग दिनानुदिन बढिरहेको जनाउँदै कारखानाका सञ्चालक घिमिरेले माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग कीराको प्रकोप नियन्त्रण गर्नसमेत यसले सहयोग पुर्‍याउने बताए।

Metro Mart
worldlink

हाल धुलो र झोलको रूपमा मल उत्पादन भइरहेको छ। महिनामा एक हजार मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखाना स्थापना गरिएता पनि हाल महिनामा पाँच सय मेट्रिक टनमात्र मल उत्पादन हुँदै आएको छ।

स्थानीयस्तरमा पाइने, झारपात, काठको धुलो, पिना, गाईको गोबर, गहुँतलगायतको कच्चा पदार्थ यो मल बनाउन प्रयोग हुने गरेको छ। आगामी वैशाखदेखि पूर्ण क्षमताका साथ मासिक एक हजार मेट्रिक टन मल उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।

हाइ हिमालयनले कम्पोस्ट मल प्रतिकिलो ५० र झोलमल प्रतिलिटर ३० का दरले झापा र इलामका किसानलाई बिक्री गर्दै आएको छ। रासायनिक मलको बर्सेनि हाहाकार हुने र किसानले विकल्प नपाइरहेको अवस्था देखेर जैविक मल उत्पादन गर्ने ठूलो कारखाना स्थापना गर्ने सोच आएको बताउने सञ्चालक घिमिरे पूर्वपत्रकार हुन।

अहिले उनी पत्रकारिता पेसा छाडेर कृषि क्षेत्रमा मल क्रान्ति गर्ने लक्ष्यका साथ लागिरहेका छन।

‘एकातिर सरकारले रासायनिक मल किसानलाई चाहिएका बेला उपलब्ध गराउन सकेको छैन, त्यो पनि विदेशबाट मगाउनु पर्छ’, घिमिरेले भने, ‘अर्कातिर रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा क्षयीकरण भइसक्यो, विषादीको प्रयोग नगरी बाली उत्पादन हुन छाड्यो, यो जटिल अवस्था देखेपछि पत्रकारिता त्यागेर जैविक मल उत्पादनको कारखाना सञ्चालन गर्ने अठोट गरेका हौँ।’

उनले वार्षिकरूपमा नेपाल सरकारले मल खरिदमा मात्र करिब २५ अर्ब खर्चदासमेत समयमा किसानले मल नपाउँदा भोग्नुपर्ने सास्तीलाई हाइ हिमालयनजस्ता स्वदेशमै खुलेका अग्र्यानिक मल कारखानाले राहत मिल्ने बताए।

सरकारले जैविक मल उत्पादक उद्योगी र प्रयोगकर्ता किसानलाई प्रोत्साहन अनुदान दिनुपर्ने उनको सुझाव छ। उनले जैविक मल उत्पादन गर्ने तरिका अध्ययनका लागि थाइल्यान्ड, फिलिपिन्स, डेनमार्क, बेल्जियमलगायतका देशको भ्रमण गरिसकेका छन।

‘त्यहाँको अनुभव र प्रविधिलाई समेत हामीले यहाँ प्रयोगमा ल्याइरहेका छौँ’, घिमिरेले भने। पत्रकारिता पेसा त्यागेर मल कारखाना खोलेर आफूले सुरुमै दैनिक आठ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको उनको भनाइ छ।

मलको माग बढ्दै जाँदा रोजगारी अझ बढी सिर्जना हुने सम्भावना छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जैविक मल उत्पादन गर्ने यस्ता कृषि उद्योग खुल्नु सराहनीय भएको बताउँदै जैविक मल उत्पादन गर्ने झापाका दुई कम्पनीलाई एक करोड अनुदान दिन सम्झौता भइसकेको जानकारी दिए।

सूचना अधिकारी शिवाकोटीले केन्द्रले हाइ हिमालय अग्र्यानिक प्रालि र बुद्धशान्ति गाउँपालिका-३ को अङ्कुरण एग्रो प्रालिलाई ५० लाखका दरले अनुदान दिने सम्झौता भएको बताए।

अङ्कुरण एग्रो प्रालिले आगामी वैशाखदेखि मासिक पाँच सय मेट्रिक टन जैविक मल उत्पादन गर्ने जनाएको छ। यो अनुदान प्रदेश सरकारमार्फत आएको हो। कोशी प्रदेश सरकारले जैविक मल उत्पादन गर्नेलाई प्रोत्साहनस्वरुप अनुदान दिने नीति ल्याएको छ।

प्रकाशित: Mar 24, 2023| 09:46. 00 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'भर्जिन ल्याण्ड' खप्तडमा 'व्यापारी बाबा' रामदेव

आध्यात्मिकसँगै पतञ्‍जलीको व्यापार प्रवर्द्धन र जडिबुटीको खानीको रुपमा रहेको नेपालमा उद्योग स्थापनाको उद्देश्यका साथ पटक-पटक नेपाल आउने गरेका अर्बपति व्यापारी रामदेव यसपटक भर्जिन ल्याण्ड खप्तड...