बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका मुख्य शीर्षकहरू

triton college
  • सिटको भागबन्डा मिलाउन बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षविहीन, १ लाख १५ हजार म्यादी प्रहरीका लागि खुल्यो भर्ना। निष्कर्षविहीन गठबन्धन
  • दसैँअघि नै तातोपानी नाका खुलाइने परराष्ट्रमन्त्री डा खड्काको भनाइ, धोबीखोला कोरिडोरको डुबान नियन्त्रण गर्न छुट्टै आयोजना बनाइने सहरीमन्त्रीको दाबी। मन्त्रीको दाबी
  • नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई गरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुतला, प्रहरीको पत्राचारपछि सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा। राष्ट्रपतिको पुतला दहन
  • फास्ट ट्र्याकको ठेक्का प्रक्रियामा संलग्नलाई कारबाही गर्न विकास तथा प्रविधि समितिको निर्देशन, विदेशमा समस्यामा परेका श्रमिकको उद्धारमा सरकार लागिपरेको श्रममन्त्रीको दाबी। फास्ट ट्र्याकमा गडबढी
  • राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजीनामा दिने घोषणा, एन्फा महासचिवलाई अल्मुताइरीले राजीनामा पठाएको एन्फा प्रवक्ताद्वारा पुष्टि। अल्मुताइरीको राजीनामा

अब समाचार विस्तारमा

मिलेन भागबन्डा
सत्तामा रहेका ५ दलका शीर्ष नेताको बैठक आइतबार पनि निष्कर्षविहीन भएको छ। सिट बाँडफाँड टुंगो लगाउने दाबी गरिएको बैठक सोमबारका लागि सारिएको छ। बैठक भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो।

बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङ मात्रै भएको बताएका छन्। 

शनिबार नै सिटको भागबन्डा मिलाउनका लागि बैठक डाकिएको भएपनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नपुगेपछि आइतबारका लागि सारिएको थियो। सिट बाँडफाटका लागि गठित कार्यदलले जिम्मेवारी पूरा नगरी अधुरो प्रतिवेदन बिहीबार शीर्ष नेताहरूलाई बुझाएपनि प्रतिवेदनमा केकति विषयमा समझदारी भएको भन्ने विवरण सार्वजनिक भएको छैन। 

corrent noodles
Metro Mart

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

म्यादीमा भर्ना खुल्यो
नेपाल प्रहरीले  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ।  

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। 

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत दरखास्त बुझाउन सक्नेछन्।  यसअघिको निवार्चनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका, र पूर्वसुरक्षाकर्मीका साथै वनरक्षक नेपाली नागरिकलाई भर्नामा प्राथमिकता दिइने प्रहरीले जनाएको छ।

चोलेन्द्रको बयान जारी
संसद्को महाभियोग छानबिन समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार चौथो दिन २४ प्रश्न सोधेको छ। यससँगै समितिले तयार पारेका ४३ मध्ये ३५ प्रश्नको सवालजवाफ सकिएको छ। 

यसअघि समितिले भदौ १५, १६ र १९ गते पनि जबराको बयान लिएको थियो। ३ दिनको बयानका क्रममा जम्मा ११ वटा प्रश्न समितिले सोधेको थियो। 

आज सिंहदरबारस्थित कार्यालयमा समितिले दिउँसो १२:३० मा चौथो दिन बयानका लागि जबरालाई बोलाएको थियो। करिब १ घण्टापछि बयान सुरु भएको थियो। 

चारै दिन जबरा खरोसँग विभिन्‍न राजनीतिक दल, नेपाल बार एसोसिएसन र न्यायाधीशहरूविरुद्ध उत्रिएका छन्। आइतबार पनि जबराले समकक्षीमाथि नै लान्छना लगाएको र यसैबाट उनीविरुद्धको महाभियोग पुष्टि हुने समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए। 

सरकारले २१ आरोपसहित राणाविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव संसद्मा दर्ता गराएको थियो। साढे ५ महिना उक्त प्रस्ताव यसै अलपत्र पारेपछि गत साउन २३ गतेको प्रतिनिधिसभाले महाभियोग प्रस्ताव ‘महाभियोग सिफारिस समिति’मा पठाएको थियो।

नाकाबन्दी कहिलेसम्म?
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्। मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिएका हुन्। 

आइतबार मन्त्रालयमा हिमालय पार व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता उनले जनाए। दसैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने उनको भनाइ थियो। 

मन्त्री खड्काले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताएका छन्। 

धोबीखोला करिडोर बाढी नियन्त्रणमा सरकारको चासो
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुवान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन्। 

आईतवार प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रिया कार्यक्रममा उनले उक्त करिडोरमा अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका,प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए। 

कार्यक्रममा शहरी विकासमन्त्री मेटमणी चौधारीले पनि धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताए। 

मन्त्री चौधरीले कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताएका थिए । 

राष्ट्रपतिको पुतला दहन
संसदबाट पारीत नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ। 

नेविसंघले आइतबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो। विद्यार्थीले पुत्ला दहन गर्दै राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए।

प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको थियो। नागरिकता विधयेक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपति भण्डारी समक्ष पठाइएको छ।

कालोसूचीमा सन्दीप
अध्यागमन विभागले क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ। उनीविरुद्ध जबर्जस्ती करणीमा उजुरी परेपछि प्रहरीले कालोसूचीमा राख्न विभागलाई पत्राचार गरेको हो। 

प्रहरीको पत्राचारपछि विभागले उनलाई कालोसूचीमा राखेको हो। सन्दीपले भदौ ५ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबर्जस्ती करण गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उक्त उजुरीपछि प्रहरीले घटनाबारे प्रमाण संकलन र पीडित पक्षको बयान लिएको छ। 

सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। सन्दीप निकट स्रोतका अनुसार उनी आइतबार नै नेपाल फर्किने तयारीमा छन्। ३ देखि ४ वटासम्म ट्रान्जिट पर्ने भएकाले मंगलबारसम्ममा मात्र नेपाल पुग्नेछन्। उनी जुनसुकै स्थानबाट नेपाल पक्राउ पर्न सक्ने भन्दै जिल्लामा पनि पत्राचार गरिसकेको काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले जानकारी दिए। 

फास्ट ट्र्याकको ठेक्का दिनेलाईलाई कारबाही!
संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले सो आयोजनाको ठेक्का सम्झौंतासम्बन्धी छानवीन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायतका जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिएको हो। सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरुलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणीकुमारी खडकाले जानकारी दिइन्। 

बैठकले रेल पूर्वाधार आयोजना अन्तरगत जनकपुर-जयनगर र जनकपुर–कुर्था–बर्दिबास–निजगढ खण्डको स्थलगत अवलोकन भ्रमण प्रतिवदेन पनि पेश गरी सुझावसहित पारित गरिएको छ। रेल सेवा चुस्तदुरुस्त राख्नका लागि आफ्नै वासिङ सेन्टर, वर्कशप र फ्युल स्टेशन स्थापना गर्ने कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सरकारलाई निर्देशन गरिएको छ। 

नेपाल मिडिया काउन्सिलसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि बैठकमा पेस गरिएको थियो। बैठकमा समितिका सदस्यहरुले रेल सेवा संचालनका लागि आवश्यक पूर्वाधार निर्माण कार्यलाई तत्काल अघि बढाउन सरकारलाई सचेत गराएका थिए। 

श्रमिकको उद्धारमा सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको बताएका छन्। 

आईतवार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरुसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागिपरिरहेको बताएका हुन्। समस्यामा परेका श्रमिकहरुको अवस्थाको सम्बन्धमा नेपालका राजदुतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदुतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने उनको भनाइ छ। 

मन्त्री कुँवरले विदेशी कम्पनीहरुले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए। गल्ती काम गरेका मेनपावरहरुलाई कारबाही गरिने पनि उनको भनाइ थियो।

कर्जा सहुलियत
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले नेपाली कृषिजन्य उत्पादन भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको बताए। 

कार्यक्रममा उपस्थित  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्नेमा जोड दिए। 

अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने समेत दाबि गरे। 

अल्मुताइरीको राजीनामा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्। 

अल्मुताइरीले आईतवार सामाजिक सञ्जाल फेसबुकबाट नेपाली राष्ट्रिय फुटबल टिमसँगको यात्रा टुंगिएको घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले महासचिवलाई राजीनामा पठाएको जानकारी दिए। राजीनामामा एन्फासँग भएको सम्झौता भंग गरेको उल्लेख गरेको शाहले बताए। 

मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो सामाजिक सञ्जालमा नेपाली टिमसँगको आफ्नो ५२५ दिनको यात्रा टुंगिएको बताउनु भयो। 

एन्फाले वि.सं २०७७ साल चैत २२ गते कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। अल्मुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो भने गत असोजमा माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट वञ्चित बनेको थियो। अल्मुताइरीको नेतृत्वमा नेपालले एएफसी एशियन कप छनोटको दोस्रो चरण खेलेको थियो। 

अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अल्मुताइरी विवादमा तानिएका थिए। अल्मुताइरीको प्रशिक्षणमा नेपालले १९ अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमध्ये पाँच खेलमा जित निकालेको नेपालले दुई खेलमा बराबर र १२ खेलमा हार व्यहोरेको छ। 

प्रकाशित: Sep 11, 2022| 21:52 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।