शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू

triton college
  • आयव्यय विवरण नबुझाउने दललाई निर्वाचनमा सहभागी हुन नदिने आयोगको निर्णय, प्रचारमा भारतीय गाडी र २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रस्ताव। भारतीय गाडी निषेध!
  • नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एउटै घोषणापत्र बनाएर चुनाव लड्न सहमत, पार्टी एकताको सन्देश दिन एकता संयोजन समिति घोषणा। एमालेबाहेकको वाम ध्रुवीकरण
  • काठमाडौं महानगरले थाल्यो अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान, एक साताभित्र थुप्रिएको फोहोर बञ्चरे पुग्याउन मेयर बालेन्द्र साहको निर्देशन। आक्रामक महानगर
  • जनकपुर-जयनगर रेल सेवा सञ्चालनमा आएसँगै भारतीयसहितका यात्रीको भीड, दसैंका लागि साढे ६ करोड खर्चिएर ३ हजार खसीच्यांग्रा किन्ने सरकारको तयारी। लाग्यो दसैँ
  • प्रहरीविरुद्ध धम्की दिएको आरोपमा पाकिस्तानी पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान सुरु, इमरान खानलाई गिरफ्तार गर्नेलाई कब्जा गर्ने समर्थकहरूको चेतावनी। खानविरुद्ध अनुसन्धान

अब समाचार विस्तारमा
विवरण नबुझाउने दलले चुनाव लड्न नपाउने

निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघीय र प्रदेशसभा निर्वाचनमा सहभागी हुन रोक लगाउने भएको छ।

आयोगमा ११६ राजनीतिक दल दर्ता छन्। तीमध्ये आगामी ४ मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ८४  राजनीतिक दल मात्रै दर्ता भएको आयोगले बताएको छ। वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने आयोगले जनाएको छ। 

corrent noodles
Metro Mart

आयोगमा दर्ता भएका दलले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलको सूची सार्वजनिक गरिने उनको भनाइ छ। 

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट समेत मागेको छ। आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट मागेको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताएका छन्। यो बजेट मन्त्रालयबाट निकासा हुन बाँकी छ। 

आयोगको कडा आचारसंहिता, दलको विरोध

निर्वाचन आयोगले मौन अवधिको १५ दिन अघिसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न दिने आचारसंहिता प्रस्ताव गरेको छ। 

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिताबारे सोमबार राजनीतिक दलहरूसँग गरेको छलफलमा आयोगले यस्तो प्रस्ताव गरेको हो। आयोगले एक पटकमा २५ जनासम्मले मात्र र्‍याली गर्न पाउनेसमेत प्रस्ताव गरेको छ। यस्तै एक पटकमा १० वटा मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने प्रस्तावसमेत आयोगले दलहरूसँग प्रस्ताव गरेको छ। 

यस्तै विदेशी नम्बर प्लेटका गाडी प्रयोगमा निषेध गर्ने आचारसंहिता बनाइएको छ। भारतीय सीमाना जोडिएका स्थानमा विगतमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग भएसँगै त्यसलाई नियन्त्रण गर्न आयोगले यस्तो प्रयास गरेको हो।

एमालेबाहेकको वाम ध्रुवीकरण

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सोमबार भएको छलफलपछि आगामी चुनावमा एउटै घोषणापत्र बनाउन दुवै दल तयार भएका हुन्।

दुई दलले निर्वाचनअघि एकता संयोजन समिति घोषणा गर्नेछन्। चुनावमा एउटै घोषणापत्र र एकता संयोजन समिति घोषणा गर्न सहमत भएको नेकपा माओवादी केन्द्रका वरिष्ठ अध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

भेटमा प्रचण्ड र माधव नेपासँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेकपा एसका महासचिव वेदुराम भुसाल सहभागी थिए। चुनावअघि पार्टी एकता गर्न समय नपुग्ने भए पनि एकताको सन्देश दिनलाई दुई पार्टीले एकता संयोजन समिति घोषणा गर्ने भएका हुन्।

२०७४ को निर्वाचनअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले एउटै चुनावी घोषणापत्र तयार पारेका थिए भने निर्वाचनपछि पार्टी एकता गरेका थिए।

प्रचण्ड र नेपालबीच हात्तीवनमा भएको तीन घण्टा लामो भेटवार्ताले यस्तो सहमति जुटाएको हो। यसअघि प्रचण्डले डा बाबुराम भट्टाराई नेतृत्व र वामदेव गौतम नेतृत्वको दलसँग पनि एउटै चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने सहमति गरिसकेका छन्। 

गिरीको निधनमा दुवै सदनमा शोक प्रस्ताव पारित

कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त संसदका  दुवै सदनले शोक प्रस्ताव पारित गरेका छन्। 

सोमबार बसेका दुवै सदनका बैठकमा प्रखर समाजवादी चिन्तक समेत रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेका हुन्। त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो। 

गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यस्तै वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएका उनी वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

पार्किङ क्षेत्र क्लियर गर्ने अभियान सुरु

काठमाडौं महानगरले अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान थालेको छ। नक्सा पास गर्दा सवारीसाधनको पार्किङ गर्नका लागि भन्दै अनुमति लिने तर त्यस्ता स्थानमा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएपछि महानगरले संरचना भत्काउन थालेको हो। 

पार्किङ क्षेत्र  खाली गर्न महानगरले एक महिनाअघि नै सूचना प्रकाशित गरेर समय तोकेको थियो। तर अटेर गरेर पसल नहटाएपछि सोमबारदेखि पसल रहेका स्थान भत्काउन थालेको हो। सोमबार काठमाडौंका मेयर बालेन शाहसहितको टोली अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पुगेको थियो।

बानेश्वर क्षेत्रमा रहेका ७१ वटा अन्डरग्राउन्ड पार्किङमध्ये २१ वटाले मात्र नक्सा पासअनुसार काम गरेको पाइएको छ। बाँकी सबैले पार्किङ क्षेत्रमा पसल चलाउन भाडामा दिएका छन्। अनुमति विपरीत सञ्चालित सबै पसल हटाइने महानगरले बताएको छ। 

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर थुप्रिएको फोहोर एक हप्ताभित्र व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

बञ्चरे डाँडा जाने बाटोको अवरोध हटेपछि बालेनले यस्तो निर्देशन दिएका हुन्। हाल कामपाको फोहोर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख बालेनले निजीलाई आगामी एक हप्ताभित्र फोहोर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिएका हुन्। 

काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेकमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ। नियमित फोहोर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको दिएको छ। 

नेकेपा एस र माओवादीको घोषणापत्र एउटै

नेकपा माओवादी केन्द्रको अन्तर्घात समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्षसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको छ। टंक राईको नेतृत्वको छानबिन समितिले अन्तर्घातको आरोप लागेका नेता/कार्यकर्तासँग बयान लिएर तयार पारेको प्रतिवेदन सोमबार अध्यक्ष प्रचण्डलाई बुझाएको हो।

प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले अनुशासन तोड्नेलाई दण्डित गरिने बताए। अन्तर्घातीलाई कारबाही गर्न नसकिए कम्युनिस्ट पार्टीभित्र अराजकता आउने र त्यसले समाजवादतिरको यात्रालाई अवरुद्ध गर्ने उनको भनाइ छ। 

जनकपुर-जयनगर रेल सञ्चालनमा

जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ।

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो। वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गरेका थिए । रेल  सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति हेतु भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । 

रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको यात्रीले बताएका छन्। 

त्यस्तै टिकट विक्रेता सन्तुकुमार यादवले यात्रुहरुको चाप बढिरहेको छ ।  

रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा बिस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज बिस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । 

६ करोडका खसी किनेर बेच्दै सरकार

सरकारले यो वर्षको दसैंका लागि करिब साढे ६ करोड मूल्य खर्चिएर ३ हजार खसी र च्यांग्रा किन्ने भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, च्यांग्रा खरिद गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ।

असोज लागेपछि पहिलेकै स्थानमा यस वर्ष पनि दसैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्नेबारे आइतबारको बैठकमा छलफल भए पनि निर्णय हुन सकेन। कम्पनीले सहुलियत पसलमा राख्ने सामानको सूची तयार पार्ने, सरकारी स्वमित्वका अन्य संस्थानले बिक्री गर्ने वस्तुलाई पनि सुपथ बजारमा ल्याउने र कुन वस्तुमा कति छुट दिने भन्नेबारे भने पछि निर्णय गरिने बताएको छ। यस वर्ष पनि हेटौंडा, दाङ र नेपालगञ्जबाट खसी र मुस्ताङबाट च्यांग्रा ल्याउने गरी कम्पनीले तयारी थालेको छ।

मिटरब्याजीको ससुरालीमा कपाली तमसुक

महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ। 

प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए।  शनिबार पक्राउ परेका उनको ससुराली घरबाट ७१ लाख ४४ हजार ३५० रुपैयाँको नौ थान कपाली तमसुक बरामद भएको हो। 

बेलायतकै खर्चमा नर्स पठाइँदै

नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा नेपाल र बेलायतबीच हस्ताक्षर भएको छ। 

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

स्वास्थ्यसम्बन्धी कामका लागि बेलायत जाने नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुनेछ। बेलायत पठाइने नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्डका विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ। 

बेलायत जाने स्वास्थ्यकर्मीले एक रूपैयाँ पनि खर्च गर्नु नपर्ने मन्त्रालयको दाबी छ। स्वास्थ्यकर्मीहरूको भिसा, टिकट तथा भर्ना प्रक्रियाका लागि आवश्यक शुल्क बेलायत सरकारले नै व्यहोर्ने बताइएको छ। 

पूर्वप्रधानमन्त्री खानमाथि अनुसन्धान सुरु

पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेपछि अनुसन्धान सुरु गरिएको हो। 

शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । देशमा तनाव उच्च छ। खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन्। 

अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन्। पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । 

उनका सहयोगी देशद्रोहको आरोपमा हिरासतमा छन्। खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राखेको र आफ्नो पार्टी सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप लगाएका थिए। 

प्रकाशित: Aug 22, 2022| 20:31 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।