शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • 'एसपीपी'बारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण, पाहुना गएका भिनाजु र आफन्त मिलेर हत्या! [२०७९-२-३१]

'एसपीपी'बारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण, पाहुना गएका भिनाजु र आफन्त मिलेर हत्या! [२०७९-२-३१]

प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएका प्रश्‍नको जवाफ दिने क्रममा उनले अहिलेको राष्ट्रवादी सरकारले कुनै पनि मुलुकसँग सैन्य गठबन्धन नगर्ने बताएका हुन्।
 |  मंगलबार, जेठ ३१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

vianetvianet

काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:

triton college
  • सरकारले अमेरिकासँग कुनै पनि सैन्य गठबन्धन नगर्ने पराराष्ट्रमन्त्री  डा खड्काको प्रष्टीकरण, एसपीपीको नाममा कुनै  सम्झौताको प्रस्ताव वा  मस्यौदा नआएको नेपाली सेनाको दाबी। एसपीपीको हलचल
  • अर्थमन्त्री जनार्दन शर्माको जवाफ सुन्न एमाले तयार नभएपछि अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम स्थगित, कागज आपूर्ति नहुँदा समयमै पुस्तक पुर्‍याउन नसकिएको शिक्षामन्त्रीको दाबी। बढ्यो ईसीडी शिक्षकको तलव
  • जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लेनदेनको कारोबार रोक्का, खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्न रोक  लगाइएको  मन्त्रालयको प्रष्टोक्ति। जग्गा धितोमा ऋण नपाइने
  • पाहुना गएका भिनाजुसहितका आफन्तहरू मिलेर पर्सामा राजेश रामको हत्या गरेको खुलासा, घर पुर्‍याइदिने भन्दै दरबारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कारको आरोपमा ४ पक्राउ। आफन्तबाटै  हत्या
  • कतारमा आयोजना हुने फिफा विश्वकप  २०२२ मा एसियाका ६ देशले सहभागिता जनाउने पक्का, पेरुलाई पेनाल्टीमा हराएर  एसियाली क्षेत्रबाँट प्रतिनिधित्व गर्दै अष्ट्रेलिया।  अस्ट्रेलिया पनि  विश्वकपमा

अब  समाचार  विस्तारमा

एसपीपीबारे सरकारको जवाफ
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकारले अमेरिकासँग कुनै पनि सैन्य गठबन्धन नगर्ने बताएका छन्। 

प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएका प्रश्‍नको जवाफ दिने क्रममा उनले अहिलेको राष्ट्रवादी सरकारले कुनै पनि मुलुकसँग सैन्य गठबन्धन नगर्ने बताएका हुन्। 

अहिले बाहिरिएको स्टेट पार्टनरसिप प्रोग्रामका विषयमा उनले यो मानवीय सहायता, विपद् व्यवस्थापन र सांस्कृतिक-सामाजिक विकासका कुरामा सहकार्य गर्ने कुरा रहेको बताए। एसपीपी कुनै सन्धि, गठबन्धन अथवा कुनै राष्ट्रहितविरुद्धको सम्झौता नभएको उनको  दाबी छ। 

National life insurance

उनले विगतमा पनि प्रधानसेनापतिको भ्रमण भएकोले त्यही अनुसार अहिले प्रधानसेनापतिको अमेरिका भ्रमण हुन लागेको र त्यस भ्रमणका क्रममा कुनै गलत सम्झौता नहुने पनि बताएका छन्। अहिलेको परराष्ट्र नीति सन्तुलित रहेको पनि उनले बताएका छन्। उनले देशको स्वार्थ सबैभन्दा ठूलो कुरा भएको पनि स्पष्ट पारे। बीआरआई पनि अनुदानमा नै प्राप्त होस् भन्‍ने सरकारको  चाहना  रहेको  उनको  भनाइ छ ।  

उता नेपाली सेनाले भने  एसपीपीको नाममा हालसम्म कुनै पनि सम्झौताको प्रस्ताव नआएको र कुनै प्रकारको प्रस्तावको मस्यौदा पनि प्राप्त नभएको दाबी गरेको छ। 

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी)मा हस्ताक्षर गर्नको लागि अमेरिकाले प्रस्ताव गरेको कुरा अस्वीकार गरे। सिलवालले नेपाल समयसँग  कुराकानी गर्दै  प्रस्तावको मस्यौदा पनि  प्राप्त नभएको दाबी गरेका हुन्। 

प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तय भएसँगै यो विषय चर्चामा आएको हो। एसपीपी कार्यक्रमलाई लिएर सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेले संसदमा प्रश्न उठाउनुका साथै विरोध गर्दै आएका छन्। 

अमेरिकाले सन् २०१५ मै नेपाललाई एसपीसी कार्यक्रममा सहभागी हुन आग्रह गरेसँगै साझेदारीका लागि १० बुँदे प्रस्तावसमेत गरेको बताइएको छ। उक्त प्रस्तावमा सम्झौता नेपालको रक्षा मन्त्रालय र अमेरिकाको रक्षा मन्त्रालयमार्फत् हुने उल्लेख गरिएको छ। 

अर्थमन्त्रीको जवाफ दिने कार्यक्रम स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण विनियोजन विधेयकमाथि अर्थमन्त्रीले जवाफ दिने  कार्यक्रम स्थगित भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयकमा करका दर हेरफेर गर्ने जिम्मा बिचौलियालाई लगाएको समाचार सार्वजनिक भएपछि एमालेले उनका जवाफ सुन्न तयार नरहेको बताएपछि अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम स्थगित भएको हो।  

अर्थमन्त्रीसँग छलफलमा बस्न नसक्ने बताउँदै एमालेका सांसदहरूले उठेर  विरोध  गरेका थिए। यसपछि  सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको बताएपछि एमालेका सांसदहरूले  कारबाही प्रक्रिया अघि बढाउन सहमत भएका थिए। 

यसअघि  एमाले प्रमुख  सचेतक विशाल भट्टराईले संसदको आजको कार्यसूचीको ९ नम्बरमा अर्थमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखेकाले त्यो हटाउनुपर्ने माग गरेका थिए।

उठेर विरोध जनाइरहेका एमालेका सांसदहरूलाई सभामुख सापकोटाले आफ्नो ध्याकर्षण भएको भन्दै पटक-पटक बसिदिन आग्रह गरेका थिए।  सभामुखले ध्यानाकर्षण भएको भन्दै विश्वस्त तुल्याएपछि संसदको कारबाही अघि बढेको थियो। अर्थमन्त्री शर्माले भने आफूमाथि  कलोलकल्पित आरोप  लगाएको दाबी गरेका  छन्।  

पुस्तक अभावबारे के भन्छ सरकार?
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका छन्।  

मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री पौडेलले कागजको आपूर्ति हुन नसकेका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको जवाफ दिएका हुन्। 

मन्त्री पौडेलले संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप गरी १० हजार तलब बनाइएको  जानकारी दिएका हुन्। स्थानीय तहले मासिक ७ हजार तलव थप  गर्ने व्यवस्था  गरिएको समेत उनले जानकारी दिए। योसँगै ईसीडी शिक्षकको तलव मासिक १७ हजार  रुपैयाँ पुगेको छ। 

सिक्दै कमाउदै कार्यक्रम चालु वर्ष १४० विद्यालयमा शुरु गरिएको र आगामी वर्ष थप १००  विद्यालयमा विस्तार गर्नेगरी थप बजेट विनियोजन गरिने उनको भनाई छ। 

राजस्व अनुसन्धान विभागमा किन टिक्दैनन् हाकिम?
राजस्व अनुसन्धान विभागमा ७ वर्षमा ८ जना  महानिर्देशक परिवर्तन भएका  छन्। ०७१ सालदेखि ७९ सालसम्म आईपुग्दा विभिन्न मितिमा पद बहाली भएका रामशरण चिमोरिया ५ महिना, रामकृष्ण सुवेदी ५ महिना, राम प्रसाद आर्चाय ७ महिना, भुपाल बराल ८ महिना, प्रकाश पौडेल आठ महिना, निर्मलहरि अधिकार १३ महिना, बालकृष्ण घिमिरे १३ महिना र दीर्घराज मैनाली २९  महिना विभागमा कार्यभार सम्हालेका छन्। 

पछिल्लो पटक, अर्थात् सोमबार राजस्व अनुसन्धान विभाग प्रमुखको हैसियतमा प्रकाश पौडेलले आफूले गरेका कामको वर्णन गर्दै प्रेस विज्ञप्ति जारी गरे। उनलाई मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेपछि उनले आफ्नो पालामा भएका कामको विवरण दिएका हुन्। आफ्नो सरुवाप्रति घुमाउरो असन्तुष्टि व्यक्त गरेका  उनले आफू सक्षम हुँदाहुँदै किन सरुवा गरिन्छ भन्ने प्रश्न उठाउन खोजेका छन्। 

एक पूर्व राजस्व सचिवका अनुसार राजस्व अनुसन्धान विभागमा हुने सरुवा स्वार्थ समूहकै कारण हुने गरेको छ। विगतदेखि नै यस्तै परम्परा रहेको उनको अनुभव छ। बाँकी कारण सहितको विस्तृत समाचार नेपाल समय डटकममा पढ्न सक्नु हुनेछ। 

अपराधको फेरिँदो स्वरुप
पर्साको बहुदरमाई नगरपालिका-५ का राजेश रामको हत्या उनकै भिनाजुसहित आफन्तले गरेको खुलेको छ। राजेशको शव जगरनाथपुर गाउँपालिका-६ स्थित खोल्साबाट बरामद भएको थियो।  

राजेश भिनाजु हिरामन महराको घरमा पहुना लाग्न गएका थिए। सो क्रममा राजेशलाई हिरामनले आफ्नै परिवारकी एक महिला सदस्यसँग अवैध शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा फेला पारेका थिए। हिरामन र परिवारका सदस्यहरू मिलेर राजेशको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। 

राजेश रामको हत्यापछि महराको परिवारले उनको शव खोल्सामा लगेर फ्याँकिदिएको पाइएको प्रहरीले जनाएको छ। हत्या आरोपमा प्रहरीले ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवि, ३५ वर्षीया सुनिता देवि र २२ वर्षीया रिन्कु देविलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई सोमबार सार्वजनिक गरेको हो। 

यसैबीच काठमाडौंको दरबारमार्गबाट घर पुर्‍याइदिने भन्दै बौद्ध लगेर एक महिलामाथि सामूहिक बलात्कार भएको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार बौद्धका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २४ वर्षीय रितेश तामाङ, २२ वर्षीय रिन्जेन शेर्पा, ३४ वर्षीय उत्तम लामा छन्। यस्तै बौद्ध बस्दै आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालकसमेत रहेका ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा पनि पक्राउ परेका हुन्। 

उनीहरूमाथि जबरजस्ती करणीसम्बन्धी कसूरको मुद्दामा ५ दिनको म्याद अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मन्त्रीबाटै बालबालिकामाथि हातपात
लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री बिमलाकुमारी खत्री वलीले प्रेमी भनिएका वाईसीएलका नेता एकराज बस्नेतको घरमै पुगेर  उनकी श्रीमती र बच्चालाई हातपात गरेकी छन्।

मन्त्रीले बस्नेतको घरमा नै पुगेर आक्रमण गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ। 

विगतदेखि नै पदीय मर्यादा बाहिरका विषयहरुमा विवादित वलीको व्यवहार आपत्तिजनक र निन्दनीय भएको सचेतक ढकालले बताउदै उनको राजीनामा  माग गरेका हुन्। 

जग्गा धितो कर्जामा रोक
सरकारले जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लेनदेनको कारोबार गर्न रोक लगाएको छ। 

कृषि र गैरकृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन्। 

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ। 

खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नु पर्नेछ। 

उल्लिखित निर्देशनलाई देखाउँदै सोमबार र मंगलबार मालपोत कार्यालयले जग्गा रोक्का गर्न नमानेको बैंक तथा वित्तीय संस्थाहरुले जनाएका छन्। 

थामिएन नेप्से
आगामी आर्थिक वर्षका सरकारले संसदमा बजेट प्रस्तुत गरेपछि सेयर बजार निरन्तर ओरोलो  लागेको लाग्यै छ। बजेटपछि १२ दिन सेयर कारोबार  हुँदा  ११ दिन घटेको हो। मंगलबार सेयर बजार २ हजार अंकभन्दा तल  झेरेको हो।  मंगलबार सेयर बजार ३६ अंक घटेर १९९६ अंकमा  आइपुगको हो।  

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूह घटेका छन्। जसमा वाणिज्य बैंक उपसमूह ०.८९ प्रतिशतले घटेको छ भने बाँकी उपसमूह १ प्रतिशतदेखि ३ प्रतिशतसम्म घटेका छन्। कारोबारमा आएका २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै पाँच कम्पनीको सेयर मूल्य बढेको छ।  मंगलबार हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज यस कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन्।

यसैगरी बलेफी हाइड्रोपावरको सेयर मूल्य ८.१५ प्रतिशत र सगरमाथा इन्स्योरेन्स, ग्रीन भेन्चर्स, गणपति लघुवित्तका लगानीकर्ताले ६ प्रतिशत भन्दा धेरै गुमाउनु परेको छ। 

शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४ करोड ६७ लाख बढीको कारोबार भएको हो। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि ३ करोड ७९ लाख बढीको सेयर कारोबार भएको हो। 

यसरी घटेको बजारमा पनि केही कम्पनीको सेयर मूल्य राम्रै अंकले बढेको छ। आज आँधिखोला लघुवित्तका लगानीकर्ताले ८.१८ प्रतिशत र एनएमबी-५० का लगानीकर्ताले ४.१० प्रतिशत कमाएका छन्।

अस्ट्रेलिया पनि विश्वकपमा
कतारमा आयोजना हुने फिफा विश्वकप  २०२२ मा एसियाका ६ देशले सहभागिता जनाउने पक्का भएको छ। 

आइतबार रातिको खेलमा एसियाली देशको प्रतिनिधित्व गर्ने अष्ट्रेलिया पनि छनोट भएपछि विश्वकपमा एसियाका ६ टिम भएका हुन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एसियाका लागि ४ टिमको लागि सिट उपलब्ध गराएको छ। एसियाली छनोटबाट चार टिम विश्वकपमा छनोट हुने व्यवस्था छ। तर यो वर्ष कतारमा विश्वकप आयोजना हुने भएकाले कतारसहित  ६ टिम यसअघि नै विश्वकपमा छनोट भइसकेका छन्। 

यता एसियाबाट ४ टिम भएजस्तै दक्षिण अमेरिकाका लागि पनि ४ टिमका लागि सिट प्रदान गरिएको थियो। त्यसैले आउँदो कतार विश्वकपका लागि एसियाबाट छनोटको दौरान पाँचौं भएको छ। दक्षिण अमेरिकी छनोटमा पनि पाँचौ भएका टिमको प्रतिस्पर्धा गराइएको थियो। विश्वकपको यो प्लेअफ खेलमा जित निकाल्ने टिमले विश्वकप खेल्न पाउने पक्का थियो। त्यसमा एसियाबाट अष्ट्रेलिया र दक्षिण अमेरिकाबाट पेरुले खेलेका थिए। 

आइतबार राति अल रियान रंगशालामा भएको उक्त खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि रेफ्रीले पेनाल्टीबाट नजिता दिलाएका हुन्। पेनाल्टीमा पेरुलाई ५–४ ले हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट  भएको छ। यससँगै ३२ देश सहभागी बन्ने विश्वकपमा अब एक देशको टुंगो लाग्न बाँकी छ।

प्रकाशित: Jun 14, 2022| 20:33 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।