बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • तलबभत्ता र सामाजिक सुरक्षालाई बजेटमा प्राथमिकता, दुई स्थानमा सुरु भएन मतगणना [२०७९-२-८]

तलबभत्ता र सामाजिक सुरक्षालाई बजेटमा प्राथमिकता, दुई स्थानमा सुरु भएन मतगणना [२०७९-२-८]

उता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले आगामी बजेटमा सामाजिक सुरक्षालाई विशेष जोड दिइने बताएका छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख समाचारहरू:

triton college
  • स्थानीय तह निर्वाचनअन्तर्गत ७१६ पालिकाको मत परिणाम सार्वजनिक, बाजुराको बूढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा अझै सुरु हुन सकेन मतगणना। ३१४ पालिका नेतृत्वमा कांग्रेस
  • बलात्कारसहितका जघन्य अपराधमा हदम्याद लाग्ने व्यवस्था हटाउन महिला सांसदको माग, बलात्कार आरोपीमाथि अनुसन्धान गरी कारबाही चलाउन आलटाल नगर्न चेतावनी । महिला सांसदको चेतावनी
  • नेताको कुर्सी जोगाउने स्थिरताले देश समृद्ध बन्न नसक्ने योजना आयोगका पूर्वउपाध्यक्षको टिप्पणी, तलवभत्ता र समाजिक सुरक्षालाई बजेटले प्राथमिकता दिने आयोग उपाध्यक्षको दाबी। कुर्सी जोगाउने स्थिरता
  • दक्षिण कोरिया भ्रमण सकेर जापान पुगे  अमेरिकी राष्ट्रपति जो बाइडेन, उत्तर कोरियाको आणविक परीक्षणबारे आफूले चासो नदिएको टिप्पणी। एसिया भ्रमणमा बाइडेन
  • इङ्ग्लिस प्रिमियर लिगको उपाधिका लागि प्रतिस्पर्धामा म्यानचेस्टर सिटी र लिभरपुल, दुवै टिमले जित निकाले म्यान्चेस्टर सिटीलाई उपाधि। इपीएलको छिनोफानो हुँदै

अब समाचार विस्तारमा

७१६ पालिकाको मत परिणाम सार्वजनिक

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत ७१६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। 

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ३ सय १४ पालिकाको नेतृत्व जितेर ठूलो दल भएको छ। गणना जारी रहेका ११ पालिकामा कांग्रेस अघि छ। उपप्रमुख र उपाध्यक्ष पदमासमेत कांग्रेस अगाडि छ। कांग्रेसबाट २ यस ९२ पालिकाको उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् भने ८ उम्मेदवारले अग्रता बनाएका छन्। 

corrent noodles
Metro Mart

यस्तै नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रमुख र अध्यक्ष पदका लागि १९३ जना निर्वाचित भइसकेका छन्। एमालेका १३ जनाले अग्रता बनाएका छन्। एमालेतर्फ उपप्रमुख र उपाध्यक्षमा निर्वाचित भइसकेका २१९ जना छन् भने २० जनाले अग्रता बनाएका छन्।

यस्तै तेस्रो स्थानमा माओवादी केन्द्रको १२० जना प्रमुख र अध्यक्षमा निर्वाचित भइसकेका छन्। मतगणनाका क्रममै रहेका २ जना उम्मेदवार अघि छन्। यो दलका १२५ जना उपप्रमुख र उपाध्यक्षमा विजयी भइसकेका छन्। अझै २ जना उम्मेदवार उपप्रमुख/उपाध्यक्षका लागि अघि छन्। 

जनता समाजवादी पार्टी नेपालका  प्रमुख र अध्यक्ष पदमा २९ र उपप्रमुख एवम् उपाध्यक्षमा ३० जना विजयी भएका छन्। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका १७ प्रमुख एवम् अध्यक्ष र १८ जना उपप्रमुख एवम् उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। 

स्वतन्त्रसहित अन्य दलका उम्मेदवार १६ जना निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमुख र अध्यक्ष पदमा १४ जना विजयी भए। स्वतन्त्रतर्फका प्रमुख र अध्यक्षमा २८ जना र उपप्रमुख उपाध्यक्षमा १८ जना निर्वाचित भएका छन्। 

विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भइसकेका छन्। ३० हजार १७० मत पाएका कोइरालाले एमालेका सागरकुमार थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गरेका हुन्। उपप्रमुखमा भने एमालेकी शिल्पा कार्कीले जसपाका अमरेन्द्र यादवलाई पछि पार्दै विजयी भइन्। 

काठमाडौं महानगरपालिकाका मत गणनाको जारी छ। काठमाडौंमा स्वतन्त्रतर्फका बालेन्द्र शाह अघि छन् भने कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन्। भरतपुर महानगरमा गठबन्धनको समर्थन प्राप्त माओवादी केन्द्रकी रेणु दाहाल एमालेका विजय सुवेदीभन्दा अघि छिन्। 

वीरगन्ज महानगरमा जसपा नेपालका राजेशमान सिंह एमालेका विजय कुमार सरावगी भन्दा अघि छन्। ललितपुर महानगरमा गठबन्धनबाट काँग्रेसका चिरीबाबु मर्हजन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा अघिअघि छन्। पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बनाएका छन्।

११  उपमहानगरमध्ये ९ स्थानको मतपरिणाम सार्वजनिक भएको छ। धनगढी उपमहानगरमा स्वतन्त्रतर्फका गोपाल हमाल, हेटौँडामा नेकपा एसकी मीना कुमारी लामा र बुटवलमा कांग्रेसका खेलराज पाण्डेय विजयी भएका छन्। यस्तै नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्ट, धरानमा स्वतन्त्रतर्फका हर्कराज राई, इटहरीमा कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन्। घोराहीमा एमालेका नरुलाल चौधरी, कलैयामा एमालेकै विनोदप्रसाद साह विजयी भएका छन् भने जितपुर सिमरामा माओवादीका राजन पौडेल विजयी भएका छन्।

दुई स्थानमा गणना सुरु भएन

देशका अधिकांश स्थानको मतगणना नतिजा सार्वजनिक भएको र केहीमा गणना जारी भइरहेपनि बाजुराको बूढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु नै हुन सकेको छैन।

गत वैशाख ३० गते नै मतदान भएपनि दलहरूबीच विवाद हुँदा मतदान प्रभावित भएका यी दुई पालिकाको विवाद नमिल्दा गणना सुरु हुन नसकेको हो। 

राजनीतिक दलबीच विवाद भएपछि पुनः मतदान गर्न माग गरिएकाले मतगणना सुरु हुन नसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। यस विषयमा अध्ययन गर्न आयोगले टोली गठन गरेको थियो। टोलीले बाजुरा र त्रियुगा दुवै ठाँउमा अध्ययन गरेर फर्किएको छ। टोलीले प्रतिवेदन पनि बुझाइसकेको तर निर्णय हुन बाँकी रहेको प्रवक्ता पौडेलले जानकारी दिए। 

अमेरिकी  उपमन्त्रीले भेटिन् प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। 

उपमन्त्री जियाले गृहमन्त्री बालकृष्ण खाणसँग पनि भेट गरेकी छन्। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय आपसी सहयोग र सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। उनले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट गरेकी थिइन्। 

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने नेपाल भ्रमण सकेर आजै स्वदेश फर्किएकी छन्। 

महिला सांसदको माग

महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग गरेका छन्। 

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीको विषयलाई लिएर प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले आईतबार सिंहदरबारमा आयोजना अनौपचारिक छलफल भएको थियो। 

छलफलमा नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले बलात्कारलगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन्। 

यस्तै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सौन्दर्य प्रतियोगिताका आयोजकले अपराध गरेको भन्ने कुरा स्वतहः सिद्ध भएकाले घटनाका पीडित ती युवतीलाई तत्काल न्याय दिन सरकारसँग माग गरेकी छन्। अपराधीलाई अनुसन्धान गरी तत्काल कारबाही गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराउदै उनले अनुसन्धानको दायरामा ल्याउन आलटाल गर्न नमिल्ने बताइन्। 

नेकपा (माओवादी केन्द्र)की सांसद अमृता थापामगरले यौन हिंसामा परेकाहरुलाई तत्काल राहत दिने व्यवस्था पनि कानुनमै उल्लेख गर्न सरकारलाई दवाव दिइन्।  मनोरञ्जन र अनौपचारिक क्षेत्रका महिलाहरु यौन हिंसाका कारण प्रताडित हुनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि राजनीतिक पार्टी र त्यसका भातृ संगठनहरुले पनि पहल गनुपर्ने उनले बताइन्। 

सांसद थापामगरले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि भएका कानुनहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको भन्दै सरकारको आलोचना समेत गरिन्। 

बजेटका कुरा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ-राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले सरकारको आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका हुन्। 

आयोगका पूर्वउपाध्यक्ष वाग्लेले नेताहरुको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले देशलाई केही दिन नसक्ने टिप्पणी गरे।  देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको उनले जोड दिए । 

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दिर्घकालिन योजना बनाउनुपर्ने सुझाब दिइन्।  

२५ वर्षे योजना बनाउन सके ५ वर्षमा जसको सरकार आएपनि योजना बनाइरहनु नपर्ने र गुरुयोजना अनुसार काम निरन्तर अगाडी बढाइराख्न सजिलो हुने आयोगकी पूर्वसदस्य झाको राय छ।

उता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले आगामी बजेटमा सामाजिक सुरक्षालाई विशेष जोड दिइने बताएका छन्। बजेटमा सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्तालगायतका कार्यक्रममा बजेट केन्द्रित हुने पौडेलको भनाइ छ। विपन्न,असहाय र आर्थिक स्थिति कम्जोर भएकाहरुलाई साहयता दिने, महिलाको क्षमता विकास, पछाडि परेका समुदायमा पैसा वा सुविधा दिँदा विवादित बनाउन जरुरी नरहेको उनको भनाइ छ। 

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको सिलिङ १७ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको हुने जनाएको छ। मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। 

१ करोडभन्दा बढी पुगे फोरजीका ग्राहक
नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको छ।

२०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो। यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ। समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन्।

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि देशभर विस्तार गरिरहेको छ। 

बाबुछोराको हत्या
सिरहा अर्नमा गाउँपालिका–१ महनौरमा ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको बिभत्स हत्या भएको छ।

घरमै सुतिरहेको अवस्थामा शनिबार राति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ। 

सन्तकुमारको यही जेठ ११ गते विवाह हुने तयारी थियो। स्थानीय महिला राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए। 

सुतेकै स्थानमा उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

बाइडेन जापानमा 

अमेरिकी राष्ट्रपति जो बाइडेन पहिलो एसिया भ्रमणका क्रममा टोकियो पुगेका छन्। शुक्रबारदेखि एसिया भ्रमण सुरु गरेका बाइडेन आइतबार जापान पुगेका हुन्।

एसियाली साझेदारसँगको सम्बन्धलाई थप बलियो बनाउन केन्द्रित हुने अपेक्षा गरिएको बाइडेनको भ्रमण दक्षिण कोरियाको सियोलबाट सुरु भएको छ। 

क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम छ। 

बाइडेनले शनिबार दक्षिण कोरियाली राजधानीमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखरवार्ता गरेका थिए। सियोलमा भएको दुई समकक्षीबीचको वार्ताका क्रममा दुवै मुलुकसँगको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो।

टोकियो प्रस्थान गर्नुअघि सियोल भ्रमणको अन्तिम दिन बाइडेनले उत्तर कोरियाका पछिल्ला आणविक परीक्षणबारे आफूले चासो नदिएको बताएको रोयटर्सले जनाएको छ।

केही महिनाअघि उपराष्ट्रपति कमला ह्यारिसले सिंगापुर, इन्डोनेसिया र भियतनाम भ्रमण गरेकी थिइन्। 

इपीएल उपाधिको टुंगो आज

इङ्ग्लिस प्रिमियर लिगको उपाधि विजेता टिमको टुंगो आज राति लाग्दैछ।

अन्तिम तथा ३८औं चरणका खेलहरुमा आज उपाधि दाबेदार टिम म्यानचेस्टर सिटी र लिभरपुलको खेल हुँदैछ। सिटीले एस्टन भिल्लासँग र लिभरपुलले उल्भ्ससँग खेल्दै छ। खेल नेपाली समयअनुसार बेलुकी एकै समय ८ः४५ बजेबाट सुरु हुनेछ। 

३७ खेलबाट ९० अंक जोडेको सिटी तालिकाको शिर्ष स्थानमा छ। त्यस्तै लिभरपुलको समान ३७ खेलबाट ८९ अंक छ। आजको खेलमा दुबै टिमले जित निकालेमा म्यान्चेस्टर सिटीले उपाधि जित्ने छ। सिटी प्रिमियर लिगको अघिल्लो संस्करणको विजेता पनि हो। लिभरपुलले आजको खेल जिते पनि सिटीको खेलको नतिजाले असर गर्ने छ। आजको खेल दुबै टोलिलाई जित्नै पर्ने दबाब छ।

यो सिजन लिभरपुल प्रिमियर लिग र च्यम्पियन्स लिग सहित चार उपाधि जित्ने लक्ष्यमा रहेको छ। यसअघि लिभरपुलले एफए कप र इफएल कपको उपाधि जितिसकेको छ जहाँ दुबै उपाधि जितिरहँदा चेल्सीलाई पराजित गरेको थियो। 


प्रकाशित: May 22, 2022| 20:11 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।