शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • मौन अवधि तोड्न दलहरूको प्रतिस्पर्धा, मतदानको तयारी पूरा [२०७९-१-२९]

मौन अवधि तोड्न दलहरूको प्रतिस्पर्धा, मतदानको तयारी पूरा [२०७९-१-२९]

मौन अवधि तोड्न दलका नेता, उम्मेदवार, समर्थक र कलाकार अग्रपंक्तिमा, दलका कार्यकर्ताहरूबीच ठाउँठाउँमा झडप हुँदा उम्मेदवारसहित कैयौँ घाइते।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- मतदानको अघिल्लो दिन बिहीबार मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख समाचार शीर्षकहरू

triton college
  • भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगद्वारा जानकारी, मतदाता परिचय पत्र नभएपनि नागरिकता र पासपोर्ट देखाएर मतदान गर्न पाइने। तयारी पूरा
  • मौन अवधि तोड्न दलका नेता, उम्मेदवार, समर्थक र कलाकार अग्रपंक्तिमा, दलका कार्यकर्ताहरूबीच ठाउँठाउँमा झडप हुँदा उम्मेदवारसहित कैयौँ घाइते। रहेन मौन अवधि
  • विद्यालयमा पनि सातामा दुई दिन बिदा दिन केन्द्र सरकारको निर्देशन, जेठ २ गते बुद्धजयन्ती परेपछि अब ६ दिन विद्यालय बन्द। ६ दिन विद्यालय बन्द
  • ६४ उद्योगविरुद्ध दूषित पानी र अखाद्य वस्तु उत्पादन गरेको अभियोग, कालोबजारी ऐनअनुसार हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर। अखाद्य पदार्थको बिगबिगी
  • युभेन्टसलाई हराउँदै कोपा इटालियाको उपाधिमा इन्टरमिलानको कब्जा, इन्टरका इवानले दुई गोल गर्दा ब्यालेला र हकनले दिए १–१ गोलको योगदान। इन्टरमिलानलाई उपाधि

मतदान तयारी पूरा

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन्। शुक्रबार देशभर एकै चरणमा निर्वाचन हुँदै छ।

वैशाख २७ गते मध्यराति १२ बजेपछि शुरु भएको मौनावधिमा निर्वाचन आचारसंहीता लागू भए यता हालसम्म आचारसंहीता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको, ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि उनले जानकारी दिए। उहाँले आचारसंहीता उल्लेंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधको बताए।  

corrent noodles
Metro Mart

आयोगले मतदातालाई अनुचित प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको विषयमा परेको उजुरीका आधारमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. आरजु राणा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनको भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिका सम्बन्धमा वैशाख २८ गते पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण बुझाउन पत्राचार गरिएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहीता उल्लंघन हुनेगरी क्रियाकलाप गरेको विषयमा आायेगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। 

आयोगले वैशाख ३० गते मतदाता शिक्षाको काम नगर्न सबैमा अनुरोध गरेको छ। 

आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार लिएर जान नपाइने बताएको छ। यस्तै नमूना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ। 

त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र,  राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ।

मौन अवधि तोड्ने प्रतिस्पर्धा

मंगलबार राती १२ बजेदेखि देशभरि लागू गरिएको मौन अवधि तोड्न दलका नेता, उम्मेदवार, कार्यकर्ता र कलाकार अग्रपंक्तिमा देखिएका छन्। 

मौन अवधिमा उल्लंघन गर्दै दलका नेता तथा तथा कलाकारले उम्मदेवारको पक्ष/विपक्षमा अभिव्यक्ति, सामाजिक सञ्जालनमा पोस्ट गर्ने र मौन अविधिमा मतदाता आफ्नो पक्षमा पार्ने प्रयास गरेका हुन्। 

मौन अवधिलाई तोड्दै एमाले नेता पृथ्वीसुब्बा गुरुङले पनि भोट मागेको भिडियो फेसबुकमा सेयर गरेका थिए। अभिनेत्री स्वस्तिमा खड्काले काठमाडौं महानगरका एक जना स्वतन्त्र मेयर उम्मेदवारका पक्षमा भोट मागेकी थिइन्। कलाकार निर्मल शर्माले र वर्षा राउतले पनि मौन अवधि तोड्दै काठमाडौं मेयर उम्मेदवारका पक्षमा भोट मागेका छन्। 

मौन अविधमा पैसा बाँड्नका लागि सुकुम्बासी बस्ती पुगेको आरोपमा बुटवल मेयरका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बाबुराम भट्टराईकी श्रीमतीलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ। उता वीरगञ्ज नगरपालिकमा एमालेकै मेयर उम्मेदवार विजय सरावगीलाई मौन अवधिमा नेता तथा मतदाता प्रभावित गर्न रातको समयमा भेट गर्दै हिँडेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएका थिए। 

सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका एमालेबाट मेयर उम्मेदवार उदय राईमाथि पनि मौन अवधिमा आर्थिक गतिविधि गरेको आरोप लागेको छ। उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएका थिए। 

मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा माओवादी केन्द्रका नेता प्रेमकुमार लामा पक्राउ परेका छन्। लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई मतदाता प्रभावित पार्नेगरी पैसा बाँडिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका छन्। 

बागलुङ गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई  मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएको छ। 

बुधबार राति सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

मौन अवधिमा नै दलका कार्यकर्ताहरूबीच आपसी कुटपिटसमेत भएको छ। वैशाख २९ गते कैलालीमा सत्तारूढ गठबन्धनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन्। आक्रमणबाट गोदावरी नगरपालिका–६ का एमालेका बिन्तिराम चौधरीसहितका चार जना घाइते भएका छन्। घटनामा गोदावरी नगरपालिका–६ कै स्थानीय लक्ष्मी चौधरी, बसन्ती चौधरी र रविन चौधरी पनि घाइते भएका छन्।

बुधबार राति रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा १० मा माओवादी केन्द्रका उम्मेदवार कुटिएका छन्। बुधबार नै नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन्।

धादिङमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा धादिङमा २७ जना घाइते भएका छन्। घाइतेमध्ये २१ जना कांग्रेस र अन्य माओवादीका कार्यकर्ता छन्। 

रामेछापको उमाकुण्ड गाउँपालिका–३ मा कांग्रेसबाट वडाध्यक्षका उमेदवार बनेका रमेश सुनुवारमाथि खुकुरी प्रहार भएको छ। घाइते सुनुवारलाई कुँबुकास्थलीमा नेकपा एमाले र राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन्।

मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच  बुधबार राति करिब साढे १ बजे झडप भएको छ। गोरखामा  अजिरकोट गाउँपालिका–१, घ्याच्चोकमा २८ गते बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको छ। 

मौन अवधि तोड्नेहरुमाथि स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले दाबी गरेको छ। तर मौन अधवि तोड्ने कतिपयबारे निर्वाचन आयोगसमेत जानकार छैन। आयोगले मौन अवधिमा समाजिक सञ्जालसमेत नियमन गर्ने भने पनि त्यो उसको प्रचारबाजी मात्र बन्न पुगेको छ। मौन अवधि तोड्ने काम अझै पनि रोकिएको छैन। 

यसैबीच आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुने आयोगले चेतावनी दिएको छ। अनुगमन हेर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको यस्तो बताए हुन्। 

मतदानस्थलको  निरीक्षण

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की विशेष पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ। 

पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो। मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिएकी थिइन्। 

स्थानीय तहको निर्वाचन शुक्रवार देशभर एकसाथ हुँदैछ। स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा र मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिरहेको छ । 

मोदी-देउवा  फेरि एकसाथ

जेठ २ गते बुद्धजयन्तीमा नेपाल र भारतका प्रधानमन्त्रीले मायादेवी मन्द्रिमा संयुक्त रूपमा पूजा र दीपप्रज्वालन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण कार्यक्रम सार्वजनिक गर्दै नेपाल सरकारले यस्तो जानकारी दिएको हो। 

सार्वजनिक तालिका अनुसार २ गते मोदी हेलिकोप्टरमा लुम्बिनी आउनेछन्। उनलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले हेलिप्याडमा स्वागत गर्नेछन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिस्ट फोरमको बैठकमा सहभागी हुने जानकारी दिइएको छ। 

एक अर्ब ६० करोड रुपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रमसमेत राखिएको छ।

मोदीले मायादेवी मन्दिरछेउको रूखमुनि ध्यान गर्नेछन्। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा करिब दुई हजार सहभागीलाई मोदी र देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। मोदी त्यही दिन अपराह्न भारत फर्कनेछन्।

डेढमहिना अघि मात्र देउवा भारत भ्रमणमा जाँदा मोदीसँग भेटवार्ता भएको थियो। 

६ दिन स्कुल बन्द

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। 

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेअनुसार पाठ घण्टा र कार्य घण्टामा नघट्ने गरी दुई दिने बिदा कार्यान्वयन गर्न निर्देशन जारी भएको केन्द्रका निर्देशक रामचन्द्र शर्माले जानकारी दिए।

आइतबार बिदा दिँदा अपुग भएका समय हिउँदे, वर्षे र अन्य बिदामा कटाइ पूर्ति गर्ने  व्यवस्था गर्ने गरी वार्षिक क्यालेण्डर तयार पार्न स्थानीय तहलाई केन्द्रले निर्देशन गरेको छ। यस अवधिमा हिउँदे तथा वर्षे बिदा ५० दिनलाई घटाएर ३० दिन बिदा एकैट पटक दिने वा पटक पटक गरी दिने भन्नेबारेमा स्थानीयले तहले क्यालेन्डर बनाउन सक्ने व्यवस्था गरिएको हो। 

त्यसैगरि आसन्न निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालय बन्द हुने भएका छन्। निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको, धेरै शिक्षक निर्वाचनमा खटाएको र शिक्षक तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मतदानका लागि गाउँ फर्किने भएकाले आजदेखि अगामी जेठ २ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको हो।

केन्द्रले २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि ३१ तगे शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले ६ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएका हुन्। 

६४ उद्योगविरुद्ध मुद्दा

विभिन्न प्रकारका अखाद्य वस्तु र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा ६४ उद्योगलाई कानुनी कारबाही गरिने भएको छ। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगलाई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ। 

चालु आर्थिक वर्षको नौ महिनाको आवधिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य बस्तु उत्पादन गरेको अभियोगमा उनीहरुलाई कालोबजारी ऐनअनुसार कानुनी कारबाही हुने विभागले बताएको हो। लेबल नराखी बिक्री वितरणमा ल्याइएका १९ र अखाद्य वस्तु उत्पादन गरेका ४५ उद्योगलाई कालोबजारी ऐन २०३२ ले  हदैसम्मको कारबाही अन्तर्गत १० वर्षसम्म कैद र जरिवाना तोकेको छ। 

विभिन्न शीर्षकमा भइरहेको र अखाद्य वस्तु उत्पादन गर्ने, दालमोठ, मिट मसला, सब्जी मसला, मिक्स मसला, मसलाजन्य बस्तु जिराको धुलो, मुसुराको दाल, घ्यू, दूध तथा दुग्धजन्य पदार्थ, आयातित तोरीको तेल, प्रशोधित पिउने पानी, स्टिम नुडल्स्, जिराको धुलो, चियालगायतको धुलो उद्योगलाई कारबाही गरिने भएको हो।

इन्टरमिलान विजयी

फाइनल खेलमा युभेन्टसलाई हराउँदै कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ। बुधबार राति स्टेडियो ओलम्पियकोमा सम्पन्न भएको फाइनल खेलमा इन्टरले ४–२ को जितका साथ उपाधि जितेको हो।

इन्टरको जितका लागि इवान पेरिसिचले दुई गोल गरे भने निकोलो ब्यालेला र हकन क्याल्होनोग्लुले समान १–१ गोल गरेका थिए।

खेलको छैटौं मिनेटमै ब्यारेलाले गोल गरेका थिए। यता, खेलको ५०औं र ५२औं मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रो र डुसन वाल्होविचले गोल गर्दै २–१ को अग्रता बनाएका थिए। तर ८० औं मिनेटमा इन्टर मिलानले पेनाल्टीको अवसर पायो। सो अवसरलाई क्याल्होनोग्लुले गोलमा बदलेपछि खेल बराबरी भएको थियो।

यता, अतिरिक्त समयमा पेरिसिचले दुई गोल गर्दै इन्टरलाई उपाधि दिलाएका थिए।

प्रकाशित: May 12, 2022| 21:37 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।