शुक्रबार, असोज १८, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • सूर्य चिन्हमा चुनाव लड्दै राप्रपा नेपाल, आईसीसी विश्व वरीयताको शीर्ष-१० मा दीपेन्द्र [२०७८-१२-३०]

Siddartha premir insuranceSiddartha premir insurance

सूर्य चिन्हमा चुनाव लड्दै राप्रपा नेपाल, आईसीसी विश्व वरीयताको शीर्ष-१० मा दीपेन्द्र [२०७८-१२-३०]

नेकपा एमालेले साना दुई दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एमालेले स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति गरेको हो।
 |  बुधबार, चैत ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:

triton college

राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गर्न एमालेले गर्‍यो सहमति, देशभरका स्थानीय तहमा सूर्य चिन्हबाटै चुनाव लड्दै दुवै साना दल। 

विप्लव नेतृत्वको नेकपालाई स्थानीय चुनावमा सहभागी गराउन  मन्त्रिपरिषद् बैठकमा छलफल, प्रधानमन्त्रीसँग छलफलका लागि विप्लव र प्रकाण्ड पुगे बालुवाटार। 

सुनसरीको गढी गाउँपालिकामा नेपालकै ठूलो अन्न भण्डारण गृह संचालनमा, कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा। 

पाँच दलीय गठबन्धन सरकारले देशलाई कंगाल बनाउन लागेको ओलीको आरोप, वैशाखमा स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको टिप्पणी । 

Metro Mart
vianet

र, आईसीसी विश्व वरीयताको शीर्ष-१० मा परे नेपालका दीपेन्द्र सिंह ऐरी,  शीर्ष २० मा अटाएनन् भारतीय खेलाडी। 

दुई दलसँग एमालेको तालमेल 

नेकपा एमालेले साना दुई दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एमालेले स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति गरेको हो। 

देशभरका स्थानीय तहमा एकआपसमा उम्मेदवारलाई सहयोग गर्ने र दुवै दलले एमालेको सूर्य चिन्हमा चुनाव लड्ने भएका छन्। ती उम्मेदवार निर्वाचित भएपश्चात सम्बन्धित दलकै हुने सहमतिपत्रमा उल्लेख छ। 

राजधानीमा आयोजित कार्यक्रममा दुवै दलका प्रतिनिधिले सहमति आदानप्रदान गरेका हुन्। 

चुनावमा सहभागी हुने विप्लव मनशाय!

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई स्थानीय चुनावमा सहभागी गराउने विषयमा मन्त्रिपरिषद्‍मा छलफल भएको छ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उक्त पार्टीलाई सहभागी गराउने विषयमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यद्यपि यो विषयमा ठोस निर्णय नभएको उनको भनाइ छ। 

यसअघि विप्लव पार्टीले आफ्ना कार्यकर्ता तथा नेताहरूविरुद्ध राज्यले लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको थियो। यस्तै केही दिनअघि मात्र उक्त पार्टीले निर्वाचन आयोगसँग पनि छलफल गरेको थियो। 

उता प्रमुख प्रतिपक्षी दल एमालेले भने वैशाख ३० को चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै आएको छ। निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको सीमा सकिइसकेको तर विप्लव नेकपाले निर्वाचन आयोग तथा सरकारसँग निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्न आग्रह गर्नुले चुनाव सार्ने  षड्यन्त्र भएको एमालेको बुझाइ छ। निर्वाचन आयोगले निर्धारित मितिमा नै चुनाव हुने बताउँदै आएको छ। 

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका छन्। भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए। 

स्थानीय तहको निर्वाचनअघि आफ्नो दलका नेता-कार्यकर्ता छुटाउन उक्त पार्टीले दबाब बढाउँदै लगेको छ।

केसी सशस्त्रको आइजीपी

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ। 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

शैलेन्द्र खनाल गत सोमबार ४ वर्षे पदावधिका कारण अवकाशमा गएर सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको थियो। खनालले पहिलो नम्बरका एआईजी केसीलाई चार्ज बुझाएर बिदा भएका थिए।

निमित्त आईजीपीको जिम्मेवारी पाएका केसीलाई सरकारले आईजीपीमा बढुवा गरेको हो। 

तालमेलको मोडालिटी

सत्तारुढ पाँच दलीय गठबन्धनले ६ वटा महानगरपालिकाको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ। त्यसका लागि मंगलबार अपराह्न गठबन्धनको बैठक बस्दैछ। 

गठबन्धनको बैठकअघि नै ६ वटा महानगरपालिका भागवण्डाको करिब अन्तिम टुंगो लागिसकेको बताइएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा जहाँ जसले जितेको थियो, उसैलाई छाड्ने सहमति गठबन्धनमा जुटेको छ। त्यसरी भाबण्डा गर्दा भरतपुर महानगरपालिका पुनः माओवादीकै भागमा पर्ने भएको छ। वीरगन्ज महानगरपालिका जनता समाजवादीको भागमा परेको छ भने ललितपुर महानगरपालिका कांग्रेसको भागमा पर्नेछ। विराटनगर महानगरपालिकामा पनि यसअघि कांग्रेसले जितेको थियो। तर, विराटनगरमा जसपाले पनि दाबी गरिरहेको छ। 

०७४ सालमा एमालेले जितेको काठमाडौं महागनरपालिका कांग्रेसले लिने र पोखरा एकीकृत समाजवादीलाई दिने तयारी छ। 

सुनसरीमा भण्डारणगृह

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह संचालनमा आएको छ।

नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह संचालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित रहेको छ। भण्डारण गृहको संचालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ। 

कम्पनीका अनुसार कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा छ। कपिलवस्तुमा १५ हजार मेट्रिक टन र पर्सामा २५ हजार मेट्रिक टन क्षमताको अन्न भण्डारण गृह निर्माण चरणमा रहेको सो कम्पनीले जनाएको छ।  तीनवटै स्थानको गरी ५५ हजार मेट्रिक टन क्षमताको खाद्यान्न भण्डारणको कुल परियोजना लागत १ अर्व ४९ करोड रुपैँया रहेको कम्पनीले बताएको छ । वेयर हाउसमा तीनवटा अन्न भण्डारण प्लान्ट स्वचालित, साइलो प्रविधिमा आधारित रहेका छन्। 

प्रत्येकको पाँच हजार मेट्रिक टन क्षमता रहेका ती प्लान्टमध्ये एउटामा मकै, एउटामा गहुँ र एउटामा भटमास भण्डारण गरिने कम्पनीले जनाएको छ । भण्डारणस्थलको अभावमा उत्पादनको समयमा सस्तो मूल्यमा अन्न बेच्नुपर्ने किसानको बाध्यता अन्त्य हुने  कम्पनीले विश्वास लिएको छ। 

खाद्यान्न भण्डारण–गृह निर्माणले नेपालको पूर्व क्षेत्रका साथै भारतीय सीमावर्ती क्षेत्रका अन्न उत्पादक किसानसहित कृषिवस्तु सङ्कलक, खाद्यान्न प्रशोधक तथा दाना उत्पादकहरू लाभान्वित हुने बताइएको छ । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपियो समेत जारी गर्ने गरी तयारी अघि बढाइएको जनाएको छ । 

थप दुई देशसँग कूटनीतिक सम्बन्ध

नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ। 

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी छन्। 

उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो। योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ। 

प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरुमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन्। उनले नेपालले राष्ट्र संघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि जानकारी दिइन्।

प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालीरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताए। प्रवक्ता लम्सालले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि बताएका थिइन्।

गठबन्धनले देशलाई कंगाल बनाएको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्। 

गठबन्धन सरकारलाई परमादेशीको संज्ञा दिएका उनले परमादेशी सरकारले देशको आर्थिक अवस्थालाई श्रीलंकाको जस्तो बनाउने काम गरेको आरोप लगाएका हुन्। 

पूर्वप्रधानमन्त्री समेतरहेका ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताए। बुधबार विराटनगर महानगर कमिटीले पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचन गर्न नचाहने षड्यन्त्रकारीहरूलाई सबैले परास्त गर्नुपर्ने बताए।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेले गर्दा वृद्ववृद्वाले भत्ता पाइरहेको दावी गरे। 

आर्थिक संकटबारे राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको आरोप लगाएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताएका छन्। 

अध्यक्ष लिङ्देनले आफ्नै जिवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताए । उनले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पु¥याएको आरोप समेत लगाए ।

दीपेन्द्र शीर्ष १० मा

नेपाली क्रिकेटर दिपेन्द्र सिह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को विश्व वरीयता क्रममा शीर्ष १० पर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। 

विश्व क्रिकेटको सर्वोच्च संस्थाले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द टी–ट्वान्दी फर्म्याटको अलराउण्डरतर्फ शीर्ष १० मा अटाएका हुन्। कुनै पनि नेपाली खेलाडी आईसीसी वरीयताको टप टेनमा परेको यो पहिलो अवसर हो। उनी टी–ट्वान्टी अलराउण्डरतर्फ वरीयतामा कूल १५२ रेटिङसहित १० औं स्थानमा छन्। यो वरीयताको पहिलो स्थानमा अफगानिस्तानका मोहमद नाभी छन् भने शीर्ष २० भित्रै भारतका कुनै पनि खेलाडी परेका छैनन्। 

दीपेन्द्रले यो वरीयतामा अष्ट्रेलियाका मिचेल मार्स र श्रीलंकाका हसरंगाजस्ता विश्वस्तयरीय अलराउण्डरलाई पछि पारे। दीपेन्द्र ब्याटिङतर्फ पनि ३८ औं स्थानमा छन् भने नेपालका ओपनार कुशल भुर्तेल ३६ औं स्थानमा छन्। नयाँ वरीयतामा कप्तान सन्दीप लामिछाने बलिङतर्फ ३८ औं स्थानमा छन्। 

यसै महीना काठमाडौंमा भएको पीएनजी र मलेशिया सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले उपाधि जित्दा दीपेन्द्रले शानदार प्रदर्शन गरेका थिए। सिरिजको कुल पाँच खेलमा उनले कूल २५५ रन जोडेका थिए। जसमा एक शतक र दुई अर्धशतक समावेश छ। त्यस्तै बलिङतर्फ पाँच खेलमा ७ विकेट लिएका थिए।


प्रकाशित: Apr 13, 2022| 20:15 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।