बिहीबार, असार ६, २०८१

प्रदीप गिरीको नजरमा बीपी

बीपीले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको कुरा गर्न कहिल्यै छोड्नुभएन। तर, आज ४० वर्षपछि फर्केर हेर्दा उहाँले परिभाषित गर्नुभएका कतिपय धारणाको तात्पर्य फेरिएको छ। आजको नेपाली समाजमा बीपी कोइरालाले भन्नुभए जस्तो प्रजातन्त्र, राष्ट्रियता वा समाजवाद कुनै पनि कुरो हुबहु प्रयोग गर्न सकिने देखिँदैन।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

नेपाली कांग्रेसका संस्थापक, लेखक/साहित्यकार तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाबारे चिन्तक प्रदीप गिरीको आफ्नै प्रकारको दृष्टिकोण छ। उनले बीपीबारे थुप्रै लेखेका र बोलेका छन्।सैद्धान्तिक कसीमा चिन्तक गिरी कोइरालाका आलोचक पनि हुन्। गिरी निधनको पाँचौं दिन बुधबार हामीले बीपीबारे उनले लेखेको लामो आलेख प्रस्तुत गरेका छौं। यो आलेखमा उनले कोइराला र उनको परिवारबारे आफ्नो मत र दृष्टि राखेका छन्। प्रस्तुत छ, बीपीबारे प्रदीप गिरीको बुझाइ उनकै शब्दमाः 

triton college

- बीपी कोइरालाको जन्म प्रथम महायुद्धताका वि‍सं १९७१ भदौ २४ तदनुसार अगस्ट १९१४ मा भएको हो। ३२-३३ वर्ष हुँदा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना कालदेखि २०३९ साउन ६ का दिन देहान्त नहुँदासम्म उहाँ नेपाली राजनीतिको केन्द्रमा रहनुभयो। उहाँले आफैं यी वर्षहरूको लेखाजोखा फेरि सुन्दरीजल भन्ने डायरीमा १० जनवरी १९७७ का दिन गर्नुभएको छ, ‘अहिले म ६२ वर्षको भएँ, यसमध्ये १९ वर्ष काठमाडौंमा बिताएँ भने चार वर्ष विराटनगरमा (अर्थात् नेपालमा २३ वर्ष), दुई वर्ष चन्द्रगञ्ज (हालको सिरहा, माडर)मा (अर्थात् नेपालमा २५ वर्ष), बनारसमा १९ वर्ष, पटनामा आठ वर्ष, टेढीमा पाँच वर्ष, कलकत्तामा तीन वर्ष, हजारीबागमा दुई वर्ष, दार्जीलिङमा एक वर्ष गरी भारतमा ३८ वर्ष बिताएँ। काम र क्रियाकलापको आधारमा हेर्दा पढाइमा १७ वर्ष, जेलमा १२ वर्ष, निर्वासनमा २० वर्ष, सरकारमा दुई वर्ष बिताएँ। भारत र नेपालमा गरी करिब २६ वर्ष सक्रिय राजनीतिमा बिताएँ।’ 

उहाँले सरकारमा दुई वर्ष भनेर २००७ साल लगत्तैको गृहमन्त्री र जेठ २०१६ देखि पुस २०१७ सालसम्म प्रधानमन्त्री रहनुभएको तथ्यलाई सम्झना गर्नुभएको छ। यस बाहेक उहाँले नेपाली साहित्यलाई कतिपय श्रेष्ठ उपन्यास एवं कथाले समृद्ध बनाउनुभएको छ। उहाँले राजनीतिलाई सत्ता संघर्षका रूपमा मात्र कहिल्यै लिनुभएन। उच्च वैचारिक धरातलबाट बोलेर अथवा लेखेर राजनीतिलाई प्रभावित गर्ने प्रयास गर्नुभयो। नेपाली कांग्रेसले उहाँलाई आफ्नो विचारधाराको स्रोतका रूपमा लिएको छ। नेपाली कांग्रेस बाहेक पनि सिंगो समाजलाई उहाँको उत्तराधिकारले अझै घचघच्याइरहेको छ। तदनुरूप उहाँको व्यक्तित्व र विचारधाराको मूल्याङ्कन अझै हामीमाझ सान्दर्भिक छ।

बीपी कोइरालाले आफ्नो कथामा आफ्ना पुर्खाहरूको सरस परिचय दिनुभएको छ। उहाँका पुर्खाहरूले उहिल्यैदेखि राजकाजबाट आफ्नो जीविका चलाएका थिए। दामोदर कोइराला मकवानपुर राज्यमा उच्च ओहोदामा रहेको कुरा बीपीले आफ्नो कथामा उल्लेख गर्नुभएको छ। बीपी र मातृका दुवैले आफ्ना हजुरबा र हजुरआमाको ठूलो प्रशंसा गर्नुभएको छ। बीपी कोइरालाको लेखाइ मातृकाको दाँजोमा बढी साहित्यिक र आलङ्कारिक छ। तर अरू कुरामा दाजुभाइमा मतैक्य छ। दुम्जाका नन्दीकेशर कोइराला उहाँहरूका हजुरबुबा हुनुहुन्थ्यो। हजुरआमाको नाम राज्यलक्ष्मी कोइराला थियो। उनीहरूका चार भाइ छोरा थिए। नन्दीकेशर कोइरालाको जीवनकालमा नै बीपीको जेठाबा कालिदास कोइरालाले सरकारी जागिर खान थालेका थिए। पछि उनी पदोन्नति हुँदै जाँदा सरदार समेत भए।

सरदार कालिदास वीरशमशेरका बडो पत्यारिला कारिन्दा भए। वीरशमशेरले उनलाई तत्कालीन मोरङको बन्दोबस्त गर्नका निमित्त शक्तिशाली हाकिम बनाएर पठाएका थिए। बीपीका पिता कृष्णप्रसाद कोइराला ६ वर्षको मात्र हुँदा पिता नन्दीकेशरको निधन भएको थियो। आमा राज्यलक्ष्मी कोइरालाले प्रारम्भिक शिक्षादीक्षा आफ्नै रोहवरमा गराएर कान्छा छोरालाई जेठाको जिम्मा लगाएर काशीवास जानुभएको थियो। आफू हाकिम भएर जाँदा कालिदास कोइरालाले कान्छा भाइलाई मोरङ लगे। मोरङका ती वर्षहरूमा कोइराला परिवारले मनग्य सम्पत्ति कमायो। कान्छा कृष्णप्रसाद कोइरालाले मोरङमा बस्दाबस्दै व्यापारतर्फ चासो लिन थालेका थिए। एक त बलियो राज्य आश्रय थियो। अर्कोतिर व्यापारी बुद्धि भनेपछि सम्पत्तिको ओइरो लाग्नु आफैंमा आश्चर्यजनक थिएन। कोइराला परिवारको द्रुत गतिको प्रगति भएको देखेर राणा दरबारमा ईश्र्या–द्वेष उत्पन्न हुनु स्वाभाविक थियो।

Metro Mart
उहाँले सरकारमा दुई वर्ष भनेर २००७ साल लगत्तैको गृहमन्त्री र जेठ २०१६ देखि पुस २०१७ सालसम्म प्रधानमन्त्री रहनुभएको तथ्यलाई सम्झना गर्नुभएको छ। यस बाहेक उहाँले नेपाली साहित्यलाई कतिपय श्रेष्ठ उपन्यास एवं कथाले समृद्ध बनाउनुभएको छ।

मातृका कोइरालाले आफ्नो परिवारको पटक पटक सर्वस्वहरण भएको उल्लेख गर्नुभएको छ। राणा प्रधानमन्त्रीको परिवर्तनका साथ तत्कालीन कारिन्दाहरूको उत्थान, पतन र फेरि उत्थान हुन्थ्यो। तदनुरूप श्री ३ रणोद्दीप, वीरशमशेर, चन्द्रशमशेर र भीमशमशेरको उदय र अस्तका साथ कोइराला परिवारको उन्नति–अवनति प्रत्यक्ष रूपमा गाँसिएको थियो। काशीनाथ आचार्य दीक्षितका अनुसार रणोद्वीप सिंहको पालामा कालिदास कोइरालाले अपमानजनक पाराले दण्ड पाएका हुन्। बीपीले यसै प्रसङ्गलाई हो वा अर्को हो, आफ्नो कथामा अर्कै पाराले उल्लेख गर्नुभएको छ। जे होस्, वीरशमशेरका पालामा सरदार कालिदास प्रभावशाली थिए। 

चन्द्रशमशेरको कार्यकालमा कृष्णप्रसाद कोइरालाको जीवनमा एउटा नाटकीय मोड आयो। त्यतिन्जेलसम्म कृष्णप्रसाद आफूलाई श्री ३ को विश्वासपात्र सम्झन्थे। यो अवस्था हठात् फेरियो। कृष्णप्रसाद कोइरालाले आफू थुनिने र सर्वस्व हुने संकेत पाए। यो सन् १९१९ को कुरो हो। त्यस समय बीपी कोइराला पाँच वर्षको बालक हुनुहुन्थ्यो। मातृका कोइराला नौ वर्षको हुनुहुन्थ्यो। कृष्णप्रसाद कोइरालाले माडर बजार (त्यो बेलाको चन्द्रगञ्ज) अड्डामा रहँदा एउटा नाटकीय काम गरे। उनले श्री ३ लाई गरीब ढाक्रेहरूको थाङ्नाको पोको पठाए। राममणि आचार्य दीक्षितले आफ्नो संस्मरणमा यो प्रसङ्ग राखेका छन्। तदनुरूप थाङ्नाको पार्सलका निमित्त चन्द्रशमशेरले कृष्णप्रसादलाई दोष दिएनन्। चन्द्रशमशेरका अनुसार, त्यो नाटकका वास्तविक सूत्रधार नेपथ्यमा रहेका कालिदास कोइराला थिए।

कालिदासप्रति चन्द्रशमशेर पूरै नकारात्मक थिए, तर चन्द्रशमशेर कृष्णप्रसाद कोइरालाप्रति सहानुभूतिशील थिए भन्ने राममणि आचार्य दीक्षितको कथन छ। राममणि आचार्य पनि कृष्णप्रसादप्रति सहानुभूतिशील छन्। ‘कान्छा ससुराले भन्सारको हिसाब मिलाउन नसकेकामा अप्ठेरोमा पर्नुभएको हो। धेरैतिर हात हाल्ने उहाँको स्वभावले गर्दा यस्तो भएको हो’ भनेर अफसोस व्यक्त गरेका छन्। कृष्णप्रसाद कोइरालाको निर्वासन भन्सारको हिसाबसँग निश्चय पनि सम्बन्धित थियो।  तर, उहाँको उन्नतिको डाह र सुधारवादी महत्वाकांक्षा पनि यसमा मिसिएको थियो। 

कृष्णप्रसाद कोइराला परिवारको निर्वासनका प्रारम्भिक वर्ष कष्टकर थिए। आमा राज्यलक्ष्मीले काशीवास गरिरहनुभएको हुँदा सरासर त्यहीँ जान सजिलो भयो। भर्खरै भाग्न बाध्य भएका कृष्णप्रसादलाई शुरूमा खानपिउन अवश्य धौधौ पर्यो। तर, बिस्तारै उहाँ जम्दै जानुभयो। पछि उहाँ मोरङ नजिकै बिहारको एउटा गाउँमा आएर घरजम गरेर बस्नुभयो। बीपी कोइरालाले त्यसै गाउँको पृष्ठभूमिमा नरेन्द्र दाइ उपन्यास र श्वेतभैरवी संग्रहका कथाहरू लेख्नुभएको छ। पछि कोशी नदीले त्यस घरजममा हठात् दुःख दिन थाल्यो। तिन ताका नै सन् १९२९ मा चन्द्रशमशेरको देहान्त भयो। उनको देहान्त भएलगत्तै पिताजी नेपाल झिकाइनुभयो भनेर मातृकाप्रसाद कोइरालाको आत्मकथामा लेखिएको छ। नयाँ श्री ३ भीमशमशेरले चन्द्रशमशेरका यावत् कृपापात्रहरूको खेदो गर्न थाले। कृष्णप्रसाद कोइरालालाई भने संरक्षण दिए। 

नेपाल प्रत्यागमनपछि कृष्णप्रसाद कोइरालाको आर्थिक अवस्थामा परिवर्तन आयो। अब बनारसमा आफूले पनि आरामले पढेको कुरा बीपीले आफ्नो आत्मवृत्तान्तमा लेख्नुभएको छ। बीपी कोइरालाको प्रारम्भिक शिक्षादीक्षा बिहारको टेढी गाउँ र बनारसमा भयो। उहाँले काशी विश्वविद्यालयबाट बीए पास गर्नुभयो। त्यसपछि पिताजीले एमए र कानुन एकसाथ पढ्न सक्छ भनेर उहाँलाई कलकत्ता पठाउनुभयो। बीपीले कलकत्ताबाट कानुनको पढाइ सिध्याउनुभयो।

कृष्णप्रसाद कोइराला परिवारको निर्वासनका प्रारम्भिक वर्ष कष्टकर थिए। आमा राज्यलक्ष्मीले काशीवास गरिरहनुभएको हुँदा सरासर त्यहीँ जान सजिलो भयो। भर्खरै भाग्न बाध्य भएका कृष्णप्रसादलाई शुरूमा खानपिउन अवश्य धौधौ पर्यो। तर, बिस्तारै उहाँ जम्दै जानुभयो।

द्वितीय महायुद्ध घोषणाको समयमा कोइराला दार्जीलिङमा वकालतको अभ्यास गर्दै हुनुहुन्थ्यो। अब राजनीतिमा लाग्छु, वकालत गर्ने औचित्य रहेन भन्ने विचार आफ्नो मनमा आएको कुरा उहाँले ठाउँठाउँमा उल्लेख गर्नुभएको छ। वकालत अभ्यास गर्न जानुभएका बीपी कोइरालाको मन दार्जीलिङमा रमेको थिएन। उहाँ पटना फर्किनुभयो। पटना उहाँको दोस्रो घर जस्तो थियो। पटनामा उहाँका परममित्र देवेन्द्रप्रसाद सिंहको बसोबास थियो। यी दुवै जनाको काशी विश्वविद्यालयमा बीए पढ्दाखेरि भेट भएको थियो। दुवै घनिष्ठ मित्र हुन पुगे। दुवै एक प्राण भएका थिए भन्दा पनि हुन्छ भनेर मातृकाबाबुले लेख्नुभएको छ। बीपी कोइरालासँगको आफ्नो सम्बन्धको प्रगाढताबारे देवेन्द्रप्रसाद सिंहले एक–दुई ठाउँमा भावुक शैलीमा लेखेका छन्।

बीपी कोइरालाले देवेन्द्रबाबुबारे विस्तारमा लेख्नुभएको छैन। तर, बीपीले एउटा कुरा भने सहज रूपमा स्वीकार गर्नुभएको छ। ‘तिमी राजनीति गर, म तिम्रो परिवारको जिम्मेवारी लिन्छु भनेर मलाई देवेन्द्रप्रसादले ढुक्क पारेका थिए’ भनेर बारम्बार भन्नुभएको छ। कोइरालालाई क्यान्सरको आशंका भएर पहिलोपटक बम्बई जानुहुँदा देवेन्द्रप्रसाद सिंह र सुशीला कोइराला साथमा थिए। त्यस बेलाको बीपी कोइरालाको भावनात्मक संलाप देवेन्द्रप्रसाद सिंहले बारम्बार सम्झना गरेका छन्।

वि.सं. २०१५ सालमा बीपी कोइराला र भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग बायाँबाट क्रमशः तारिणी, ज्योति, सुरेश, निरञ्जन, शेखर, सुष्मा, प्रकाश र रोशा कोइराला।

पटना पुगेपछि बीपी कोइराला कांग्रेस सोसलिस्ट पार्टीको राजनीतिमा सक्रिय हुनुभयो। आफू बिहार कांग्रेस सोसलिस्ट पार्टीको सहसचिव भएको कुरा बीपीले लेख्नुभएको छ। अप्रिल १९४२ मा बीपी कोइराला पटनामा गिरफ्तार हुनुभयो। त्यसै दिन देवेन्द्रप्रसाद सिंह पनि गिरफ्तार भए। बीपी कोइराला झन्डै तीन वर्ष ब्रिटिश जेलमा रहनुभयो। बीपी कोइराला हिन्दूस्तानमा जेल पर्ने एक्लो नेपाली युवक हुनुहुन्थ्यो। ठीक त्यस्तै अंग्रेजहरूको आग्रहमा नेपालभित्र पनि गिरफ्तारी भएको थियो। जयप्रकाश नारायण ब्रिटिश जेल तोडेर नेपाल पसेका थिए। सप्तरी जिल्ला कोइलारी बरसाइनका जमिनदारहरूले जयप्रकाश र लोहियालाई भरपर्दो मद्दत दिएका थिए।

यस्ता मद्दतगारहरू पछि जयप्रकाश र लोहिया राणाहरूको थुनामा पर्दा छुटाएर भगाउन सफल भएका थिए। भारतका राजनीतिक कार्यकर्ताहरू ब्रिटिश दमनबाट भागेर विराटनगर र धरान पुगेका थिए। त्यहाँ उनीहरूले संरक्षण प्राप्त गरेका थिए। त्यसरी संरक्षण दिने व्यक्तिहरूमा कृष्णप्रसाद कोइराला पनि थिए। कृष्णप्रसाद कोइराला बाहेक धरान–धनकुटा क्षेत्रमा समाज सुधारमा सक्रिय रहेका छविलाल पोखरेल, मेघराज शर्मा लगायत शंकाको घेरामा परेका थिए। यस्ता शंकास्पद व्यक्तिहरूलाई विराटनगरका राणा बडाहाकिमले दैनिक हाजिरीमा तामेल गराएका थिए। कृष्णप्रसाद कोइराला भने थुनिनु नै भयो। कृष्णप्रसाद कोइराला छोरा बीपी भारतमा थुनिएकै हाराहारीमा विराटनगरमा समातिनुभयो। उहाँलाई काठमाडौं लगियो। यसरी बाबु र छोरा दुवै एकै समय नेपाल र भारतमा जेल परे। कृष्णप्रसाद कोइरालाको स्वास्थ्य जेलमा नित्य खराब हुँदै गयो। बीपी कोइराला छुट्नु र पिताजीको देहान्त हुनु एकसाथ भएको थियो।

सन् १९४५ का प्रारम्भिक महिनामा बीपी कोइराला ब्रिटिश जेलबाट छुट्नुभयो। प्रारम्भमा उहाँलाई पटना शहर नछोड्ने आदेश थियो। जेलबाट छुट्दा ताका उहाँ अस्वस्थ हुनुहुन्थ्यो। घाँटी दुख्ने व्यथाले निकै दुःख दिएको थियो। आफ्नो कथामा पिताको मृत्यु र आफ्नो रोगले वेदनाग्रस्त रहनुभएको बीपी कोइरालाको एउटा मार्मिक पत्र छ। पत्नी सुशीला कोइरालालाई यो पत्र लेखिएको छ। मार्च १९४५ को मितिको यो पत्र बडो मार्मिक छ। उहाँ अब मेरो जीवनमा केही बाँकी छैन भनेर बारम्बार भन्नुहुन्छ। स्वर्गीय पिताका लागि केही गर्न नसकेको आत्मवेदनाले कोइराला व्यथित हुनुहुन्थ्यो। बल्दोजल्दो युवा अवस्थामा रोगको आक्रमणले उहाँलाई झनै दुःखी बनायो। तर, अक्टोबर १९४६ पुग्दासम्म हामी बीपी कोइरालाको सर्वथा नवीन रूप देख्छौं। अक्टोबर १९४६ को बीपी कोइरालामा एउटा नयाँ संकल्प छ। क्यान्सरमाथिको आश्चर्यजनक विजयले उनमा नयाँ आत्मविश्वास भरेको थियो। मार्च १९४५ मा करुण क्रन्दन गर्ने बीपी कोइराला अब थिएनन्। उनी अब भावी इतिहासका निर्माता थिए। 

पटना पुगेपछि बीपी कोइराला कांग्रेस सोसलिस्ट पार्टीको राजनीतिमा सक्रिय हुनुभयो। आफू बिहार कांग्रेस सोसलिस्ट पार्टीको सहसचिव भएको कुरा बीपीले लेख्नुभएको छ। 

जनवरी १९४७ मा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना सम्मेलन कलकत्तामा सम्पन्न भयो। थोरै खिचातानीपछि कोइराला यस संगठनको कार्यकारी अध्यक्ष निर्वाचित हुनुभयो। नेपाली राष्ट्रिय कांग्रेस स्थापनाको केहीपछि बीपी कोइरालाले ‘हाम्रो ध्येय’ र ‘हाम्रो साधन’ भन्ने दुईवटा लेख युगवाणीमा लेख्नुभएको थियो। त्यसमा बीपी कोइरालाले बालिग मताधिकार र उत्तरदायी सरकार भए पुग्छ भन्ने धारणा राख्नुभएको छ।

२००७ सालको क्रान्तिको तयारीका क्रममा नै बीपी कोइराला कांग्रेसको सर्वाधिक प्रभावशाली नेताका रूपमा प्रतिष्ठित भइसक्नुभएको थियो। उहाँमा नेतामा हुनुपर्ने गुण थिए। उहाँ तत्कालीन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिको ज्ञाता हुनुहुन्थ्यो लेख्ने र बोल्ने कला दुवै थियो। कुनै पनि मोर्चामा अग्रसर हुन सधैं तयार हुनुहुन्थ्यो।

नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको धेरै समय बितेको थिएन। विराटनगरमा भएको जुटमिलको हड्तालमा सामेल हुन उहाँ उत्साहपूर्वक पुग्नुभयो। त्यस हड्तालका क्रममा उहाँ जेल पर्नुभयो। उहाँ र उहाँका सहयोगीहरूलाई विराटनगरबाट पहाडको बाटो हुँदै २२ दिन पैदल हिँडाएर काठमाडौं लगियो। शीर्षस्थ नेताले आफैं यस्तो जोखिम उठाएर नेपाल पस्नु सानो कुरो थिएन। उहाँ १९४९ मा दोस्रो पटक काठमाडौं गएर पक्राउ पर्नुभयो। दोस्रो पटक पक्राउ पर्दा मोहनशमशेर प्रधानमन्त्री भइसकेका थिए। मोहनशमशेरका पालामा उहाँलाई ठूलो सास्ती भयो। त्यस बेलाको जेलको दुःखको वर्णन एउटा पत्रको माध्यमबाट उहाँले हिन्दूस्तानतिर लेखेर पठाउनुभयो। त्यो पत्र बीपीको व्यक्तित्वको परिचयका निमित्त बडो उपयोगी छ। त्यस पत्रमा उहाँले आफू श्री ३ मोहनशमशेरसँग भेटेर कुरा गर्न इच्छुक रहेको जनाउनुभएको छ। पछि कोइरालाको अनशन र भारतीय आग्रहको संयुक्त दबाबले बीपी कारागारमुक्त हुनुभयो।

तस्बिर : नेपाल म्यागजिन
दोस्रो पटक जेलबाट कोइराला छुट्दा बाहिर धेरै घटना भइसकेको थियो। यिनै ताका कलकत्तामा बसोबास गरिरहनुभएका सुवर्णशमशेर र महावीरशमशेरले संरक्षण र साधन प्रदान गरेर नेपाल प्रजातन्त्र कांग्रेसको गठन गरेका थिए। नेपाल प्रजातन्त्र कांग्रेसको नेतृत्व पंक्तिको भारत सरकारसँग अपेक्षाकृत राम्रो सम्बन्ध थियो। यथासमय नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको एकीकरण भयो। अब २००७ सालको क्रान्तिको सफलता टाढाको कुरा रहेन। नेपाली कांग्रेसले बैरगनियामा अधिवेशन गरेर जुनसुकै साधनबाट भए पनि नेपालमा प्रजातन्त्रको स्थापना गर्ने संकल्प गर्यो। 

बीपीले २००७ सालको क्रान्तिलाई मुख्यतः नेपाली कांग्रेसको पराक्रमका रूपमा अझ त्यसमा पनि विशेषतः आफ्नो पराक्रमका रूपमा प्रस्तुत गर्नुभएको छ। बीपी कोइरालाको आकर्षक नेतृत्व क्रान्तिको एक प्रमुख तत्व अवश्य थियो। आमजनताको स्वतःस्फूर्त उत्साह र सहभागिता महत्त्वपूर्ण थियो। तर, भारत सरकारको कूटनीतिक हस्तक्षेप झन् महत्त्वपूर्ण थियो। अक्टोबर १९४९ मा चीनमा कम्युनिष्ट शासन स्थापना भयो। चिनियाँ सेना तिब्बतसम्म आइपुग्यो। त्यसपछि प्रधानमन्त्री नेहरू र गृहमन्त्री सरदार पटेल विशेष तातेको देखिन्छ। भारत सरकारले नै विशेष चाँजोपाँजो गरेर ७ नोभेम्बर १९५० को दिन श्री ५ त्रिभुवन भारतीय राजदूतावासमा शरणार्थी भएका थिए। त्यस दिन मात्र बिहिटा, पटनामा बर्माबाट हतियार उत्रियो। ९ नोभेम्बरका दिन राजा त्रिभुवन दिल्ली आए। त्यसै दिन कांग्रेसले वीरगञ्जमा हमला गर्यो। दुई महिना नबित्दै राणाशाही गलिसकेको थियो। फलस्वरूप २००७ सालको क्रान्ति गुपचुपको वातावरणमा हतपत निष्कर्षमा पुगेको थियो। ००७ सालको क्रान्तिको तथाकथित दिल्ली सम्झौतामा आफ्नो कुनै भूमिका नभएको गुनासो मातृका, बीपी, गणेशमान सबैले गरेका छन्। यो तीतो यथार्थ थियो। 

बीपी कोइराला २००७ सालको क्रान्तिको मुख्य नेता हुनुहुन्थ्यो। म्याक्स वेबरको वर्गीकरणका अनुसार, उहाँमा ‘करिस्म्याटिक’ नेतामा हुनुपर्ने गुण थिए। उहाँको लवाइ, खवाइ, गवाइ र बसाइ समेत साथीहरूभन्दा सर्वथा पृथक् थिए। गणेशमानजीले बीपीलाई जस्तै परिस्थितिमा पनि शोखमा रहनुपर्ने, मीठो खानुपर्ने, बेग्लै सफा बाथरुम चाहिने र रेलमा फर्स्ट क्लासको वा होइन भने हवाईजहाजमा हिँड्नैपर्ने कुराको उल्लेख गर्नुभएको छ। यो गणेशमान सिंहले मात्र होइन, उहाँलाई चिन्नेजान्ने सबैले भन्ने गरेका छन्। नेताको यस्तो शोखीन बानीले उसलाई कार्यकर्तामाझ अलोकप्रिय बनाउनुपर्ने हो। तर, बीपी कोइरालाका हकमा उल्टो भएको थियो। उहाँलाई यस्तो बानीव्यहोराले नै हिरो बनाएको थियो। सबै कांग्रेसी कार्यकर्ता उहाँको अनुकरण गर्न चाहन्थे। फेरि माथि भनिएझैं बीपी कोइराला भाषण गर्न र लेख लेख्न दुवैमा दक्ष हुनुहुन्थ्यो।

उहाँले आफ्ना राजनीतिक आकांक्षालाई समेत सैद्धान्तिक जामा पहिराउने दक्षता हासिल गर्नुभएको थियो। आफ्ना व्यक्तिगत एवं समूहगत राजनीतिक लक्ष्यको प्राप्तिका हकमा पनि उहाँ बडो सचेत र सचेष्ट रहनुहुन्थ्यो। उहाँलाई २००७ सालको क्रान्तिपछि कांग्रेसको नेताका रूपमा मन्त्रिमण्डलमा गृहमन्त्री बनाएर पठाउनु सर्वथा उचित थियो। तर, तिनताका मातृकाप्रसाद कोइराला पार्टी सभापति थिए। प्राविधिक रूपले उनको पनि हक लाग्थ्यो। त्यस विषयमा आफ्ना अभिन्न मित्र देवेन्द्रप्रसाद सिंहलाई प्रयोग गरेर बीपी कोइरालाले आफ्नो पद कसरी सुरक्षित गराउनुभयो भन्ने कुराको जानकारी मातृकाबाबुले दिनुभएको छ। अन्य अवसरमा पनि बीपीले आफूले खोजेको राजनीतिक पद र सत्ताका निमित्त गर्नुपर्ने सबै कार्य अनिवार्य रूपले गर्नु–गराउनुभएको एकभन्दा बढी दृष्टान्त पाइन्छ।

बीपीले २००७ सालको क्रान्तिलाई मुख्यतः नेपाली कांग्रेसको पराक्रमका रूपमा अझ त्यसमा पनि विशेषतः आफ्नो पराक्रमका रूपमा प्रस्तुत गर्नुभएको छ। बीपी कोइरालाको आकर्षक नेतृत्व क्रान्तिको एक प्रमुख तत्व अवश्य थियो। 

गृहमन्त्रीका रूपमा कोइरालाको चुनौती विशाल थियो। उहाँसँग प्रशासनको अनुभव थिएन। बेलायत, फ्रान्स र रूसको इतिहास पढेर क्रान्तिका विषयमा थुप्रा रोमान्टिक धारणा अवश्य बनेका थिए। तर, नेपालको तत्कालीन परिस्थितिमा ती धारणाहरूको कुनै उपयोगिता थिएन। नेपालको सामाजिक र राजनीतिक परिस्थिति आफ्नै किसिमको थियो। अन्य मुलुकसँग तुलनीय थिएन। राणाशाहीको पालामा राज्यद्वारा पोषित सम्भ्रान्तवर्ग काठमाडौंमा राजकाजमा पकड बनाएर बसेका थिए। आन्तरिक कलह भएर यसै वर्गका सन्तानहरू पछि गएर २००७ सालको क्रान्तिको नेतृत्वदायी दफ्फामा पुगे। स्वयं बीपी कोइरालाको परिवार यसै वर्गभित्र पर्छ। गणेशमान सिंह आफैं राणा प्रशासनका बडाकाजीका नाति हुनुहुन्थ्यो। डा. डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह सबै नै यसै वर्गका सदस्य थिए। स्वयं राणाहरू वा सुवर्णशमशेर र महावीरशमशेरको त कुरो नै भएन।

गृहमन्त्रित्वका क्रममा बीपी कोइराला एक्लिँदै जानुभएको थियो। बीपी कोइराला क्रान्ति र परिवर्तनको आकांक्षाका मूर्त रूप हुनुहुन्थ्यो। उहाँको बोलीवचन, शैली व्यवहारमा २००७ सालको क्रान्तिको दूरगामी लक्ष्य प्रतिध्वनित र प्रतिविम्बित हुन्थ्यो। तर, काठमाडौंको सम्भ्रान्तवर्गलाई यो सुपाच्य थिएन। राजासँग एउटा काउचमा बस्दा उहाँले खुट्टामाथि खुट्टा राखेको दृश्य आज पनि फोटोमा देख्न सकिन्छ। तत्कालीन नेपालमा त्यसले ठूलो तरङ्ग ल्याएको थियो। उहाँको लुगाफाटो समेत आलोचनाको विषय थियो। उहाँले लगाउने गर्नुभएको पोशाक ठ्याक्कै नेहरूकै हुबहु सिको थियो। काठमाडौंमा खाँटी राष्ट्रवादी (?) बुद्धिजीवीका निमित्त यो ठूलो चर्चाको विषय भएको थियो। ठीक त्यस्तै, धर्मबारे उहाँका विचार पनि विवादास्पद भएका थिए। उहाँले कुनै एक भाषणमा पशुपतिनाथलाई म्युजियम बनाउने कुरा भन्नुभयो भनेर बहुचर्चित भएको थियो। उहाँका प्रेम र रोमान्सका कथा पनि अफवाहका विषय भएका थिए। सँगसँगै कतिपय महत्त्वपूर्ण घटनाले उहाँको व्यक्तित्वमा आकर्षण पनि थपेको थियो। 

२००७ सालपछिको अराजकताबाट फाइदा उठाउन राणाहरूले प्रतिक्रियावादी उद्देश्य भएको गोर्खा दल गठन गरेका थिए। कोइरालाको त्रिपुरेश्वरको निवासमा गोर्खा दलले हमला गर्यो। कोइरालाले बहादुरीसाथ त्यस हमलाको प्रतिकार गर्नुभयो। प्रत्यक्षदर्शीहरूले त्यस हमलाको वर्णन गरेका छन्। बीपीले पनि आत्मवृत्तान्तमा त्यस घटना उल्लेख गर्नुभएको छ। गोर्खा दलको आक्रमणमा देखाउनुभएको साहसले बीपी कोइरालाको नायकको छवि अझ परिष्कृत भएको थियो। अर्कोतिर उहाँको विरोध पनि झन् झन् चर्किंदै गएको थियो। आखिर यस्तैमा विद्यार्थीहरूको जुलुसमा कोइरालाले गोली चलाउने आदेश दिनुभयो। चिनियाँ काजी नाम भएका एक जना विद्यार्थी मारिए। त्यस घटनाले काठमाडौंमा सनसनी भयो। कोइरालाका अनुसार, तत्कालीन भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंह समेतले त्यस घटनालाई चर्काउन थाले। एक दिन रेडियो नेपालमा सन्देश दिएर उहाँले गृहमन्त्री पदबाट राजीनामा दिनुभयो।  यो ९ नोभेम्बरको दिन वीरगञ्जमा हमला गरेर २००७ सालको क्रान्ति आरम्भ गरेको क्रान्ति दिवस थियो। 

बीपी कोइराला र गणेशमान सिंह। तस्बिर : मदन पुरस्कार पुस्तकालय
गृहमन्त्री पदबाट राजीनामा दिँदा त्यसपछि बन्ने दलीय सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्नेछ भन्ने बीपीको विश्वास थियो। नयाँ सरकारको नेतृत्व म आफैंले प्राप्त गर्छु भन्ने कुरामा पनि उहाँ ढुक्क हुनुहुन्थ्यो। जानकार सूत्रका अनुसार, गृहमन्त्री पदबाट राजीनामा दिएपछि उहाँलाई नै प्रधानमन्त्री बनाउने आश्वासन भारतीय सूत्रले दिएको थियो। तर, त्यो आश्वासन पूरा भएन। एक त मातृका कोइराला कांग्रेसको सभापति हुनुहुन्थ्यो। पार्टी सभापतिका नाताले प्रधानमन्त्रीमा उहाँको पनि हक थियो। मातृकाबाबुलाई सरकारमा जाने व्यग्रता हुनु स्वाभाविक थियो। उहाँले भारत सरकार र त्रिभुवन दुवैलाई रिझाउनुभएको थियो। बीपी कोइरालालाई राजा र नेहरूले पनि केही अटेर र उत्ताउलो मान्छेका रूपमा चिन्न थालेका थिए। मातृकालाई भने गम्भीर मानिन्थ्यो। मातृकाबाबु दरबारिया हाउभाउ र बोलीव्यवहारमा विशेष पटु थिए। यस्तो तुलनामा काठमाडौंको सामन्ती दरबारिया राजनीतिमा बीपी बहिष्कृत हुनु आश्चर्यजनक थिएन।

सैद्धान्तिक दृष्टिकोणले बीपीले पार्टी सभापति मातृका कोइरालाको प्रधानमन्त्रित्वमा बनेको सरकारको स्वागत गर्नुभयो। तर, नयाँ परिस्थितिमा चित्त बुझाउने उहाँको मनसुवा थिएन। निकट भविष्यमा पार्टी सभापतिको चुनाव हुनैपर्ने थियो। त्यो चुनाव अब छिटोभन्दा छिटो गराउन बीपी प्रवृत्त हुनुभयो। त्यस सिलसिलामा बीपी एकातिर देश भ्रमण गर्न निस्किनुभयो, अर्कातिर पार्टी सभापतिको चुनाव र कांग्रेसको सांगठनिक भूमिकाका हिसाबले उहाँले दुईवटा अत्यन्त महत्वपूर्ण लेख प्रकाशित गर्नुभयो। ‘हाम्रो नयाँ कदम’ र ‘नेपाली कांग्रेस र सरकार’ भन्ने लेखले आफैंमा बीपीको राजनीतिक शैलीको राम्रो परिचय दिन्छन्। तर, बीपीले सभापति पद पाउनुअघि तत्कालीन सभापति मातृकाप्रसाद कोइरालाले अधिवेशनको मितिको निर्णयमा सहमति गर्नुपर्थ्यो। प्रधानमन्त्री मातृका कोइरालाले आफैं सभापति हुन खोजेमा बीपीलाई सभापति हुन सजिलो हुने थिएन। बीपीले बारम्बार यी दुवै पद एकै जनासँग रहनु हुँदैन भन्ने तर्क गरिरहनुभएको थियो। भारतीय शुभेच्छुुकहरू समेतलाई यो तर्क ठीक लागेको थियो। तदनुरूप जयप्रकाश नारायणको रोहबरमा कलकत्तामा दाजु र भाइको लिखित सम्झौता भयो। दाजु मातृका कोइरालाले सरकार चलाउने, बीपी कोइरालाले पार्टी सभापति हुने भन्ने भद्र सहमति भयो। तदनुरूप मातृकाबाबुले सभापति पदमा बीपी कोइरालालाई सघाउनुभयो। बीपी कोइराला पार्टी सभापति हुनुभयो। 

बीपी कोइराला पार्टी सभापति हुनुभएको केही दिनपछि नै मातृकासँग उहाँको द्वन्द्व प्रारम्भ भयो। मातृकाबाबुका अनुसार, बीपीले कुनै पनि प्रकारको खिचलो झिक्नु जयप्रकाश नारायणद्वारा गरिएको ऐतिहासिक सम्झौताको उल्लंघन थियो र यस प्रसंगमा जयप्रकाश नारायण बीपी कोइरालासँग बेस्सरी रिसाएका थिए। आफ्नो रोहबरमा मातृका र बीपीबीच भएको लिखित सम्झौतामा बीपीले नै त्यस सम्झौतालाई तोडेको र त्यस क्रममा धोखा नै दिएको भन्ने जयप्रकाशको एक समयको ठहर थियो। जयप्रकाश नारायणले मातृकाबाबुलाई पत्रमा यो कुरा लेखेका थिए। बीपीका हकमा भने अब यस्ता अविश्वसनीय व्यक्तिसँग कुरै गर्दिनँ भनी केही दिन बोलचाल पनि बन्द राखेका थिए। त्यस बेला बीपीले सुशीला भाउजूलाई अगाडि सारेर जयप्रकाश नारायणलाई फकाउनका निमित्त लेख्नुभएको एक थप चिठी समेत जयप्रकाश नारायणको रचनावलीमा संकलित छ। पछि बीपीका तर्कबाट जयप्रकाशले चित्त बुझाउनुभयो। बीपीका आफ्नै तर्क थिए। बीपी कोइराला नेपाली समाजको तीव्र रूपान्तरणको पक्षमा बोलिरहनुभएको थियो। उहाँ क्रान्तिपछिको समाजमा राजा त्रिभुवनलाई विशेष भूमिका दिनुपर्छ भन्ने कुराको विरोधमा हुनुहुन्थ्यो। 

सैद्धान्तिक दृष्टिकोणले बीपीले पार्टी सभापति मातृका कोइरालाको प्रधानमन्त्रित्वमा बनेको सरकारको स्वागत गर्नुभयो। तर, नयाँ परिस्थितिमा चित्त बुझाउने उहाँको मनसुवा थिएन। निकट भविष्यमा पार्टी सभापतिको चुनाव हुनैपर्ने थियो। त्यो चुनाव अब छिटोभन्दा छिटो गराउन बीपी प्रवृत्त हुनुभयो।

मातृकाबाबु परिवर्तनका निमित्त हतार गर्न नहुने पक्षमा हुनुहुन्थ्यो। उहाँ नेपालको त्यस बेलाको अवस्थामा राजतन्त्रको र विशेष गरेर राजा त्रिभुवनको भूमिकाको अवमूल्यन हुनु नहुने पक्षमा हुनुहुन्थ्यो। बीपी कोइराला निर्वाचित संसद्को अनुपस्थितिमा पार्टीको फोरमलाई सरकारको नीति निर्धारक संस्थाका रूपमा हेर्न चाहनुहुन्थ्यो। एक पटक पार्टी सभापति भइसकेका मातृकाबाबुका निमित्त यो अपमानजनक नियन्त्रणको प्रयास थियो। यस्तै प्रश्नमा दाजुभाइको झगडा चर्किंदै गयो। पार्टीमा निश्चय बीपीको बहुमत थियो। मातृकाबाबुले पार्टी छाड्नुभयो। राजा त्रिभुवन समेतको खुला आशीर्वादबाट मातृकाबाबुले अर्को पार्टी बनाउनुभयो। राष्ट्रिय प्रजा पार्टी नाम भएको त्यस नवजात पार्टीको नेता वा सभापतिका रूपमा मातृकाबाबु फेरि प्रधानमन्त्री नियुक्त हुनुभयो। दाजुभाइको यो विभाजन ऐतिहासिक दृष्टिले संविधान सभाको निर्वाचनका निमित्त बडो घातक भयो। 

बीपी कोइराला निश्चय सत्ता चाहनुहुन्थ्यो। सरकारको नेतृत्व गर्न चाहनुहुन्थ्यो। तर, सत्ताका निमित्त जनपक्षीय राजनीति छाड्न उहाँ कहिल्यै तयार हुनुभएन। त्यस दृष्टिकोणले युवा बीपीको समाजवादी जीवनमूल्यमा अविचल निष्ठा थियो। राजनीतिज्ञहरू अनेक थरीका हुन्छन्। बीपी आदर्शवादी, अग्रगामी र निष्ठावान् युवा राजनीतिज्ञ हुनुहुन्थ्यो। तत्कालीन नेपालको परिस्थितिमा कुन ठाउँमा खुट्टा राख्दा सत्तामा पुग्न सकिन्छ भन्ने कुरामा भने उहाँ अलमलमा नै हुनुहुन्थ्यो। अलमलका वर्षमा पनि जनपक्षीय कुरा गर्न, बोल्न र लेख्न उहाँले कहिल्यै धरमर देखाउनुभएन। कोइरालाले ती वर्षहरूमा संविधानसभाको चुनाव हुनैपर्छ भनेर बारम्बार तर्क गर्नुभयो, लेख लेख्नुभयो। अदालतमा पनि पुग्नुभयो। नेपाली कांग्रेसले जनताका बीच गएर पनि शान्तिपूर्ण संघर्ष गर्यो। 

धेरै प्रयोगपछि राजा महेन्द्रले एकतर्फी रूपमा संसदीय चुनाव गर्ने मनसुवा व्यक्त गरे। चुनावै नहुनुभन्दा संसदीय चुनाव भए पनि होस् भन्ने निर्णयमा २०१४ माघ १९ गते नेपाली कांग्रेस पुग्यो। वीरगञ्ज महासमितिको त्यस बैठकमा नेपाली कांग्रेसले बीपी कोइरालाको नेतृत्वमा संसद्को चुनावमा भाग लिने फैसला गर्यो। 

बीपीको संसद् कि संविधान भन्ने विषयका ५-६ वटा लेख संकलित छन्। ती सारा पठनीय छन्। बीपी कोइरालाको राजनीतिज्ञको स्वभाव त्यसबाट प्रकट हुन्छ। व्यावहारिक राजनीतिज्ञका रूपमा मौका पर्दा सम्झौताका निमित्त उहाँ तयार देखिनुहुन्छ। यस्तै मनस्थितिमा उहाँले संविधानसभा छाडेर संसद्को चुनावमा लागौं भनेर लेख्नुभएको लेख पनि छ। यस लेखमा उहाँ विभक्त मानसिकताको शिकार हुनुहुन्छ। आफूले केही नचाहिने सम्झौता पो गरें कि भनेर झस्किएर केही झर्कोफर्कोमा उहाँले तर्क गर्नुभएको छ।

२०१५ फागुनमा थालिएको संसदीय चुनावमा नेपाली कांग्रेसलाई ठूलो सफलता प्राप्त भयो। प्रारम्भमा बीपी कोइराला प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने छलफल पनि चलेको थियो। विगत वर्षहरूमा उहाँले राजा र भारतको विश्वास लिन नसकेको कुरा धेरै पटक उठेको थिया। सँगसँगै घरमा पनि विरोध थियो। धर्मपत्नी सुशीला कोइराला पति प्रधानमन्त्री बन्ने पक्षमा हुनुहुन्नथ्यो। सुशीला कोइराला गान्धी र जयप्रकाशबाट विशेष प्रभावित हुनुहुन्थ्यो। ज्यादा समय हिन्दूस्तान र विशेषगरी पटना बसोबास गरिरहनुभएकी सुशीला कोइरालाको यस्तो आग्रहका पछाडि अवचेतनका केही आशंका पनि थिए होला। अन्ततः आफू एक वर्ष मात्र प्रधानमन्त्री बन्ने वाचा गरेर बीपी कोइरालाले श्रीमतीलाई सन्तुष्ट बनाउनुभयो।

भारतका हकमा डा. तुलसी गिरीलाई निजी दूत बनाएर नेहरूकहाँ पठाउनुभयो। नेहरूबाट पनि आश्वस्त भएपछि राजदरबारमा कुरा गर्न खास गाह्रो भएन। बीपीका अनुसार, राजा महेन्द्रले पनि बीपी कोइरालाको प्रधानमन्त्रित्वप्रति विशेष आपत्ति देखाएनन्। उल्टो बीपी नै प्रधानमन्त्री बन्नुपर्ने आग्रह गरे। बीपी कोइरालाले असार २०१६ मा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभयो। उहाँको प्रधानमन्त्रीको कार्यकाल प्रारम्भ भयो। हेर्दाहेर्दै एक वर्ष बित्यो। तर, एक वर्षपछि पनि कोइरालाले प्रधानमन्त्री छाड्ने संकेत दिनुभएन। १८ महिनाको कार्यकालपछि २०१७ पुस १ का दिन राजा महेन्द्रले सेना लगाएर कोइरालालाई गिरफ्तार गरे। 

राजा महेन्द्र र बीपी कोइराला
बीपी कोइरालाको १८ महिने शासनकालमा नेपालले अन्तर्राष्ट्रिय जगत्मा प्रवेश र परिचय पायो। पछि बीपीले नै थालेको कामलाई राजा महेन्द्रले अगाडि बढाए। बीपीले ती सबै काम गर्दा भारतका प्रधानमन्त्रीलाई अवगत राख्नुभएको थियो। बीपी चीन जाँदा पनि जवाहरलाल नेहरूसँग सल्लाह गर्नुभएको थियो। त्यस्ता कुराहरू भर्खरै प्रकाशित नेहरू–बीपी पत्राचारमा पढ्न सकिन्छ। त्यसो हुँदा नेहरूले बीपी कोइरालाको चीनप्रति झुकाव वा इजरायलसँगको दौत्य सम्बन्धको कारणले बीपीलाई अविश्वास गरे भन्ने ठाउँ देखिँदैन। फेरि जननिर्वाचित सरकारलाई सैनिक बलले भंग गर्ने कुरामा राजा महेन्द्र एक मात्र दुस्साहसी तानाशाह थिएनन्। द्वितीय महायुद्धपछि तेस्रो विश्वका अधिकांश मुलुकमा पाश्चात्य शैलीको प्रजातन्त्रको प्रयोग प्रारम्भ भएको थियो। तर, त्यस्ता प्रयोग विरलै सफल भएका थिए। जनताको आफ्नै मूल्य, मान्यता र विश्वास थियो। जनताको मूल्य, मान्यता र विश्वासका आधारमा प्रजातन्त्रको जग बसेको थिएन। यसैले गर्दा तेस्रो विश्वमा एकपछि अर्को मुलुकमा तानाशाहको सिलसिला प्रारम्भ भएको थियो। १९५३ तिर इरानका जननिर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दीकलाई सेनाको बलले खेदिएको थियो। १९५८ मा पाकिस्तानका निर्वाचित प्रधानमन्त्रीलाई सेनाले नै अपदस्थ गरेको थियो। इन्डोनेशियामा सुकार्नोले अधिनायकवादी शासन स्थापित गरिसकेका थिए।

बीपी कोइराला र राजाको द्वन्द्व परम्परा र आधुनिकताको झगडा थियो। तानाशाही र प्रजातन्त्रको संघर्ष थियो। राजा महेन्द्र यस लडाइँमा विजयी भए। १५ डिसेम्बर १९६० का दिन बीपी कोइराला तात्कालिक दृष्टिले पराजित हुनुभयो। दुई-तीन दिनअघि मात्र राजा महेन्द्रले उपप्रधानमन्त्री जनरल सुवर्णशमशेरलाई कलकत्ता जाने प्रेरणा दिएका थिए। तर, कलकत्तामा रहेका सुवर्णशमशेरले राजा महेन्द्रको अनुकूलको काम गर्नुभएन। भारतका समाजवादी नेता अशोक मेहताको प्रयासबाट अत्यन्त गोपनीय ढंगले सुवर्णले डिसेम्बर १९६० को अन्त्यतिर नेहरूसँग भेट पाए। सुवर्णजीले त्यसपछि वक्तव्यबाजी बाहेक अरू गतिविधि पनि थाल्नुभयो। सुवर्णजीको आह्वानमा पटनामा कांग्रेसको आपत्कालीन सम्मेलन भयो। त्यस सम्मेलनले सुवर्णजीलाई सर्वाधिकारसम्पन्न कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्यो। सुवर्णजीको नेतृत्वमा राजा महेन्द्रको विरुद्धमा शक्तिशाली सशस्त्र प्रतिरोध प्रारम्भ भयो। राजा महेन्द्र राम्ररी नै तर्सिएका थिए। तर, त्यसबीच भारत र चीनको सीमा–संघर्ष चर्कियो। सीमा–संघर्षले सैनिक आक्रमण र प्रतिआक्रमणको रूप लियो। भारत सरकार समेतको सल्लाहबाट बाध्य भएर जनरल सुवर्णले सशस्त्र संघर्ष फिर्ता लिनुपर्ने स्थिति भयो। त्यसपछि नेपालमा लामो समयसम्म नेपाली कांग्रेसले अर्को संघर्ष गर्न सकेन।

झन्डै आठ वर्ष बीपी कोइराला, गणेशमान सिंह, रामनारायण मिश्रा, योगेन्द्रमान शेरचन र दिवानसिंह राई सुन्दरीजलमा कोचिएर बसे। कारावास सबैका निमित्त पीडादायक हुन्छन्। कोइरालाका प्रकाशित र अप्रकाशित डायरीहरूमा जेलका ती दिनको मार्मिक वर्णन भेटिन्छ। जेल डायरीहरूमा बीपी बारम्बार आफ्नो  विगत र भविष्य केलाउनु हुन्छ। राजा महेन्द्रले आफूलाई जेलमा थन्क्याएको राजनीतिको विश्लेषण गर्नुहुन्छ। त्यस्ता विश्लेषणको बारम्बार एउटै निष्कर्ष छ– राजाले सैन्य बलका आधारमा मलाई पराजित गरेका हुन्। 

बीपी कोइराला र राजाको द्वन्द्व परम्परा र आधुनिकताको झगडा थियो। तानाशाही र प्रजातन्त्रको संघर्ष थियो। राजा महेन्द्र यस लडाइँमा विजयी भए। १५ डिसेम्बर १९६० का दिन बीपी कोइराला तात्कालिक दृष्टिले पराजित हुनुभयो। दुई-तीन दिनअघि मात्र राजा महेन्द्रले उपप्रधानमन्त्री जनरल सुवर्णशमशेरलाई कलकत्ता जाने प्रेरणा दिएका थिए।

बीपी कोइराला बेलाबखत २००७ सालको क्रान्तिपछिको रक्षा दलको कुरा झिकिरहनुहुन्छ। कांग्रेसले त्यस रक्षा दललाई आफैंसँग राखेको भए यस्तो दिन आउने थिएन भन्ने कोइरालाको तर्कना पटकपटक प्रकट भएको छ। यस बाहेक कोइरालाले साहित्यिक र दार्शनिक अध्ययनमा ज्यादा समय दिनुभएको छ। जेल डायरीमा कविता, साहित्य र दर्शन बाहेक विज्ञान अध्ययनका पनि टिपोट छन्। ठाउँठाउँमा बीपी कोइरालाले नेपाली कांग्रेसको इतिहास लेख्ने संकल्प गर्नुभएको छ। उहाँले ठाउँठाउँमा समाजवादको विषयमा पनि ठूलो किताब लेख्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। तर, फुलस्केप साइजको अंग्रेजीमा लेखिएको अझै अप्रकाशित झण्डै ५०० पृष्ठको डायरीमा समाजवादबारे मुश्किलले पाँच/सात पृष्ठको खेस्रा पाइन्छ। जेलबाट निस्कनुभएपछि कोइरालाका केही उपन्यास र कथा अवश्य प्रकाशित भए। नेपाली साहित्यमा विद्यमान मापदण्ड अनुसार ती कृति स्तरीय छन्। 

कोइरालाको कारावासको समयमा नेपाल वा नेपाल बाहिरको समाज स्थिर थिएन। द्वितीय महायुद्धपछि प्रचलनमा आएको आधुनिकीकरणको राजनीतिले महेन्द्रलाई पनि छाडेको थिएन। पश्चिमा सल्लाहकारले बाध्य गराएर भए पनि राजा महेन्द्रलाई भूमिसुधार गराएका थिए। नेपालमा पूँजीवादको प्रवेश भएको थियो। बाटोघाटो बन्न थालेका थिए। राजा महेन्द्रले भारत चिढिए पनि वास्ता नगरी कोदारी राजमार्ग बनाएका थिए। चीनसँगको सम्बन्धले नेपाल विदेशी वस्तुको बजार हुन पुगेको थियो। चीनका सस्ता मालहरूमा भारतीय व्यापारीहरू लोभिन थालेका थिए। समाजमा नयाँ वर्गको निर्माण हुँदै थियो। स्कुल, कलेज खुलिरहेका थिए। स्कुल र कलेजका विद्यार्थीमा प्रजातन्त्रप्रतिको विश्वास बलियो हुँदै थियो। कांग्रेस र कम्युनिष्टका अधिकांश जिम्मेवार नेताहरू या त जेलमा या निर्वासनमा थिए। त्यसो हुँदा विद्यार्थीहरूबीच पाइने देशभक्ति र प्रजातन्त्रको भावनालाई दरबारिया तत्त्वहरूले गलत दिशा दिने कोशिश गरेका थिए। कांग्रेस र कम्युनिष्टका नामबाट चिनिने विद्यार्थी समूह आपसमा खूब लड्थे। १९६५ पछिका वर्षहरूमा चीनमा सांस्कृतिक क्रान्ति थालियो। चिनियाँ प्रभावमा नेपालभित्रका कम्युनिष्टहरू पनि राजा विरुद्ध उग्र हुँदै गएका थिए। उता भारतमा भने लालबहादुर शास्त्री प्रधानमन्त्री बनेपछि नेपालसँग सम्बन्ध सुधार्ने अभियान थालिएको थियो। यस्तै परिस्थितिमा बीपी कोइराला अक्टोबर १९६८ मा कारावासमुक्त हुनुभयो। 

कोइराला सजिलै कारावासमुक्त हुनुभएको थिएन। नेपथ्यमा अनेक घटना–प्रतिघटना भइरहेका थिए। कोइरालाले आफ्नो आत्मवृत्तान्तमा यसको एक पाटोको वर्णन गर्नुभएको छ। यथार्थमा कोइराला मन्त्रिमण्डलका गृहमन्त्री सूर्यप्रसाद उपाध्याय कोइरालाको मुक्तिका एक प्रमुख अभियन्ता थिए। भारत सरकारले पनि तीव्र चासो लिएको थियो। कोइरालाको रिहाइभन्दा अघि कांग्रेसका कार्यकारी सभापति सुवर्णशमशेरले १५ मे १९६८ का दिन कलकत्ताबाट एउटा वक्तव्य प्रसारित गर्नुभएको थियो। यस वक्तव्यमा कार्यकारी अध्यक्ष सुवर्णले अब राजासँगको संघर्ष त्यागेको कुरा अभिव्यक्त गर्नुभएको थियो। तर, सँगसँगै राजा महेन्द्रले आफ्नो सहयोगको प्रस्तावप्रति सदाशयता देखाउनेछन् भन्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो। सुवर्णजीले राजाले आफैं संवैधानिक विकासको बाटोबाट प्रजातन्त्र दिनुपर्ने कुरामा जोड दिनुभएको थियो। आफूहरूले प्रजातन्त्रको विकासको पक्षमा तत्काललाई संघर्ष छाडेको हो भन्ने उहाँको थप आग्रह थियो। सुवर्णको वक्तव्यलाई नेपाली छापाहरूमा बङ्ग्याइएकामा उहाँले बेलैमा त्यसको प्रतिवाद गर्नुभएको थियो। उहाँको प्रस्ट चेतावनी थियो– ‘हामी क्षमादानका याचक होइनौं।’ कोइरालाले सुन्दरीजल जेलबाट छाडिने क्रममा प्राविधिक रूपले सैनिक पहराभित्र नै यस वक्तव्यलाई समर्थन गर्नुभएको थियो। अब नेपालमा राजा र कांग्रेसको सहकार्यको नयाँ चरण प्रारम्भ हुने सम्भावना देखिएको थियो।

कोइराला सजिलै कारावासमुक्त हुनुभएको थिएन। नेपथ्यमा अनेक घटना–प्रतिघटना भइरहेका थिए। कोइरालाले आफ्नो आत्मवृत्तान्तमा यसको एक पाटोको वर्णन गर्नुभएको छ। यथार्थमा कोइराला मन्त्रिमण्डलका गृहमन्त्री सूर्यप्रसाद उपाध्याय कोइरालाको मुक्तिका एक प्रमुख अभियन्ता थिए। भारत सरकारले पनि तीव्र चासो लिएको थियो।

सुन्दरीजल जेलबाट छुटेकै दिनदेखि कोइरालाले राजालाई भेट्ने प्रयास थाल्नुभयो। तर, राजापट्टिबाट अहिले भेट्न मिल्दैन भन्ने जवाफ पाउनुभयो।  स्वास्थ्य परीक्षण र उपचारका निमित्त बम्बई रहनुभएका बेला कोइराला आफैं एक कदम अघि सरेर लन्डनबाट फर्किरहनुभएका राजा महेन्द्रलाई स्वागत गर्न बम्बई एयरपोर्ट जानुभयो। बम्बईको त्यस बसाइमा पनि कोइरालाले राजालाई भेट्ने इच्छा जाहेर गराउनुभयो। राजा महेन्द्रले त्यो पनि इन्कार गरे। राजा महेन्द्रको यस्तो इन्कारी जवाफ बीपी कोइरालालाई निश्चय पनि सुपाच्य भएन। बम्बईमा स्वास्थ्य उपचारपछि बीपी केही दिन आफ्नो परिवार इष्टमित्रलाई भेट्न पटना–बनारसतिर अलमलिनुभयो। त्यसपछि उहाँ विराटनगर जानुभयो। त्यहाँ सभाहरू आयोजित भए। सभामा उहाँले मुलुकको स्थिति असहनीय रहेकाले क्रान्ति अनिवार्य भएको बताउनुभएको थियो। मूलतः यो एक सैद्धान्तिक स्थापना मात्र थियो। तैपनि आफ्नो अभिव्यक्तिप्रति राजा महेन्द्रको प्रतिक्रिया के कस्तो छ भनी बुझ्न गिरिजाबाबु मार्फत बीपीले राजा महेन्द्रलाई चिठी लेख्नुभएको कुरा भोला चटर्जीलाई बताउनुभएको छ। तर, गिरिजाबाबु राजा महेन्द्रको हातमा त्यो चिठी पुर्‍याउन सफल हुनुभएन। उहाँले प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेट्नुभयो। अब राजाले बीपीलाई फेरि पनि जेल हाल्न सक्छन् भन्ने गिरिजाबाबुको ठहर भयो। गिरिजाबाबुबाट खबर पाउनासाथ बीपी बनारसतिर लाग्नुभयो। उहाँको परिवार, श्रीमती, छोराछोरी उतै थिए।

बीपी कोइरालाको सिंगो राजनीतिक जीवनमा सन् १९६८ को कारागार मुक्तिपछिको भारत प्रवासका गतिविधि अपेक्षाकृत अज्ञात रहेको छ। आफ्नो त्यस प्रवास बसाइबारे बीपी कोइरालाले आत्मवृत्तान्तमा दुई ठाउँमा टिप्पणी गर्नुभएको छ। यस कदमलाई एउटा भूलका रूपमा उल्लेख गर्नुभएको छ। कोइरालाले एकभन्दा बढी ठाउँमा ‘अनि त गल्ती भइहाल्यो’ लेख्नुभएको छ। तर, मानिस अन्तर्विरोधको पुञ्ज हुन्छ। फेरि आत्मवृत्तान्तमा नै कोइरालाले म हिन्दूस्तान नजाँदो हुँ त नेपालमा मेरो हबिगत के हुने थियो होला भन्ने शंका उठाउनुभएको छ। कोइरालाको आत्मसंशय र आत्मालोचना दुवै इमानदार अभिव्यक्ति हुन्। इतिहासको विकासक्रमलाई काल्पनिक रूपमा बुझ्न असम्भव हुन्छ। त्यसो नभएको भए के हुन्थ्यो होला भन्नुको इतिहासमा कुनै अर्थ हुँदैन। त्यसैले कोइराला बनारस जानु र क्रान्ति आह्वान गर्नु ठीक वा बेठीक के थियो, यसै भन्न गाह्रो छ। 

मुम्बईबाट विराटनगर आएर बीपी कोइरालाले क्रान्तिकारी भाषण दिँदासम्म केही बिग्रिएको थिएन। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका अनुसार, राजधानीमा राजा लगायत कसैले पनि त्यस भाषणलाई अन्यथा लिएको थिएन। बीपी तत्काल बनारस जानुभएर पनि केही बिग्रिएको थिएन। अब उहाँले पार्टीका शीर्ष साथीहरूसँग सल्लाह गर्नु आवश्यक थियो। त्यो उहाँले गर्नुभएन। सुवर्णशमशेरले सशस्त्र संघर्ष सञ्चालन गर्दा पनि महेन्द्रनारायण निधि, बोधप्रसाद उपाध्याय, सूर्यप्रसाद उपाध्याय नेपालभित्रै थिए। सुवर्णशमशेरको कार्यपद्धतिसँग उनीहरूको मतभेद थियो। तर, उनीहरूको प्रजातन्त्रप्रतिको प्रतिबद्धता निक्खर थियो। कुनै समय चार तारा भनेर चिनिएका बीपी, सुवर्ण, गणेशमान र सूर्यप्रसाद भेटघाट गरेर सामूहिक रूपमा भावी राजनीतिको रूपरेखा कोर्नु त्यस समयको कार्यभार थियो। यो गर्ने/गराउने जिम्मेवारी बीपी कोइरालाको थियो। तर, कोइरालाले यस दिशामा कदम चाल्नुभएन।

प्रारम्भिक महिनाहरूमा बीपी कोइरालालाई भेट्न जाने केही पत्रकारलाई उहाँले आफू छिटै नेपाल फर्किने भन्नुभएको छ। उहाँले पत्रकारहरूलाई नेपाली कांग्रेसको आधिकारिक लाइन सुवर्णशमशेरको हो भन्नुहुन्थ्यो। क्रान्तिको यो विश्लेषण त मेरो निजी थेसिस हो, पार्टीको लाइन त त्यही हो जो सुवर्णजी भन्नुहुन्छ भन्ने उहाँको सधैंको भनाइ थियो। ती दिनहरूमा सुवर्णजी र बीपीका बीचमा के कुराकानी भएका थिए, हामीलाई थाहा छैन। राजा महेन्द्रले के गर्ने हुन् भन्नेबारेमा सुवर्णजीलाई पनि अवश्य शंका थियो होला। बीपी सुवर्णजीको बौद्धिक क्षमताको ठूलो प्रशंसक हुनुहुन्थयो। भेटघाट हुँदा बीपी र सुवर्णजीको नेपालको राजनीति परिस्थितिउपर गम्भीर विचार विनिमय हुन्थ्यो। बीपीको नेपाल फर्किने वक्तव्य त्यस्तै छलफलको प्रतिफल प्रतीत हुन्छ।

बीपी कोइराला सन् १९६९ को प्रारम्भिक महिनामा बनारस पुग्नुभएको थियो। सन् १९६९–१९७० को प्रारम्भिक महिनामा उहाँले दिनुभएका अन्तर्वार्ताहरू सङ्कलित छन्। समीक्षा’ प्रतिनिधि महेशमणि दीक्षितलाई उहाँले आफू छिटै नेपाल फर्किने कुरा भन्नुभएको छ। म गान्धीवादी होइन भनेर समेत घोषणा गर्नुभएको छ। 

मुम्बईबाट विराटनगर आएर बीपी कोइरालाले क्रान्तिकारी भाषण दिँदासम्म केही बिग्रिएको थिएन। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका अनुसार, राजधानीमा राजा लगायत कसैले पनि त्यस भाषणलाई अन्यथा लिएको थिएन।

अक्टोबर १९६९ मा गान्धीको जन्म भएको एक सय वर्ष पुगेको थियो। सिंगो भारत वर्षमा गान्धीजीको जन्मशताब्दी मनाइँदै थियो। जयप्रकाश नारायणले बनारसमा गान्धीजीको विचारधाराको अध्ययनका निमित्त एउटा सम्मानित केन्द्र बनाएका थिए। जयप्रकाशले बीपी कोइरालालाई जन्मशताब्दी समारोहमा बोल्नका निमित्त प्रमुख वक्ताका रूपमा आमन्त्रित गरे। यो भाषण मूलतः अंग्रेजीमा लेखिएको थियो। यस आलेखको पाठको १० वर्षमा नै बीपी कोइरालाका यहाँ व्यक्त भएका अधिकांश विचार फेरिएका थिए।

१९७० ईश्वीमा बीपीलाई इलाहावादको परिमल भन्ने साहित्यिक संस्थाले आफ्नो रजत जयन्तीमा प्रमुख वक्ताका रूपमा बोलायो। बीपी कोइरालाले त्यस समारोहमा साहित्यिक विषयका आफ्ना विचारलाई एक ठाउँमा सुव्यवस्थित रूपमा राख्नुभयो। साहित्यमा म अराजकतावादी हुँ भन्ने कोइरालाको वक्तव्य उहाँका प्रशंसकहरूले अक्सर उद्धृत गरिरहन्छन्। तर, कोइरालाले यस्तो भन्नुको निहितार्थ के थियो यस आलेखमा प्रस्ट पारिएको छ। तरुणको पहिलो अङ्कमा अर्थात् अक्टोबर १९७० मा यो आलेख प्रकाशित छ।

१९७० जुलाई–अगस्टतिर कोइराला यूरोप जानुभयो। स्वास्थ्य परीक्षण यूरोप भ्रमणको प्रत्यक्ष उद्देश्य थियो। आफू यूरोप जान चाहेको भनेर बीपी कोइरालाले श्री ५ को सरकारसँग पासपोर्ट माग गर्नुभएको थियो। तर, सरकारले पासपोर्ट दिएन। भारतले बीपीलाई परिचयपत्र दिएर यात्रा सम्भव बनायो। बीपीले यूरोपमा ठाउँठाउँ आफूले आह्वान गर्नुभएको सशस्त्र क्रान्तिका निमित्त सहयोग माग्नुभयो। आत्मवृत्तान्तमा यसको विस्तृत वृत्तान्त लेखिएको छ। तर, स्वास्थ्य उपचारको खास चर्चा छैन। यूरोपका शुभेच्छुकहरूले आफूले चाहेर पनि बीपीको क्रान्ति प्रयासलाई मद्दत दिन नसक्ने बताए। मद्दत दिन खोज्दा पनि भारतको सहयोग चाहिने हुँदा बरु भारतसँग नै बीपी कोइरालाले कुराकानी चलाउनुपर्छ भन्ने सबैको सल्लाह रह्यो। 

बीपी कोइराला १९७० को पुछारतिर यूरोप प्रवासबाट फर्किनुभयो। १९७१ लाग्नासाथ पाकिस्तानको आन्तरिक राजनीतिमा ठूलो उथलपुथल भयो। पाकिस्तानको आमचुनावमा पूर्वी पाकिस्तानमा शेख मुजीबुर रहमानको नेतृत्वमा रहेको अवामी लिग विजयी भयो। पश्चिम पाकिस्तानले खास गरेर पाकिस्तानी सेनाले शेख मुजीबुरलाई सत्ता दिन चाहेन। पूर्वी र पश्चिमी पाकिस्तानमा संघर्षको अवस्था भयो। पूर्वी पाकिस्तानमा स्वाधीनताको नयाँ संघर्ष सुरू भयो। भारत सरकारले जयप्रकाश नारायणलाई अगाडि सारेर यस संघर्षलाई टेवा दिन थाल्यो। बीपी कोइराला ठूलो जोस र जाँगरका साथ बाङ्लादेश मुक्ति अभियानमा लाग्नुभयो। १९७१ मेमा दिल्लीमा बाङ्लादेशको पक्षमा एक अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो। बीपी कोइरालाले त्यसमा भाग लिनुभयो। त्यस क्रममा उहाँले आफ्नो सशस्त्र क्रान्तिको आह्वानको जोडदार प्रचारप्रसार गर्नुभयो। उहाँले बाङ्लादेशको विजयले नेपाली प्रजातन्त्रको बाटो खोल्नेछ भन्नुभयो।

बीपी कोइरालाको सशस्त्र संघर्षको आह्वान र अभिकथनले नेपालमा केहीको ध्यान आकृष्ट भयो। बीपी कोइरालाले नेपाली क्रान्तिका निमित्त आफूले जोहो गरेको हतियार बाङ्लादेश मुक्ति योद्धालाई बुझाएको कुरा लेख्नुभएको छ। उहाँले यसरी आफ्नो समीप सजिलै हतियार कसरी आइपुग्यो भन्नेबारेमा स्वयं शङ्का प्रकट गर्नुभएको छ। आत्मवृत्तान्तमा यस हतियारको स्रोतको उल्लेख दुई ठाउँमा गरिएको छ। उहाँले त्यो हतियार भारत सरकारकै हुनुपर्छ भनेर सङ्केत गर्नुभएको छ। भारत सरकारद्वारा नै बीपी कोइरालाको जानकारीमा भएर वा नभई त्यो हतियार उहाँकै माध्यमबाट पूर्वी पाकिस्तान पुर्‍याउन लगाइएको थियो भन्ने सङ्केत समेत आत्मवृत्तान्तमा छ। बीपी कोइरालाले जनरल सुवर्णशमशेरलाई लेखेका दुईवटा चिठीमा बाङ्लादेशको उल्लेख छ। बीपी कोइरालाले बाङ्लादेश पठाएको हतियारको कुरा पनि लेख्नुभएको छ। ती चिठीले बीपी कोइरालाको तत्कालीन मनस्थितिको राम्रो परिचय दिन्छ। बाङ्लादेशको मुक्ति आन्दोलन ताका कोइरालामा पहिलो पटक ठूलो आत्मविश्वास देखिन्छ।

बीपी कोइराला १९७० को पुछारतिर यूरोप प्रवासबाट फर्किनुभयो। १९७१ लाग्नासाथ पाकिस्तानको आन्तरिक राजनीतिमा ठूलो उथलपुथल भयो। पाकिस्तानको आमचुनावमा पूर्वी पाकिस्तानमा शेख मुजीबुर रहमानको नेतृत्वमा रहेको अवामी लिग विजयी भयो। पश्चिम पाकिस्तानले खास गरेर पाकिस्तानी सेनाले शेख मुजीबुरलाई सत्ता दिन चाहेन।

बीपीले बनारस प्रवासका दर्मियान गर्नुभएको सशस्त्र क्रान्तिको आह्वान हाम्रो इतिहासको एउटा अध्याय भइसकेको छ। बीपीले शस्त्रत्याग गरेपछि पनि रामराजाप्रसाद सिंह र प्रचण्डलगायत नेताहरू उहाँकै पदचिह्नमा हिँडेको दाबा गरे। सुवर्ण, बीपी, रामराजा र प्रचण्ड सबैले सशस्त्र संघर्षका दर्मियान भारतलाई आफ्नो आधारभूमि बनाएका थिए। यस्ता सबै सशस्त्र संघर्षका वरिपरि थुप्रा भएका/नभएका रोमान्टिक एवं विचित्र कथाकुथुङ्गी गाँसिएका छन्। यी चार जना नेतामध्ये बीपी कोइरालाको सर्वाधिक उच्च व्यक्तित्व थियो। तर, त्यस हिसाबले हेर्दा बीपी कोइरालाको सशस्त्र संघर्षको अभियान सर्वाधिक क्षतिग्रस्त रह्यो। बीपी कोइरालाले १९७२ मा तरुणमा क्रान्तिचर्चा भन्ने एउटा गम्भीर लेख लेख्नुभएको थियो। त्यस लेखका लेखकले १९७३–७४ मा कांग्रेसका नाममा भएका घटनाक्रमलाई आशीर्वाद दिनु असंगत देखिन्छ।

बाङ्लादेशको उदय र मान्यताका दर्मियान नेपालमा एउटा ठूलो घटना भएको थियो। पञ्चायत व्यवस्थाका प्रवर्तक राजा महेन्द्रको ३० जनवरी १९७२ का दिन देहान्त भयो। राजा वीरेन्द्र गद्दीमा बसे। वीरेन्द्र भर्खरै २५ पुगेर २६ मा टेकेका थिए। राजा वीरेन्द्रको ससुराली खलकसँग सुवर्णशमशेरको घनिष्ठ सम्बन्ध थियो। जयप्रकाश नारायणले समेत राजा वीरेन्द्रसँग आशा राख्नुभएको थियो। यस नौलो परिस्थितिमा बीपी र सुवर्ण मिलेर संवैधानिक सुधारको दिशामा संयुक्त पहल गर्न सक्नुहुन्थ्यो होला, तर त्यो भएन। 

बाङ्लादेशको मुक्तिको उपलब्धिका पृष्ठभूमिमा अब नेपालमा प्रजातन्त्रका पक्षमा परिस्थिति स्वतः उत्पन्न हुन्छ भन्ने बीपीको सोच थियो। नेपालमा केही गरौं, गरिहालौं भन्ने उहाँलाई लागेको थियो। तर, बाङ्लादेशमा हात हालेर सफल भएको भारतलाई नेपालमा नयाँ झमेला खडा गर्ने अवश्य पनि मनसुवा थिएन। बाङ्लादेशको आजादी सानो घटना थिएन। अमेरिकाले यस घटनाको विरोध गरेको थियो। १९७२ को सिंगो वर्ष भारत र पाकिस्तानको कूटनीतिक तानातानमा बितेको थियो। यस्तो वेलामा भारतले नेपालमा नयाँ बखेडा चाहँदैनथ्यो। भारतले पनि नयाँ राजालाई हेर्नु, विचार्नु र अध्ययन गर्नुपरेको थियो। 

सन् १९७२ मा बीपी कोइरालाले सुवर्णशमशेरलाई अर्को चिठी लेख्नुभएको छ। त्यस पत्रमा बीपीले सुवर्णलाई हामी दुवै मिलेर दिल्ली जानुपर्छ भनिएको छ। दुवैले एक साथ, एक भएर महत्वपूर्ण ठाउँमा कुराकानी गर्नुपर्छ भनिएको छ। भारत सरकारसँग मद्दत माग्ने वेला आएको छ भन्ने यस पत्रको ध्वनि छ। सुवर्णजीले दिएको जवाफ उपलब्ध छैन। बीपीको त्यो तिथि नभएको चिठी उहाँकै हस्ताक्षरमा छ। त्यस चिठीसँगै एउटा अर्को चिठी पनि खामिएको छ। भारत घुम्न आएका युगोस्लाभियाका समाजवादी मित्र एरिक बेबलर बीपी कोइरालाको अनुरोधमा नेपाल गएका थिए। कोइरालाले पत्नी सुशीला कोइराला समेतलाई एरिक बेबलरसँग नेपाल पठाउनुभएको थियो। एरिक बेबलर नेपालमा रहँदा नै योगेन्द्रमान शेरचनको हत्या भएको थियो। एरिक बेबलरले नेपालमा अनेकन् व्यक्तिलाई भेटेका थिए। उनले भेटेका मानिसहरूमध्ये सूर्यबहादुर थापा, सूर्यप्रसाद उपाध्याय भारतीय राजदूतावासका राजदूत लगायतका पदाधिकारी प्रमुख थिए। ती सबैले एरिक बेबलरलाई एउटै कुरा भनेका थिए– बीपीले नेपाल फर्कनैपर्छ, उहाँलाई नेपालमा कसैले केही गर्दैन। 

एरिक बेबलरको पत्रमा अरूको कुरा भन्दा पनि सूर्यबहादुर थापा र भारतका डिसिएमका तर्कलाई विशेष विस्तारमा वर्णन गरिएको छ। भारतीय राजदूत वा डिसिएमले आफूखुशी कुरा गर्दैनन्। उनको कुराकानीमा भारत सरकारको सोचाइ प्रतिविम्बित रहन्छ। त्यसो हुँदा बाङ्लादेशको मुक्तिको पृष्ठभूमिमा अहिले भारतले निर्वासित बीपीलाई राजनीतिक मद्दत दिन्छ भन्ने सोच अव्यावहारिक देखिन्छ। तर, बीपीको चिठी हेर्दा उहाँ आशावादी देखिनुहुन्छ। त्यसै चिठीमा बीपीले राजा वीरेन्द्रका प्रति आफ्नो निराशा पनि व्यक्त गर्नुभएको छ। राजा वीरेन्द्र आफ्ना बाबुकै बाटोमा हिंड्छन् भन्ने उहाँको किटान छ। स्मरणीय छ, चार वर्षपछि नेपाल फर्किंदा बीपी यसको ठीक विपरीत सोचेर फर्कनुभएको थियो। 

बीपी कोइराला।

उपर्युक्त चिठीको तीन महिना नबित्दै अगस्ट १९७२ मा हरिपुरा काण्ड भयो। गिरिजाप्रसाद कोइरालाको सान्निध्यमा रहेका यज्ञबहादुर थापा नेतृत्वको टोली इनरुवा बैंक लुट्न गएको थियो। बाटैमा रहेको हरिपुरा प्रहरी चौकीमा तत्काल निर्णय गरेर टोलीले आफैं आक्रमण गरेको हो भन्ने एक सहभागीको भनाइ छ। भान्टाबारीबाट इनरुवा जान तयारी हालतमा राखिएको ट्रकका ड्राइभर चौकीमा आक्रमणको घटना देखेपछि गाडी लिएर भागे। पैदल इनरुवा जान सम्भव नभएकाले उनीहरू बैंक नलुटी बाटैबाट फर्किन विवश भए। योजना असफल भयो। यस काण्डमा सहभागी रहेका एक-दुई व्यक्ति अझै जीवित छन्। उनीहरूको भनाइ यस्तै छ। यो असफलता ओखलढुंगा काण्डको पूर्वाभास थियो।

हरिपुरा काण्डले बीपी र सुवर्णको सम्बन्धमा एउटा अप्ठेरो अध्याय शुरू गर्यो। हरिपुरा काण्डअघि मौखिक रूपले जेसुकै भने–बोले पनि बीपी कोइरालाले प्रत्यक्ष रूपमा सशस्त्र संगठन गरेको कुनै प्रमाण थिएन। स्वयं गिरिजाबाबुले बीपीलाई हरिपुरा काण्डको जानकारी नभएको कुरा लिखित रूपमा नै स्वीकार गर्नुभएको छ। बीपीको र गिरिजाबाबुको सम्बन्ध पनि केही विचित्रको थियो। दुवैमा नेता र कार्यकर्ताको सम्बन्ध देखिँदैनथ्यो। दुवै एक ठाउँ बसेर छलफल पनि गर्दैनथे। गिरिजाबाबुले आफैं लेख्नुभएको छ– ‘म दाजुको अगाडि बोल्नै सक्दिनथें।’ तारिणीबाबुले पनि आफूहरूले दाजुको देवत्वकरण गरेको कुरा लेख्नुभएको छ। बीपी पनि भाइहरूलाई असाध्य माया गर्नुहुन्थयो। त्यस दृष्टिले गिरिजाबाबुको गतिविधिलाई रोक्न पनि बीपीलाई साह्रै अप्ठेरो थियो। सशस्त्र क्रान्तिको निरन्तर आह्वान गर्ने द्रष्टाका रूपमा उहाँका नैतिक बाध्यता समेत थिए। मनोवैज्ञानिक कारण पनि थिए। तिन ताक वरिपरि रहेका हामीले त्यो देखिरहेका हुन्थ्यौं।

६ मे १९७३ मा बीपी कोइरालाले सुवर्णजीलाई अर्को पत्र लेख्नुभएको छ। सुवर्णशमशेरलाई राजदरबारबाट एउटा राजकीय समारोहमा आमन्त्रित गरिएको रहेछ। सुवर्णजी जाने कि नजाने दोधारमा हुनुहुन्थ्यो। बीपी कोइरालाले सुवर्णजीलाई त्यस दरबारिया समारोहमा जानैपर्ने भनेर आग्रह गर्नुभएको छ। दरबारिया समारोहमा गएर राजा वीरेन्द्रलाई भेटेर कांग्रेसको कुरा राख्नुपर्छ भन्ने अनुरोध छ। त्यस चिठीमा उहाँले सुवर्ण र आफ्नोबीचमा कुनै मतभेद नभएको कुरा उल्लेख गर्नुभएको छ। त्यतिन्जेलमा बीपी र सुवर्णको बेग्लाबेग्लै लाइन त प्रचारित छँदै थियो। सार्वजनिक रूपमा जेसुकै बोलेको भए पनि आधारभूत कुरामा आफू सुवर्णजीसँग सहमत रहेको कुरा दोहोर्‍याउनुभएको छ। त्यतिले नपुगेर राजा वीरेन्द्रलाई बेग्लै पत्र लेख्नुभएको छ। त्यस पत्रमा उहाँले आफूले राजालाई बारम्बार चिठी लेखेको जिकिर गर्नुभएको छ। चिठी पुगे–नपुगेको थाहा नपाएकामा आश्चर्य प्रकट गर्नुभएको छ।

हरिपुरा काण्डले बीपी र सुवर्णको सम्बन्धमा एउटा अप्ठेरो अध्याय शुरू गर्यो। हरिपुरा काण्डअघि मौखिक रूपले जेसुकै भने–बोले पनि बीपी कोइरालाले प्रत्यक्ष रूपमा सशस्त्र संगठन गरेको कुनै प्रमाण थिएन। स्वयं गिरिजाबाबुले बीपीलाई हरिपुरा काण्डको जानकारी नभएको कुरा लिखित रूपमा नै स्वीकार गर्नुभएको छ।

अब सुवर्णजीको हातबाट पठाइएको चिठी अवश्य पुग्छ होला भन्ने विश्वास व्यक्त गर्नुभएको छ। मौका पाए आफू पहिलो निम्तोमा काठमाडौं आउन तयार रहनुभएको कुरा चिठीमा प्रस्ट्याइएको छ। थप कुरा आफ्नो र सुवर्णजीको बीचमा कुनै मतभेद नरहेको कुरा पनि दोहोर्‍याइएको छ। तर, यो चिठी लेखिएको एक महीनाभित्रै विराटनगरबाट उडेको विमानको बलान्नयन भयो। त्यो बलान्नयन गिरिजाबाबुको देखरेखमा भएको थियो। यो बलान्नयन भने बीपी कोइरालाको जानकारीमा भएको थियो। बलान्नयनपछि बीपी र सुवर्णबीचको संवाद र सम्बन्ध समाप्त भयो। अब ओखलढुंगा काण्ड टाढाको कुरा थिएन। सुवर्णजीको देहान्त भएको भोलिपल्ट बीपीले आफ्नो डायरीमा सुवर्णजीसँग तीन वर्षअघि सम्बन्ध समाप्त भएकामा अफसोस व्यक्त गर्नुभएको छ।

यसबीच तरुण पत्रिकामा बीपीका केही लेख छापिएका थिए। तरुणको दोस्रो अंकमा राष्ट्रियताका विषयमा एक गम्भीर लेख थियो। त्यस लेखमा राजा महेन्द्रले प्रतिपादित र प्रचारित गरेको राष्ट्रियताको सिद्धान्तको खण्डन गरिएको छ। आज मधेशमा राष्ट्रियताको समेत चर्चा गर्दै अस्मिताको आन्दोलन भइरहेको छ। त्यो सन्दर्भमा पनि यो लेख पठनीय छ। तरुणका पाताहरूमा राजतन्त्र र क्रान्तिका विषयमा वेलाबखतमा लेख छापिएका छन्। कोइरालाका क्रान्ति विषयक लेखमा क्रान्तिचर्चा भन्ने कृति अत्यन्त महत्त्वपूर्ण छ। त्यस लेखको आलोकमा हाइज्याकिङ र ओखलढुंगा काण्डलाई हेर्ने हो भने पाठक आश्चर्यचकित हुनेछन्। क्रान्ति चर्चाका लेखक बीपी कोइरालालाई क्रान्तिको गतिशास्त्रको राम्रो ज्ञान थियो। त्यति हुँदाहुँदै पनि ओखलढुंगा काण्ड जस्तो दारुण खेलाँचीलाई उहाँले कसरी आशीर्वाद दिनुभयो, यो प्रश्न आज पनि अनुत्तरित छ। दस्तावेजको कुनै संकलनले मात्र यसको उत्तर दिन सक्तैन। गहन र परिश्रमसाध्य शोध गरेर ती वर्षहरूको इतिहास लेखिनु आवश्यक छ। अहिले त्यसतर्फ कसैले ध्यान देला जस्तो छैन। सहानुभूति र संवेदनाका साथ हेर्ने हो भने बीपी कोइरालाको त्यति वेलाको अप्ठेरो सजिलै बुझ्न सकिन्छ। यो काम एउटा सिद्धहस्त लेखकले अन्तरङग जीवनीका माध्यमबाट मात्र गर्न सक्छ। दस्तावेजहरूको संकलनको भूमिकामा यस विषयमा न्याय गर्न सकिंदैन। तैपनि, थोरबहुत अनुमान लगाउन सकिन्छ।

सन् १९६९ मा हिन्दूस्तान जाँदा बीपी र सुवर्णको परस्परमा अवश्य लामो कुरा भयो। राजा महेन्द्रको स्वभाव र संस्कारबाट दुवै परिचित थिए। त्यसैले बीपीले प्रतिपादित गर्नुभएको क्रान्तिको थेसिस सुवर्णजीलाई पनि प्रारम्भमा आपत्तिजनक लागेन होला। सिंगो १९७० त्यसरी नै बित्यो। सुवर्णले बीपीको माग अनुसार खर्च पुर्‍याइरहनुभयो। तर, सन् १९७१ पछि अथवा बाङ्लादेशको उदयपछि बीपी कोइराला नेपालमा क्रान्तिको सम्भावनाप्रति ज्यादै उत्साहित हुनुभयो। सुवर्णजी त्यस उत्साहमा सहभागी हुन सक्नुभएन। बीपी कोइरालाका तुलनामा सुवर्णले भारत सरकार र नेपाली राजालाई ज्यादा नजिकबाट चिन्नुभएको थियो। तर, बीपीको उत्साहको कुनै सीमा थिएन। त्यतिन्जेल गिरिजाबाबु र सरोज कोइराला नेपालभित्र नै थिए। अब सन् १९७१ को पुछारतिर उनीहरू पनि निर्वासित भए। यिनीहरू दुई भाइको जाँगर र जिद्दीमा हरिपुरा काण्ड जस्ता छिटपुट घटनाहरू हुन थाले। अब भने सुवर्णजीले बीपीको प्रतिबद्धताप्रति पुनर्विचार गर्न थाल्नुभयो होला। मे १९७३ को चिठीका बावजूद विमान बलान्नयनको घटना हुँदा सुवर्णजीले भन्ने सोच्ने धेरै ठाउँ थिएन। यसै पनि उहाँका सहयोगीहरू उहाँको कान भर्न तयार नै रहन्थे। सुदीर्घ सहकार्यमा बीपी र सुवर्णमा पहिलो पटक राजनीतिक भनाभन भयो। त्यस भनाभनको दुवै पक्षको प्रस्तुति यहाँ संकलित छ। 

बलान्नयनका समयमा बीपी स्वयंले नै अपहृत पैसा ठाउँठाउँमा थन्क्याउन पठाउनुभएको थियो। ओखलढुंगा काण्डको वेलामा सिपाहीहरूलाई उहाँले भेटघाट गरेर बिदाइ गर्नुभएको कुरा विभिन्न व्यक्तिले सम्झेका छन्। बीपीले त्यसको कुनै चर्चा गर्नुभएको छैन। गणेशमान सिंहको अदालत बयानमा यसको उल्लेख छ। गणेशमानजीका  अनुसार, ओखलढुंगा काण्डको त्यो दुस्साहस गिरिजाप्रसाद कोइरालाको एकल निर्णय थियो। ओखलढुंगा काण्डको त्रासदीपूर्ण असफलतापछि भने भइरहेका हिंसात्मक काण्ड रोकिए। 

डिसेम्बर १९७४ मा ओखलढुंगा काण्ड भयो। त्यसले नेपालभित्रको राजनीतिक शक्ति सन्तुलनमा कुनै प्रभाव पारेन। जनवरी १९७५ मा राजा वीरेन्द्रको राज्याभिषेक सम्पन्न भयो। मे १९७५ मा बीपी कोइरालाले गोरखपुरमा एउटा समारोहमा एक पटक फेरि प्रजातन्त्रका पक्षमा भारतीय सरकार र जनतालाई गुहार्नुभयो। यो अन्तिम गुहार थियो। तिन ताका नै इन्दिरा गान्धी सिक्किमलाई भारतमा विलय गर्ने योजना गर्दै थिइन्। लगत्तै पछि इन्दिरा गान्धीले विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भनिएको मुलुकमा इमर्जेन्सीको घोषणा गरिन् र अब बीपीको मोहभंगको विकल्प थिएन। बीपी आफ्नो भूमिका र भवितव्यबारे चिन्तित हुनु स्वाभाविक थियो।

सन् १९६९ मा हिन्दूस्तान जाँदा बीपी र सुवर्णको परस्परमा अवश्य लामो कुरा भयो। राजा महेन्द्रको स्वभाव र संस्कारबाट दुवै परिचित थिए। त्यसैले बीपीले प्रतिपादित गर्नुभएको क्रान्तिको थेसिस सुवर्णजीलाई पनि प्रारम्भमा आपत्तिजनक लागेन होला। सिंगो १९७० त्यसरी नै बित्यो। सुवर्णले बीपीको माग अनुसार खर्च पुर्‍याइरहनुभयो।

बीपी कोइरालाले किशोरावस्थामै जयप्रकाश नारायणलाई आदरणीय अग्रजका रूपमा स्वीकार गर्नुभएको थियो। जयप्रकाश नारायणले पनि उनलाई कतिपय उतारचढावका बावजूद अकुण्ठित स्नेह दिएका थिए। इमर्जेन्सी घोषणा गरेकै रात अर्थात् २६ जुन १९७५ मा जयप्रकाश नारायणलाई इन्दिरा गान्धीले जेल हालिन्। त्यस समय जयप्रकाश नारायण ७३ वर्षमा हिंड्दै हुनुहुन्थ्यो। जयप्रकाश वा जेपीभन्दा बीपी १२ वर्ष कान्छो हुनुहुन्थ्यो। एकातिर बीपीमा जेल जानमा संकोच थियो होला, अर्कोतिर जेपी र उनको पुस्ताको यो अठोट थियो। जयप्रकाशभन्दा पनि जेठा अनेक राजनीतिज्ञलाई इन्दिरा गान्धीले जेल पठाएकी थिइन्। बीपीका अरू समाजवादी बन्धु सारालाई इन्दिरा गान्धीले जेल हालिन्। त्यतिन्जेल कांग्रेस पार्टीमै रहेका चन्द्रशेखर पनि जेल लगिए। अस्तित्ववादी साहित्यका प्रेमी बीपी कोइरालाका निमित्त निर्णयको महत्वपूर्ण घडी आएको थियो। तर, तत्काल बीपी कोइराला खासै निर्णयमा पुग्नुभएन। 

फेब्रुअरी १९७६ मा दिल्लीस्थित नेहरू म्युजियमका सहनिर्देशक डा. हरिदेव शर्माले बीपी कोइरालाको एउटा लामो अन्तर्वार्ता लिएका थिए। बीपीको अन्तर्वार्ता अहिले पनि नेहरू म्युजियमको पुस्तकालयमा सुरक्षित छ। त्यस अन्तर्वार्तामा कोइरालाले गान्धीका विषयमा विस्तारमा आफ्नो विचार व्यक्त गर्नुभएको छ। गान्धी जन्मशताब्दीमा बीपीले गर्नुभएको प्रस्तुतिभन्दा यो सर्वथा भिन्न छ। बीपीले गान्धीलाई बीसौं शताब्दीका सर्वाधिक महान् चिन्तक भनेर स्वीकार गर्नुभएको छ। पछि गएर बीपी कोइरालाले यसै आशयको एकपछि अर्को अन्तर्वार्ता अरू पनि पत्रकारलाई दिनुभयो। बीपी कोइराला गान्धीको प्रबल प्रशंसक हुनुभएको छ। भोला चटर्जीसँगको कुराकानीमा कोइरालाले जयप्रकाश नारायणलाई पनि उच्च सम्मान दिनुभएको छ। कोइरालाको हिजोको विचारका जानकार व्यक्तिका निमित्त यो परिवर्तन आश्चर्यजनक छ। सन् १९७५ को वर्षले कोइरालामा ठूलो परिवर्तन आएको देखिन्छ। भनिन्छ, मानिसलाई आफ्ना पुरानो विचार फेर्न साह्रै गाह्रो हुन्छ। तर, अब बीपी एक–एक गरेर आफ्ना वैचारिक मान्यताहरू नवसंस्कार गर्दै हुनुहुन्थ्यो।  

डिसेम्बर १९७४ को ओखलढुंगा काण्डको आहुतिपछि कोइरालामा आफ्ना मूल्यमान्यता र राजनीतिक रणनीतिप्रति पुनर्विचार प्रारम्भ भएको थियो। लगत्तैपछि कोइरालाले सिक्किमको विलय देख्नुभयो। त्यसको अर्थ नखुल्दैमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाइन्। जयप्रकाशलगायत बीपीका घनिष्ठ मित्रहरू जेल परे। यसको एक महीनाभित्रै बाङ्लादेशका नेता शेख मुजीबुर रहमानको हत्या भयो। कुनै पनि जागरूक राजनीतिज्ञका निमित्त यस्ता घटनाक्रम उसका मान्यतालाई उखेल्न पर्याप्त थिए। बीपी कोइरालाले आफ्नो र नेपालको भवितव्यबारे नयाँ टुप्पाले सोच्न थाल्नुभयो। कोइरालाको त्यस्तै ऊहापोहमा किसुनजी आइपुग्नुभएको थियो। किसुनजीको दुःख र संघर्षको जीवन बीपीका निमित्त एउटा उदाहरण थियो। पञ्चायती व्यवस्थाको तानाशाहलाई किसुनजीले अक्टोबर १९६८ मा एउटा नैतिक चुनौती दिनुभएको थियो। बरु बीपी कोइराला राजनीतिक व्यावहारिकता नाममा अलमलिनुभएको थियो। बीपी कोइरालाले यो सबै अवश्य सम्झिनुभयो होला। किसुनजीलाई देख्दा बीपीलाई नेपालमा पनि गएर बस्न सकिन्छ, बस्नुपरे जेल नै बसौंला भन्ने भावना अवश्य आयो। सुशीला भाउजू समेतले यस विषयमा प्रोत्साहन दिनुभयो। अब बीपी नेपाल फर्किने सोच्न थाल्नुभयो। तर, बीपी र किसुनजीमा ठूलो फरक थियो। किसुनजी मूलतः आस्था र नियतिको राजनीतिको कुरा गर्नुहुन्थ्यो।  कोइरालालाई नियतिभन्दा पनि आफ्नो पराक्रममा विश्वास थियो। कोइराला नियतिका भरोसामा सरक्क काठमाडौं जाने पक्षमा अवश्य हुनुहुन्नथ्यो। 

१९७६ को अप्रिल–मेमा कृष्णप्रसाद भट्टराई आफ्नै निजी काम समेतले गर्दा बनारस पुग्नुभएको थियो। यसबीच बीपी कोइरालाले किसुनजीलाई बनारस आउन बारम्बार आग्रह गरिरहनुभएको थियो। किसुनजीले बीपीलाई नेपाल फर्कने जोडदार आग्रह गर्नुभयो। उहाँहरूबीच लामै बहस भयो। तत्काल बीपी सहमत हुनुभएन। किसुनजी नेपाल फर्किएको केही महीनाभित्रै बीपीले आफू नेपाल फर्किने खबर पठाउनुभयो। 

डिसेम्बर १९७४ को ओखलढुंगा काण्डको आहुतिपछि कोइरालामा आफ्ना मूल्यमान्यता र राजनीतिक रणनीतिप्रति पुनर्विचार प्रारम्भ भएको थियो। लगत्तैपछि कोइरालाले सिक्किमको विलय देख्नुभयो। त्यसको अर्थ नखुल्दैमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाइन्।

अक्टोबर १९६८ मा सुन्दरीजलबाट छुट्नासाथ बीपी कोइराला हिन्दूस्तान जान हतारिनुभएको थियो। छुट्दाका घडीमा कुनै पत्रकारले उहाँलाई किसुनजी नछोडिनुभएको विषयमा अप्ठेरो प्रश्न गरेका थिए। ‘तपाईं भने छुट्नुभो, किसुनजी चाहिं छुट्नुभएन नि’ भनेर गिज्याएर सोधे झैं गरेका थिए। बीपीले ‘अब म छुटिसकेपछि किसुनजीको थुनामा रहिरहनुको कुनै औचित्य छैन’ भन्नुभएको थियो। १९७६ ईस्वीमा पुग्दासम्म किसुनजीको थुनाको औचित्य सबैले बुझ्दै गएका थिए। बीपी कोइराला पनि किसुनजीको संघर्षका स्वरूपप्रति आकृष्ट हुनुभएको थियो।

नेपाल फर्किनुअघि बीपीले निश्चय धेरै चाँजोपाँजो मिलाउनुभयो। एउटा कुशल राजनीतिज्ञले त्यस्तो गर्छ। नेपाल फर्किने उहाँको साइत दुई-तीन खेप फेरियो। गणेशमान सिंहले नेपाल फर्किनुअघि राजासँग सम्पर्क गर्न गरिएका कोशिशको उल्लेख गर्नुभएको छ। माणिकलाल नामका काठमाडौंका कुनै रेडियो साहूको माध्यमबाट आफूहरूले टेपमा भरेर राजा वीरेन्द्रलाई संवाद पठाएको कुरा लेख्नुभएको छ। बीपीले पनि यस्तो प्रयास गरेको संकेत दिनुभएको छ। भोला चटर्जीलाई ‘पिपल, प्यालेस एन्ड पोलिटिक्स’मा उहाँले एक होइन, अनेकौं पटक अनेकौं माध्यमबाट राजालाई सम्पर्क गर्ने कोशिश गरेको स्वीकार गर्नुभएको छ। एक पटक त स्वयं भोला चटर्जीलाई नै लौन त तिमी पनि पुगेर आऊ भनेको कुरा त्यसै पुस्तकमा छ।

३० डिसेम्बर १९७६ का दिन बीपी कोइराला झण्डै आठ वर्षपछि नेपाल फर्किनुभयो। जेल पनि आठ वर्ष नै बस्नुभएको थियो। कोइरालाका जीवनका यी १६ वर्ष बहुमूल्य थिए। उहाँलाई आमजनताबाट यसरी टाढा राख्नु राजतन्त्रको अक्षम्य अपराध थियो। प्रजातान्त्रिक आन्दोलनको अपूरणीय क्षति थियो। 

नेपाल फर्कने क्रममा कोइरालाले आफूलाई नेपाली कांग्रेसको अध्यक्ष घोषणा गर्नुभयो। तर, यसरी सल्लाह नै नगरी एकतर्फी रूपमा बीपी कोइराला नेपाल भित्रिंदा कांग्रेसका कार्यकारी अध्यक्ष सुवर्णजीलाई निश्चय नराम्रो लाग्यो होला। राजनीतिज्ञले एक्लै राजनीति गर्दैन। उनीहरूका वरिपरि अनेक सहयोगी, मतियार र समर्थक रहन्छन। सुवर्णजीका सहयोगीहरूले उहाँलाई कोइराला विरुद्ध उचाल्नु स्वाभाविक थियो। सुवर्णजीको कार्यसमितिले बीपीलाई कारबाही गर्नेसम्म कुरो चलायो।

बीपी कोइराला नेपाल फर्कंदा एउटा आह्वान गर्नुभएको थियो। यो आह्वान तात्त्विक रूपमा सुवर्णजीको १५ मे १९६८ को सहयोगको वक्तव्यभन्दा पृथक् थिएन। सुवर्ण पक्षले यस आह्वानलाई आफ्नो  विजयका रूपमा लिन सक्थ्यो। तर, उनीहरूको तर्क बेग्लै थियो। अब पार्टी हिजोको त्यो लाइनबाट विमुख हुन आँटेको वेलामा बीपीले फेरि आफूखुशी गर्दै हुनुहुन्छ भन्ने उनीहरूको आरोप थियो। निश्चय बीपी आफूखुश गर्दै हुनुहुन्थयो। मौका पर्दा कोइराला आफूलाई पार्टीभन्दा माथि राख्न कहिल्यै पछि पर्नुभएन। कोइरालाको मुखपत्र तरुणले पनि दोस्रो अंकमा लेखेको थियो– कांग्रेस पार्टी कोइरालाको व्यक्तित्वको छाया मात्र हो। कोइरालाको र सुवर्णजीको कार्यपद्धतिमा आधारभूत अन्तर थियो। कोइराला सोझै आम कार्यकर्तामा, त्यसपछि जनतामा जाने ह्याउ र रुझान राख्नुहुन्थ्यो। सुवर्णजीका निमित्त कार्यकर्तामा जान संस्था र पद्धति चाहिन्थ्यो। सुवर्णजीको १५ मे १९६८ को वक्तव्य दिल्ली–काठमाडौं र कलकत्ताको शिखर वार्ताको प्रतिफल थियो। बीपीको आह्वान उहाँको निर्णय थियो। त्यो निर्णयलाई पहिले उहाँले कांग्रेसका आम कार्यकर्ताबीच लैजानुभयो। अनि कार्यकर्ताबाट अनुमोदित उहाँको त्यो निर्णय सिंगो राष्ट्रले थाहा पायो। 

३० डिसेम्बर १९७६ का दिन कोइराला पटनामा हवाईजहाज चढ्नुभयो। जयप्रकाश लगायत भारतीय मित्र उहाँलाई बिदा गर्न उभिएका थिए। उता किसुनजी लगायत कांग्रेसको उदीयमान युवाशक्ति उहाँको स्वागतका निमित्त त्रिभुवन एयरपोर्टमा थिए। सुवर्णजीको भक्तिपूर्ण सहयोगको प्रस्ताव राजा र कांग्रेसको आपसी कुरा मात्र थियो। तर, कोइरालाको राष्ट्रिय मेलमिलापको आह्वान आमजनताको घरदैलोका निमित्त कार्यक्रम थियो। फेरि कोइरालाले राष्ट्रिय मेलमिलापको आह्वानलाई एउटा पर्चामा सीमित गर्नुभएको थिएन। त्यस पर्चाको प्रतिपादन गर्नका लागि उहाँले कार्यकर्ताहरूको सम्बोधनमा ठूल्ठूला थेसिस पेस गर्नुभएको थियो। ती थेसिसहरूको गुणवत्ता के थियो? र आज के छ भन्ने कुरा बेग्लै हो। तर, कोइरालाको राष्ट्रिय मेलमिलाप जे भए पनि राजा वीरेन्द्रलाई चढाइएको बिन्ती–पत्र थिएन। संघर्षको गान्धीवादी शैलीको यो एक उदाहरण थियो। यो सत्याग्रह थियो। यत्ति हो, कोइरालाले यस कदमलाई सत्याग्रह भन्न चाहनुभएन।

३० डिसेम्बर १९७६ का दिन बीपी कोइराला झण्डै आठ वर्षपछि नेपाल फर्किनुभयो। जेल पनि आठ वर्ष नै बस्नुभएको थियो। कोइरालाका जीवनका यी १६ वर्ष बहुमूल्य थिए। उहाँलाई आमजनताबाट यसरी टाढा राख्नु राजतन्त्रको अक्षम्य अपराध थियो। प्रजातान्त्रिक आन्दोलनको अपूरणीय क्षति थियो। 

कोइरालाले आफ्नो आह्वानलाई राष्ट्रिय मेलमिलापको संज्ञा दिनुभयो।  कोइरालाका विचारमा नेपालको राष्ट्रियतालाई ठूलो खतरा आइसकेको थियो। त्यो कहाँ र कसरी आयो? राष्ट्रियताको हिजोको उहाँको परिभाषा कता गयो? अन्ततः राष्ट्रियता भनेको चाहिं खास के हो? कोइरालाले यी सबै कुरालाई पनि कोट्याउनुभएको छैन। हिन्दूस्तानमा रहँदै कार्यकर्ताहरूमाझ उहाँले गर्नुभएको एउटा लामो सम्बोधन यहाँ प्रकाशित छ। त्यो तत्कालीन परिस्थितिमा ठीक नै छ। तर, फेरि तत्कालीन अन्तर्राष्ट्रिय परिस्थितिका हकमा विभिन्न प्रकारका हिजो, आज र भोलिका व्याख्या, विश्लेषण र भविष्यवाणी समेत छन्। तर, कुनै कुशल ज्योतिषी झैं उहाँले कुनै पनि कुरा किटेर यसैको र यस्तै भएको थियो भनेर भन्नुभएको छैन। खास कुरा श्रोता र पाठकको अनुमानलाई छोडिदिनुभएको छ। 

नेपाली कांग्रेसले २०१७ पुस १ देखि कुनै बौद्धिक अभ्यास गरेको थिएन। कांग्रेस राजनीतिबाट दलीय व्यवस्था सँगसँगै विचारधारा पनि निर्वासित भएको थियो। कांग्रेसका प्रत्येक उत्साही कार्यकर्ताहरूले कोइरालाको मेलमिलापको भाष्य गर्ने मौका पाए। कल्पना र यथार्थ, नारा र विचारधारा छुट्याइराख्नु परेन। राष्ट्रिय मेलमिलापले परोक्ष रूपबाट इन्दिरा गान्धीलाई अभियुक्तका रूपमा संकेत गरेको थियो। 

३१ डिसेम्बर १९७६ का दिन पटनाबाट उडेर त्रिभुवन एयरपोर्ट काठमाडौं उत्रिनुभयो। उहाँलाई एयरपोर्टबाट सरासर सुन्दरीजल कारावास लगियो। उहाँको स्वागतार्थ उपस्थित किसुनजी लगायत साथीहरूलाई पनि जेल लगियो। हिन्दूस्तानबाट फर्किएका बीपी कोइराला अब बिल्कुलै अर्कै मानिस भएर आउनुभएको थियो। आठ वर्षको कारावास र त्यसपछि त्यत्तिकै लामो निर्वासनले उहाँको कायाकल्प गरेको थियो। दुःखले मानिसलाई माझ्ने–पखाल्ने गर्दछ। उमेरको ओरालोमा आएर कोइराला एउटा कुशल र व्यावहारिक राजनीतिज्ञ हुनुभएको थियो। सन् १९६८ को विराटनगरको क्रान्ति आह्वानको त्यो भाषण हिजोको कुरो थियो। त्यो भाषण उहाँले २००७ साल र २०१७ सालको धङ्धङीमा बोल्नुभएको थियो। भीडलाई सुनाउन त्यो भाषण ठीक थियो। तर, तात्कालिक लक्ष्यमा पुग्न त्यो भाषण तगारो भएको थियो। सुवर्णशमशेरको सहयोग प्रस्तावलाई समर्थन गरेर कारावासमुक्त हुनुभएका कोइरालाले कमसेकम एक वर्षका लागि सुवर्णजीको कार्यनीतिको लक्ष्मणरेखा नाघ्नुको नैतिक औचित्य थिएन। तर, कोइरालाले त्यता ध्यान दिनुभएन। उहाँले यसको मूल्य तिर्नुभयो। त्यसको मूल्य उहाँले मात्र तिर्नुभएन, नेपालले पनि ति¥यो, नेपालका नयाँ पुस्ताले ति¥यो। राजनीतिमा भावनाको महत्व अवश्य छ। तर, भावनामा टेकेर राजनीति हिंड्दैन। राजनीति खास गरेर प्रजातान्त्रिक राजनीति सम्झौताको प्रतिफल हो। कोइरालाले सुन्दरीजलबाट छुटेपछि सर्वप्रथम आफ्ना वरिष्ठ सहयोगीहरूलाई विश्वासमा लिएर मात्र केही बोल्नु–गर्नुपर्दथ्यो। त्यस्तो भएन।

मनोविज्ञानमा एउटा कुरा भनिन्छ, मानिस आफ्नो अतीतको बन्दी हुन्छ। एउटा कुनै ठूलो अनुभवबाट गुज्रिएपछि मानिस त्यसैलाई सधैंको यथार्थ सम्झिन्छ। २००७ सालको क्रान्तिको पृष्ठभूमिलाई बीपी कोइरालाले त्यस्तै एउटा अनुभवका रूपमा साँच्नुभएको थियो। मुख्यतः भारत सरकारको प्रेरणा र संरक्षणबाट २००७ सालको क्रान्ति चरितार्थ भएको थियो। यस पटक पनि फेरि भारत सरकारसँग संवाद स्थापित गरेपछि नेपालमा त्यस्तै अर्को परिवर्तन ल्याउन सकिन्छ भन्ने उहाँको सोचाइ थियो। २००७ र २०२५ मा गणनाका दृष्टिले मात्र १८ वर्ष बितेको थियो। तर, यी १८ वर्षमा अन्तर्राष्ट्रिय राजनीतिमा युगान्तकारी परिवर्तन भएका थिए। यसै पनि २००७ को क्रान्तिमा पनि भारत सरकारले नेपाली कांग्रेसलाई निर्बन्ध सहयोग गरेको थिएन। अक्टोबर १९४९ मा चीनले तिब्बतमा कब्जा गरेपछि मात्र भारत सरकार तातेको थियो। यसको तात्पर्य स्पष्ट नै थियो।

नेपाली कांग्रेसले २०१७ पुस १ देखि कुनै बौद्धिक अभ्यास गरेको थिएन। कांग्रेस राजनीतिबाट दलीय व्यवस्था सँगसँगै विचारधारा पनि निर्वासित भएको थियो। कांग्रेसका प्रत्येक उत्साही कार्यकर्ताहरूले कोइरालाको मेलमिलापको भाष्य गर्ने मौका पाए। कल्पना र यथार्थ, नारा र विचारधारा छुट्याइराख्नु परेन। राष्ट्रिय मेलमिलापले परोक्ष रूपबाट इन्दिरा गान्धीलाई अभियुक्तका रूपमा संकेत गरेको थियो। 

अहिले पनि भारतले नेपाललाई हेर्दा चीनलाई बिर्सन सक्दैनथ्यो। भारत र चीनको सीमायुद्धका कारणले नै सुवर्णशमशेरको १८ सालको विद्रोह असफल भएको थियो। तर, बीपी आफ्नो आत्मश्लाघाको आवेगमा यो सब हेक्का राख्न तत्पर हुनुहुन्नथ्यो। म अघि सरें भने र मैले आँटें भने नेपालमा फेरि पनि एक पटक २००७ साल दोहोरिन्छ भन्ने उहाँको मानसिकता थियो। तदनुरूप उहाँ यस पक्षमा अनेकौं तर्क लगातार अघि सारिरहनुहुन्थयो। तर, यी सारा तर्क निराधार थिए। यो कुरा बुझेको दिन कोइराला नेपाल फर्किनुभयो। यस प्रश्नमा नेपाली कांग्रेसका अर्का नेता किसुनजीलाई भने कुनै भ्रम थिएन। किसुनजीले बीपीले भारत गएर बसोबास गर्नुलाई पटक्कै रुचाउनुभएको थिएन। उहाँले बारम्बार भन्नुहुन्थ्यो, ‘बीपी कोइरालाले अहिलेको परिस्थिति बुझ्न सक्नुभएन। बीपी जानी नजानी भारतको चक्करमा पर्नुभएको छ, बीपीले भारत गएर ठूलो गल्ती गर्नुभयो।’ 

कोइराला सुन्दरीजल जेलमा रहँदारहँदै राजा वीरेन्द्रले उहाँलाई भेटे। मुख्यतः बीपी कोइरालको नाजुक स्वास्थ्यबारे डा. मृगेन्द्रराज पाण्डेले राजा वीरेन्द्रलाई चेत गराएका थिए। वीरेन्द्रले भेटघाटमा स्वास्थ्य उपचारको कुरो उठाए। कोइरालाले आफ्नो भन्दा मुलुकको स्वास्थ्य ज्यादा खराब रहेको कुरा राजा वीरेन्द्रलाई भन्नुभएको आफूले उल्लेख गर्नुभएको छ। जे होस्, राजा वीरेन्द्रले लगत्तैपछि उदारतापूर्वक उहाँलाई उपचारका निमित्त जेलबाटै अमेरिका पठाए। अमेरिकालगायत सिंगो पश्चिमी मुलुकले कोइरालाको रिहाइमा हर्ष व्यक्त ग¥यो। उपचारपछि स्वदेश फर्कने क्रममा कोइरालाले भारतमा आफ्ना मित्रहरूलाई भेट्नुभयो। त्यस्ता मित्रहरूमध्ये जयप्रकाश नारायण र चन्द्रशेखर प्रमुख थिए। स्वदेश फर्कने क्रममा कोइराला कलकत्ता पनि जानुभयो। रुग्ण र अशक्त हुनुभएका सुवर्णशमशेरसँग उहाँको भावनात्मक भेट भयो। सुदीर्घ राजनीतिक जीवनमा बीपी र सुवर्णको कहिल्यै पनि कटु सम्बन्ध भएको थिएन। तर, १९७३ को विमान बलान्नयन काण्डपछि दुवै बीचको संवाद समाप्त भएको थियो। राजनीतिक कार्यदिशाका दृष्टिले अब सुवर्ण र बीपीको अभियानमा कुनै फरक थिएन। सुवर्णले १५ मे १९६८ मा संवैधानिक निकासको आशामा राजा महेन्द्रलाई राजनीतिक सहयोगको प्रस्ताव टक्र्याउनुभएको थियो। अब अहिले प्रकारान्तरले १० वर्षपछि बीपी कोइराला तिनै कुरा भन्दै हुनुहुन्थ्यो। 

बीपी र सुवर्णको भेटपछि कांग्रेसमा देखापरेको द्वैध सभापतित्वको बखेडा समाप्त भयो। बीपीलाई सुवर्णजीले विधिवत् आफ्नो त्यतिन्जेलको कार्यकारी सभापतिको जिम्मेवारीको नासो फर्काउनुभयो। 

स्वास्थ्य उपचारपछि बीपी कोइरालाले नेपाल फर्किने प्रतिबद्धता राजा वीरेन्द्रसँग गर्नुभएको थियो। नेपाल फर्कनुअघि कोइरालाले पटनामा कार्यकर्ता सम्मेलनलाई सम्बोधन गर्नुभया। त्यसै सम्बोधनमा बीपी कोइरालाले किसुनजीलाई कार्यकारी सभापति बनाउने प्रस्ताव राख्नुभयो। किसुनजीका साथ महामन्त्रीका रूपमा परशुनारायण चौधरी र गिरिजाप्रसाद कोइरालाको मनोनयन भयो। सम्मेलनले प्राविधिक रूपमा अनुमोदन ग¥यो। यी तीनजनाको यस किसिमको नियुक्ति सांगठनिक सन्तुलनको उत्कृष्ट उदाहरण थियो। काठमाडौं फर्किएर बीपी कोइरालालाई फेरि एक पटक सुन्दरीजल जेल लगियो। गणेशमान सिंह त्यतै बन्दी अवस्थामा रहिरहनुभएको थियो। बीपी कोइरालामाथिका मुद्दा कायम नै थिए। तर, मुद्दाले कोइरालालाई दुःख दिने परिस्थिति थिएन। स्वास्थ्य उपचारका लागि उहाँले बाहिर गइरहनुपर्ने अवस्था थियो। त्यसैले यथासमय राजा वीरेन्द्रले स्वयं चासो लिएर उहाँका मुद्दालाई किनारा लगाइदिए। अब कोइराला स्वतन्त्र मानिस हुनुहुन्थ्यो। स्वास्थ्य उपचार बाहेक अन्तर्राष्ट्रिय समाजवादी संगठनको निम्तोमा विदेश जाने काम पनि भयो। चढ्दो उमेर र खराब स्वास्थ्यका बावजूद कोइराला एक पटक फेरि आफ्नो सम्पूर्ण गौरवका साथ नेपाली जनताका माझ प्रतिष्ठित हुनुहुन्थ्यो। बनारसका ती एकाकी र अप्ठ्यारा दिन अतीतको विषय रहेका थिए। हिजो भारतको निर्वासनमा रहँदाको छटपटी अब थिएन। माछा पानीमा आइपुगेको थियो। 

कोइराला अर्को पटक अमेरिकाबाट फर्किने क्रममा नेपालमा एउटा अप्रिय घटना भएको थियो। ओखलढुंगा काण्डको नेतृत्व गरेका यज्ञबहादुर थापा र विराटनगर बमकाण्डका अभियुक्त भीमनारायण श्रेष्ठले फाँसी पाएका थिए। राष्ट्रिय मेलमिलापको आह्वानको मानौं यो उपहास थियो। तर, कोइरालाले कुनै प्रतिक्रिया देखाउनुभएन। लगत्तैपछि भने नेपालमा आश्चर्यजनक घटनाको सिलसिला प्रारम्भ भयो। यज्ञबहादुर थापा र भीमनारायणको फाँसीको आक्रोश अवचेतनमा थियो। पाकिस्तानमा जुल्फिकर अली भुट्टोले फाँसी पाएको निहुँमा काठमाडौंमा आक्रोश देखियो। विद्यार्थी विद्रोह भयो।  विद्रोह काठमाडौंमा सीमित रहेन। मुलुकको अन्य भागमा पनि फैलियो। राजा वीरेन्द्रले अप्रत्याशित रूपमा जनमतसंग्रहको घोषणा गरे। सबै राजनीतिक नेताहरू छक्क परे। राजा वीरेन्द्रका निकटस्थहरू पनि छक्क परे। बीपी कोइरालाले यस घोषणाको सहर्ष स्वागत गर्नुभयो। 

बीपी र सुवर्णको भेटपछि कांग्रेसमा देखापरेको द्वैध सभापतित्वको बखेडा समाप्त भयो। बीपीलाई सुवर्णजीले विधिवत् आफ्नो त्यतिन्जेलको कार्यकारी सभापतिको जिम्मेवारीको नासो फर्काउनुभयो। 

जनमतसंग्रहको घोषणालाई कोइरालाले आफ्नो राष्ट्रिय मेलमिलापको आह्वानको राजनीतिक उपलब्धिका रूपमा लिनुभयो। तर, अर्कातिर कोइरालाले जनमतसंग्रहको तात्कालिक कारण भएको विद्यार्थी आन्दोलनलाई शंकाको दृष्टिले हेर्नुभएको थियो। कुनै पनि जनआन्दोलनले राजा र उहाँको समझदारीबाट हुने संवैधानिक विकासलाई बाधा पुर्‍याउँछ भन्ने उहाँको आकलन थियो। अहिले नेपालमा हुने सबै आन्दोलनमा नेपालीभन्दा पनि विदेशीको हात हुन्छ भनेर उहाँले बारम्बार भन्न थाल्नुभयो। नेपाली राजनीतिमा आमजनताको पहल बडो थोरै छ, जो प्रभाव छ, विदेशीको छ भन्ने उहाँको ठहर थियो। यो सही विश्लेषण थिएन। तर, यति नभन्दासम्म उहाँको ‘राष्ट्रियता खतरामा’ छ भन्ने तर्कको पुष्टि हुँदैनथ्यो। राष्ट्रियतामाथि खतरा छ भन्दा कोइरालाले नेपालमा वमूल रहेको भारत विरोधी भावनाबाट सबलता प्राप्त गर्नुभएको थियो। कोइरालाको यस्तो भनाइले आम नेपाली जनताको मनोबल कमजोर हुने खतरा थियो।

कोइरालाको यो कथन आमजनतामा भने सौभाग्यवश पुगेन। तर, सत्ता राजनीतिको सेरोफेरोमा अल्झिरहने मध्यमवर्गीय विद्यार्थी र युवाका निमित्त भने यो सन्देश प्रिय ठहरियो। आज पनि नेपाली राजनीतिका महापुरुषहरू कुनै राजनीतिक निर्णयका निमित्त मुलुकको जनतालाई परिचालन गर्नभन्दा पनि विदेशीको मुख ताक्न ज्यादा तत्पर रहन्छन्। नेकपा माओवादीले दीर्घकालीन जनयुद्धका नाममा आम नेपाली जनताबीच ठूलो हलचल ल्यायो। तर, अन्ततः उसको राजनीतिक उपलब्धि र असफलता पनि दिल्लीको कूटनीतिको उतारचढावमा अलमलियो। 

जनमतसंग्रहको अभियान कसरी चलाउने भन्ने विषयमा नेपाली कांग्रेस भित्र र बाहिर पनि पार्टीबीच मतैक्य थिएन। जनमतसंग्रहमा वामपन्थी कित्ताबाट कांग्रेससँग संयुक्त मोर्चा बनाउन जोडदार माग आएको थियो।  किसुनजी र गणेशमानजी यस्तो मागप्रति खुला हुनुहुन्थ्यो। बीपी वामपन्थीहरूसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार हुनुहुन्नथ्यो। त्यही पनि सिंगो जनमत संग्रहभरि कांग्रेस र कम्युनिष्टबीच सौहार्द रहिरह्यो। जनमतसंग्रहमा बहुदल पराजित भयो। धेरै बहुदलीय नेताले राज्यले धाँधली गर्यो भन्ने आरोप लगाए। तर, कोइरालाले जनमतसंग्रहको परिणाम स्वीकार गर्नुभयो। कोइरालाको राष्ट्रिय मेलमिलापको रणनीतिमा अन्य कुनै कुरोभन्दा पनि राजा वीरेन्द्रको विश्वास जित्नु ठूलो कुरो रहेको थियो। आलोचकले उहाँको यस्तो रवैयालाई जनताप्रतिको अविश्वासका रूपमा चित्रण गर्न सक्छन्। भारतले नेपाली राजतन्त्र विरुद्ध निर्णायक मद्दत नदिंदासम्म राजासँग प्रजातान्त्रिक अधिकार खोसेर लिन गाह्रो छ भन्ने निष्कर्षमा जीवनका अन्तिम वर्षहरूमा कोइराला पुग्नुभएको थियो। त्यसैले उहाँको नजरमा राजा वीरेन्द्रको महत्व बढेको थियो। 

बनारसमा निर्वासनमा एकाकी जीवन बिताइरहनुभएका कोइराला ठूलो आँट गरेर सन् १९७६ मा नेपाल फर्किनुभएको थियो। कोइराला फर्किंदाको वातावरणलाई सम्झिँदा जनमतसंग्रह उहाँको दृष्टिमा ठूलो उपलब्धि थियो। जनमतसंग्रहपछि राजनीतिक पार्टीहरू पनि धेरै हदसम्म खुला रहेका थिए। एउटा प्रतिबन्धित भन्ने विशेषण लगाएर राजनीतिक दलहरू कार्यालय खोलेर बस्न थालेका थिए। पञ्चायती चुनावमा बालिग मताधिकारको प्रयोग प्रारम्भ भएको थियो। प्रेस स्वतन्त्रता एक हदसम्म प्रतिष्ठित भएको थियो। कोइरालाको प्रत्यागमनले नेपाली समाजलाई निश्चय पनि एउटा अग्रगामी चौतारामा पुर्‍याएको थियो। यात्रा अझै बाँकी थियो। टाकुरा पुगिएको थिएन। 

जनमतसंग्रहको अभियान कसरी चलाउने भन्ने विषयमा नेपाली कांग्रेस भित्र र बाहिर पनि पार्टीबीच मतैक्य थिएन। जनमतसंग्रहमा वामपन्थी कित्ताबाट कांग्रेससँग संयुक्त मोर्चा बनाउन जोडदार माग आएको थियो।  किसुनजी र गणेशमानजी यस्तो मागप्रति खुला हुनुहुन्थ्यो। बीपी वामपन्थीहरूसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार हुनुहुन्नथ्यो।

बीपी कोइरालाको काठमाडौंमा भएको उपस्थिति मात्र पनि एक महत्वपूर्ण परिघटना थियो। उहाँका कुराहरू प्रेसमा निर्बाध आउँथे। उहाँलाई भेट्न विद्यार्थी र युवकहरू प्रेरित, प्रभावित र प्रशिक्षित हुन्थे। कोइरालालाई कतिपय साहित्यिक र सांस्कृतिक समारोहले आमन्त्रित गर्थे। त्यस्ता समारोहमा उहाँले गर्नुभएको दुई साहित्यिक भाषण छन्। यस्तै गतिविधिमाझ नेपाली कांग्रेसले बालिग मताधिकारका आधारमा हुने आगामी चुनावमा भाग लिने वा नलिने भन्ने विवाद चल्यो। कोइराला व्यक्तिगत रूपमा कार्यकर्ताहरूले आफ्नो कुरा भन्दै चुनावमा भाग लिंदा संगठन बलियो हुन्छ भन्ने सोच थियो। तर, उहाँका दुई वरिष्ठ साथीहरू गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई त्यस किसिमको चुनावमा भाग लिने पक्षमा हुनुहुन्नथ्यो। कांग्रेसले यस प्रश्नमा मुलुकभरिका कार्यकर्ताहरूको विचार बुझ्ने अभियान चलायो। मेचीदेखि महाकाली गरेर पाँच क्षेत्रमा कांग्रेसको कार्यकर्ता सम्मेलन भयो।  कार्यकर्ता सम्मेलनको अभिमतको टुंगो गर्ने जिम्मेवारी घुमिफिरी नेताहरूलाई नै थियो।  नेतागणहरूको माग र छलफलमा गणेशमान सिंह र किसुनजीको आग्रह स्वीकृत भयो। लामो अन्तरालपछि कोइराला आफ्ना सहयोगी र समकक्षी साथीहरूको भावना अनुसार काम गर्न तयार हुनुभएको थियो। विराटनगरबाट एकल वा पारिवारिक निर्णयका आधारमा उतिवेला काशी प्रवासमा जानु उहाँको भूल थियो, त्यो उहाँ आफैंले स्वीकार गर्न थालिसक्नुभएको थियो। पार्टी जीवनका मान्यताका हिसाबले कोइरालाले यस पटक त्यस्तो हठ गर्नुभएन। त्यस वेला कुन निर्णय गर्दा ठीक हुन्थ्यो भन्ने कुरा बेग्लै हो। तर, पार्टी जीवन कस्तो हुनुपर्दछ र हुन्छ भन्ने उदाहरण कोइरालाले यस पटक पेस गर्नुभएको थियो। 

नेतृत्वशास्त्रका अध्येताहरूले महान् नेताको सिद्धान्तउपर छलफल गरेका छन्। एकातिर नेता भनेको केही हुँदै होइन भन्ने सिद्धान्त छ। अर्कोतिर नेता नै सबथोक हो भन्ने आग्रह छ। तर खासमा नेता बन्ने र नेता बनाउने भनेको तत्कालीन परिस्थिति र परिवेशले हो। वेलाबखतमा महान् नेता आफ्नो महानता र शक्तिमत्ताको जयजयकारमा आफ्नो सीमा र सँघार बिर्सिन्छन्। मैले चाहँदा जे पनि गर्न सक्छु भन्ने अहंको शिकार हुन्छ। परिवार, जातभात, वर्ग र समाजलाई बिर्सिएर व्यक्ति होइन, पार्टीले पनि जे चाह्यो त्यो गर्न सक्तैन न त कुनै शक्तिशाली राज्यले नै गर्न सक्छ। बीपी कोइरालाले आफ्ना आखिरी वर्षमा यो कुरो हृदयङगम गर्नुभएको थियो। बीपी कोइरालाको जीवन संघर्षको कथाव्यथा उहाँको परिवार, समाज र तत्कालीन राजनीतिक परिस्थितिको देन हो। बीपी कोइरालाले एक हदसम्म यी सबै कुराहरूमा आफ्नो छाप छोड्नुभयो।  तर, फेरि यी सबै कुराले उहाँमा गहिरो छाप छाडे। 

बीपीले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको कुरा गर्न कहिल्यै छोड्नुभएन। तर, आज ४० वर्षपछि फर्केर हेर्दा उहाँले परिभाषित गर्नुभएका कतिपय धारणाको तात्पर्य फेरिएको छ। आजको नेपाली समाजमा बीपी कोइरालाले भन्नुभए जस्तो प्रजातन्त्र, राष्ट्रियता वा समाजवाद कुनै पनि कुरो हुबहु प्रयोग गर्न सकिने देखिंदैन। त्यति वेला पनि परिस्थिति त्यस्तै थियो। ढिलो भए पनि यो कुरा बुझेर नै कोइराला अन्त्यमा मेलमिलापको नयाँ व्याख्यामा पुग्न बाध्य हुनुभएको थियो। राष्ट्रिय मेलमिलापको व्याख्या उहाँको जीवन संघर्षको निचोड थियो। राजनीति सम्भावनाको कला हो भन्ने यथार्थको तात्कालिक प्रतिपादन थियो। 

कोइरालाले २०३८ पुस १६ मा आफ्नो जीवनको अन्तिम आमसभालाई सम्बोधन गर्नुभयो। त्यो सम्बोधन पुस्तकमा संकलित छ। आखिरी वर्षहरूमा उहाँलाई क्यान्सरको महारोगले दिनसम्म दुःख दियो। क्यान्सरग्रस्त कोइरालाले अनेकौं पटक उपचारका लागि विदेश गइरहनुपर्ने हुन्थ्यो। तर, फेरि फर्किनासाथ उहाँको राजनीतिक दिनचर्या प्रारम्भ हुन्थ्यो। बोल्न थाल्नुहुन्थ्यो। वक्तव्य दिन थाल्नुहुन्थ्यो। रुग्ण अवस्थामा नै उहाँले अनेकानेक पत्रकार र लेखकहरूलाई अन्तर्वार्ता दिनुभएको थियो। 

भोला चटर्जीले त्यस्तै अन्तर्वार्ताका आधारमा उहाँबारे केही पठनीय पुस्तक बनाएका छन्। उहाँबारे छापिएका पुस्तकहरूमध्ये स्वर्गीय गणेशराज शर्माले टेप गरेर सम्पादन समेत गरी छाप्नुभएको आत्मवृत्तान्त उहाँका पुस्तकहरूमध्ये लोकप्रिय र महत्त्वपूर्ण छ। तर, कोइराला विषयक सबै सामग्री अझै संकलित र प्रकाशित भइसकेको छैनन्। त्यसैले कोइरालाबारे कुनै अन्तिम शब्द भन्न सकिने अवस्था छैन। यो संकलन पनि अन्तरिम मात्र हो। आखिरी घडीसम्म कोइराला जीवन र मृत्युको संघर्षमा बहादुरीपूर्वक लडिरहनुभयो। लड्दालड्दै उहाँले दिनुभएको भनेर भनिएको अन्तिम सन्देश पनि यो पुस्तकमा प्रकाशित छ। तर, यस्ता कुनै पनि सन्देशले कोइरालासँग पूरा न्याय भने गर्दैन। बीसौं शताब्दीमा कोइरालाको टक्करको अर्को व्यक्ति नेपालमा जन्मेन भनेर ढुक्क भन्न सकिन्छ। 

बीपीले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको कुरा गर्न कहिल्यै छोड्नुभएन। तर, आज ४० वर्षपछि फर्केर हेर्दा उहाँले परिभाषित गर्नुभएका कतिपय धारणाको तात्पर्य फेरिएको छ। आजको नेपाली समाजमा बीपी कोइरालाले भन्नुभए जस्तो प्रजातन्त्र, राष्ट्रियता वा समाजवाद कुनै पनि कुरो हुबहु प्रयोग गर्न सकिने देखिँदैन। 

कोइराला आजीवन जनताका लागि लड्नुपर्ने नियति लिएर आउनुभएको रहेछ। राजा बाहेक पनि पार्थिव शरीर छाड्दा उहाँलाई रोगको राजा भनिने क्यान्सर नै निहुँ भयो। २०३९ साउन ६ गते उहाँको देहान्त भयो। नेपालले अहिलेसम्म त्यत्रो मलामी देखेको थिएन। आधुनिक विश्वले अरू कुनै नेपालीका निमित्त यत्रो समवेदना र प्रशंसा प्रकट गरेको छैन। बीपी कोइराला मूलतः राजनीतिज्ञ हुनुहुन्थ्यो। तदनुरूप उहाँका लेख, भाषण र वक्तव्यहरू एउटा खास सन्दर्भका निमित्त लेखिएका हुन्थे।  उहाँका लेख र वक्तव्यहरूको निहितार्थ बुझ्नका निमित्त त्यस समय कोइरालाको सामु रहेको प्रश्न बुझ्नुपर्दछ।  तसर्थ, यो भूमिकालाई जीवनीपरक शैलीमा लेखिएको छ। तर, त्यति भएर पनि उहाँका लेखहरू आधारभूत जीवनमूल्य र सिद्धान्तनिष्ठाबाट अनुप्राणित थिए। तर, ती लेखहरूबाट असान्दर्भिक रूपमा केही उद्धरण लिएर काम चलाउँदा अर्थको अनर्थ हुन्छ। यताका वर्षहरूमा कांग्रेस र कांग्रेसइतरका नेताहरूले यस्ता प्रयत्न गरेका छन्।

हिजो बीपी कोइरालालाई झुन्ड्याउनै पर्छ भन्ने व्यक्ति र शक्तिहरू पनि कोइरालाका आखिरी वर्षका राष्ट्रियता विषयक उद्धरणका वाहक भएका छन्। कोइरालाका लेख र भाषणलाई एक ठाउँमा जम्मा गरेर तिनलाई सान्दर्भिक बनाउने यो सानो कोशिश हो। तर, योभन्दा पनि महत्वपूर्ण अर्को काम छ। बीपी कोइरालाको प्रामाणिक जीवनी लेखिनु। त्यो अझै भएको छैन। एउटा तथ्यपूर्ण जीवनीको अभावमा यहाँ संग्रह गरिएको कुनै पनि लेखको आफूखुशी व्याख्या गर्न सकिन्छ। बीपीको राजनीतिक व्यक्तित्वलाई आलोकित गर्ने अनेक चिठी, डायरी र संस्मरण उपलब्ध छन्। तर, तिनीहरू प्रकाशित भएका छैनन्। प्रकाशित भएका कृतिहरूमा पनि सबैको पहुँच छैन। त्यो नहुँदासम्म बीपी कोइरालाबारे भनिएका–लेखिएका सबै कुरा अधुरा र अन्तरिम मात्र हुनेछन्। 

(विश्वेश्वरप्रसाद कोइरालाः आधारभूत संकलनबाट। प्रदीप गिरिद्वारा सम्पादित पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो।)


प्रकाशित: Aug 24, 2022| 14:57 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्