ललितपुर– सोमबार साँझ पुलचोक इन्जिनियरिङ क्याम्पसको रोबोटिक्स क्लब पुग्दा केही विद्यार्थीहरु इलिया जाँच्नमा व्यस्त थिए। मेकानिक्स, इलेक्ट्रिकल, रोबोटिक्स, एरोस्पेस तथा इलेक्ट्रोनिक्स विधाका इन्जिनियरिङका विद्यार्थीहरु इलियामा सुधार्नुपर्ने गल्तीहरुको हिसाब लगाउँदै थिए। अनि अलि सिनियरजस्ता देखिने एकजना उनीहरुलाई सुझाव दिँदै थिए।
इलिया भनेको त्यहि रोबोटको नाम हो जसले अगस्ट २१ तारिखमा भारतमा हुने प्रतियोगिता खेल्दैछ। ‘अहिले त रोबोट बनाउने काम सकिसकेको छ। अब हामीले यसको इरर (गल्ती) पत्ता लगाउने र त्यसलाई समाधान गर्ने प्रकृयामा लागिरहेका छौं,’ नेपाल समयसँगको कुराकानीमा टिम लिड गरिरहेका सुनिल खड्काले भने।
उनले थपे, ‘कोभिडअघि आयोजना भएकै ठाउँमा जानुपर्ने हुन्थ्यो। यो समयमा पुगिसकेका हुन्थ्यौँ। आयोजकले कोभिडको जोखिम कायम रहेको भन्दै प्रतियोगिता अनलाइन गराउने भनेको छ। त्यसैले हामी नेपालमै छौं। भारतले आयोजना गरेको छ। त्यसको लागि अहिले लाइभ भिडियो चेकिङ भइरहेको छ।’
सुनिल एरोस्पेसतर्फ तेस्रो वर्षका विद्यार्थी हुन्। उनीसँगै तेस्रो वर्ष मेकानिकलका प्रिन्स पन्त, पवन श्रेष्ठ, निर्मल पन्त र कैलाश पन्तले रोबोट बनाउने १५ जनाको टिम लिड गरिरहेका छन्। अब अगस्ट २१ तारिख (आज) मा भारतको नयाँ दिल्लीमा ‘एबियू रोबोकन’ प्रतियोगिता हुँदैछ। यो भनेको एसियाली र ओसिनियाँ देशका विद्यार्थीहरुको वार्षिक रोबोट प्रतियोगिता हो। यसमा एसियाका चीन, जापानजस्ता १२ देश सम्मिलिन हुने गर्दछन्।
सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ। नेपाली (त्रिभुवन विश्वविद्यालय) ले यसअघि टोयोटा, नाबुचे, टोकियो इलेक्ट्रोन अवार्ड जितिसकेका छन्। मुख्यगरी नेपालले सन् २०१५ र २०१६ मा ठूलो अवार्ड जित्यो। त्यो भनेको बेस्ट इन्जिनियरिङ अवार्ड र बेस्ट आइडिया अवार्ड नै हो।
‘विगतको प्रतियोगितामा सम्मानित अवार्डहरु भने पाइरहेका छौं। यो वर्ष पनि हामीले एक अवार्डको आशा गरेका छौं,’ उनले भने। तर यो प्रकृया विद्यार्थीहरुका लागि सहज भने थिएन। उनीहरुले यो रोबोट तयार पार्नका लागि नौ महिना खर्चिएका छन्। कोभिड १९ को महामारीका कारण सन् २०२१ को प्रतियोगिता डिसेम्बरमा मात्र सम्पन्न भयो।
अघिल्लो वर्षको प्रतियोगिता सकिएपछि यो वर्षको विषयवस्तु आइसकेको थियो। ‘मंसिरतिर खेल सकिएपछि नै मेकानिजम सोच्ने काम थालिसकेका थियौँ। ९ महिना जति भएछ। पार्टपुर्जा जोडेर काम गरेको चाहिँ वैशाख पछि मात्र हो,’ सुनिलले भने, ‘वैशाखअघि चाहिँ कार्यविभाजन गर्ने, प्रोग्रामिङ र रोबोटको मेकानिजम बनाउने काम गरेको हो।’
अहिलो यो रोबोट बनाउने टिममा पहिलो, दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरु सहभागी छन्। लिड गर्ने चाहिँ तेस्रो वर्षका हुन्छन्। समग्रमा १५ जनाको टिम रहेको छ। अहिले काम गरिरहेका र पहिले पनि गरेकाहरुमा उज्वल माकसे, सरोज बेलबासे, एरोस्पेसबाट सुनिल खड्का, इलेक्ट्रोनिक्सबाट रुजल आचार्य, कैलाश पन्त, अश्मिन सिलवाल, क्रिसबिन पौडेल पर्छन्। त्यस्तै, दोस्रो वर्षका विद्यार्थीहरुमा आर्जन बुढाथोकी, मनिष गुरुवाचार्य, मेकानिक्सबाट सुशील बोहोरा, विश्वास खतिवडालगायत छन्।
यो वर्षको लागि तोकिएको विषयवस्तु चाहिँ नेपाल र भारतमा खेलिने खेललाई लिएर छ। त्यो खेलको नाम हो– लघोरी। लघोरीलाई नै मध्यनजरमा राखेर उनीहरुले रोबोटलाई डिजाइन गरेका हुन्। यसमा शारीरिक रुपमा खेलेको जस्तो सबै नियम भने हुँदैन। आयोजकले नियम बनाइदिएको हुन्छ। त्यसमा आधारित भएर रोबोटलाई खेलाउनु पर्ने हुन्छ।
लघोरी भनेको ढुंगाको चाङ लगाउने अनि एउटा टिमले चाङ ढाल्छ। चाङ ढालेपछि त्यहि टिमले गएर मिलाउँछ। अब त्यही खेल नै रोबोटले खेल्ने हो। सुन्दै कस्तो उत्साहजनक लाग्छ। ‘उनीहरुले जति विषयवस्तु प्रदान गरेका हुन्छन्, त्यसमा आधारित भएर हामी रोबोटलाई खेलाउँछौं,’ सुनिलले भने। ढुंगाको ठाउँमा फम प्रयोग गर्नुपर्ने हुन्छ भने रोबोटलाई बल पनि भारतबाट ल्याएको सुनिल बताउँछन्। ‘यो रोबोटले टास्क पूरा पनि गरिरहेको छ,’ उनले भने।
पुलचोकको टिमले यो प्रतियोगिताको लागि दुईवटन रोबोट बनाएको छ। एउटाको इलिया नाम हो भने अर्को रोबोटको नाम चाहिँ भिक्ट्री। भिक्ट्रीलाई उनीहरुले गेमचेन्जर भनेर बताउने गरेका छन्। गेमचेन्जर भनेर चाहिँ किन नि? सुनिलको जवाफ छ, ‘गेमचेन्जर यस अर्थमा कि भिक्ट्रीले विपक्षीको अंक पनि खोस्न सक्छ। तर यसको काम १५ सेकेन्डको मात्रा हुनेछ।’
सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ।
नेपालमा नाम जे राखे पनि अफिसियल नाम ‘आरवान र आरटु’ नै हुन्छ। आरटु भनेको भिक्ट्री हो। त्यसको काम चाहिँ पाँचवटा लघोरी (फमहरुको डिस्क) लाई ढाल्ने हो। हरेक डिस्क ढालेको पाँच अंक पाइन्छ। त्यहाँ पाँचवठा डिस्क राखिएका हुन्छन्। सबै ढाल्यो भने २५ अंक आउँछ। त्यसको तीन बल दिएको हुन्छ। १५ सकेन्डमा हामीले हानेर ढाल्नुपर्ने हुन्छ। त्यो काम भिक्ट्रीले गर्नेछ। ढालिसकेपछि बल्ल आरटु अर्थात् इलियाको काम आउँछ।
आरटुले चाहिँ के गर्ने हो त? उनले भने, ‘आरटुले चाहिँ त्यसरी छरिएका डिस्कलाई मिलाउने काम गर्छ।’ यसबीचमा विपक्षीको खेल्ने समय पनि हुन्छ। जहाँ विपक्षी टिमलाई ४५ सकेन्डको समय दिइएको हुन्छ। त्यसमा विपक्षीले र्याकमा राखेको बल लिएर नेपाली टिमको चारवटा पोलमा (हरेक पोलमा एकएक बल राखेको हुन्छ) आरवानले हानेर ढाल्नु पर्छ। यो चाहिँ विपक्षमा पर्ने टिमको काम हो। ४५ सकेन्डको हुन्छ यो समय पनि।
तर ४५ सेकेन्डअघि नै ढाल्यो भने जति छिटो ढाल्यो त्यति धेरै समय नै डिस्क मिलाउन पाइन्छ। त्यो पाएको समयमा चाहिँ आफ्नो पोजिसनबाट गएर छरिएको डिस्क आरटु रोबोटले मिलाउनुपर्छ। र, पहिलेकै पोजिसनमा राख्ने हो। हरेक डिस्कको १० अंक आउँछ। पाँच डिस्क हुने भएपछि त्यसको ५० अंक हुन्छ।
‘हामीले दुईवटा रोबोटबाट अधिकतम ७५ अंक बनाउन सक्छौं,’ सुनिलले भने, ‘यहाँ समग्रमा आफ्नो र विपक्षीको गरेर दुई मिनेटको खेल हुनेछ।’ अब प्रतियोगिताको प्रणालीको पनि कुरा गरौँ। यो वर्षको प्रतियोगितामा १३ टिमलाई चार समूहमा विभाजन गरिएको छ। समूह एमा रहेको नेपालसँग अरु तीन टिम छन्। ड्रबाट बाँकी समूहमा चाहिँ समान ३–३ टिम छन्। आयोजक भएका नाताले भारतको चाहिँ दुई टिम सहभागी बनेका छन्। अब समूह चरणमा नेपालले तीन देश (भारत, इजिप्ट र थाइल्यान्ड) सँग खेल्नेछ। र, यो समूहको शीर्षस्थानमा रहने टिमले सेमिफाइनलको यात्रा गर्नेछ। जित्ने टिम चाहिँ फाइनलमा।
उपाधि जित्ने टिमले गोल्ड मेडल पाउनेछ। सरसर्ति हेर्दा समूह सी केहि बलियो छ। पछिल्ला वर्षहरुमा उपाधि जितेको हिसाबले पनि त्यो बलियो छ। तर नेपालको भागमा परेको भारतको आन्तरिका प्रतिस्पर्धा निकै बलियो रहेको सुनिल बताउँछन्। उनले भने, ‘देखिएकाले निकै प्रतियोगितात्मक हुन्छ भन्ने सोचेका छौं।’ भाग लिन कति उत्साहि छ त नेपाली टिम? जति फिजिकल प्रतियोगितामा हुन्छ त्यति उत्साहि चहिँ छैन। तर अवार्ड आउने आशा धेरै छ। यसले नेपाली टिमको आशा बढाएको पक्कै हो।
‘अनलाइन हुने भएकाले भेन्युमै गएजति उत्साह पक्कै नहोला। त्यो भएको भए उर्जा नै फरक हन्थ्यो। तीन वर्ष भयो अनलाइन भएको, जहाँ नेपालको राम्रो नतिजा आएकै छैन। तर यो वर्ष केहि राम्रो हुन्छ कि भन्ने आशा गरेका छौं। तर पनि नयाँ काम गर्न पाउँदा खुसी लागेको छ,’ सुनिलले भने, ‘तर यसपालि रोबोटको प्रदर्शन हेर्दा अवार्ड आउँछ भन्ने लागेको छ। यसले उत्साहि बनाएको छ।’
रोबोकोनको प्रतियोगिताका लागि रोबोट बनाउन क्याम्पसले केहि रकम हरेक वर्ष दिलाउने गरेको छ। तर त्यो बजेटले पुग्दैन। त्यसैले पुलचोकका विद्यार्थीहरुले जुन प्रविधिहरु प्रयोग गरिरहेका छन् अनि जुन इलेक्ट्रोनिकस डिभाइस सेन्सर प्रयोग गरिरहेका छन्। त्यो धेरै कमजोर छ। ‘जसरी जापान, हङकङ र चीनले प्रयोग गरिरहेका छन्, त्यो गुणस्तरको तुलनामा हामी धेरै तलको स्तरमा छौं। उपाधि जित्ने रोबोटको खर्च चाहिँ दुई, तीन करोडभन्दा धेरै हुन्छ। तर हामीले सात–आठ लाखमा रोबोट तयार गरेका छौं,’ उनले भने।
कलेजले दिएको बजेटले पुग्दैन, उनीहरु किफायत गरेर चलाउँछन्। अघिल्लो वर्षको रोबोटमा जुन पार्टस् प्रयोग भएको थियो। हामी त्यसलाई पुनः प्रयोग गर्ने बाध्यता छ उनीहरुलाई। आवश्यक सामानहरु किन्न कलेजको पैसा चलाउने हो। त्यो पनि पर्याप्त हुँदैन।
‘नयाँ मेकानिजम भएको सामान चाहिएको अवस्थामा नयाँ किन्ने हो,’ उनले भने। त्यसरी जोडेको रोबोटले राम्रो प्रदर्शन दिइरहेको छ। उनले भने, ‘अहिलेसम्मको प्रदर्शन हेर्दा अवार्ड आउला भन्ने नै हो। कोर अवार्ड जित्न सकिएला कि! यसले हेर्दा त फाइनल खेल्न सकिएला भन्ने पनि लाग्छ।’
रोबोट बनाउनु त ‘इन्टेलेक्चुअल’ काम पनि हो। यस्तोमा उनीहरु थप सरकारी सहयोगको अपेक्षा पनि गरिरहेका छन्। ‘जुन हिसाबमा काम गरिरहेका छौं, हामीले पढाइलाई पनि सँगसँगै लैजानुपर्ने हुन्छ। इन्जिनियरिङ पढ्न आएर धेरै समय यहाँ दिइरहेका हुन्छौं। त्यो गरेअनुसारको सरकारी सहयोग चाहिँ हुँदैन। सरकारको सहयोग त यसअर्थमा पनि आवश्यक छ कि त्रिभुवन विश्वविद्यालयको टिमले त देशलाई ‘रिप्रिजेन्ट’ गरिरहेको हुन्छ। सरकारले नै सहयोग गर्यो भने हामीले अझै राम्रो गर्न चाहिँ सक्छौं। स्पोन्सर त खोज्न सकिन्थ्यो होला तर हामीले पनि कमजोरी गयौँ होला भन्ने लागेको छ।’
सहभागी टिमः
समूह एः नेपाल, भारत (निर्मल विश्वविद्यालय), इजिप्ट र थाइल्यान्ड
समूह बीः कम्बोडिया, मलेसिया र फिजी
समूह सीः जापान, चीन र हङकङ
समूह डीः मंगोलिया, भारत र इन्डोनेसिया