शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू: 

triton college
  • चुनावी परिणाम र संवेदनशीलताका आधारमा सिट बाँडफाट गर्ने सत्ता गठबन्धनको समझदारी, सोमबार हुने बैठकमा आ-आफ्नो दलका अडानसहित आउने सहमति। सिट मिलाउने मोडालिटी
  • मंसिर ४ मा हुने चुनावी रणनीति बनाउन एमालेले बोलायो पार्टीका तीन तहका बैठक, डा बाबुरामलाई गोर्खा-२ छाड्न नसकिने कांग्रेस नेता पाण्डेको भनाइ। तालमेलको सकस
  • मिटरब्याजमा ऋण दिएर चर्को ब्याज असुल्ने साहुमाथि कारवाही गर्ने आइजीपीको प्रतिबद्धता, अर्धवार्षिक परीक्षा नजिकिँदै गर्दा पनि कर्णालीका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक। पुस्तकको समस्या यथावत्
  • ४ हजार कमर्सियल गाडी भन्सार बिन्दुमै अड्किँदा ८ अर्ब राजस्व प्राप्तीमा ढिलाई, कारोबार रकमसँगै १९ अंकले घटेको नेप्सेका १२ समूह राताम्य। अड्कियो ८ अर्ब राजस्व
  • राष्ट्रिय फुटवलका मुख्य प्रशिक्षक अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी एन्फा महासचिवलाई, बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक बने प्रदिप हुमागाई। एन्फाका निर्णय 

अब समाचार विस्तारमा

000
सिट बाँडफाँटका ३ आधार 

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

बिहीबार बसेको कार्यदलको बैठकले यस्तो सैद्धान्तिक समझदारी जुटाएको हो। वाम गठबन्धन हुँदा जितेका माओवादी केन्द्र, नेकपा एस र जसपाले जितेका स्थानमा कांग्रेसका प्रभावशाली नेता अटाउनका लागि 'राजनीतिक संवेदनशीलता' भन्ने विषय उल्लेख गरिएको एक कार्यदल सदस्यले जानकारी दिए। 

Metro Mart
vianet

संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाएर टिकट बाँडफाँट गर्ने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङको भनाइ छ। उनले पनि फरक फरक निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी बनाइनले उल्लेख गरे। 

कार्यदलको बैठक सोमबार पुन बस्ने गरी आजका लागि सकिएको छ। उक्त बैठकमा दलहरुका आ–आफ्ना अडानसहित आउने समझदारी बनेको  छ। कार्यदलमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संयोजक छन्।

एमालेले बोलायो तीन तहको बैठक 
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रणनीति तय गर्न नेकपा एमालेले पार्टीका तीन तहका बैठक आह्वान गरेको छ।

बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। गुरुङका अनुसार भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटीसमेत गठन गरेको उनले बताए। परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन्। 

जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू पनि उक्त कमिटीमा रहने गुरुङले जानकारी दिए। 

मिटरब्याज पीडितको साथमा प्रहरी
प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले मिटरब्याजमा ऋण दिएर चर्को ब्याज असुल्नेलाई कारवाही हुने बताएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पीडितहरुलाई प्रहरीकहाँ उजुरी दिन आग्रहसमेत गरेका हुन्। 

मुठ्ठीभरको ऋण दिन दुई गुणा रात चौगुणा बढाउँदै साहुले घरबार हत्याएका मिटरब्याज पीडित किसान दोस्रोपटक काठमाडौं आएर माइतीघरमा आन्दोलन गरिरहेका छन्। 

सुदखोरहरूबाट प्रताडित उनीहरूले आठौँ दिन पनि माइतीघरमा प्रदर्शन जारी राखेका हुन्। यसअघि गत असारमा पनि उनीहरू राजधानी आएर धर्ना दिएका थिए। स्थानीय साहुसँग सहमति गर्ने भन्दै उनीहरू फर्किएपनि साहुले झन् बढी ऋण लिएको देखाएपछि उनीहरू दोस्रो पटक धर्नाका कार्यक्रम लिएर राजधानी आउन बाध्य भएका हुन्।

कर्णालीमा पुगेन पुस्तक
कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ। 

यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन्। 

कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरूका अभिभावक आक्रोशित छन्। 

जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा चारदेखि १० सम्मका १४ लाख एक हजार सात सय ८९ थानमध्ये १३ लाख २९ हजार एक सय ४१ बिक्री भइसकेका छन् भने ७१ हजार छ सय ३८ थान मौज्दात छन्। गोदाममा मौज्दात पुस्तकमध्ये कतिपय सडेका, पानीले भिजेका र अधुरा सेट छन्। बिक्रेताले पुरै सेट पाएपछि मात्र खरिद गर्ने अडान लिएका छन्।  

चीनले १५ अर्ब दिने प्रतिबद्धता
चीनले नेपाललाई १५ अर्बभन्दा बढी रकम बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भएको भेटवार्तामा चीनियाँ पक्षले यस्तो प्रतबद्धता जनाएको हो। 

भेटका क्रममा रसुवागढी-केरुङ सीमापार रेलमार्ग विस्तारलगायत पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएको हो। प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रिया लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बाबुरामलाई क्षेत्र नछोड्ने कांग्रेस नेताको भनाइ 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यो पटक गोरखा क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने बताएका छन्। 

गोरखा पुगेर केन्द्रीय सदस्य पाण्डेले यसपालि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने र गोरखामा एक–एक क्षेत्र बाँड्ने तयारी गरिएको पनि खुलासा गरेका हुन्। पाँच वर्षअघि २०७४ सालमा गोरखा-२ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो। 

हालै नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराई यो पटक पनि गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन्। उनले आफू सत्ता गठबन्धनमै रहेकोबारे केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा बताएका थिए। 

रुपन्देहीमा डेंगु
रुपन्देहीमा डेंगुको संक्रमण बढ्दै गएको छ। गत वर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेंगुका बिरामी भेटिएका थिए। गत आवमा ४६ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ। 

जिल्लामा २०६७ देखि डेंगुको समस्या देखिएको हो। २०६७/६८ मा दुई सय ९० जनामा डेंगुको संक्रमण देखिएको थियो। आव २०७६/७७ मा यो संख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो। यो संख्या गत वर्ष घटेर ४६ मा झरेको थियो। डेंगुको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले सबै वडामा डेंगु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको छ । 

८ अर्ब राजस्व प्राप्तीमा ढिलाइ
व्यापारिक प्रयोजनका लागि ल्याइएका गाडीहरु (कमर्सियल) लामो समयदेखि भन्सार कार्यालयहरूमा थन्किएका छन्। सबै गाडी भन्सार छुटाउँदा सरकारले प्राप्त गर्न ८ अर्बभन्दा बढी राजस्व समेत रोकिएको छ।  

बजारमा माग नभएपछि आयातकर्ताले भन्सार छुटाउन नचाहेपछि भैरहवा र वीरगञ्ज भन्सारमा कमर्सियल गाडीको लाम लागेको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल(नाडा)ले करिब ४ हजार कमर्सियल गाडी भन्सारमा नै रोकिएको दाबी गरेको छ। 

वीरगञ्ज भन्सारमा करिब तीन हजारको हाराहारीमा गाडी रोकिएका छन्। वीरगञ्ज आईसीपीमा मात्रै करिब साढे १ हजार ७ सय गाडी रोकिएका छन् भने सीमापारि १ हजार ५ सयको हाराहारीमा सवारीसाधन रहेको बताइएको छ। इन्टरमोडल यातायात समितिका वीरगञ्ज प्रमुख कमल ज्ञवालीका अनुसार भन्सारमा रेलबाट पनि गाडी आउने गरेका थिए। 

तर भन्सार छुटाएर गाडी ल्याउन व्यवसायीले नै नचाहेका हुन्। बजारमा माग नभएपछि आयातकर्ताले भन्सार छुटाउन नचाहेपछि भैरहवा र वीरगञ्ज भन्सारमा कमर्सियल गाडीको लाम लागेको छ। सरकारी नीतिका कारण गाडीको भन्सार छुटाउन नसकेको आरोप व्यवसायीको छ। 

राष्ट्र बैंकले सवारीसाधनको आयातका लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने र जोखिमभार ७५ बाट बढाएर १५० पुर्‍याएको छ। 

घट्यो नेप्से
बिहीबार नेप्से परिसूचक १८.९६ प्रतिशतले घटेर २०३७.९२ विन्दुमा झरेको छ। सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजारले बिहीबार पनि ’ट्रेन्ड चेन्ज’ गर्न नसकेको हो। 

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। २२३ कम्पनीको ६२ लाख ९८ हजार ६२८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा खरिदबिक्री भयो।

बुधबार १ अर्ब ९३  बराबरको सेयर कारोबार भएको थियो। १२ समूह रातै भएको नेप्सेमा दुई कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ। 

हरुवाचरुवा खुशी
सरकाले २०७९ साउन २ गते तराई मधेशका जिल्लामा वर्षौदेखि कायम रहेको हरुवाचरुवा मुक्तिको घोषणा गरेसँगै हरुवाचरुवाको काम गर्नहरुको अनुहारमा रौनक र चमक फर्किएको छ। 

धनुषाको शहीदनगर नगरपालिका ४ र सप्तरीको शम्भुनाथ नगरपालिका ९ का  जमिन्दारको घरमा हरुवाचरुवाको रूपमा काम गर्दा दासत्वको अनुभूति गर्न उनीहरु अहिले स्वतन्त्र नयाँजीवन पाएको अनुभब गरिरहेका बताउछन । पश्चिम नेपालबाट कमैया र हलिया मुक्त भएको करिब दुई दशकपछि बल्ल उस्तै प्रकृतिको हरुवाचरुवा मुक्तिको घोषणा गरिएको छ । 

हरुवाचरुवा अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले भने। मधेश प्रदेशको आठवटै जिल्लामा हरुवाचरुवा प्रथा छ। हरुवाचरुवा मुक्ति घोषणा कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।    

एन्फाको निर्णय
अखिल नेपाल फुटबल संघ (एन्फा) ले  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ। एन्फा बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो।

अलमुताईरी पछिल्लो समय विवादमा तानिएका छन्। गत बैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका हुन्। विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ।

यस्तै प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो। अलमुताईरी हाल कतारमा रहेका छन्। आगामी असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्णमा उनी टोलीसँग हुने छैनन्। एन्फाले उनको अनुपस्थितिमा प्रदिप हुमागाईलाई कार्यवाहक नियुक्त गरिसकेको छ ।

बैठकले भदौ २५ बाट काठमाडौंमा हुने दक्षिण एसियाली खेलकुदको टिकट मूल्य निर्धारण भएको छ। रंगशालाको साधारणतर्फको प्यारापिटका लागि तीन सय र भीआईपी प्यारापिटका लागि पाँच सय टिकट मूल्य निर्धारण गरिएको हो।

त्यस्तै, आउँदो असोज २३ गतेबाट नेपाल सुपर लिग हुने भएको छ। गत वर्ष जेठमा पहिलो संस्करणको प्रतियोगिता सम्पन्न भएको एनएसएलको दोस्रो संस्करणको प्रतियोगिता भने असोज अन्तिम हप्ताबाट सुरु हुने एन्फाले निर्णय गरेको छ। यता यसअघि पनि दुई पटक सुपर लिगको मिति तोकेर स्थगित भइसकेको छ।

बैठकले सहिद स्मारक ए भिजन लिग अब पुस ८ गतेबाट र सी डिभिजन लिगको छनोट खेल असोजमा सञ्चालन गर्ने निर्णय समेत एन्फाको छ। बी डिभिजनको खेल चैतको ६ गतेबाट हुने छ। सी डिभिजन लिग भने अर्को वर्षको वैशाखमा हुने भएको छ।

प्रकाशित: Aug 11, 2022| 20:14 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।