काठमाडौं- ६ वर्षीया 'भगवान्' रुँदा नेपालमा त्यसलाई निकै ठूलो अपशकुन मानियो। उनको आँशुलाई राष्ट्रिय त्रासदीको पूर्वसंकेतका रुपमा हेरियो। नभन्दै उनको रुवाइको अन्तिम दिन सन् २००१ जुन १ मा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार दीपेन्द्रसहित राजपरिवारका ९ जना सदस्यको हत्या भयो।
यो दुर्घटना भएको २० वर्ष बितिसक्यो। ती 'भगवान्' अहिले ऐतिहासिक सहर पाटनको एक कार्यालयमा अन्य साधारण महिलासरह काममा व्यस्त देखिन्छिन्। उनी हुन्, तिनै कुमारी चनिरा बज्राचार्य, जो रुँदा राजपरिवार सखाप भएको थियो।
चनिराले एमबीए उत्तीर्ण गरेकी छन्। अहिले उनी एक वित्तीय संस्थाको ऋण विभाग सम्हाल्छिन्। कर्पोरेट क्षेत्रमा जागिरे उनी अरु कुमारीभन्दा भिन्न छिन्। कलिलै छँदा भगवान् भनी पुजिएका कुमारीहरुलाई सामान्यतया शिक्षाबाट बञ्चित गराइन्थ्यो। 'मानिसहरु सोच्छन् उनी भगवान हुन्, उनी सबैथोक जान्दछिन्। अनि भगवानलाई सिकाउने आँट कसको?' २७ वर्षिया चनिरा भन्छिन्।
उनी पाटनमा रहेको आफ्नै निवासमा बसेर गफ गरिरहेकी थिइन्, जहाँ उनले १० वर्षसम्म ईश्वरीय कृयाकलाप गरेकी थिइन्। उनको कोठाका भित्ताभरि उनी कुमारी छँदाका तस्बिर थिए। रातो लिपिस्टिक लगाएकी, गाजलु आँखा भएकी, चहकिला कपडा लगाएकी सानी बालिका। एउटा तस्बिरमा उनले निहुरिएका नेपालका अन्तिम राजा ज्ञानेन्द्रलाई हेरिरहेकी छिन्। उनको दिनचर्या भक्तजनहरुकै माझ बित्थ्यो। उनका कहिल्यै बाहिर नटेकेका पाउ ढोग्थे भक्तहरु। पैसा, फलफूलजस्ता वस्तुहरु चढाउँथे अनि कुमारी चनिराले आशीर्वादस्वरुप तिनका निधारमा टीका लगाइदिन्थन्।