बुधबार, वैशाख १२, २०८१

'यो देशमा ब्युटी पेजेन्ट किन चाहियो र'

नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस नेपाल’ को ग्रान्ड फिनाले आगामी असार ४ गतेका लागि तय भएको छ। हरेक वर्ष आयोजना हुने मिस नेपालको मुख्य आयोजक हिडन ट्रेजर हो। मिस नेपाल २०२२ का लागि आयोजकले अन्तिम २८ जना प्रतिस्पर्धी समेत छनोट गरिसकेको छ।
 |  बुधबार, जेठ ११, २०७९

दिलीप कुँवर

दिलीप कुँवर

बुधबार, जेठ ११, २०७९

काठमाडौं– यतिबेला नेपालमा हुँदै आएका–हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगिताको बहस सतहमा आएको छ। 

triton college

हालै एक युवतीले ८ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेपछि ‘ब्युटी पेजेन्ट’को बहस सतहमा आएको हो। युवतीले टिकटकमा भिडियो क्लिपहरु पोस्ट गर्दै मिस ग्लोबल नेपाल इन्टरनेसनल प्रतियोगिताका आयोजक मनोज पाण्डेले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको बताएकी छन्।

यससँगै सौन्दर्य प्रतियोगिताको बहसले अब सामाजिक सञ्जालबाट संसदीय समिति र संसद् बैठकमा समेत प्रवेश पाएको छ। सोमबार प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिको बैठकले तत्कालका लागि कुनै पनि ‘ब्युटी पेजेन्ट’ सञ्चालन गर्न नदिन सरकारलाई निर्देशन दिएको छ। बैठकले बलात्कारका घटनामा प्रचलित कानुन अनुसार एक वर्षे हदम्यादको व्यवस्था पुनरावलोकन गर्नसमेत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ। 

यस्तो अवस्थामा हाल चलिरहेका तथा सञ्चालनको तयारीमा रहेका विभिन्न सौन्दर्य प्रतियोगिता के होलान्? यसबारे चासो बढेको छ। 

मौन आयोजक 

corrent noodles
Metro Mart

नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस नेपाल’ को ग्रान्ड फिनाले आगामी असार ४ गतेका लागि तय भएको छ। हरेक वर्ष आयोजना हुने मिस नेपालको मुख्य आयोजक हिडन ट्रेजर हो। मिस नेपाल २०२२ का लागि आयोजकले अन्तिम २८ जना प्रतिस्पर्धी समेत छनोट गरिसकेको छ। 

यस वर्ष झन् मिस नेपालको इतिहासमै सबैभन्दा धेरै करिब ८ सय जनाले आवेदन दिएका थिए। त्यसबाट १९६ जनाले मात्रै अडिसन दिने मौका पाए। अहिले आयोजकले २८ जना छानेर ग्रान्ड फिनालेको लागि तालिम दिइरहेको छ। यस वर्षको अडिसन किन पनि रोचक थियो भने आयोजकले पहिलोपटक कर्णाली प्रदेशको सुर्खेत पुगेर पनि अडिसन लिएको थियो। यससँगै सातै प्रदेशमा अडिसन गरियो। 

तर सोमबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले भने तत्कालका लागि कुनै पनि ‘ब्युटी पेजेन्ट’ गर्न नदिन सरकारलाई निर्देशन दिइसकेको छ। अब असारमा हुन लागेको ‘मिस नेपाल’को ग्रान्ड फिनाले के होला? यसबारे नेपाल समयले आयोजकसँग बुझ्न खोजेको थियो। तर हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार केही बोल्नै चाहेनन्। 

‘मिस युनिभर्स नेपाल २०२२’ लागि पनि यतिबेला आवेदन खुला नै छ। असार १६ गतेसम्म युवतीहरुले आवेदन दिनसक्ने बताइएको छ। राम्रो प्लेटफर्म दाबी गर्ने यस प्रतियोगिताको आयोजना भने उमंग क्रिएसन प्रालिले गरेको हो। प्रतियोगिताका लागि भइरहेका तयारी तत्काल आफूहरुले नरोक्ने आयोजकले बताएको छ। 

सौन्दर्य प्रतियोगितामाथि सरकारले प्रतिबन्ध लगाउँदैछ भन्ने खबर आफूहरुले पनि सामाजिक सञ्जालबाटै थाहा पाएको आयोजक तथा निर्देशक उद्धव अधिकारीले बताए। उनले नेपाल समयसँग भने, ‘मलाई यसबारे आधिकारिक जानकारी छैन, मैले पनि यसबारे समाचार पढेरै थाहा पाएको हुँ। यदि प्रतिबन्ध नै लगाउने भने सरकारले हामीलाई जानकारी देला नै, गम्भीर भएर सोच्नुपर्छ।’ 

‘प्रतिबन्ध लगाउने कुरा छोटो लुगा लगाउँदा रेप हुन्छ भनेजस्तै हो’

गायिका तथा मोडल समृद्धि राई सौन्दर्य प्रतियोगितालाई औधी ठूलो ‘प्लेफर्म’का रुपमा नलिन युवतीहरुलाई आग्रह गर्छिन्। सौन्दर्य प्रतियोगितामाथि प्रतिबन्ध लगाउँदा यौनजन्य घटना कम हुने कुरामा भने उनको शंका नै छ। भन्छिन्, ‘ब्युटी पेजेन्टमा भाग लिएपछि वा जितेपछि युवतीहरुले के–के न पाइएला, के–के न भइएला भनेर धेरै अपेक्षा गर्छन्। त्यस्तो अत्यधिक कसैले सोच्नु पर्दैन। युवतीहरुले फेरि यस्ता प्रतियोगितालाई ठूलो प्लेटफर्मको रुपमा लिन्छन्।’

एउटी युवतीलाई अरु युवतीहरुकै अगाडि उभ्याएर उसको सुन्दरतालाई मूल्यांकन गर्नु मूर्खता मात्र रहेको समृद्धिको तर्क छ। उनले सुनाइन्, ‘मैले १८ वर्ष हुँदा मिस टिनमा भाग लिएँ। पछि मिस नेपालमा पनि भाग लिएँ। टप पाँचमा समेत परेको थिएँ। त्यतिबेला मलाई मिस टुरिजमको ट्याग भिराइदिएर बाएस्ड गरियो। र पनि मलाई केही भएन। त्यसपछि मैले बल्ल बुझेँ, सौन्दर्य प्रतियोगिता भनेको के रहेछ भनेर।’

सौन्दर्य प्रतियोगिताहरुको बाहिरी आवरण र भित्री अनुहार एउटै नहुने समृद्धि बताउँछिन्। उनले थपिन्, ‘पछिल्लो समय एक युवतीले ८ वर्षअघिको घटना सार्वजनिक गरिन्। उनले साहस गरेर भनिन्, हामीले साथ दिनुपर्छ। ती बहिनी एउटा प्रतिनिधि पात्र हुन्, अरु कति छन् कति। फेरि यसो भन्दैमा सबै आयोजकलाई दोष दिन भने मिल्दैन।’ 

सौन्दर्य प्रतियोगितामाथि प्रतिबन्ध लगाउनुभन्दा पनि सरकारले ठोस संरचना, नीति र मापदण्ड बनाउनुपर्ने उनको ठम्याइ छ। ‘नत्र प्रतिबन्ध लगाउने कुराचाहिँ छोटो लुगा लगाउँदा रेप हुन्छ भनेजस्तै हो, बरु कडा नीति र कारवाही आवश्यक छ’, उनले भनिन्। 

कलाकार प्रशान्त ताम्राकार भने ब्युटी पेजेन्टको क्षेत्रलाई सरकारले खासै चासो नदिएको बताउँछन्। पछिल्लो समय त्यस्ता कार्यक्रमले भित्र्याइरहेको विकृतिलाई सरकारले निगरानीमा राख्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘यस्ता प्रकृतिका कार्यक्रमहरुको लागि सरकारले कार्यान्वयवनमा ल्याउन सजिलो हुने गरी नीति र मापदण्ड निर्माण गरिदिनुपर्छ। त्यसो भइदियो भने बल्ल यो क्षेत्रले सकारात्मक क्षेत्राधिकार ठूलो बनाउँछ।’

सरकारले यस्ता कार्यक्रमका सकारात्मक र नकारात्मक पक्षबारे राम्ररी जानेर ठोस संरचना बनाइदिनुपर्ने उनको तर्क छ। उनले थपे, ‘मैले आजसम्म दर्जनौं ब्युटी पेजेन्टको लागि काम गरेको छु। मैले आफैँ कोरियोग्राफी पनि गरेँ, निर्णायकमा बसेँ। तर, मैले मेरो आँखा अगाडि कहिल्यै यौन दुर्व्यवहारलाई संकेत गर्ने घटना भएन। म संग्लन नभएका अन्य त्यस्ता कार्यक्रमहरुमा भएको भए त म जान्दिनँ। तर आजसम्म मेरो आँखा अगाडि कहिल्यै त्यस्तो भएन।’ 

महिला सांसदको फरक मत

‘ब्युटी पेजेन्ट’ र हदम्यादको कानुनी व्यवस्थाबारे महिला सांसदहरु नै पक्ष–विपक्षमा तर्क गर्न थालेका छन्। प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समिति बैठकमा भएका छलफललाई आधार मान्ने हो भने महिला सांसदहरुको नै एकमत कायम हुन सकेको छैन।

बैठकमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले बलात्कार जस्तो संवेदनशील घटनामा मुद्दा दर्ताको लागि एक वर्षे हदम्याद खारेज गर्नुपर्ने तर्क गरिन्। बलात्कारको घटना गम्भिर मानवताविरुद्धको अपराध भएको ठहर गर्दै उनले यस्ता घटनाका पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ नहुने तर्क सुनाइन्। यौनजन्य दुर्घटनाहरु निम्त्याउन सक्ने सौन्दर्य प्रतियोगितामाथि सरकारले निगरानी राख्नुपर्ने उनको भनाइ थियो। 

कांग्रेसकी सांसद भुसालले यस्तो तर्क राखिरहँदा एमालेकी सांसद थममाया थापाले भने ठाडै असहमति जनाइन्। बलात्कारको घटनामा अनुसन्धानका लागि एक वर्षे हदम्याद कायमै राख्नुपर्ने सांसद थापाको तर्क थियो। साथै, सौन्दर्य प्रतियोगिताहरुले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन सजिलो भएको उनको भनाइ थियो।   

माओवादी केन्द्रकी सांसद अमृता थापामगरले सरकारले सौन्दर्य प्रतियोगितामाथि नै प्रतिबन्ध लगाउनुपर्ने बताइन्। उनले सरकारसँग प्रश्न गरिन्, ‘सौन्दर्य प्रतियोगिता नगरेर राष्ट्रलाई कति घाटा भएको छ र?’ सौन्दर्य प्रतियोगितामाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने उनको जोड थियो।

प्रकाशित: May 25, 2022| 16:52 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्