बिहीबार, वैशाख १३, २०८१

३० नकट्दै स्थानीय सरकार हाँक्दैछन् यी अनुहार

यो निर्वाचनमा नयाँ पुस्ताका तन्‍नेरीहरु पनि चुनावी प्रतिस्पर्धामा उत्रिए। ३० वर्ष नकटेका युवाहरुले केही पालिकामा जित समेत निकालेका छन्।
 |  बुधबार, जेठ ४, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, जेठ ४, २०७९

काठमाडौं- गत शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ। अहिलेसम्म प्राप्त मतपरिणाममा केही रोचक तथ्य समेत उजगार भएका छन्।

triton college

कतिपय पालिकामा श्रीमान, श्रीमति नै विजयी भएको, ज्वाइँ-जेठान, दाजुभाइको हारजित भएका समचार आइरहेका छन्। तर, यो निर्वाचनमा नयाँ पुस्ताका तन्‍नेरीहरु पनि चुनावी प्रतिस्पर्धामा उत्रिए। ३० वर्ष नकटेका युवाहरुले केही पालिकामा जित समेत निकालेका छन्। 

जुन नेपाली राजनीतिका लागि सुखद् विषय पनि हो। राजनीतिमा युवा पुस्ताको हस्तक्षेपले आशाको सञ्‍चार गरिदिन्छ। टेस्टेड नेतृत्वबाट जनतामा जागेको निराशा राजनीतिमा युवा पुस्ताको आगमनले घटाइदिनेछ। तर त्यसका लागि नेतृत्वमा पुगेका युवाहरुले परम्परागत ढर्रा छाडेर जनअपेक्षा पूरा गर्नपर्नेछ। 

यो पटकको निर्वाचनमा केही पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षमा युवा प्रतिनिधि चुनिएका छन्। अब उनीहरुको कार्यसम्पादन कस्तो हुनेछ, त्यसले उनीहरुको राजनीतिक भविष्यलाई धेरै हदसम्म निर्धारण गरिदिनेछ।  

को-कहाँबाट निर्वाचित?

corrent noodles
Metro Mart

परशुराम नगरपालिकाको प्रमुखमा २८ वर्षीय युवा 

डडेल्धुराको परशुराम नगरपालिकाको प्रखुमा २८ वर्षीय भरत बडायर जोशी निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसको तर्फबाट प्रमुखको उम्मेदवार थिए। उनले ५ हजार ९४१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शेरसिंह मालले ५ हजार ८०५ मत प्राप्त गरे।  

माओवादी उम्मेदवार माल निकै बलिया प्रतिस्पर्धी मानिएका थिए। तर, जोशीले डडेल्धुरामा कांग्रेसको विरासत मात्र जोगाएनन्, नगर प्रमुखमा युवा नेतृत्व स्थापित पनि गरिदिए।  जोशी कांग्रेसको १४ औं महाधिवेशनबाट नगरपालिकाको सभापतिमा समेत निर्वाचित भएका थिए। त्यो बेला उनले पूर्व जिल्ला उपसभापति धर्मनन्द भट्टलाई पराजित गरेका थिए। 

जोशीले वायुमण्डली भौतिक शास्त्रमा स्‍नातकोत्तरसम्मको अध्ययन गरेका छन्। नगरप्रमुखमा निर्वाचित भएपछि उनले काम गरेर देखाउने प्रतिबद्धता गरेका छन्। उनले भनेक छन्, 'राजनीति फोहोरी खेल मात्र होइन। काम गरेर देखाएपछि राजनीतिलाई हेर्ने दृष्टिकोण पनि फेरिन्छ। युवाहरुलाई गाउँ र राष्ट्रको जिम्मेवारी बहन गराउन इच्छा भाव जाग्छ। त्यसकारण मैले काम गर्नुपर्छ। मैले काम गरेर देखाए भोली अर्को युवाले पनि नेतृत्व दावी गर्न आँट गर्छ।'

उनी कोरोनाकालमा मात्रै चीनबाट गाँउ फर्किएका थिए। उनी चीनमा अध्ययनरत थिए। उनले नगरपालिकामा सामाजिक र पूर्वधार विकासको एजेन्डा अघि सारेका छन्। उनी २०६८ सालमा त्रिचन्द्र क्याम्पसमा नेविसंघको सदस्य भएका थिए।  

कालिकामाईको नेतृत्व २१ वर्षीय कलवालको हातमा 

पर्साको कालिकामाई गाउँपालिकाको नेतृत्व २१ वर्षीय वशिष्टकुमार कलवालको हातमा पुगेको छ। बीबीए सकेर एमबीएको तयारी गरिरहेका कलवाल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। 

जनता समाजवादी पार्टीका कलवालले नेपाली कांग्रेसका अजयकुमारलाई पराजित गरेका हुन्। कलवाल ३ हजार ७४३ मत ल्याएर विजयी हुँदा अजयकुमारले ३ हजार ६२६ मत प्राप्त गरे।  

जसपा सांसद प्रदीप यादवका अनुसार कलवाल जसपा पर्साका नेता दिनेशकुमारका भतिजा हुन्। उनकै सल्लाहमा पार्टीले २१ वर्ष २ महिनाका कलवाललाई गाउँपालिकाको टिकट दिएको थियो।  

रामनगरले पनि पयो २२ वर्षीय यादवको नेतृत्व 

सर्लाहीको रामनगर गाउँपालिकाले पनि युवा नेतृत्व पाएको छ। गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका थिए। उनले नेपाली कांग्रेसका हरिनन्दप्रसाद यादवलाई पराजित गरे। २ हजार ८१ मत प्राप्त गरेर राजाबाबु निर्वाचित हुँदा कांग्रेसका हरिनन्दले २ हजार ३९२ मत मात्र प्राप्त गरे। 

नातामा हरिनन्द र राजाबाबु काका भतिज हुन्। रामबाबुले काकालाई करिब दोब्बर मतले पराजित गरिदिए। राजाबाबु केही महिना अघि मात्रै राजनीतिमा आएका हुन्। उनी माओवादीका पूर्व सांसद शिवपुजन यादवका छोरा हुन्। 

उनी बीबीएको परीक्षा दिएर गाउँ फर्किएका थिए। यो गाउँपालिका सर्लाहीको पिछडिएको क्षेत्र हो। त्यसकारण उनले ठूलो सपना बाँडेका छैनन्। उनले सडक स्तरोन्नती, किसानलाई बिउबिजन र जनताका स-साना समस्यालाई एजेन्डा बनाएका छन्। 

बुलिङटारमा २८ वर्षका इन्जिनियर बने अध्यक्ष 

नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकाले २८ वर्षीय इन्जिनियरको नेतृत्व पाएको छ। गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र सुनारी मगर निर्वाचित भएका छन्। मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन्। 

कांग्रेसको गढलाई भत्काएका उनी ४ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन्। उनले गाउँपालिकाका निवर्तमान अध्यक्ष शशीकिरण बास्ताकोटीलाई १५१ मतले पराजित गरेका हुन्। बुलिङटारमा अहिलेसम्म कांग्रेस पराजित भएको थिएन।

तर दीपेन्द्रले कांग्रेसको आधार इलाका मात्रै भत्काइदिएनन् बुबाले भोग्‍नुपरेको दुई पटकको पराजयको बदला समेत लिइदिए। उनका बुबा शेरबहादुर सुनारी मगर २०५४ सालमा गाउँपालिकाका अध्यक्षमा उठेका थिए। तर उनी कांग्रेससँग पराजित बन्न पुगेका थिए। 

२०७४ सालको निर्वाचनमा शेरबहादुर वडा नम्बर एकको अध्यक्ष उठेका थिए। तर उनको भागमा पराजय पर्‍यो। कांग्रेसका दिलबहादुर सूर्यवंशीसँग पराजित भए। त्यो बेला बुवालाई जिताउन दीपेन्द्रले ठूलो मेहनत गरेका थिए। तर सफल हुन सकेनन्। त्यसपछि उनी मेकानिकल इन्जिनियरिङ पढ्न चीन गए। दुई वर्ष चीनमा पढेर फर्किएपछि उनी जागिर खान थाले। २ वर्ष अघि गाउँ फर्किएका उनले कांग्रेसको आधार इलाका भत्काउँदै गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुन सफल भएका छन्। 

उनले कृषिलाई व्यवसायीकरण र आधुनिकिकरण गर्ने मुख्य एजेन्डा अघि सारेका छन्। यस्तै व्यवहारमुखी शिक्षा प्रणाली लागु गर्ने उनको योजना छ। गाउँपालिकाका सबै काम पारदर्शी बनाउने र जनतासँग गरेको बाचा पुरा गर्ने उनले सुनाए।  

एमालेले टिकट नदिएपछि विद्रोह गरेर गाउँपालिकाको अध्यक्ष जितेका जोशी  

बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा ३५ वर्षीय सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन्। उनी नेकपा एमालेबाट विद्रोह गरेर चुनावी मैदानमा होमिएका थिए। युवा पुस्ता माझ लोकप्रिय जोशीले कांग्रेस, माओवादी र नेकपा एससँगै एमालेको घेरावन्दी तोडेर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। 

जोशीको विद्रोह एमालेका लागि भारी परेको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गुमाएको त छ नै। सँगै २ वडा वडामा मात्रै एमाले सीमित भएको छ। जोशी आफू मात्रै विजयी भएनन्, पुतली चिह्‌नधारी स्वतन्त्र प्यानल बनाएर तीन वडाको नेतृत्व समेत हात पारेका छन्। 

उनलाई एमालेले गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको थियो। तर, जिल्ला कमिटीको रोजाइमा उनी पर्न सकेनन्। जिल्ला कमिटीले अक्कल रानालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। ३ हजार १८९ मत ल्याएर जोशी विजयी हुँदा माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६५१ मत प्राप्त गरे। एमालेका रानाले २ हजार ५५७ मत प्राप्त गरे। यो गाउँपालिकामा कांग्रेसले उपाध्यक्ष सहित २ वडा जितेको छ। 

तन्‍नेरी वडाध्यक्षहरु 

बैतडीको मेलौली नगरपालिका-८ मा २२ वर्षीय युवा वडाध्यक्ष निर्वाचित भएका छन्। काठमाडौंमा पत्रकारिता गर्दै आएका तपेन्द्र विष्ट वडाध्यक्षमा निर्वाचित भएका हुन्। एमालेबाट निर्वाचित उनले कांग्रेसका शम्भु विष्टलाई ८० मतले पराजित गरेका थिए।

बझाङकै बुङ्गल नगरपालिका-९ मा २३ वर्षीय हरिश सिंह वडाध्यक्षमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा उत्रिएका उनले ६८४ मत प्राप्त गरेका छन्। यस्तै काभ्रेको भुम्लु गाउँपालिका-२ मा २४ वर्षीय सुजन भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन्। उनी ४०५ मत ल्याएर निर्वाचित भएका हुन्।

प्रकाशित: May 18, 2022| 19:12 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्