सोमबार, असोज ८, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • मैदानमा १ लाख ४५ हजार उम्मेदवार, सगरमाथामा राजु लामाको कन्सर्ट [२०७९-१-२१]

मैदानमा १ लाख ४५ हजार उम्मेदवार, सगरमाथामा राजु लामाको कन्सर्ट [२०७९-१-२१]

आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। यसअघि प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाई भएको आयोगले जनाएको छ।
 |  बुधबार, वैशाख २१, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- बुधबार मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:

sagarmatha cement
  • वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि १ लाख ४५ हजार ९२ उम्मेदवार मैदानमा, सबै जिल्लामा स्थलगत अनुगमन गर्दै मानव अधिकार आयोग 
  • गठबन्धन र तालमेलमा आँच आउने गरी काम नगर्न कांग्रेस सभापति देउवाको निर्देशन, कांग्रेस नेतृत्वको सरकारले ६५ वर्षदेखि वृद्वभत्ता दिने घोषणा 
  • ६ हजार ५ सय मिटरको उचाइमा कन्सर्ट गर्दै राजु लामाले बनाए नयाँ कीर्तिमान, जलवायु परिवर्तनको असरबारेमा सन्देश दिन कन्सर्ट गरिएको जानकारी
  • नेपालका लागि भारतीय राजदूतमा चीन मामिलाका जानकार नवीन श्रीवास्तव प्रस्तावित, युक्रेनलाई तीन अर्ब ७६ करोड डलर सहयोग गर्ने बेलायतको घोषणा
  • जिम्बावे 'ए'विरुद्धको अन्तिम टी-२० खेलमा ८ विटकेले नेपाल विजयी, वर्षाले दोस्रो खेल रद्द हुँदा १-१ को बराबरीमै सकियो तीन खेलको सिरिज
  • अब समाचार विस्तारमा 

गठबन्धन राष्ट्रिय आवश्यकता : देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको दाबी गरेका छन्। 

नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभामा देउवाले गठबन्धन र तालमेलमा आँच आउने गरी काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका हुन्।

कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिन र उचाल्ने–पछार्नेका पछि नलाग्न कार्यकर्ताहरूलाई उनको निर्देशन छ। गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्दै कांग्रेस नेतृत्वको सरकारले ६५ वर्षदेखि वृद्वभत्ताको प्रबन्ध गर्ने उनको भनाइ थियो। 

नेता रामचन्द्र पौडेलले गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताए। परिवर्तनको रक्षा गर्न गठबन्धन आवश्यक भएको नेता पौडेलको भनाइ छ। सभामा  कांग्रेस नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकारले जनतालाई दुःख दिने मात्रै काम गरेको आरोप लगाए।

कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन जनताका लागि अवसर भएकाले आफ्नो गाउँ–नगर कस्तो बनाउने अवसर नगुमाउन उनले आग्रह गरे। 

चुनावी सभालाई नेताहरू रामचन्द्र पौडेल, महेश आचार्य, मीनेन्द्र रिजाल, सहमहामन्त्री डिना उपाध्याय, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतले सम्बोधन गरेका थिए।

उम्मेवारको सूची सार्वजनिक 
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। 

आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। यसअघि प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाई भएको आयोगले जनाएको छ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले ७७ वटै जिल्लाका मतदान केन्द्रमा निर्वाचनको स्थलगत अनुगमन गर्ने भएको छ। बुधवार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने जानकारी गराएको हो। आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचन अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन  जानकारी दिए। 

निर्वाचन प्रचार प्रसारको क्रममा हुनसक्ने हिंसात्मक गतिविधि, पर्यवेक्षण गर्ने संघसंस्थाहरुको कार्य, निर्वाचनको निष्पक्षता, मतदानको गोपनीयता लगायतका विविधि विषयको अनुगमन हुने आयोगका अध्यक्ष मगरले बताए। आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ। 

हेर्दाहेर्दैमा आइजीपी मुद्दा
नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रोकिएको छ। 

सर्वोच्च अदालतमा दायर रिटको पेसी आज न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा रोकिएको हो। 

रिटको विपक्षमा बुधबार महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहस गरेका थिए। सर्वोच्चले एआईजी पोखरेलको पक्षमा अन्तरिम आदेश दिएर चुनावको मुखमा प्रहरीलाई शून्य बनाउन नहुने तर्क खातीले गरेका थिए। 

एसपीसम्म हालका आईजीपी धिरजप्रताप सिंह नै अघि रहेको र एसपीबाट बढुवा हुने क्रममा पछि पारिएको समेत खातीले तर्क गरेका थिए। 

तयारी पोशाको निर्यातका कुरा
नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्ने बताएका छन्।

बुधबार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर उद्योग चलाउनु परेकाले नेपाली उद्योगमा नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु श्रमिकलाई तालिमको आवश्यकता भएको बताएका हुन्।

त्यस्तै अध्यक्ष गोल्यानले नेपालमा पाइने मौलिक वस्तुहरु उत्पादनको लागि आवश्यक नीतिगत व्यवस्था गर्नू पर्ने बताए। पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेले नेपालमा पछिल्लो समय व्यापार घाटा बढ्दै गएकाले मुलुक आर्थिक संकटतिर गएको बताए। उनले मन्त्रालयको सचिवले व्यापार घाटाको विषयमा बोल्दा विगतमा सरकारले लुकाउने गरेको बताए। 

त्यस्तै पूर्वसचिव घिमिरेले नेपालको निर्यात भन्दा पनि आयात महँगो हुनु पर्ने बताए। निर्यात सस्तो र आयात महँगो हुनको लागि राज्यका नीतिहरुले साथ दिनु पर्ने उनको भनाइ छ । 

रोशीमा दुर्घटना, ५ को मृत्यु 
काभ्रेको रोशी गाउँपालिकामा भारतीय पर्यटकको गाडी र जिप आपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। 

युपी ५८ टी ८१८१ नम्बरको भारतीय गाडी र ना १ ज ४२१० नम्बरको जिप रोशी गाउँपालिका-११ मा ठोक्किँदा एक जना बालकसहित ५ जनाको मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ। 

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका ७ का ३० वर्षका विक्रम श्रेष्ठ, वडा नम्बर ४ का ४५ वर्षका हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षकी प्रमिला नेपाली छन्। यस्तै, रामेछाप खडादेवी गाउँपालिका ८ की ३० वर्षीया सम्झना भुषाल र उनका ७ वर्षका छोरा संगीत भुषालको पनि मृत्यु भएको छ। 

दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ। 

जीप तीव्र गतिमा रहेकोले अनियन्त्रित भएर भारतीय नम्बर प्लेटको गाडीसँग ठक्कर खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

राजुको कीर्तिमानी कन्सर्ट
गायक राजु लामाले सगरमाथाको उचाइमा कन्सर्ट  गरेका छन्। मंगोलियन हार्टको स्टेज यात्रा गरेका उनले सगरमाथाको क्याम्प २ र ३ को बीचमा कन्सर्ट आयोजना गरेका हुन्। 

लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर  कीर्तिमान कायम गरेका छन्। नेपालमा बढ्दो जलवायु परिवर्तनको असरका बारेमा सन्देश दिने उद्देश्यका साथ गायक लामाले सगरमाथाको क्याम्प–३ मा पुगेर गीत गाएका हुन्। 

‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’ जस्ता गीत हिट छन् उनका। हिमाल र पूर्वी नेपालमा बोलिने मौलिक शब्द उनका गीत बन्छन्। गायक लामाले सार्वजनिक नभएको नयाँ गीत ‘हिमालले डाक्यो मलाई’ बोलको गीत प्रस्तुत गरेका थिए। 

यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरु पनि गाएका थिए। लामाले एक भिडियो राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सगरमाथाको ६ हजार ५ सय ७४ मिटरको उचाइमा क्याम्प-२ र ३ को बीचमा कन्सर्ट गर्नु ठूलो सफलता हो। यो सजिलो काम थिएन तर पातलो हावा र चुनौती मन पर्यो।’ 

द भ्वाइस अफ नेपालको जज समेत रहेका लामाले गरेको यो कन्सर्ट सम्भवतः जमिनदेखि सबैभन्दा अग्लो स्थानबाट भएको पहिलो कन्सर्ट हो। 

यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे मा १६ तारिखमा ‘म्युजिक फर चिल्ड्रेन’ प्रतिनिधित्व गर्दै मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका हुन्।

बमको हल्लाले विमानस्थलमा तनाव
बम राखेको हल्लापछि अस्तव्यस्त बनेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुरु भएको छ। 

बुधवार विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि अवरुद्ध भएको आन्तरिक उडान सेवा पुनः सुचारु भएको हो। 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडान–अवतरण सेवा करिव १ घण्टासम्म अवरुद्ध भएको थियो । बम रहेको सूचना पाएपछि विमानस्थल प्रशासन र सुरक्षाकर्मीले विमानस्थल क्षेत्रको जेकजाँच गरेका थिए। तर कुनै पनि शंकास्पद वस्तु नरहको प्रमाणित भएको छ। 

प्रवक्ता सिटौलाका अनुसार कार्यालयको टेलिफोनमा ९:४० देखि ९:५० को बीचमा दुई पटक फोन गरेर बम राखेको सूचना दिएकोले अनुसन्धान गरिएको थियो। 

श्रीवास्तव नेपाल आउँदै
नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित भएका छन्। श्रीवास्तवलाई नेपालका लागि राजदूत बनाउन भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयसँग सहमति मागेको छ। 

भारतीय विदेश मन्त्रालयको इस्ट एसिया डेस्क प्रमुख रहेका कुटनीतिज्ञ श्रीवास्तव चीन मामिला विज्ञका रुपमा परिचित छन्। सन् २०२० मे महिनामा भारत-चीन सीमावर्ती क्षेत्र लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा ९लाइन अफ एक्चुअल कन्ट्रोलमा देखिएको विवाद साम्य पार्न श्रीवास्तवले भूमिका खेलेका थिए।  

विगतमा उनी कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। त्यसअघि उनी चीनको सांघाईस्थित भारतीय महावाणिज्यदूत थिए। नेपालस्थित भारतीय राजदूत क्वात्रा १५ दिनअघि भारतीय विदेश सचिवमा बढुवा भएपछि उक्त पद रिक्त छ। 

युक्रेनलाई सहयोग गर्दै बेलायत
बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।  रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो। 

युक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै युक्रेनको पक्ष लिएको थियो। सहयोगले रुससँग युक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने युक्रेनका अधिकारीहरूले बताएका छन्। नयाँ सैन्य समर्थन अन्तर्गत इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन्। 

नेपालको जित
जिम्बावे 'ए' विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा क्रिकेट खेलमा नेपालले जित निकालेको छ। त्रिवी क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो।

जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ। पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी-ट्वान्टी खेल भने वर्षाले रद्द हुँदा नेपालको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ। 

आजको खेलमा जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले। यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडेका थिए। जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १र१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाएका थिए। खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १-१ विकेट लिए।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए'सँग सिरिज खेलेको हो। अब यी दुई टिमबीच तीन खेलको एकदिवसीय सिरिज खेल हुनेछ।

प्रकाशित: May 04, 2022| 20:47 बुधबार, वैशाख २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।