सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बढ्यो नेपालीको वार्षिक आम्दानी, यौन दुर्व्यवहारको कुरा उठेपछि जंगिए स्थापित [२०७९-१-१६]

बढ्यो नेपालीको वार्षिक आम्दानी, यौन दुर्व्यवहारको कुरा उठेपछि जंगिए स्थापित [२०७९-१-१६]

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- बिहीबारका  मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू  

  • चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण, नेपालीको वार्षिक आम्दानी १३७२ डलर पुगेको दाबी। 
  • वैशाख २८ र २९ गते विद्यालयमा र ३० गते सार्वजनिक बिदा दिन आयोगको प्रस्ताव, ३३ जिल्लामा मतपत्र ढुवानी हुँदा ७२ जिल्लाको छपाई सम्पन्न।
  • यौन दुर्व्यवहारबारे प्रश्न गरेपछि जंगिए काठमाडौं मेयरका एमाले उम्मेदवार स्थापित,  कांग्रेस उम्मेदवार सिर्जना सिंहले ल्याइन् '७ स'को संकल्प। 
  • प्रधानमन्त्री हुँदा ओलीले यति र ओम्नी ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको माधव नेपालको आरोप, स्थानीय चुनावमा गठबन्धनले एमालेलाई धुलो चटाउने जिकिर। 
  • र, युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभको प्रतिक्रिया, कूटनीतिक तरिकाबाट द्वन्द्व समाधान गर्न सहमत रहेको दाबी।
  • अब समाचार विस्तारमा  

बढ्यो आम्दानी

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। 

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो। आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय लेखा तथ्यांक प्रस्तुत गर्दै राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने र गैरकृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत हुने बताएका हुन्। 

विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो। बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो। कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि ऋणात्मक (२.४२ प्रतिशत) हुन पुगेको थियो। 

निर्देशक अधिकारीका अनुसार नेपालीको वार्षिक आम्दानीमा पनि वृद्धि भएको छ। यो वर्ष नेपालीको वार्षिक आम्दानी बढेर १३७२ डलर पुगेको निर्देशक भण्डारीले जानकारी दिए। गत वर्ष प्रतिव्यक्ति आय ११९१ डलर थियो। गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी १ सय ८१ डलर बढेको हो। 

त्यस्तै, नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पनि वृद्धि भएको छ। नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष  ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो। 

निर्देशक भण्डारीले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रले ०.५८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरेको बताएका छन। 

मतदान गर्न बिदा 

निर्वाचन आयोगले स्थानीय वैशाख २८,  २९ र ३० गते विद्यालयमा  बिदा दिन सरकार समक्ष प्रस्ताव गरेको छ। 

आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल बैशाख ३० गतेका दिन नेपालभर सार्वजनिक बिदा दिन पनि सरकारलाई अनुरोध गरेको हो। 

बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन र  त्यसअघिका  दुई दिन विद्यालयमा  बिदा दिन आग्रह गरिएको बताए। 

सहायक प्रवक्ता अर्यालले निर्वाचन आयोगमा बिहीबार  साढे ३ बजेसम्म आयोगमा प्राप्त भएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको जानकारी दिए। यसमध्ये प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १ उम्मेदवार छन्। वडा अध्यक्षका लागि ३५ हजार ३ सय ५३ जनाले  उम्मेदवारी दिएका छन्। 

आयोगले बिहीबारसम्ममा ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मत पत्र छपाई गरिसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकिएको जानकारी दिएको छ।

स्थापित आक्रोशित

नेकपा एमालेका तर्पबाट महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित ‘मी टू’का विषयमा प्रश्न सामना गर्नु परेपछि आक्रोशित बनेका छन्। 

बिहीबार नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनाव स् युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टू’ आरोपबारे प्रश्न गरेपछि स्थापित आक्रोशित बनेका हुन्। 

मीटुबारे प्रश्न सोध्नेबित्तिकै उनी कुर्सीबाट उठेर प्रश्नकर्तामाथि खनिएका थिए। 

स्थापतिले आक्रोशपूर्ण जवाफ फर्काएपछि स्थापितका प्रतिस्पर्धी  उम्मेदवारले नै आफ्नो स्थानमा बस्नका लागि तानेका थिए। तर स्थापित सेलाइसकेकै थिएनन्। केहीछिन बसेका उनी फेरि जंगिए। 

प्रश्नकर्ता विद्यार्थी भावना राउतले भने एमालेले महिलालाई आपत्तिजनक शब्द प्रयोग गरी आवेग प्रदर्शन गर्ने स्थापितलाई मेयर बनाएकाले अब  महिला अधिकारका लागि सडकमा नआउन सुझाव दिएकी छन्।  

यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा भएका बेला स्थापितले महानगरकै तत्कालीन कर्मचारी रश्मिला महर्जन र पत्रकार उज्ज्वला महर्जनमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

भ्रष्टाचारमुक्त महानगर बनाउँछु : मेयर उम्मेदवार सिंह

नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएकी छन्। 

बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउनु रहेको बताएकी छन्। 

महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफूले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उनले महानगरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन्। 

उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गरेकी छन्।  संकल्प पत्र सार्वजनिक गर्दै महानगरलाई विधिको शासन, नियम, कानूनभित्र रही चलाउने उनले बताइन्। सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा समेत गरिन्। 

आफूमाथि लाग्ने गरेको नातावादको आरोप खण्डन गर्दै उनले आफू प्रधानमन्त्रीको पद त्याग गरेको परिवारबाट आएको बताइन्। आफ्ना सासुससुरा गणेशमान र मंगलादेवीले भ्रष्टाचार, सामाजिक विचलन र कुनै पनि नराम्रो काम नगरेको बरु तोकतन्त्रका लागि योगदान गरेको उल्लेख गर्दै आफू त्यस्तो परिवारसँग जोडिएर कुनै गलत नगरेको बताइन्। 

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउनुपर्ने बताए। महामन्त्री थापाले  कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए। 

साना साना काठमाडौंवासीका समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंवासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने महामन्त्री थापाको भनाइ थियो। 

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेकपा एमालेका नेता केशव स्थापितलाई फेरि काठमाडौंको मेयरमा फर्किन्छु भन्ने सपना नदेख्न आग्रह गरे।

प्रवक्ता महतले नेपाली कांग्रेसप्रति नेकपा एमालेका अध्यक्ष ओलीले विभिन्न आरोप लगाएको र निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका थिए।

चीनसँग  सीमा विवाद छैन : परराष्ट्र प्रवक्ता

सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतिय राहदानी जारी गरेको बताएको छ। 

बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतिय राहदानी जारी भइसकेको जानकारी दिएका हुन्। 

६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको। राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनको भनाइ छ। 

उनले राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि उनले बताए। उनले चीनसँग सीमा विवाद नभएको समेत बताएकी थिइन्।

ओलीले यति र ओम्नीसँग मिलेर भ्रष्टाचार गरे 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाएका छन्।

बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन्। आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा पनि भ्रष्टाचार गरी जनतालाई लुट्ने र चुस्ने काम गरेको उनको आरोप छ। नेपालले आफूलाई इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको दाबी गरे। 

अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने जिकिर गरे। सबै महानगर र उपमहानगरमा उठ्नेहरुलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन्। 

पलका २ मुद्दा एकै ठाउँमा राखेर हेर्न आदेश

कलाकार पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न उच्च अदालतले आदेश दिएको छ।

पोखरा उच्च अदालतले दुवै मुद्दामा पीडक पनि समान व्यक्ति र पीडित पनि समान व्यक्ति भएको र कसुरको  प्रकृति पनि एकैखाले भएकाले सँगै राखेर हेर्न आदेश जारी गरेको हो। 

नबालिग गायिकामाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सकिएको छ। विपक्षी पल पुर्पक्षका लागि जेल चलान भएका छन्। 

‘शाहका तर्फबाट कानुन व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरेर साधारण तारेख या धरौटीमा रिहाइको माग गर्दै छुट्टाछुट्टै निवेदन थिए,’ उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले नेपाल समयसँग भने, ‘त्यसपछि दुवै जिल्लाबाट कैफियत प्रतिवेदन पनि माग भइसक्यो। आज बसेको पेसीले पीडित एकै भएकाले दुवै जिल्लाको मुद्दा सँगै राखेर हेर्ने आदेश दिएको छ। अब अर्को सुनुवाइ सम्भवतः अर्को साता हुन सक्ने बताइएको छ।

युक्रेनसँग वार्ताका लागि रुस तयार

युक्रेनसँग फेरि वार्ता गर्न रुस सहमत भएको छ। रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका हुन्। 

रुस भ्रमणमा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँग फेरि वार्ता अघि बढाउने बारेमा सहमति भएको जनाएका थिए।

युक्रेनसँगको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनको भनाइ थियो। उनले यसअघिका वार्ता युक्रेनकै कारण सफल हुन नसकेको दाबीसमेत गरेका थिए।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि पनि पटक–पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन्।

पौडी प्रतियोगिता वैशाख २२ देखि

२४औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता बैशाख २२ र २३ गते हुने भएको छ। 

नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २२ र २३ गते हुने जनाएको हो। प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ।  प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिला र पुरुष गरि करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ।

दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगिता, नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एसियन गेम्सलाई  मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएको छ।

यस प्रतियोगिता १९ औं  विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि पहिलो चरणको छनौट प्रतियोगिता समेत रहेको संघले जनाएको छ। प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए।

प्रकाशित: Apr 28, 2022| 21:37 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।