काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचार प्रमुख शीर्षकहरू
अब समाचार विस्तारमा
उपमहानगरमा पनि मिल्यो भागबन्डा
पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले महानगर र उपमहानगरको भागबन्डा टुंग्याएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट स्रोतले जानकारी दिएको हो।
६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ। माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।
उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान परेका छन्।
माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।
मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ। यसअघि नै गठबन्धनले महानगरको उपमेयर पदको पनि भागबन्डा गरेको थियो।
गभर्नरका कुरा
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन्।
मंगलबार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न बुधबार राष्ट्र बैंक पुगेका गभर्नर अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका हुन। उनले निलम्बन पछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरु प्रति आभार व्यक्त गरे।
सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएको भन्दै गभर्नर अधिकारीले आगामी दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गरे। उनले आगामी दिनमा मैले पेस गरेको निवेदनमाथि थप सुनुवाइ गर्दैजाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको बताए।
चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै मन्त्रिपरिषद्ले पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गरेसँगै निलम्बनमा परेका थिए। गभर्नर अधिकारीले वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।
गभर्नर अधिकारीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न र गभर्नरका रूपमा काम गर्न दिन मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त निवेदनमाथि बैशाख १३ गते अन्तरिम आदेशका लागि सुनुवाइ गर्न पेसी तोकिएको छ।
अर्थले रोक्यो स्वास्थ्यको १६ अर्ब
अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निकासा गर्नुपर्ने १६ अर्बभन्दा बढी रकम रोक्का गरिदिएको छ।
आर्थिक वर्ष २०७८/०७९ का लागि छुट्याइएको बजेट रोक्का गरिदिएपछि स्वास्थ्य मन्त्रालयले नियमित कार्यसञ्चालन गर्न नै अप्ठेरो परेको गुनासो गरेको हो। बजेटमा उल्लेख भएको रकम नै अर्थले रोकिदिएपछि स्वास्थ्य मन्त्रालयलाई काम गर्नै अफ्ठेरो परेको छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयबाट पछिल्लो ८ महिनादेखि बजेट रोकिदिएको छ। 'अर्थले ८ महिनादेखि स्वास्थ्य मन्त्रालयको बजेट निकासाको बारेमा न त कुनै जानकारी गराएको छ न त निकासा नै गरेको छ,' स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, 'अर्थले बजेट निकासा नगरिदिँदा स्वास्थ्यका काम र कार्यक्रम प्रभावित भएका छन्।' बजेट निकासाका लागि अर्थ मन्त्रालयमा माग प्रस्ताव प्राप्त भएपछि उक्त रकम निकासा हुने वा नहुने भनी सम्बन्धित निकायलाई १५ दिनभित्र जानकारी गराउनुपर्छ। ती अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालय र अस्पताल तथा कार्यक्रमका लागि अर्थसँग १६ अर्बभन्दा बढी माग गरिएको भएपनि निकासा भएको छैन।
अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले स्वास्थ्य मन्त्रालयले गरेको बजेट माग र निकासाबारे आफूलाई पूर्ण जानकारी नभएको तर प्रक्रिया नपुगेका कारण बजेट रोक्का भएको हुन सक्ने बताए। स्वास्थ्य मन्त्रालयले भने सबै प्रक्रिया पूरा गरेरै अर्थ मन्त्रालयमा माग पठाइएको दाबी गरेको छ।
तालमेलको विरोधमा कांग्रेस कार्यालयमा ताला
सत्तारूढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ।
केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो। महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दीको निर्णय गरेको जानकारी दिएका हुन्।
जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको उनले बताएका छन् ।
प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको विज्ञप्तिमा उल्लेख छ। ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ,’ विज्ञप्तिमा भनिएको छ।
सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए।
होटलको छतबाट खसेर मृत्यु
काठमाडौंको ठमेलमा होटेलको सातौँ तलाबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ। आज बिहान ठमेलस्थित मनाङ होटेलको सातौँ तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्स रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनी होटेलमा एकजना साथीसँग बसेको खुलेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा लडेरै उनको ज्यान गएको पाइएको छ। उनी यही अप्रिल ६ मा नेपाल आएको खुलेको छ।
एसपी मैनालीका अनुसार शव पोस्टमार्टमका लागि अस्पतालमा पठाइएको छ।
शक्तिका कुरा
नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावसम्म नै वर्तमान सत्ता गठबन्धन कायम हुने दाबी गरेका छन्।
नेपाल समयसँग कुराकानी गर्दै नेता बस्नेतले वर्तमान गठबन्धन कामय रहेन आधारहरू स्पष्ट रहेको दाबी गरेका हुन्।
संसद् विघटनको प्रयास र राजनीतिक उपलब्धि उल्ट्याउने कदम चाल्दा राजनीतिक मोर्चाबन्दी बनाएका स्मरण गर्दै उनले लोकतन्त्र रक्षाका लागि पनि वर्तमान गठबन्धन आवश्यक रहेको दाबी गरे।
प्रदेश सभाको निर्वाचन र प्रदेश सभाको निर्वाचन सम्पन्न नहुन्जेलसम्म एक भएर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने कुरा सरकार बन्दा नै सहमति भएको उनको दाबी छ।
(नेता बस्नेतसँग गरिएको विस्तृत कुराकानी नेपाल समय डटकममा पढ्न सकिनेछ)
सुत्केरीलाई मासिक ३ हजार!
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। रोल...
मंगलबार घोषणापत्र सार्वजनिक गर्दै आफ्नो पार्टीले चुनाव जिते सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘प्रत्येक वडामा प्रसूति सेवा उपलब्ध गराइनेछ र निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ।’
स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्यूनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ।
सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ।
लिभरपुलको जित
इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न भएको खेलमा लिभपरपुले सानदार जित निकालेको छ।
एनफिल्ड रंगशालामा भएको खेलमा घरेलु टिम लिभरपुलले युनाइटेडमाथि ४–० गोलको जित निकालेको हो।
लिभपरपुलको जितका लागि मोहम्मद सलाहले दोहोरो गोल गरे। उनले खेलको २२ औं र ८५औं मिनेटमा गोल गरेका थिए। खेलको खेलको पाँचौँ मिनेटमै लुईस डियाजले गोल गरेर युनाइटेडविरुद्ध अग्रता बनाएका थिए।
त्यस्तै, दोस्रो हाफको पहिलो गोल भने साडियो मानेले गरे। उनले खेलको ६८औं मिनेटमा गोल गरेकाथिए।
यो जितसँगै लिभरपुल अक्टोबरयता पहिलो पटक अंकतालिकाको शीर्षस्थानमा पुगेको छ। तर एक खेल कप खेलेको म्यानचेस्टर सिटी लिभरपुलभन्दा दुई अंकले मात्र पछि छ। यसकारण अहिले लिगको उपाधिमा लिभरपुल र सिटीको निकै रोचक प्रतिस्पर्धा भइरहेको छ।
यता, शीर्ष चारको लागि संघर्ष गरिरहेको युनाइटेडले भने ३३ खेलबाट ५४ अंक जोडेको छ। ऊ अहिले छैटौं स्थानमा छ। चैथो स्थानको टोटेनहमले ३२ खेलबाट ५७ अंक बनाउँदा आर्सनलेले ३१ खेलबाट ५४ अंक जोडेको छ।