बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • सत्ता गठबन्धनले मिलायो महानगरको भागबन्डा, पलविरुद्ध जाहेरी दिएका पीडितका बुबाले पनि फेरे बयान [२०७९-१-६]

सत्ता गठबन्धनले मिलायो महानगरको भागबन्डा, पलविरुद्ध जाहेरी दिएका पीडितका बुबाले पनि फेरे बयान [२०७९-१-६]

नेपालको डलर सञ्चितिमा चाप परेकोलगायतका आर्थिक संकटका संकेत देखापर्न थालेपछि सरकारी खर्चमा हुने वैदेशिक भ्रमणमा रोक लगाइएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:

triton college
  • तालमेल गरी चुनावमा जान लागेको सत्ता गठबन्धनकले मिलायो महानगर नेतृत्वको भागबन्डा, माओवादीले भरतपुर पाउँदा एकीकृत समाजवादीलाई पोखरा दिने सहमति।
  • गभर्नर अधिकारीमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश, वैशाख १३ गते छलफलका लागि बोलाइए सरकार र अधिकारी। 
  • पल शाहलाई बलात्कारको आरोप लगाएका पीडितका बुबाले पनि फेरे बयान, पीडक पक्षले पीडित परिवारलाई ‘होस्टाइल’ बनाएको आशंका। 
  • पहिलो पटक स्थानीय चुनावमा होमिएको नेकपा एसले सार्वजनिक गर्‍यो घोषणापत्र, प्रत्येक परिवारलाई मासिक २०० युनिट बिजुली निःशुल्क गर्ने प्रतिबद्धता। 
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-२० आईमा नेपालको १२औँ स्थान यथावत, पहिलो वरीयतामा रहेको भारतलाई पछ्याउँदै इंग्ल्यान्ड । 

अब समाचार विस्तारमा 

मिल्यो भागबन्डा

सत्तारुढ गठबन्धनमा महानगरपालिका नेतृत्वको भागबण्डामा सहमति जुटेको छ। मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले महानगरका मेयरको भागबन्डा मिलाएको हो। 

६ महानगरमध्ये तीन महानगर कांग्रेसले तीन वटा लिने समझदारी छ। कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने भएको छ। माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टीलाई वीरगञ्ज दिने गरी सहमति जुटेको हो। 

corrent noodles
Metro Mart

गठबन्धनका दलहरूबीचमा महानगरका वडामा पनि भागबन्डा गर्ने सहमति छ। तर यो विषयमा भने टुंगिन बाँकी प्रधानमन्त्री निवास स्रोतले जानकारी दिएको छ।

यस्तै उपमहानगरमा पनि केन्द्रबाटै भागबन्डा गर्ने गठबन्धनको सहमति छ। उपमहानगरपालिकामा पनि भागबन्डाका विषयमा छलफल भए पनि अन्तिम निष्कर्ष भने निस्कन बाँकी छ। 

समाजवादीको घोषणापत्र सार्वजनिक

पहिलोपटक चुनावमा भाग लिन लागेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।

नेकपा एमालेबाट चिढिएर नयाँ पार्टी गठन गर्नुपरेको घोषणापत्रमा उल्लेख छ। साथै घोषणापत्रमा अध्यक्ष नेपाल नेतृत्वको सरकारले गरेका काम र आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रमको पनि बयान गरिएको छ।

निःशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा लिएको पार्टीले घोषणापत्रमा प्रत्येक घरपरिवारलाई मासिक २ सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउनेदेखि भ्रष्टाचार निर्मूल पार्नेसम्मका विषय समेटेको छ।

गभर्नर पुनर्बहाल

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सूचना चुहाएको आरोप लगाउँदै आफूलाई हटाउन छानबिन समिति गठन गरेपछि सर्वोच्च पुगेका अधिकारीका पक्षमा अदालतको आदेश आएको हो।

न्यायाधीश हरि फुँयालको एकल इजलासले गभर्नर निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइएको सर्वोच्चले जानकारी दिएको छ। यस्तै गभर्नर निलम्बन गर्नुको कारणसमेत पेस गर्नसमेत सरकारलाई सर्वोच्चको आदेश छ। सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ। 

अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले बहस गर्दै सरकारले बदनीयतपूर्वक गभर्नरलाई निलम्बन गरेको जिकिर गरेका थिए।

अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा गभर्नरमाथि छानबिन गर्नका लागि समिति गठन भएसँगै अधिकारी स्वतः निलम्बनमा परेका थिए। यसअघि विदेशबाट आएको रकम फुकुवा गर्न अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई दबाब दिएको समाचार सार्वजनिक भएका थिए। त्यसपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीमाथि सार्वजनिक रूपमा नै आक्रोश व्यक्त गरेका थिए। 

प्रतिबद्ध प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताए। उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे। 

गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उनले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफुले राम्रो काम गरेको बताए। प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताए। लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनले बताए।

उनले नेपाल विद्यार्थी संघले कुनैपनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताए। उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गरे। 

प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताए। उनले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न आग्रह गरे।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताएका छन्।

मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताए। सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उनको भनाइ थियो 

उनले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पुर्णता दिनुपर्ने बताए। उनले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताए।

सरकारी खर्चमा विदेश भ्रमण रोक

नेपालको डलर सञ्चितिमा चाप परेकोलगायतका आर्थिक संकटका संकेत देखापर्न थालेपछि सरकारी खर्चमा हुने वैदेशिक भ्रमणमा रोक लगाइएको छ।

नेपाल सरकारको तर्फबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नेबाहेक सरकारी खर्चमा हुने अन्य वैदेशिक भ्रमणमा रोक लगाउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

पत्रपत्रिका खरिद, छपाइ, गोष्ठी, सेमिनार, आन्तरिक भ्रमणलगायतको खर्चमा पनि मितव्ययिता कायम गरी नियन्त्रण गर्ने निर्णय सरकारले गरेको छ। ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८’ जारी गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय पनि सरकारले गरेको छ।

मापदण्डमा अत्यावश्यकबाहेक नयाँ गाडी खरिद नगर्ने, इन्धन खर्च कटौती गर्ने, पुराना लिलाम गरेपछि मात्रै नयाँ फर्निचर खरिद गर्नेलगायत उल्लेख छ।

सरकारी मन्त्रालय–निकाय तथा मातहतका सार्वजनिक संघ–संस्थाको इन्धन खर्च २० प्रतिशतले घटाइएको छ। सोहीअनुसार बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले सरकारी निकायलाई सूचित गरेको छ। मन्त्रालयले बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा परेको चापलाई मध्यनजर गर्दै खर्च कटौती गरिएको र सोहीअनुसार बजेट व्यवस्थापन गर्नसमेत सूचित गरेको हो।

अपमानपूर्ण व्यवहार अमान्य : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनु दिएका छन्।

अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताए। मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताए। 

अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

पल मुद्दा : पीडितका पिताले पनि फेरे बयान

पल शाहलाई प्रतिवादी बनाइएको जबरजस्ती करणी मुद्दामा पीडित नाबालिगका बुबाले पनि बयान फेरेका छन्। तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा जाहेरीकर्तासमेत रहेका पीडितका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बताएका हुन्। 

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले पीडितपछि अदालतमा बयान दिएका पीडितका बुबाले पनि  पहिलेभन्दा फरक बयान दिएको बताए। 

‘जाहेरवाला पीडितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहोराको बकपत्र लेखाए,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘जाहेरीमा सहीछाप आफ्नै हो भने। तर छोरीलाई करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी गरेको र आफूले देखेको चाहिँ होइन भन्ने बयान दिए।’

यसअघि  पीडित नाबालिगले पनि बयान फेरेकी थिइन्। आफूलाई प्रेम र बिहेको प्रलोभन देखाएर पटकपटक करणी गरेको आरोप लगाएकी उनले बकपत्रका क्रममा अनुसन्धान अधिकारीसमक्ष दिएको बयान बदल्दै पलले आफूलाई बलात्कार नगरेको दाबी गरेकी थिइन्। 

‘पीडितले आइतबार फरक व्यहोराको बकपत्र लेखाएकी थिइन्,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘अरु त पहिलेभन्दा खासै फरक भनिनन् तर हाम्रो शारीरिक सम्बन्ध चाहिँ भएको छैन भनेर बयान फेरेकी थिइन्।’

पीडक परिवारले बिहेको आश्वासन देखाएपछि पछिल्लो समय मनोवैज्ञानिक रुपमा विक्षिप्त रहेकी पीडित र उनको परिवारले ‘होस्टाइल’ भएर बयान फेरेको अधिवक्ताहरुको आशंका छ। ‘तर बयान फेरिँदैमा पलले सफाइ पाउने भन्ने चाँहि होइन। मिसिलमा अरु प्रमाणहरु पनि समावेश छन्। बयानकै आधारमा प्रतिवादीले सफाइ पाउने भन्ने त हुँदैन। अब अदालतले केलाई प्रमाणका रुपमा लिन्छ, त्यसकै आधारमा फैसला आउने हो,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने।

त्यस्तै आज पीडितका बुबाको बयानअघि गायक दुर्गेश थापाले पनि बकपत्र गराएका छन्। सोमबार भने पीडितको पक्षबाट गायक कमल खत्रीसहित पलका साथीहरु सागर लामिछाने, नरेश जोगी र अर्बिन पामोले बकपत्र गरेका थिए।

नाबालिग गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीमा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ।

राजनीतिमा एक्जिट पोलिसी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा ‘एक्जिट पोलिसी’ ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन्। 

पार्टीको भ्रातृ संस्था नेविसंघको ५३औं स्थापना दिवसका अवसरका आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूले ल्याएको एक्जिट पोलिसीबारे व्याख्या गर्दै कांग्रेस महामन्त्रीको हैसियतले अब त्यसलाई पार्टीको नीति बनाउन लागिपर्ने बताए।

शर्माले गत मंसिरमा दल र देश रुपान्तरणको लागि ४२ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै एक्जिट पोलिसीबारे उल्लेख गरेका थिए। अवधारणापत्रमा शर्माले १, २, ३ र ४ को नीति अवलम्बन गर्नमा जोड दिएका छन्। यो नीति अवलम्बन गरे दल र देशमा रुपान्तरण आउने उनको दाबी छ।

शर्माका अनुसार १,२,३,४ को नीति भनेको कुनै व्यक्ति एक पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने, दुई पटकभन्दा प्रधानमन्त्री बन्न नपाउने, तीन पटकभन्दा बढी मन्त्री बन्न नपाउने र चार पटकभन्दा बढी सांसद बन्न नपाउने हो। पार्टीमा पनि यही नीति लागू हुनुपर्ने उनको जोड छ। 

नेपालको स्थान यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० आई वरीयतामा नेपालको स्थान यथावत् रहेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी२० आईमा १२औं स्थानमा यथावत् रहेको हो।

नेपाल पछिल्लो १० टी-२० आई खेलमा मात्र १ खेलमा पराजित भएको छ। नेपाल दुई महिनाअघि ओमानमा भएको टी२० विश्वकप छनोटमा एक खेल हारेको थियो। 

लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी२० आई सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो। नेपालले पपुवा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो।

टी-२० आई वरीयतामा भारत पहिलो स्थानमा छ। दोस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ।

प्रकाशित: Apr 19, 2022| 20:26 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।