शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • गभर्नरको निलम्बनपछि मात्रै संकटबारे बोल्यो एमाले, युक्रेन पुगे बेलायती प्रधानमन्त्री [२०७८-१२-२७]

गभर्नरको निलम्बनपछि मात्रै संकटबारे बोल्यो एमाले, युक्रेन पुगे बेलायती प्रधानमन्त्री [२०७८-१२-२७]

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
 |  आइतबार, चैत २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

vianetvianet

काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल सयमको समाचारका शीर्षकहरू

triton college

-गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि प्रतिपक्षी दल एमालेको आक्रोश, अराजक अर्थमन्त्री शर्माको दबाबमा प्रधानमन्त्री देउवाले  गलत निर्णय लिएको आरोप।

-स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांग्रेसको निर्देशन, सदस्यता शुल्क तथा लेबी तत्काल उठाउन तल्ला तहलाई पत्राचार । 

-उद्योगी र व्यवसायीहरुलाई प्रोत्साहित गर्ने नीति लिन सरकारलाई सभामुख सापकोटाको आग्रह, सञ्चारमाध्यममा आएजस्तो अर्थतन्त्र डरलाग्दो नभएको मुख्यसचिव वैरागीको दाबी। 

-रुस-युक्रेन सुरु भएयता बेलायती प्रधानमन्त्री जोनसन पहिलो पटक पुगे युक्रेन, १२० बख्तरबन्द गाडी र पानीजहाजमा मार हान्न सक्ने क्षेप्यास्त्र सहयोग गर्ने प्रतिवद्धता। 

National life insurance

-र, ५ वर्षअघि १४ गोलको गरेको उज्वेकिस्तानले नेपालमाथि फेरि गर्‍यो ५ गोल, युवा खेलाडी नर्भस हुँदा धेरै गोल खानुपरेको मुख्य प्रशिक्षकको भनाइ। 

अब समाचार विस्तारमा 

गभर्नर निलम्बनपछि मात्रै बोल्यो एमाले
नेकपा (एमाले)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरी निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन एमालेले चेतावनी दिएको छ।

आइतबार प्रमुख प्रतिपक्ष पार्टी एमालले वर्तमान मुलुकको अर्थतन्त्रको विषयमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको हो।  पत्रकार सम्मेलनमा बोल्दै एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने काम गलत गरेको आरोप लगाएका हुन्। पूर्वअर्थमन्त्री पौडेलले आफूहरूले सरकार छाडेपछिको ९ महिनामा मुलुकको अर्थतन्त्र कुनै व्यक्तिको गलत नीति र सनकका कारण तहसनहस भएको दाबी गरेका थिए।

त्यस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना महामारी पछि रुस र युक्रेनको युद्धको कारण अर्थतन्त्रमा थपिएको चुनौतीका बीचमा सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गरेर गलत काम गरेको आरोप लगाए। 

त्यस्तै पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले नेपाली काङग्रेसको सरकारले गभर्नर माथिको पूर्वग्राही कारबाही गैरकानुनी हुने भनेर कहिल्यै पनि ख्याल नगरेको आरोप लगाएका थिए। नेपाली काङग्रेसकै सरकारले दुई वटा गभर्नरलाई निलम्बन गर्दा अदालतले र्फिता पठाएको इतिहास उनको भनाइ थियो। पूर्वअर्थमन्त्री खतिवडाले २०५८ को नेपाल राष्ट्र बैंकको ऐनपछि केन्द्रीय बैंकको गभर्नरलाई स्वायत्त मात्रै नभर जिम्मेवार बनाएको उनको भनाइ थियो। 

मुलुकको बाह्य क्षेत्र संकट उन्मुख भइएकाले सरकारले तत्काल व्यवस्थापन गर्न नसके अवस्था गम्भीर हुने उनको भनाइ छ। उनले यो वर्ष करिब २२ खर्ब आयात हुने देखिएको र व्यापार घाटा २० खर्ब पुग्न सक्ने भन्दै त्यसले वित्तीय क्षेत्रमा समस्या सिर्जना गर्ने उल्लेख गरेका थिए। 

पैसा लिएर उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। 
आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो। 

'उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य (विधानमा व्यवस्था गरिएको बाहेक) कुनै पनि प्रकारको रकम माग गर्नु उठाउनु विधान विपरीत हुने भएकोले त्यस्तो कार्य नगर्न/नगराउनु हुन समेत निर्देशानुसार अनुरोध गरिन्छ,' पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तल्ला तहलाई पठाएको पत्रमा उल्लेख छ। 

यद्यपि लेबीलगायत विधान अनुकुलका रकम संकलन गर्नका लागि भने यो निर्देशनले कुनै बाधा नगर्ने कांग्रेस केन्द्रीय कार्यालयको भनाइ छ। विधान अनुसारको  रकम बाँकी भए तत्काल उठाउन समेत कांग्रेसले निर्देशन जारी गरेको  छ।  

'विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) लिन उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउनु हुन जानकारी गराइन्छ,' पत्रमा उल्लेख छ।

उद्योग र अर्थतन्त्रबारे सभामुख र मुख्यसचिवको धारणा
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन्।

सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पारे। नेपाल चेम्बर कमर्शले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावनामा सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गरे। 

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पारे। उनले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुनेछौं भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए। 

मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको पनि स्मरण गराए।  

पूर्वसांसदमाथि खुकुरी प्रहार
पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ।

धनकुटाका नेता गुरागाईंमाथि छिमेकीले शनिबार खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको हो। ७६ वर्षीय गुरागाईं धनकुटा नगरपालिका ६ का वासिन्दा हुन्। खुकुरी प्रहार गर्ने युवक पनि धनकुटा नगरपालिका ६ कै २३ वर्षीय दिनेश पोखरेल रहेको धनकुटा प्रहरीले जनाएको छ ।

घरमा गफगाफ गरिरहेको अवस्थामा उनीमाथि खुकुरी प्रहार भएको थियो। ती युवकले किन खुकुरी प्रहार गरेकाहुन् भन्ने बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

गुरागाईंको अनुहारमा गहिरो चोट लागेको छ। उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले जनाएको छ। गुरागाईं ०४८ सालमा सांसद बनेका थिए।

मनाइयो रामनवमी
आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पुजाअर्चना गरी मनाइएको छ। 
त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन जन्मिनुभएको भगवान श्रीरामचन्द्रको सम्झना गर्दै देशभरका रामचन्द्र मन्दिरहरुमा आज भगवान श्रीरामको पुजाअर्चना गरी यो पर्व मनाइएको छ। काठमाडौंमा बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पुजा आराधनाका लागि भक्तजनहरुको घुँइचो लागेको हो। भक्तजनहरुले भजन, किर्तनसहित पुजा आराधना गरिरहेका छन्।

भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ। भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उनलाई उच्च सम्मान गरी पुजा गर्ने गरिएको श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा सम्बद्र्धन समितिका सदस्य सचिव गोविन्द टण्डनले बताए।

वि.सं. १९२८ सालमा निर्माण भएको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा राम, सिता, लक्ष्मण लगायतको मुर्ति रहेको छ। यहाँ आजको दिन बिहानैदेखि भक्तजनहरुको लाइन लागेको छ। मन्दिर व्यवस्थापनले आजको दिनमा करिब ४ लाख भक्तजनले पुजाअर्चना गर्ने लक्ष्य राखेको जनाएको छ। आजको दिन भगवान श्रीरामचन्द्रको पुजाअर्चना गर्नेले मनमा चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ।

युक्रेनमा बेलायती प्रधानमन्त्री
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी कारवाहीको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन्।

उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए। युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ। उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ। 

भेटवार्ताका क्रममा प्रधानमन्त्री जोनसनले युक्रेनलाई १२० बख्तरबन्द गाडी र पानीजहाजमा मा’र हान्न सक्ने क्षेप्यास्त्र सहयोग गर्ने बाचा गरेको १० डाउनिङ स्ट्रिटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। त्यस्तै जोनसनले युक्रेनलाई ७७ करोड पाउण्ड सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।उनको भ्रमण अन्तिम समयसम्म गोप्य राखिएको थियो। 

लण्डनस्थित युक्रेनी दूतावासले सामाजिक सञ्जाल ट्विटरमा जोनसन र जेलेन्स्कीले सँगै खिचाएको तस्वीर राखेपछि मात्र उनी युक्रेन पुगेको खुलासा भएको थियो।‘युक्रेनी जनताप्रति ऐक्यबद्धता दर्शाउनका लागि राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रुपमै भेट्न प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्नुभएको छ।’ 

प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।भेटवार्तापछि प्रधानमन्त्री जोनसनले विज्ञप्ति जारी गर्दै युद्धको समयमा युक्रेनी राष्ट्रपतिको अटल नेतृत्व र युक्रेनी जनताको साहसको प्रशंसा गरेको बताएका छन्। त्यस्तै, युक्रेनलाई सहयोग गर्न संयुक्त अधिराज्य बेलायत सधैँ तयार रहेको समेत जोनसनको भनाइ छ।त्यस्तै, जेलेन्स्कीले बेलायतको ‘निर्णायक एवम् महत्वपूर्ण समर्थन’ को स्वागत गर्दै पश्चिमा मुलुकहरुलाई रुसमाथि दबाब बढाउन आग्रह गरेको बताइएको छ।

नेपाल पराजित
पाँच वर्षअघि उज्ज्वेकिस्तानसँग १४ गोलको सामना गरेको नेपालले पुनः ५ गोलको सामना गरेको छ। किर्गिस्थानको राजधानी विस्केकेमा भएको पहिलो खेलमा नेपालले  उज्वेकिस्तानका ५ गोल सामना गर्दै एक गोल गर्न सकेको हो। खेलको २८औं मिनेटमा मणिकुमार लामाले नेपालका पक्षमा पहिलो गोल गरेका थिए। तर यसअघि नै नेपालले तीन गोल खाइसकेको थियो। 

खेलको अन्तिम सिटी बज्नुअघि उज्वेकिस्तानले २ गोल थपेको थियो भने नेपालले केही अवसरलाई उपयोग गर्न सकेको थिएन। खेलपछि नेपाली टिमका कप्तान अनिस श्रेष्ठले फनिसिङमा समस्या भएको बताए। 

नेपाली टिमका मूख्य प्रशिक्षक गौरब बस्नेतले नेपालले राम्रो खेलेको र युवा खेलाडीले पहिलो हाफमा नर्भस भएको बताएका छन्। 

नेपाले भने एक गोल मात्र गर्न सकेको छ। उज्वेकिस्तानसँग फराकिलो अन्तरको हाल  व्यहोर्नु परेपछि नेपाललाई बाँकी खेलमा जित निकाल्न दबाब बढेको छ।

प्रकाशित: Apr 10, 2022| 19:39 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।