आइतबार, वैशाख ७, २०८२

रंगमती शाही : हुम्लाको छाउगोठदेखि बानेश्वरको संसद् भवनसम्म

रंगमती डराईडराई संसद् भवन प्रवेश गरेको आज चार वर्ष कटिसकेको छ। अहिले पहिलो दिनजस्तो खुम्चिएर बस्ने स्वाभावकी छैनन् उनी।
 |  आइतबार, चैत १३, २०७८
nespernesper

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

आइतबार, चैत १३, २०७८

vianetvianet

संसद् भवन छिर्दै गर्दा रंगमती शाहीलाई माननीय बनेको खुसीभन्दा बढी भय थियो। ३९ वर्षकै उमेरमा सांसद चुनिएपछि मात्र उनी स्थायी रुपले काठमाडौं बस्न आइन्। २०७४ फागुन २० गते जनमतको सर्वोच्च संस्था मानिने संसद् भवन नयाँ बानेश्वरमा शपथ लिन पुगिन्।

triton college

‘कुन गेटबाट छिर्नेसम्म थाहा भएन,’ उनले सम्झिइन्, ‘पश्चिम गेटमा पुग्दा चिनेका अरु नेता पनि छिरिरहेको देखेपछि उनीहरूकै पछि लागेर हलसम्म पुगें।’

हलभित्र पुगेपछि आफ्नो सिट कहाँ छ भनेर खोज्न केही समय लाग्यो। ६ सय जना अट्ने अजंगको हलमा आफूलाई चारैतिरबाट निगरानी भइरहेको महसुस भयो उनलाई। आधा घण्टा बसेपछि सभाध्यक्ष आउने घण्टी बज्यो। सबैजना उठेर अध्यक्षलाई स्वागत गर्दा उनलाई बाल्यकालमा कक्षाकोठामा बसेजस्तै लाग्यो।

रंगमती डराईडराई संसद् भवन प्रवेश गरेको आज चार वर्ष कटिसकेको छ। अहिले पहिलो दिनजस्तो खुम्चिएर बस्ने स्वाभावकी छैनन् उनी। चार वर्षमा रंगमतीमा धेरै परिवर्तन आइसकेको छ। आज रंगमती संसद्मा स्पष्ट र खरो बोल्ने सांसदको रुपमा परिचित छिन्। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका विवादास्पद निर्णयको खुलेर विरोध गर्छिन्। 

आफ्नै पार्टीको सरकार होस् वा अन्य पार्टीको, रंगमती जनताको आवाजलाई प्राण दिइरहेकी छिन्। प्रधानमन्त्री भएका बखत केपी ओलीले ‘काठमाडौंको बाटोबाट धुलोधुवाँ मुक्त गरिसकेका छौं’ भनेर भाषण गरे। रंगमतीले जवाफी फायर खोलिहालिन्, ‘प्रधानमन्त्रीज्यू ! तपाईं कालो सिसा, एसी भएको गाडी चढेर कहाँ धुलो देख्नुहुन्छ? मेरो स्कुटर पछाडि बसेर बनस्थलीसम्म जाऔं अनि थाहा पाउनुहुन्छ धुलो!’

National life insurance
रंगमती डराईडराई संसद् भवन प्रवेश गरेको आज चार वर्ष कटिसकेको छ। अहिले पहिलो दिनजस्तो खुम्चिएर बस्ने स्वाभावकी छैनन् उनी।

रंगमतीको त्यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भयो। मानिसहरूले उनको आँटको प्रशंसा गरे। सत्य बोल्दा सीमित मानिसको मन बिझाए पनि बहुसंख्यक जनता खुसी हुँदारहेछन् भन्ने बोध त्यतिबेला मिलेको उनी सुनाउँछिन्।

सांसद भएको ६ महिनासम्म त रंगमतीले केही बोलिनन्, अरुका कुरा सुनिमात्रै रहिन्। संसद्भित्र केपी ओलीको सरकारविरुद्ध गगन थापा, मीनेन्द्र रिजालहरु खरो बोलिरहन्थे, उनी भने थपडी बजाउँथिन्। 

तर, कतिन्जेल थपडीमात्रै बजाउने! यही सोचले उनको मौनताको तार चुँडियो। ‘गगन दाइ, मीनेन्द्र दाइहरु बोलेको देखेपछि भित्रैबाट अब त मैले पनि बोल्नुपर्छ भन्ने भाव जाग्यो, त्यसपछि बोल्न थालेँ। जब बोलेँ, हौसला दिनेहरु धेरै भेटिए। अनि त म रोकिने कुरै भएन,’ रंगमती आत्मविश्वासी सुनिन्छिन्।

२०७७ पुस र फागुनमा उनै केपी ओलीले संसद् विघटन गराए। रंगमतीजस्ता पहिलोपटक सांसद भएकाहरुलाई त्यसले निकै जटिल अवस्था सिर्जना भयो। उनी भन्छिन्, ‘तीन वर्ष नबित्दै संसद् विघटन हुँदा जनतासामु गरेका बाचा पूरा गर्न नसकिने भइयो भनेर निकै चिन्तित बन्यौं। शीर्ष नेतालाई जस्तो चैन हामीलाई हुँदैन।’

संसद् बैठकमा बोल्दै रंगमती शाही।

हुम्लाको सर्केगाडदेखि काठमाडौंको नयाँ बानेश्वरसम्म आइपुग्न रंगमतीले तय गरेको बाटो सजिलो थिएन। बुबा जिल्ला पञ्चायतका सभापति थिए। घरमा पाहुनाको ओहोरदोहोर भइरहन्थ्यो। पुरुषहरू दिनभरि गफ गरेर बसिरहँदा महिला भने घरको काममै बढी व्यस्त हुन्थे। 

रंगमती भने बुबाको छेउमा गएर गाउँका कुरा सुन्न रुचाउँथिन्। जिल्लाभरिका मानिसले बुबालाई मान गरेको देख्दा अचम्म मान्थिन्। हाइस्कुल पढ्दै गर्दा उनलाई लाग्यो, ‘अरुको काम गरिदिन सक्यो भने पो सबैजना खुसी हुँदा रहेछन्। आफ्नो कुरा खाँदा रहेछन्।’

त्यहीबेलादेखि उनले अरुको अप्ठेरोमा खटिने प्रतीज्ञा गरिन्। नेपाली कांग्रेसको विद्यार्थी संगठन र महिला संघमा आबद्ध भइन्। गाउँ–गाउँमा संगठन बनाउनदेखि सामाजिक कार्यमा सक्रिय भइन्।

बहुसंख्यक महिलाको जीवन आज पनि उत्तिकै कष्टकर छ। केही सीमित पात्र राष्ट्रपति, प्रधानन्यायाधीश वा सभामुख–उपसभामुख हुँदैमा महिलाका मुद्दा समाधान नहुने कुरा रंगमतीले बुझेकी छिन्। पहिलो लकडाउनको बेला क्वारेन्टिन बसेको बेला ढोकाको चुकुल नहुँदा एकजना महिला बलात्कृत भइन्। त्यहीबेला राष्ट्रपतिको कार्यालयमा करोडौंको गलैंचा फेरिँदै थियो। चरम असंगति देखेर उनले प्रश्न गरिन्, ‘यतिबेला रातो कार्पेट फेर्नभन्दा क्वारेन्टिनको ढोकाको चुकुल फेरिदिएको भए महिलाहरू बलात्कृत हुने थिएनन्!’

महिलाहरुको दयनीय अवस्था देखेर रंगमती आफ्ना पुराना दिनतिर फर्किन्छिन्, जहाँ उनलाई सुदूर गाउँको अँध्यारो गोठमा बसेको स्मृतिले लखेट्छ। 

‘म छाउगोठमा बसेको छु। जब बुझ्ने भएँ तबमात्र त्यहाँबाट निस्कने आँट गरेँ,’ उनी भन्छिन्, ‘आज सरकारले छाउगोठ भत्काएर महिलाको उत्थान गर्न खोज्दैछ। तर ढुंगाको छाउगोठ भत्काएर मात्रै केही हुँदैन, चेतनाबाट छाउगोठ भत्काउन सक्नुपर्छ।’

पीडा, भय र अन्धविश्वासले गुम्सिएको छाउगोठलाई कर्णालीको अभिसाप मान्छिन् उनी। युवा अवस्थामै छाउगोठ हटाउने अभियानमा जोडिइन्। घरदेखि चार पाँच दिनको बाटो लाग्ने गाउँसम्म पुगेर गाउँका मानिसलाई सम्झाउन खोज्थिन्। बुझ्नेले रंगमतीलाई पत्याउन थाले। नबुझ्नेलाई पनि कित्ताकाट गरिनन्, सकेको सहयोग गर्दै गइन्। बिस्तारै ग्रामीण क्षेत्रका मानिसले विश्वास गर्ने पात्र बन्न पुगिन्। 

काठमाडौंबाट सबैभन्दा विकट जिल्लामा पर्छ, हुम्ला। बल्ल मोटरबाटो पुग्ने ट्रयाक खुलेको छ। अधिकांश नागरिक पैदलबाट हुम्लाका गाउँसम्म पुग्छन्। सक्नेहरू हेलिकप्टरको प्रयोग गर्छन्। प्रत्येकपटक जिल्ला जाँदा रंगमतीको एकदेखि दुईलाख रुपैयाँ खर्च हुन्छ। हेलिकप्टरबाट झर्दै गर्दा गौरव होइन, लज्जा हुन्छ उनलाई। आफूसँगैका साथी र छिमेकीको अवस्था सुधार गर्न नसक्दा पीडाबोध हुने उनी सुनाउँछिन्। 

‘जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने काम गर्न नसक्दा पीडाबोध हुन्छ,’ उनी भन्छिन्, ‘म आफैं पनि दिने ठाउँमा नभए माग्ने ठाउँमा छु। मागेर दिएको कुराले कहिलेसम्म पुग्छ?’

कर्णालीको विकासका लागि अनुदान होइन, स्वउत्पादनमा जोड दिनुपर्ने विचार राख्छिन् उनी। ‘राज्यले वातारण सिर्जना गर्ने र स्थानीय स्रोत स्थानीयले नै प्रयोग गर्न पाउने अवस्था सिर्जना गरेमा कर्णालीको कष्ट विस्तारै कम हुने उनको ठहर छ। 

०००

रंगमती महिला संघमा हुँदा एकपटक आरजु राणाले भनिन्, ‘तिमी त बालबालिकाको अध्यक्ष हुनुपर्नेमा महिला संघको पो भएछौ!’ सानै उमेरको देखेर मान्छेले उनलाई हत्तपत्त पत्याइहाल्दैनथे। जिल्लाका डीएसपी र सिडिओले पनि सानो उमेरको देखेर नजरअन्दाज गर्ने गरेको तीतो अनुभव छ उनीसँग। आज जिल्ला जाँदा तिनै कर्मचारीले अतिरिक्त मान गरेको देख्दा उनलाई अप्ठेरो लाग्छ। भन्छिन्, ‘काम गर्न पद चाहिन्न भन्ने मान्छे थिएँ म। तर नेपालमा कुनै पदमा भएन भने राज्यले पनि पत्याउँदैन। यो चलन बन्द हुनुपर्छ।’

महिला संघमा भएकै बेला २०६४ को संविधानसभा निर्वाचनमा रंगमतीलाई समानुपातिक सांसदको टिकट दिने चर्चा चल्यो। तर पार्टीका सिनियर नेताहरुलाई भाग मिलाउन खोज्दा टिकट मिलेन। तर पनि उनी निराश भइनन्, बरु जिल्लामा नै आफूलाई सक्रिय बनाइन्। २०७० पछि भने उनी नै सांसद बन्ने माहोल बलियो बन्दै गयो।

काठमाडौं आएपछि पनि रंगमतीको सक्रियता कम भएन। पार्टीको काममा दत्तचित्त भएर खटिरहिन्। दुई–तीन महिनामा गृहजिल्ला हुम्ला गइरहिन्। जिल्लाको टोलीसहित हुम्लामा रहेका बेला नेपाल–चीन सीमास्तम्भ अवलोकन गर्न गइन्। २०७८ मंसिरमा हुम्लाको नाम्खामा खाद्यान्न समस्या देखिएपछि हेलिकोप्टरबाट खाद्यान्न लिएर गाउँ पुगिन्। लगत्तै मंसिर अन्तिम साता सम्पन्न कांग्रेस महाधिवेशनमा नौ जना महिला खुल्ला केन्द्रीय सदस्य कोटामा निर्वाचित भइन्। राष्ट्रियसभा सदस्य अनिता देवकोटालाई पछि पार्न सफल भइन्।

हेलिकप्टरमा राहत सामग्री लिएर हुम्ला पुगेकी सांसद रंगमती शाही।

जनताकै काम गरिरहने अठोट गरेकी रंगमतीले अहिलेसम्म विवाह गरेकी छैनन्। भेट्नेहरूले विवाहबारे प्रश्न गर्दा उनी अप्ठेरो मान्दिनन्। ‘मेरो बिहे भने पनि छोराछोरी भने पनि जनताको काम नै हो’ भन्दै प्रश्नकर्तालाई शान्त बनाइदिन्छिन्।

रंगमती काठमाडौंको बनस्थलीमा कोठा भाडामा बस्छिन्। आवतजावतमा लागि स्कुटर चलाउँछिन्। कुर्ता–सुरुवाल र साडी उनको सदावहार ड्रेस कोड हो। फुर्सदको समयमा सिहंदरबार वरपर नै चिया खाएर परिचितहरुसँग गफ गरिरहेकी भेटिन्छिन्। धेरैले उनी सांसद भएको कुरा पनि थाहा पाउँदैनन्। जब थाहा पाउँछन्, अचम्म मान्दै हत्तपत्त नमस्कार गरेर सोध्छन्, ‘माननीयज्यू पनि यहाँ आउनुहुँदो रहेछ त!’

रंगमती यस्ता दृश्यसँग परिचित भइसकेकी छिन्, र त मननमै प्रशन्न भएर अभिवादन फर्काउँछिन्।

(जनमतको सर्वोच्च संस्था संसद्मा आइपुग्न गरिएका संघर्षको कथा कहने शृंखला ‘सदनमा म’ प्रत्येक आइतबार प्रकाशित हुनेछ। –सम्पादक)

प्रकाशित: Mar 27, 2022| 15:50 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्