काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको १० वर्षे सशस्त्र संघर्षमा जन्मिएका क्रान्तिकारी गीतहरु नसुन्ने नेपाली सायदै भेटिएलान्। त्यसताका प्रचण्डको नेतृत्वलाई आँखा चिम्लेरै विश्वास गर्ने जनता, मोर्चा, सर्वहारा, छापामार र लडाकुहरु पनि कम्ता थिएनन्।
रोल्पाको जलजला र रुकुमको तकसेराबाट चिसो पानीसँगै बग्ने तातो आँशु साँच्चै विश्वासिला थियो। उत्तिकै वैचारिक पनि। साँच्ची ती आँशुहरु कसका थिए? एउटा पुरानो दृश्य सम्झौंः
०६२ साल असोज २५ गते। चुनवाङ बैठकअन्तर्गत त्यसदिन विशेष सांस्कृतिक प्रस्तुति थियो। कार्यक्रम लगभग १ बजेबाट सुरु भयो। सुरु भएलगत्तै कार्यक्रमको ब्यानरअघि उभिएर कलाकारहरुले गिती प्रस्तुति राख्न थाले। गीत थियो पूर्ण घर्तीले लेखेकोः
कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन
कसले भन्छ, योद्धाहरुको जित हुँदैन
एक दुई हार हुनसक्छ,
तर मुटु स्पात बन्छ
आवाजमा गुन्जिरहेका थिए मोहित श्रेष्ठ र कर्ण परियार ‘विद्रोही’। धुनमा बजिरहेको मादल, तबला, गितार, बाँसुरी, क्यासियोको कम्बिनेसन पनि पर्फेक्ट। त्यो प्रस्तुतिलाई प्रचण्डसहित बाबुराम भट्टराई, कृष्णबहादुर महरा, नन्द किशोर पुन, वर्षमान पुन, रामबहादुर थापालगायत सबै शीर्ष कमान्डरहरुले गम्भीर भएर हेरिरहेका थिए। सुनिरहेका थिए।
मोहित र विद्रोही जब गीतको दोस्रो अन्तरामा पुगे, तब उनीहरुलाई जनताको विश्वासले सोचमग्न बनायो। भावुक बनायो। कमजोर बनायो।
घर जले, बस्ती जले,
आमाहरुको इज्जत लुटे,
विरहरुको नशाभित्र
आक्रोशको ज्वाला दन्के,
सायद पंक्तिका यी शब्दहरुले उनीहरुलाई बिथोलेको हुनसक्छ।
मोहित र विद्रोहीको प्रस्तुितपछि अर्को गीति अभिनय प्रस्तुति सुरु भयो। जसले झन् नेतृत्वहरुलाई आँशु थाम्नै नसक्ने गरी रुवायो।
आवाजमा सूर्य विक गुञ्जिन थालिन्। अभिनयमा पनि कम्ब्याट पोशाकमा बन्दुक भिरेर केही कलाकारसहित दीपा रोका देखा परिन्। उनको उपस्थितिले झन् नेतृत्वलाई कमजोर बनायो। यस कारण– उनी ढाडमा बच्चा बोकेर मार्मिक तरिकाले उपस्थित भएकी थिइन्। जुन दृश्य अधिकांश महिलाहरुको पहिचान थियो।
जित्नैपर्छ यो अन्तिम लडाइँ
तिमीलाई लडेर,
फाटेका ओठहरु, रोएका मनहरु
बसेका छन् नयाँ दिन पर्खेर,
पंक्तिका यी शब्दहरुले सबैलाई धुरुक्कै रुवायो।
प्रचण्डका आँखाबाट आँशु बगे। बगिरहे। बायाँ हातले चस्मा निकालेर दाहिने हातले आँशु पुछ्दासमेत आँशु बग्न रोकिएन। बरु उनको रुमाल भिज्यो। दुवै हातले आँखा छोपेर घोप्टो पर्नुपर्ने अवस्था आयो।
उनी मात्रै रोएनन्। उनीसँगै उनका सबै सहयोद्धाहरु रोए। कसैले गलबन्दीले आँशु पुछे त कसैले रुमालले। बाबुराम भट्टराई आँखा बन्द गरेर बसे। सायद उनी आँशुलाई आँखामै रोक्न चाहन्थे।
०६२ साल असोज २५ गते। चुनवाङ बैठकअन्तर्गत त्यसदिन विशेष सांस्कृतिक प्रस्तुति थियो। कार्यक्रम लगभग १ बजेबाट सुरु भयो। सुरु भएलगत्तै कार्यक्रमको ब्यानरअघि उभिएर कलाकारहरुले गिती प्रस्तुति राख्न थाले।
नेत्रविक्रम चन्द विप्लव स्तब्ध बने। उनीसँग बोल्न केही शब्द थिएन, सायद। उनी एकोहोरो टोलाइरहे। त्यसदिन चुनवाङमा सबै रोए। कसैको आँखा ओभानो रहेन।
आफ्नै अगाडि शीर्ष कमान्डरहरु रोएको क्षण सम्झँदै सोही प्रस्तुतिका गायक विद्रोही सुनाउँछन्, ‘हामीले त उहाँहरु रुनुहुन्छ होला भनेर सोचेकै थिएनौँ, तर त्यतिबेलाको सिन नै त्यस्तो बन्यो।’
जनताको महान सपनालाई आफूहरुले गीतको माध्यमबाट सम्बोधन मात्र गर्न खोजेको उनी बताउँछन्। ‘चुनवाङ ओपेराको जुन उद्देश्य थियो, त्यही अनुसार प्रस्तुति तयार पारेको थियौं,’ उनले भने, ‘क्रान्ति सफल हुँदैन भन्नेहरुलाई हामी चेतावनी दिन चाहन्थ्यौँ, उहाँहरुले सायद हाम्रो आशय बुझेर रुनुभयो।’
त्यसो त, आफूहरुले चाहेको क्रान्तिमा आजको अवस्थाजस्तो कुनै परिकल्पना नरहेको उनको तर्क छ। ‘हामीले चाहेको क्रान्ति अर्कै थियो’, उनले सुनाए, ‘अब हाम्रो सपना र बलिदानको कुनै अर्थ छैन।’
आजसम्म पार्टीले तर्दै आएका टुटफुटका विभिन्न जंघारहरु सम्झँदा विद्रोही भावुक हुन्छन्। भन्छन्, ‘हाम्रो त्यो यात्रामा मलाई कहिँकतै लागेको हो कि पार्टीको नेतृत्वमा केही खराब प्रवृत्ति देखिन थाल्यो।’ उनी अहिले कुनै पात्रलाई तोकेर भने दोष दिन चाहन्नन्। बरु उनी अब पार्टीमा बाँकी रहेका कमरेडहरुलाई जनयुद्धको इतिहास सुरक्षित राख्न आग्रह गर्छन्।
सोही प्रस्तुतिका अर्का गायक मोहित पनि अहिले नेतृत्व पुँजीवादबाट ग्रसित बनिसकेको बताउँछन्। मोहित आफ्नै अगाडि शीर्ष कमरेडहरु एकैचोटी रुँदा आफूहरु जनताको दुःखलाई गीतबाट प्रस्तुत गर्नमा सफल भएको महसुस गर्छन्। त्यतिबेला सर्वहारासँग सँगै बसेर रुने कमरेडहरु अहिले परिवर्तन भएको देख्दा भने मोहितलाई अचम्म लाग्छ। भन्छन्, ‘हिजो जंगलमा एक्लाएक्लै हिँड्दा नडराउने कमरेडहरु अहिले सामान्य जनतासँग भेट्न पनि डराउँछन्।’
आजसम्म पार्टीले तर्दै आएका टुटफुटका विभिन्न जंघारहरु सम्झँदा विद्रोही भावुक हुन्छन्। भन्छन्, ‘हाम्रो त्यो यात्रामा मलाई कहिँकतै लागेको हो कि पार्टीको नेतृत्वमा केही खराब प्रवृत्ति देखिन थाल्यो।’
हिजोको वैचारिकता अहिले पूर्ण रुपमा स्खलित भइसकेको उनको आरोप छ। ‘हिजो भुुइँमा बसेर मिठो मसिनो खाँदा पुग्नेलाई अहिले थरीथरीका व्यञ्जनले पनि पुग्दैन,’ उनले भने। आज सत्ताको लागि दौडधुप गर्ने कमरेडहरुले कम्युनको अभ्यासलाई ध्वस्त पारिसकेको मोहित बताउँछन्। ‘त्यतिबेला त उनीहरुको लागि जनता नै सबैभन्दा ठूला थिए,’ उनले आक्रोश पोखे, ‘तर अहिले उनीहरुलाई जनताको मनोदशा के छ भन्ने नै थाहा छैन।’
पार्टीका शीर्ष कमान्डरहरु धुरुधुरु रुदाँ सामुन्नेमा अभिनय गरिरहेकी थिइन्– दीपा। अहिले त्यो घटनालाई सम्झँदै उनी भन्छिन्, ‘उहाँहरु रुन थालेपछि वरिपरि सबै रुन थाले। त्यो देखेर मलाई पनि अभिनय गर्दा गर्दै आँखाबाट आँशु आयो भने के गर्ने होला भनेर आफूलाई नियन्त्रण गरेँ।’
दीपालाई ती पुराना दिन सम्झदा अहिले भने दन्त्य कथाजस्तो लाग्छ। भन्छिन्, ‘मैले त त्यतिबेला मरे पनि जनताकै लागि सहिद भइन्छ होला, बाँचे क्रान्ति जितिन्छ भन्ने लागेको थियो।’ वास्तवमा जनताको लागि सहिद भएको भए पनि त्यसमा कुनै पश्चाताप नहुने उनको तर्क छ। ‘त्यतिबेला सायद उमेर पनि सानै भएर होला’, उनले सुनाइन्, ‘कि खुलेर बाँचिन्छ, कि हाँसेर मरिन्छ भन्ने लाग्थ्यो। त्यतिबेला प्रचण्डसहित अन्य कमरेडहरुको आँखाबाट बगेको आँशु अहिले बासी भइसक्यो, लाग्छ त्यही दिन ‘प्रचण्ड’हरु जनताको लागि अन्तिम पटक रोए। अब त हाम्रा लागि रुन उहाँहरुसँग आँशु पनि सक्किसक्यो।’