शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • माओवादी बिग्रिएको प्रचण्डको स्वीकारोक्ति, जबराको सम्पत्ति छानबिन प्रक्रिया सुरु! [२०७८-९-१२]

माओवादी बिग्रिएको प्रचण्डको स्वीकारोक्ति, जबराको सम्पत्ति छानबिन प्रक्रिया सुरु! [२०७८-९-१२]

उता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

माओवादी बिग्रिएको प्रचण्डद्वारा स्वीकार

triton college

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता/कार्यकर्ताले व्यक्तिगत स्वार्थ र पद, प्रतिष्ठालाई महत्त्व दिँदा पार्टी बिग्रँदै गएको बताएका छन्। 

आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेता/कार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ। माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के–के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरेका प्रचण्डले वृहत् योजना र सुधारविना पार्टी अघि बढ्न नसक्ने बताएका छन्। 

यस्तै प्रचण्डले प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। ओलीको चरम व्यक्तिवादी अहंकार, निरंकुश ढंगबाट सरकार र पार्टी सञ्चालन गर्न खोज्दा पार्टीभित्र अन्तरसंघर्ष चलेको र पार्टी विभाजन भएको प्रतिवेदनमा उल्लेख छ। प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

यसैबिच, प्रचण्डले राजनीतिक प्रतिवेदनमा यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने उल्लेख गरेका छन्। सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन्। त्यस्तै उनले एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि दाबी गरेका छन्। सबै दलहरु बीच सहमति गरेर मात्रै एमसीसी अघि बढ्ने उनको दाबी छ। 

Metro Mart
vianet

माओवादी समूहगत छलफलको निष्कर्ष बुधबार

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ।

आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्। अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार प्रदेशगतसहित २५ समूहमा छलफल हुने महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए। जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी २५ समूहमा विभाजन गरिएको उनले बताए। प्रतिनिधिहरूलाई मंगलबार दिनभर छलफलको लागि समय दिइएको महराको भनाइ छ। उनका अनुसार मंगलबार छलफल सकिने र छलफलको निष्कर्ष भने बुधबार पेस गरिनेछ।

छलफलका लागि प्रदेश नम्बर १ को दुई समूह विभाजन गरेर हर्क गुरुङले संयोजन गर्ने भएका छन्। प्रदेश नम्बर २ को नेतृत्व गणेश साहले गर्नेछन्। सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ। लुम्बिनी प्रदेशको नेतृत्व चक्रपाणि खनाल,  गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङ, प्रवास समितिको लक्ष्मण पन्त, कर्णालीको विमला केसीले नेतृत्व गर्ने भएका छन्। सुदूरपश्चिम प्रदेशको नेतृत्व खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्रीलगायतले नेतृत्व गर्ने भएको छन्।

प्रन्याको सम्पत्ति छानबिनको मागतर्फ मोडियो बार आन्दोलन

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा मात्रै नभएर सम्पतिको छानविनको माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्। 

सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारलेको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बार अब  प्रधानन्यायाधीश समशेरको राजीनामा माग मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानविन गर्नु पर्ने माग राखेर आन्दोलन जारी राख्नु बताएका हुन्। अध्यक्ष श्रेष्ठले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश समशेर भएकाले उनको सम्पति छानवि हुनु पर्ने  बताए। उनले बारले दुई महिना देखि निरन्तर रुपमा न्यायालयमा भएको विकृति, विसंगति र भष्टचार विरुद्धमा आन्दोलन गर्दै आएको बताए। अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले बिचौलीयाहरुको आधारमा कमाएको सम्पति कहाँ कति छ छानविन गर्नु पर्नेमा माग नागरिक तहबाटै उठेको बताए। प्रधानन्यायाधीश जबरा, उनका नातेदार, विचौलीया न्यायाधीशहरुको समेत सम्पति छानविन गर्नु पर्ने उनको भनाइ छ। 

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गर्दै आएका छन्। 

उता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ। 

विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ। पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनुसन्धान गरिने महानिर्देशक प्रेमप्रसाद भट्टराईले बताए।

बैंकहरूको कारोबार तथा मौज्दात हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको छ। राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ। राष्ट्र बैंक सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा सहयोग गर्ने निकाय हो। 

यसैगरी, जग्गा किनबेचको विवरण हेर्न विभागले मालपोत कार्यालयलाई पत्राचार गर्ने गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले राणाको, उनकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार उजुरी दिएका थिए। उजुरीमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारीलगायतको पनि सम्पत्ति छानबिन गर्न माग गरेका थिए।

निर्मला र नन्कुन्नीको हत्या राज्यकै मिलेमतोमा भएको बाबुरामको आशंका

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्या राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन्। सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखी माइतिघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गरे। 

घटनाको न्यायपूर्ण छानविन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिएको उनको भनाइ थियो।  राज्य अपराधीको पक्षमा उभिनु र जनतालाई शान्ति सुरक्षा नदिनु गम्भिर गल्ती भएको भन्दै उनले अपराधीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताए। 

विधवा महिला निर्मला कुर्मीको हत्या तथा ननकुन्नी धोबीको हत्या प्रकरणमा छानविन समितिले पेश गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन्। महिला अधिकारकर्मी रुबी खानले आफुहरु महिनौदेखि न्यायका लागि धर्ना बसेको भएपनि सरकार आफुहरुको मागमा संवेदनशील नभएको बताइन्। उनले महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासिन रहेको बताइन्। 

धर्नामा रहेका महिला अधिकारकर्मीहरुले माग पुरा गर्न सरकार गम्भिर हुनुपर्नेमा जोड दिए। माग पुरा नहुञ्जेल धर्नाको कार्यक्रम जारी रहने उनीहरुको भनाई छ।

समाजसँग बालबालिका जोड्न आवश्यक : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन्। उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनैबाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरु गरेको बताए। महामन्त्री थापाले बालबालिकाहरुमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरुका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने दाबी गरे।  

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका  २/२ वटा जिल्लामा शुरु हुनेछ।  उक्त जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरुको शिक्षाका लागि सहयोग गर्ने र आवश्यक्ताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध गराउने बताए। 

भिजिट भिसामा विसंगति

भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। आइतबार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरुले दुःख पाउने गरेको भन्दै सांसदहरुले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

बैठकमा बोल्दै पूर्व श्रममन्त्री समेत रहेका सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताए। विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरु बढेको भन्दै उनले विदेश जान नै सहज बनाउनुपर्ने बताए। 

सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश दिन दिनु वेश हुने धारणा राखिन्। भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उनको भनाई छ। विदेश पुगेका नेपाली कामदारहरु दुतावास र घरमा समेत सम्पर्क गर्न नपाउने सम्मको अवस्था हुने गरेको भन्दै उनले सहज रुपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताइन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताए। सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यससँग सम्बन्धित सरकारी निकायहरु गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरु बसेर देखिएका विकृति र विसंगती हटाउनुपर्ने बताए। उनले यस कामका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत अग्रसरता लिनुपर्नेमा जोड दिए। 

नेप्से ७० अंकले घट्यो

सोमबार सेयर बजारको परिसूचक नेप्से करिब ७० अंकले घटेको छ। 

६९.७७ अंकले घटेसँगै नेप्से २५२१ अंकमा कायम भएको छ। नेप्से घटे पनि कारोबार रकममा सामान्य वृद्धि भएको छ। दिनभर ५ अर्ब ६० करोडको सेयर किनबेच भयो।आइतबार ५ अर्ब १७ करोडको कारोबार भएको थियो। सबै उपसमूह घटेका छन्। बैंकिङ २७, ब्यापार ६८, होटल तथा पर्यटन ४२, विकास बैंक १७३, जलविद्युत १०८, फाइनान्स ७०, निर्जीवन बीमा ६१८, उत्पादन ११६, अन्य ९३, माइक्रोफाइनान्स ११९, जीवन बीमा २९० र लगानी उपसमूह ३ अंकले घटेका छन्। कुल १८२ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको बढेको छ। 

२७१ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका २७१ जना संक्रमित थपिएका छन्। 

९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा २२५ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

उता, खोपका लागि सिरिञ्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताए। खोपसँगै सिरिञ्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको उनको भनाइ छ। उनले फाइजर खोपका लागि मात्र सिरिञ्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरे। उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ। सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने उनले बताए। सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो।

डेरावालसँग बढी शुल्क लिए लाइन काट्ने प्राधिकरणको चेतावनी

विद्युत् प्राधिकरणले अब भाडामा बस्ने (डेरावाल)सँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ।

प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने उल्लेख छ। विनियमावलीअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन्।

विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेको छ। काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन्। जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ।

रानीपोखर सफाइ अभियान सुरु

विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान शुरु गरेका छन्। पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान शुरु गरेका हुन्। 

रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए। उनले २०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिएपनि त्यो अनुसारको काम नभएको भन्दै काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्रहरु सफा गर्न लागिएको बताए। 

यता काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ। केहि साना संरचनाको निर्माणको काम सम्पन्न भएपछि छिट्टै खुल्ला गर्ने बताइएको छ। रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रानीपोखरी प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालयको निर्माण कार्य भइरहेको छ। रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वार सँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ। यस्तै, शान्तिवाटिका क्षेत्रमा गोलघर सहितका फल्चाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

जाउलाखेलको जित

नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ता गराएको छ। 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबले सातादेबाटो क्लबलाई २–० गोल अन्तरले हराउँदै जारी लिगमा दोस्रो जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आक्रमक खेलेको जावलाखेल युथ क्लबले २ गोल गर्यो। 

जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ। सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ। यसँसँगै जारी लिगमा छैठौं चरणका खेल पनि सकिएका छन्। साविक बिजेता मच्छिन्द्रले १४ अंकका साथ तालिकामा शीर्षता कायम गर्दा मनाङ मर्स्याङ्दी फुटबल क्लब १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। ६ खेलबाट १२ अंक बनाएको संकटा तालिकाको तेस्रो स्थानमा अटाउँदा आर्मी १० अंकका साथ तालिकाको चौथो स्थानमा छ। लिगमा सातौँ चरणका खेल १६ गतेबाट हुनेछन्।

प्रकाशित: Dec 27, 2021| 19:53 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।