काठमाडौं- कोरोना महामारीसँगै यदि कुनै प्राणीलाई नकारात्मक दृष्टिले हेरिएको छ भने त्यो हो चमेरा। चमेराको मासु खाएका कारण कोरोना फैलियो भन्ने अपुष्ट समाचार संसारभर फैलिएको छ। चमेराको कारण होइन मानवीय हेलचेक्र्याइँका कारण संक्रमण फैलिएको हो। विगतमा पनि स्वाइन फ्लुलगायतका अन्य रोग प्राणीमार्फत मानिसमा फैलिएका थिए। प्राणीहरुको उचित व्यवस्थापन गर्दै मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न नसक्दा यस्तो अवस्था आएको विज्ञ बताउँछन्।
अचम्मको प्राणी
डा. तीर्थबहादुर श्रेष्ठ चमेरालाई अचम्मको प्राणी मान्छन्। ‘किनभने यो हावामा उड्छ तर चरा होइन। रातमा चाहर्छ तर लाटोकोसेरो होइन,’ उनी भन्छन्।
चमेराबाट सिको गरेर ध्वनि र प्रतिध्वनिको सिद्धान्तअनुसार स्थान, वस्तु र तिनको दुरी पत्ता लगाउने इकोलोकेसन प्रविधि विकास भएको मानिन्छ।
‘जसरी हामी अँध्यारोमा टर्च बालेर प्रकाश छरेपछि सबै छर्लङ देख्छौं, त्यसै गरेर चमेराले आफ्नो कण्ठको ध्वनि र प्रतिध्वनिका माध्यमबाट हरेक कुरा ठम्याउँछ,’ श्रेष्ठ भन्छन्। चमेराबाट सिको गरेर ध्वनि र प्रतिध्वनिको सिद्धान्तअनुसार स्थान, वस्तु र तीनको दुरी पत्ता लगाउने इकोलोकेसन प्रविधि विकास भएको मानिन्छ।
चमेरा, मुसा, खरायो, स्याल, बाँदर वा मान्छेजस्तै स्तनधारी प्राणी हो। चमेराले बच्चा जन्माउँछ, बच्चालाई दूध चुसाउँछ। यसको शरीरमा भुत्ला हुन्छ, प्वाँख हुँदैन। बच्चालाई गुँडमा नै छाडेर पोथी चमेरा वा माउ एक्लै उडेर कतै जान पाउँदैनन्। उसले आफ्नो बच्चालाई बोकेर उड्नुपर्ने हुन्छ। बच्चा चमेरा नहुर्कुन्जेल आमाका जिउमा टाँसिएर बस्छ।
सामान्यतया चमेरा मुन्टो तल पारेर झुण्डिएर बस्छन्। खुट्टाका नंग्राले रुखका हाँगाबिँगा वा गुफामा चट्टानलाई च्यापेर झुण्डिन्छन्। तर दिसापिसाब गर्दा, भाले लाग्दा तथा बच्चा पाउँदा भने आवश्यकताअनुसार आसन परिवर्तन गर्छन्।
संसारको अधिकांश देशमा चमेरा पाइन्छ। विश्वमा झण्डै १४ सयभन्दा बढी प्रजातिका चमेरा छन्। ‘त्यो भनेको सम्पूर्ण स्तनधारी प्राणी प्रजातिको २० प्रतिशत हो,’ श्रेष्ठ भन्छन्। कुनै चमेरा दुई ग्राम जतिको सानो हुन्छ भने कुनै चमेरा प्रजाति १ किलो दुईसय ग्रामभन्दा बढीको हुन्छ।
सबैभन्दा सानो चमेरा बम्बल बी ब्याट एसिया महादेशको थाइल्यान्डमा पाइएको छ भने सबैभन्दा ठूलो गोल्डेन क्राउन्ड फ्लाइङ फक्स फिलिपिन्समा पाइएको छ।
‘ठूलो खाले चमेरालाई फ्लाइङ फक्स अर्थात् उड्ने स्याल वा फ्याउरो भनिन्छ,’ डा. श्रेष्ठको भनाइ छ, ‘यिनीहरु रुखमा झुण्डिएर बस्छन् र यिनको आहार फलफूल मात्र हुन्। यस्ता शाकाहारी चमेरा काठमाडौं उपत्यकामा पनि छन्।’
नेपालमा चमेरा
नेपालमा ५१ प्रजातिका चमेरा पाइएको छ, जसमा ११ प्रजाति संकटापन्न मानिन्छन्। सर्बाको मुसाकाने चमेरा नेपालमा मात्रै पाइन्छ।
‘अब विस्तृत अध्ययन हुने हो भने नेपालमा जीव विकासको सिद्धान्तकै आधारमा पनि थप प्रजाति भेटिन सक्ने सम्भावना अधिक छ,’ चमेराको वितरण र स्वभावमाथि त्रिविबाट पीएचडी अनुसन्धान गरिरहेका दिव्यराज दाहाल भन्छन्।
झापा केरखा रतुवामाई क्षेत्रमा बादुर वा बदुरा भनिने चमेरा प्रजाति पाइन्छ। काठमाडौं, भक्तपुर, पोखरा, दाङ, विराटनगर, पाल्पाका सघन बस्ती वरपर यी प्रजातिका चमेरा हजारौंको संख्यामा छन्।
नेपालमा पाइने चमेरालाई उनीहरुले खाने आहाराका आधारमा तीन प्रकारमा बाँड्न सकिन्छ। ‘नेपालका चमेरा आहाराअनुसार तीन किसिमका छन्। फलफूल मात्रै खाने फ्रुजिभोरस, किराफट्याङग्रा खाने इन्सेक्टिभोरस, र मुसा, भ्यागुता, साना चरा तथा चमेरा नै खाने कार्निभोरस,’ चीनको ग्वाङ्जाउ विश्वविद्यालयबाट ‘नेपाल तथा चीनका चमेरा प्रजाति’ शीर्षकमा पीएचडी शोध गरिरहेका सञ्जन थापा बताउँछन्।
नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म चमेरा पाइन्छ। अहिलेसम्म उच्च ठाउँमा पाइएको चमेरा डोल्पाको मुकुट भन्ने ठाउँमा पाइएको थियो। जहाँको उचाइ ४ हजार १ सय ५४ मिटर छ।
‘तराईमा अन्य प्राणीको जस्तै चमेराको संख्या अधिक छ भने प्रजातिको संख्या तुलनात्मक रुपमा कम छ,’ दाहाल भन्छन्, ‘पहाडी क्षेत्रमा भने चमेराको प्रजाति बढी पाइन्छ भने संख्यामा तुलनात्मक सीमितता छ।’
गुफामा बस्ने चमेरा साना खालका हुन्छन् र तिनको आहारा रातमा उड्ने कीटपतंग, लामखुट्टेलगायतका साना प्राणी हुन्।
मुख्य चुनौती बासस्थान विनास
नेपालमा भने बासस्थान विनाससँगै स्तनधारी प्राणी चमेरा हराउँदै जान थालेको छ। अग्ला रुख जहाँ चमेरा बस्छ, त्यस्ता रुख मासिएर बस्ती बढ्नु र चमेरा बस्ने गुफामा मानवीय क्रियाकलाप बढ्दै जाँदा चमेरा संकटमा परेको हो।
काइरोप्टेरा भनिने चमेरा गुफा, वनजंगल, पुराना घर मन्दिर तथा अन्य उपयुक्त ठाउँमा बस्छ। चमेरा बस्ने गुफामा धूप तथा आगो बाल्नुका साथै मानवजन्य गितिविध गरिएका खण्डमा यसको वासस्थानमा नकारात्मक असर पर्दछ।
पोखराकै महेन्द्रगुफामा विगतमा धेरै संख्यामा चमेरा थिए। तर पर्यटन विस्तार गर्न गुफाभित्र बत्ति बाल्नुका साथै मानवीय गतिविधि बढेका कारण चमेराको संख्या घट्दै गएको अनुमान प्राणीशास्त्रीको छ। त्यस्तै, पोखराको चमेरे गुफामा पनि चमेराको संख्या घटिरहेको अनुमान छ।
‘२०२८ सालतिर युवराज दीपेन्द्रको पास्नीको हर्षबढाइँका बन्दुक पड्काउँदा तीनधारा पाकशाला छेउछाउमा हजारौं चमेराले आकाश ढाकेको सम्झना मेरो स्मृतिमा छ,’
साथै विगतमा पोखराको चाउथे क्षेत्रमा चमेराको राम्रो वाससथन थियो तर अहिले त्यहाँको बस्ती विस्तार भएपछि चमेराको संख्या घट्दो छ। नेपालमा संरक्षित क्षेत्रमा वासस्थान भएका प्राणी जोगाउन सकिएको छ तर चमेराका बासस्थान संरक्षित क्षेत्रभन्दा बाहिर पनि रहेकाले वासस्थान जोगाउन समस्या परेको प्राणीशास्त्रीहरु बताउँछन्।
चमेराको मुख्य जोखिम भनेको मानवीय अतिक्रमण हो। ‘आधुनिक निर्माणका कारण अब मानव बस्तीमा चमेरा भेटिन छोडे। विगतमा काठ, बाँसले बनेका घरको टौवामा चमेरा बस्थे अब त्यस्ता घर बन्नै छाडे अनि वस्तीमा हुने चमेरा लोप हुँदै गए,’ थापा भन्छन्।
चमेराको मासु खानु चेपाङ समुदायको प्राचीन परम्परा हो। त्यस्तै केही राई समुदायले पनि चमेराको मासु खाने गरेको पाइन्छ। मासुका लागि चमेराको सिकारले पनि यसको संख्या घटिरहेको छ।
तिहारमा पटाका पड्काउने कार्यले पनि बस्ती नजिकैको चमेरालाई असर पुग्ने गरेको छ। ‘जसरी मान्छेका घर अगाडि ठूल्ठूला तोप पड्काउँदा मानवीय स्वास्थ्यमा नकारात्मक असर पुग्छ त्यसैगरी चमेराको बासस्थानमा पटाका पड्काइँदा पनि चमेरालाई असर गर्छ,’ थापा भन्छन्।’
विगतमा केशरमहल परिसरको अग्लो रुखमा चमेरा हुन्थ्यो तर ती रूख काटिएपछि ती त्यहाँबाट चमेरा विस्थापित भए। ‘२०२८ सालतिर युवराज दीपेन्द्रको पास्नीको हर्षबढाइँका बन्दुक पड्काउँदा तीनधारा पाकशाला छेउछाउमा हजारौं चमेराले आकाश ढाकेको सम्झना मेरो स्मृतिमा छ,’ डा. श्रेष्ठ भन्छन्।
चमेरा विषेशज्ञ डा. पुष्पराज आचार्यको अध्ययनअनुसार काठमाडौं उपत्यकामा सन् २००६ मा भएको गणनामाभन्दा २०१५ मा भएको गणनामा चमेराको संख्या घटेको देखिएको थियो।
कोरोना र चमेरा
चीनको बुहानबाट सुरु भएको कोरानो महामारी चमेराका कारणले सुरु भएको अनुमान छ। यसपछि चमेराप्रतिको आमधारणा नकारात्मक बन्न पुगेको छ। तर यो बुझाई गलत भएको चमेराको पर्यावरणीय भूमिकामा शोध गरेका आचार्यको धारणा छ।
‘चमेराले त्यसै हामीलाई रोग सार्ने होइन। हाम्रा क्रियाकलाप संयमित र सावधानीपूर्ण भएन भने रोग सर्ने हो।’
‘कुनै पनि जनावरबाट मानिसमा रोग आउँदैमा उक्त जनावरप्रति नकारात्मक दृष्टिकोण राख्नु हुँदैन। बरु प्रकृतिमा फेला परेका जीवहरुको प्रतिरक्षा क्षमतालाई भ्याक्सिनका रुपमा विकसित गर्न सकिने हुँदा जुनोटिक डिजिजसँग जोडिएका जीवहरु, मानवहितका लागि उपयोगी साबित हुन सक्छन्। जस्तै विषालु सर्पहरुको विष नै सर्पदंशको उपचारमा उपयोग हुन्छ,’ आचार्यको टिप्पणी छ।
‘झापा, मोरङ, सुनसरीमा ऐलानी जग्गामा सुँगुर पाल्ने गरिएको छ। त्यस्ता ठाउँमा चमेराको गुँडमुनि सुँगुर पाल्ने गरिएको छ। त्यसले पनि संक्रमण बढाउने सम्भावना उच्च हुन्छ,’ थापा भन्छन्, ‘चमेराले त्यसै हामीलाई रोग सार्ने होइन। हाम्रा क्रियाकलाप संयमित र सावधानीपूर्ण भएन भने रोग सर्ने हो।'
विकास आयोजनाको चुनौती
जसरी पूर्वी नेपालको अरुण नदीको तिरमा बन्न लोगेको बाटो तथा जलविद्युत् आयोजनाले जलचरहरुको वासस्थान विनास भएको छ, त्यस्तै समस्या चमेरालाई पनि परेको छ। तनहुँमा बन्न लगेको जलविद्युत आयोजनाले चमेरालगायत धेरै जलचरको वासस्थान विनास हुने दाहाल बताउँछन्। तनहुँमा बन्न लागेको जलविद्युतको बाँध पानीको सतहदेखि १ सय ७० मिटर अग्लो हुनेछ। जसले धेरै प्राणीलाई असर गर्नेछ। सो नदी तिरमा रहेको ढुंगेनी प्वालमा धेरै चमेरा पाइन्छन्। ‘त्यति अग्लो बाँध बनेपछि त्यो क्षेत्र नै डुबानमा पर्छ र चमेराको वासस्थान पनि नाश हुनेछ,’ दाहाल भन्छन्।
चमेराको फाइदा
चमेराले परागसेचन गरेर किसान तथा प्रकृतिलाई गुन लगाउने गरेको छ। पाकेको फलफूल खाने साहाकारी चमेराले वनस्पतिहरुको परागसेचन र बीज वितरण गरी प्राकृतिक रुपमा वनस्पतिहरुको प्रसारमा सहयोग पुर्याउँछ। यसले अम्बा, चिउरीलगायतका वनस्पतिको परागसेचनमा सहयोग पुर्याउँछ। यसको बिस्टा उत्कृष्ट प्रांगारिक मल हो।
चमेरो अध्ययन गर्दै प्राणीशास्त्री दिव्यराज दाहाल।
‘संसारमा विनाशक किराहरुको संख्या बढिरहेको छ। तिनलाई त कुनै न कुनै रुपमा व्यवस्थापन गर्नु नै पर्ने देखिन्छ,’ दाहाल भन्छन्, ‘सो काम चमेराले जैविक रुपमै गरिरहेको छ।’ चमेरा मान्छेको मित्र प्राणी हो। यिनीहरुबाट मान्छेलाई कुनै हानिनोक्सानी भएको दृष्टान्त छैन। यिनको संरक्षण र सुरक्षाबाट हाम्रो आफ्नै संरक्षण र सुरक्षा हुन्छ।