बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • खर्चविहीन बन्यो सरकार, धकेलियो मन्त्रिपरिषद् विस्तार [२०७८-५-२९]

खर्चविहीन बन्यो सरकार, धकेलियो मन्त्रिपरिषद् विस्तार [२०७८-५-२९]

नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट पास गर्न नसकेपछि नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने पक्का भएको हो।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

नेपालमा पहिलो पटक बजेट होलिडे 

नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट पास गर्न नसकेपछि नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने पक्का भएको हो।

यससँगै बुधबारदेखि सरकारी कोषबाट एक रुपैयाँ पनि खर्च गर्ने अधिकार सरकारलाई हुँदैन। त्यस्तै राजस्व उठाउन पनि सरकारले पाउँदैन। अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटको समयावधि भदौ ३० गतेसम्म हो। त्यसपछि सो ’मृत’ सरह हुन्छ। संविधानसभाको धारा ११४ (ग) अनुसार अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिनिधिसभा र राष्ट्रियसभा बसेको ६० दिनभित्रमा पास हुनुपर्छ, यदी पास नभएमा सो अध्यादेश स्वतः निष्क्रिय हुनेछ। 

आजको प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा अर्थमन्त्री जनार्दन शर्माले समयमै बजेट पारित नभएका कारण केही दिन सरकारी खर्च गर्न नमिल्ने बताए। तर यसले ठूलो प्रभाव नपार्ने उनको भनाइ छ।

अध्यादेश मार्फत केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले १५ जेठमा बजे सार्वजनिक गरेको थियो। उक्त अध्यादेशले अझै मान्यता पाउन सकेको छैन्। अध्यादेशले मान्यता पाउनको लागि दुईमध्ये एक सदनमा पछिल्लो पटक पेश भएको ६० दिनभित्र पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्छ। प्रतिनिधि सभामा पेश भएको अध्यादेशको समयावधि ३० भदौमा पुग्दैछ। 

तर, प्रतिनिधि सभाको बैठक ४ असोजसम्मको लागि स्थगित भएको छ। जसका कारण भदौ ३० देखि बजेट पास नभएसम्म सरकारले खर्च गर्न नपाउने भएको छ। तर, राजश्व संकलन भने नरोकिने भएको छ।

यता, प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। 

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गरे। बैठकले २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत हाल नेपाली कांग्रेसका नेता रुक्मशमशेर जबरा र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सदस्य  मानबहादुर महतोको निधनप्रति सर्वसम्मत् रुपले शोक प्रस्ताव पनि पारित गरेको छ। प्रतिनिधि सभाको आगामी बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए। 

मन्त्रिपरिषद् विस्तार धकेलियो

मन्त्रिपरिषद् विस्तार कम्तीमा असोज ५ गतेसम्मका लागि धकेलिएको छ। प्रतिनिधिसभाको बैठक असोज ४ गते बस्ने गरी स्थगित भएसँगै मन्त्रिपरिषद् विस्तार पनि धकेलिएको हो। 

सत्तारुढ गठबन्धनका दलहरु नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपाल दल विभाजनसम्बन्धी अध्यादेश टुंगो नलागी मन्त्रिपरिषद् विस्तार गर्न नहुने पक्षमा छन्।  जसका कारण सरकार गठन भएको दुई महिना बितिसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा एकीकृत समाजवादी र जसपाको अडानका कारण समस्यामा परेको बालुवाटार स्रोतको दाबी छ।

एकिकृत समाजवादी तत्कालै उक्त अध्यादेश निस्कृय बनाउन नहुने पक्षमा छ भने जनता समाजवादी उक्त अध्यादेश निष्कृय बनाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्नु पर्ने अडानमा छ। अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सक्ने प्रावधान छ। त्यसो हुँदा मन्त्री बन्न नपाए चार जना सांसदले पार्टी फुटाउन सक्ने त्रासमा उपेन्द्र यादव देखिएका छन्।  असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवा हाल स्वास्थ्य राज्यमन्त्रीसहित जम्मा ५ जना मन्त्रीका भरमा सरकार चलाइरहेका छन्। मन्त्रिपरिषद् विस्तार नहुँदा देउवाले मात्रै १७ वटा मन्त्रालयको जिम्मेवारीसम्हालिरहेका छन्।

सभामुखप्रतिको शंका कायमै : एमाले 

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उनीप्रति आशंका कायमै रहेको बताए। नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए। सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको उनको भनाइ छ। 

सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको एमाले नेता नेम्वाङको टिप्पणी छ। प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्नेमा त्यसको हुन नसकेको उनको भनाइ छ।  

सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न बाटो खुला गरिदिएको छ। 

मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरुले दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो। समाजवादीमा सनाखत गर्न नपाउँदा सांसद पद गुम्ने भएपछि उनीहरु भदौ २३ मा अदालतमा पुगेका थिए। उनीहरुले रिटमा एकीकृत समाजवादीमा विवरण अद्यावधिक गराउन ब्यवस्था गर्न माग गरेका थिए। पाण्डे प्रतिनिधि सभा र भट्ट राष्ट्रिय सभाकी सांसद हुन्।

सांसद पाण्डे र भट्टले आफूहरूले निर्वाचन आयोग एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न नपाएकाले एमालेमै रहनुपरेको भन्दै रिट दिएका थिए। एमाले विभाजन भएर गत भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएको थियो।

एमाले सुदूरपश्चिम ईन्चार्ज म नै हुँ : लेखराज भट्ट

नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको बताएका छन्। 

मंगलबार कञ्चचनपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उपाध्यक्ष भीम रावल र आफ्ना बीचमा बाहिर आए जस्तो कुनै मतभिन्नता नरहेको उनले दाबी गरे। दश बुँदे सहमति जस्ताको त्यस्तै लागू हुने भन्ने कुरा नरहेको उनको भनाइ छ। उनले तल्लो तहसम्म कार्यान्वयन गर्ने विषयमा एकीकरण प्रक्रियाबाट आएकालाई समेत समेट्ने गरेर तीन सदस्यीय समिति बनेको र रावलले त्यसको सहजीकरण गर्ने बताए। भट्टले आफूहरु समेतले उपाध्यक्ष रावललाई नेता नै मानेको भन्दै  कुनै विवाद नभएको बताए।

कार्यकर्ता पोस्ने कार्यक्रम हटाउन माग

नेपाल निर्माण व्यवसायी महासंघले प्रतिस्थापन बजेटमा उल्लेखित ‘श्रम समूहमार्फत् १० करोडसम्मको निर्माण कार्य गर्न सकिने’ प्रावधान तत्काल हटाउन माग गरेको छ। 

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजनीतिक पार्टीका कार्यकर्ताहरुलाई पोस्नेगरी आएको सो प्रावधान मान्य नहुने चेतावनी दिँदै तत्काल हटाउन सरकारसँग माग गरेको हो।

महासंघका अध्यक्ष रवि सिंहले एक करोडसम्मको बजेटको निर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत् गर्ने सरकारको निर्णयले मुलुकमा भ्रष्टाचार बढेको बेला सरकारले श्रम समूह बनाएर १० करोडसम्मको निर्माण कार्य गर्न दिने व्यवस्था गर्नु निर्माण व्यवसायीहरुका लागि स्विकार्य हुनै नसक्ने चेतावनी दिए। 

महासंघले निर्माण व्यवसायीहरुले गर्नुपर्ने काम श्रम समूहमार्फ गराउन खोजेर सरकारले उनीहरुको रोजीरोटीनै खोस्ने प्रयास गरिरहेको भन्दै आपत्ति समेत जनाए। महासंघले केपी ओली नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको १४ सय सडक आयोजनाहरुको ठेक्कापट्टाहरुको दायित्व फरफारक गरेर मात्रै स्थगित गर्न पनि सरकारलाई सचेत गराएको छ। महासंघले कोभिड संकटमा परेका निर्माण कम्पनीहरुलाई मूल्य अभिवृद्धि करमा छुट दिने, निःशुल्क नविकरण गर्ने लगायतका सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ।

भैरहवा विमानस्थलको काम अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो। अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताए। प्रमुख ईन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन्। उनले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बताए।

प्रमुख ईन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए। 

८५ सहसचिवको सरुवा 

सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सहसचिवको सरुवा गरेका हुन्।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ। सरुवा भएका सहसचिवहरूमा नेपाल, वन सेवा, कृषि सेवा, इन्जिनियरिङ सेवा र प्रशासन सेवाका रहेका छन्।

१५६२ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यही अवधिमा एक हजार ५६२ कोरोना भाइरस संक्रमित थपिएका छन्।  १० हजार २६६ को पीसीआर परीक्षण गर्दा एक हजार १८० र चार हजार १७७ को एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताहरुबाट एक हजार ५८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन्। 

पञ्जशीरमा २० सर्वसाधारणको हत्या

तालिबानले पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणको हत्या गरेको खुलेको छ। पन्जशीरमा नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) र तालिबान लडाकुबिच भिडन्त हुँदै आएको छ। तालिबानले उपत्यकाको सञ्चार सम्पर्क विच्छेद गरेको र कम्तीमा २० सर्वसाधारणको हत्या गरेको पुष्टि भएको बिबिसीले जनाएको छ। एक भिडियोमा पान्जशिरको सडकमा सैन्य पोशाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुले घेरेको र उनीमाथि गोली प्रहार गरेको देखिन्छ। तालिबान उपत्यकामा अघि बढ्दै गर्दा ती व्यक्तिले आफू सामान्य पसले रहेको र युद्धसँग कुनै सरोकार नरहेको बताएका थिए। तर तिनै व्यक्तिको तालिबानले हत्या गरेको हो।

यसैबीच संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको बताएको छ।  राष्ट्रसंघले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ। यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ। करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको जनाइएको छ। 

प्रकाशित: Sep 14, 2021| 19:50 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।