मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय जिम्मेवारी भुलेर गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन्।

गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभएको स्पष्ट पार्दै यस्ता सूचना सार्वजनिक जिम्मेवारीसँग जोडिएका विषय भएको बताएका छन्।

उनले पदका कारण राज्यका सूचनामा पहुँच प्राप्त हुने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको बताएका छन्। जिम्मेवारीमा रहेका व्यक्तिले सूचनाको संवेदनशीलता र त्यसको सम्भावित प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ। गुरुङले राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने बताएका छन्।

उनले राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै त्यस्तो कार्यबाट देश र संगठनप्रति विश्वासघात हुने बताए। गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयता जानाजान भंग गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिदै त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने उनले स्पष्ट पारेका छन्।

गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सूचना चुहावट गरेको भन्दै निलम्बन गरेपछि गृहमन्त्री गुरुङको यस्तो भनाई आएको हो।

प्रकाशित: Oct 06, 2026| 10:39 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्