काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशूली थ्री ‘बी’को सुरुङमा नेपाली सेनाले सोमबार पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।
नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलिकोष्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकोप्ट लिएर माथिल्लो त्रिशूली थ्रि ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो।
उक्त टोलीले माथिल्लो त्रिशूली थ्रि ‘बी’को सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रीत भएको थियो।
त्रिशूली थ्रि ‘बी’मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्धारा खोज तथा उद्धारको प्रयास सुरु भएको थियो। सोमबार पनि बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्र खन्ने काम भइरहेको छ। यो आयोजनाको सुरुङमा मानिसहरु फसेको आशंका गरिएको छ।