काठमाडौं। गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाहरु प्रभावित बनेका छन्। यी आयोजनाहरुमा मानिसहरू समेत फसेको आशंका पछि आयोजना क्षेत्रमा उद्धारका प्रयासहरु जारी राखेको छ।
प्रभावित आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार साँझसम्म २७९ जनाको उद्धार गरिसकिएको छ।
रसुवाको माथिल्लो त्रिशूली-१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ। साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ। तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको बताइएको छ।
नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको छ। उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ‘ब्लास्टिङ’को प्रयास अघि बढाइएको छ। घटनास्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपालका १८ जना र नेपाल प्रहरीका ६ जना विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ। टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि त्यसैलाई ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।
त्यसैगरी, नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनामा पनि उद्धारको प्रयास जारी छ। आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ। यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ।
त्यस्तै, रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकीगरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ।
अर्कोतर्फ, रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्धारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ। भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकीगरी पम्प र एस्काभेटर लगेर थप काम सुरु भएको छ।
त्यस्तै, रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भइ काम समेत सुरु भइसकेको छ।
सरकारले सार्बजनिक गरेको आँकडा अनुसार यी जलविद्युत आयोजनाका सुरुङभित्र करिब ९३३ जना सम्पर्कविहिन रहेका छन्।