आइतबार, भदौ १४, २०८३

पहिचान नखुलेका शव व्यवस्थापन कसरी गरिंदैछ ?

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं- बाढी तथा विपद्का कारण विभिन्न जिल्लामा फेला परेका बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका अंगको व्यवस्थापन नेपाल प्रहरीले तीव्र पारेको छ। सड्न थालेका शवबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षित र सम्मानजनक व्यवस्थापनमा जोड दिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ गरी ७३५ शव फेला परेका छन्।

प्रहरीले शव संकलनपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवगृहमा सुरक्षित राख्ने, चिकित्सकको उपस्थितिमा परीक्षण तथा तस्बिर अभिलेख गर्ने र पहिचानका लागि आवश्यक विवरण संकलन गर्ने गरेको जनाएको छ।

पहिचान हुन नसकेका शवलाई छुट्टाछुट्टै सङ्केत नम्बर दिएर तस्बिर, हुलिया, पहिचान चिन्ह, कपडा र साथमा फेला परेका सामग्रीको विवरण राखिएको छ। आवश्यक परे भविष्यमा पहिचान गर्न सकिने गरी डिएनए नमुनासमेत सुरक्षित राख्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापनका लागि अवलम्बन गरिएको प्रक्रिया : 
१. विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा शवका अवशेषहरू आवश्यक सावधानीपूर्वक संकलन गरिएको।

२. शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको।

३. Forensic Doctor को उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग/चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा आवश्यक Postmortem परीक्षण गरिएको।

४. Postmortem पश्‍चात शवहरूलाई शव पहिचानका लागि सुरक्षित रूपमा राखिएको तथा सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको।

५. फोटो वा अन्य माध्यमबाट शव पहिचान भएको जानकारी प्राप्त भई नागरिकहरू Help Desk मा सम्पर्कमा आएमा उपलब्ध शवका थप फोटो, हुलिया, कपडा तथा घटनास्थल लासजाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा आवश्यक सनाखत तथा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई शव बुझाउने गरिएको।

६. पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा भविष्यमा आवश्यक परेमा पहिचान गर्न सकिने गरी DNA नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको। 

७. पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गरिएको।

८. निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेत/कोड नम्बर जमिनमुनि तथा माथि राखी, शव व्यवस्थापन गरिएको स्थानको GPS Location, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको।

९. जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, DNA नमूना, संकेत नम्बर, हुलिया, सनाखत सम्बन्धी विवरण, Postmortem Report, लासजाँच मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिने जसबाट भविष्यमा कुनै परिवार/आफन्तले आफ्नो सदस्यको रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्नेछ।

१०. बेवारिसे तथा पहिचान नखुलेका शवहरूको विवरण नेपाल प्रहरीको अफिसियल बेवसाइट www.nepalpolice.gov.np को पहिचान नखुलेको शवहरूको विवरण आइकनबाट हेर्न सकिनेछ।

प्रकाशित: Aug 30, 2026| 14:01 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्