काठमाडौं- आज रोपाईं जात्रा मनाइदैछ। नेवार संस्कृतिबाट सुरू भएको रोपाईं जात्रा धानको रोपाईं गरेपछि मनाइन्छ। धान रोप्ने काम सकिएको खुशियालीमा यो जात्रा मनाइन्छ।
विशेषगरी गाईजात्राको भोलिपल्ट रोपाईं जात्र मनाइने गरिन्छ। रोपाईं जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ। रोपाईं जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला ९धान रोप्ने खेतहरू मात्र भएको ठाउँ०मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन्। प्राय रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ। रोपाईंजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ।
सोह्रौँ, सत्रौँ शताब्दिदेखि नै रोपाइँजात्रा मनाउन थालिएको बताइन्छ। खेतीपाती सम्पन्न गरिएको खुसीयाली मनाइने यस जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरका सदस्य सहभागी हुने प्रचलन छ। बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीले रोपाइँ गरिँदा गरिने क्रियाकलाप जस्तैः हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीसहित जात्रा मनाउने गर्दछन्।
कर्णाली अञ्चलका जिल्लाहरूमा चोपाइ पनि भनिन्छ। त्यहाँको चलन अनुसार चोपाइ एक प्रथा हो। चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ। खास गरेर जुम्ला जिल्लामा रोपाईं जात्रालाई चोपाइ भनिन्छ। त्यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ। जसको घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ।